बागमती


भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले के भने? (पूर्णपाठ)

भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले के भने? (पूर्णपाठ)

भरतपुर आँखा अस्पतालको नयाँ भवन अवलोकन गर्दै प्रधानमन्त्री


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १०:१६, चितवन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन्।

चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन शुक्रबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। 

भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका सेवाग्राहीसमेतको आँखा उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।’

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्त्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ। नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ। यो हामी सबैका निम्ति खुसीको कुरा हो।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ। नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपीडी कक्षमा विस्तार, फार्मेसी कक्ष, चस्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छु। नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुवैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु। 

नयाँ भवन सञ्चालनमा आएपश्चात् भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ। तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ। यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ।

मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त ‘स्वास्थ्य सम्बन्धी हक’लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ। स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि नि:शुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन्। अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ। यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु। 

अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात् आँखासम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालिममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .