ad ad

बागमती


बागमती प्रदेश सभाको अधिवेशन सुरु : दलहरूबीच घोचपेच

बागमती प्रदेश सभाको अधिवेशन सुरु : दलहरूबीच घोचपेच

सुनिता विष्ट
बैशाख ३१, २०८१ सोमबार २१:१०, हेटाैँडा

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन सोमबारबाट सुरु भयो। सोमबार बसेको प्रदेश सभा बैठकमा अधिवेशन सफलताको लागि दलका नेता/सचेतक अथवा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी गरायो।

सोही अनुसार प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले दलका नेता तथा प्रतिनिधिहरूलाई शुभकामना मन्तव्यका लागि रुलिङ गरे। तर शुभकामना भन्दा पनि दलहरू आरोप प्रत्यारोपमा धेरै रमाए।

सरकार सफल भएन : कांग्रेस
प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमाथि खनियो। अधिवेशनको शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले प्रदेशको अर्थ मन्त्रालयको गतिविधि सन्तोषजनक नभएको भन्दै असन्तुष्टी व्यक्त गरे।

पूर्वअर्थमन्त्री समेत रहेका लामाले बजेट भाषण गर्न एक महिना मात्रै बाँकी रहेको अवस्थामा अर्थ मन्त्रालयकै सचिव नहुनु दुखद् भएको बताए।

‘आजको दिनले एक महिनाभित्र हामीले बजेट प्रस्तुत गर्नुपर्छ’ उनले भने, ‘जनताको इच्छा अनुसार बजेट ल्याउनुपर्ने तथा प्रदेशको मूलभूत आवश्यकता नै बजेट हो। तर, सरकारले वास्ता गरेन। बजेट निर्माणकै समयमा अर्थ मन्त्रालयमा सचिव नहुनु भनेको सरकार कति सफल छ? भन्ने यसैबाट प्रष्ट हुन्छ।’

नेता लामाले प्रदेश सरकारले सत्ता टिकाउनका लागि मन्त्रालय थपिरहने प्रवृत्तिको अन्त्य हुनपर्ने समेत बताए।

उनले एमालेतर्फ इंगित गर्दै भने, ‘आफूले नपाउँदा मन्त्रालय बढाउन पाइँदैन भन्ने। मन्त्रालयको संख्या यति मात्रै हुनपर्छ भन्ने। तर, आफूलाई चाहिँदा जति मन्त्रालय बढाउँदा पनि लाज नलाग्ने?’

जनतामा प्रदेशप्रति विश्वास घटेको भन्दै नेता लामाले कसरी जनताको विश्वास जित्न सकिन्छ भन्ने खालका नविनतम कार्यहरूमा ध्यान दिन जरुरत रहेको बताए।

कर्मचारीमाथि खनियो एमाले
यता नेकपा एमाले भने सोमबारको बैठकमा प्रदेशका कर्मचारी प्रशासनमाथि खनियो। संसदले सदनबाट गरेका निर्णयमा कर्मचारीले घुमाउन खोजेको भन्दै नेकपा एमाले बागमती प्रदेशका सचेतक मधुसूदन पौडेलले रोष्टमबाट कर्मचारी प्रशासनमाथि असन्तुष्टी पोखे।

सचेतक पौडेलले संसदबाट भएको निर्णय कर्मचारी प्रशासनले नमान्दा धेरै कामहरू हुन नपाएको समेत बताए।

‘हामीले केही समय अघि बिशेष समिति बनाएर एउटा निर्णय गरेका थियौं’ उनले भने, ‘तर उक्त निर्णय कार्यान्वयन नगराउनका लागि कर्मचारीले खेल खेलिरहेको भन्ने पाएका छौं। संसद भन्दा यो देशको कर्मचारी प्रशासन ठुलो हो? हाम्रो निर्णय कार्यान्वयनमा कर्मचारीको भूमीका के हुन्छ भनेर राजनीतिक दलले भन्न पर्ने हो र?’  

सचेतक पौडेलले संसदको निर्णय नमान्ने कर्मचारी प्रशासनलाई कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारले पहलकदमी चाल्नुपर्ने समेत बताए।

यस्तै, केन्द्रदेखि प्रदेशसम्मको सरकार परिवर्तन भैरहनपर्ने बाध्यताले सरकारप्रति नागरिक निराश रहेको बताए। एउटै दलको बहुमत नपुग्ने स्थितीका कारण सरकार फेरिरहँदा विकास नभएको जस्तो देखिएको उनको भनाई थियो।

एकजुट हुन माओवादीको आग्रह
त्यसोत, नेकपा माओवादी केन्द्रले भने समाजवाद लक्ष्य प्राप्तीका लागि पक्ष र प्रतिपक्षी दल नभनी साझा प्रतिवद्धता लिएर अघि बढ्नुपर्ने बताएको छ। माओवादी केन्द्रका सांसद सरल सहयात्री पौडेलले प्रदेशलाई बलियो बनाउन सबै दलहरू एकै ठाउँमा उभिए मात्रै सफल भइने बताएका हुन्।

‘कोही प्रतिपक्षमा जाँदा उग्रपक्ष हुने, कोही सत्तापक्षमा हुँदा प्रतिगमनकारी हुने जस्तो वातावरण हामी बारम्बार सिर्जना गरिरहेका छौं,’ उनले भने, ‘यसलाई न्यूनीकरण गर्ने उपाय गरौं’ उनले भने।

यो सभाले आगामी दिनमा प्रदेशको स्थायित्वको लागि हामीले गर्नुपर्ने पहलका बारेमा समेत सबै दलहरूले सोच्न जरुरी रहेको उनले बताए।

सार्वजनिक पदको दुरुपयोग नहोस् : एकीकृत समाजवादी
व्यक्तिगत लाभका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको नेकपा एकीकृत समाजवादीले बतायो।

नेकपा एकीकृत बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले सार्वजनिक पदको दुरुपयोग गरी भष्ट्राचार जस्ता जघन्य अपराध सुरु भएको बताए।

मधेस प्रदेशको एउटा समाचार सुनेको भन्दै नेता खनालले भने, ‘मधेस प्रदेशका बजेटका लागि एउटा मन्त्रीले १० प्रतिशत छुट्याउन परेको भन्ने समाचार सुनेँ। यस्ता समाचार अन्य प्रदेशमा पनि सुनेका छौं।’

उनले थपे, ‘यस्ता जनताले नरुचाउने विषयहरू सबै क्षेत्रमा सुनिन थालेको छ। यस्तो अवस्था बागमतीमा नबनोस् भन्ने आशा छ।’

संविधान निकम्मा बनाइयो : राप्रपा
संविधानलाई निकम्मा बनाउने काम सरकार पक्षले गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बताएको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले सरकारमा रहेका दलहरूले संविधाको धज्जी उडाउँदै निकम्मा बनाएको आरोप लगाएका हुन्।

नेता थापाले बागमती प्रदेश लगाएत सबै प्रदेशको हालत उस्तै भएको बताएका हुन्।

‘संविधान मिच्दै सरकार टिकाउनका लागि अनेक खेलहरू भैरहेका छन्,’ उनले भने।

नेता थापाले एमालेतर्फ इंगित गर्दै विशेष समितिले बनाएको प्रतिवेदनलाई तत्कालीन प्रमुख प्रतिपक्षी दलले नै कार्यान्वयन नगराउन चाल रहेको बताए।

‘हामी पनि प्रतिपक्षमा थियौं, उनले भने, ‘ल है बजेटमा अन्याय भयो। यसो यसो गरौं न भन्ने प्रस्ताव आयो। हामीले पनि हुन्छ नि त भनेर साथ दियाैँ। तर अहिले उहाँहरू सत्तामा पुग्नुभयो। उहाँहरूबाटै अनेक बाहाना बनाउनु सुरु भैसक्यो।’

नेता थापाले थपे, ‘साँढेको जुधाइ, बाच्छाको मिचाई भनेको जस्तो भयो। उहाँहरूले त अब आफ्नै अनुकुलको बजेट पारिहाल्नुहुन्छ। बहुवर्षीय ठेक्का लगाइहाल्छन्।’

नेमकिपाको प्रश्नः पुँजीवादी गणतन्त्रमै अल्झिने?
यता, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकारमा रहेका दलहरूसँग कस्तो गणतन्त्र बनाउने भन्ने प्रश्न गरे।

नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइले सदनमा शुभकामना मन्तव्य राख्दै, ‘पुँजीवाद गणतन्त्र बनाउने कि, समाजवाद गणतन्त्र निर्माण गर्न तर्फ लाग्ने?’ भन्दै प्रश्न गरेका हुन्।

साथै नेता गोसाइँले आत्माहत्याको न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्न नसकेको समेत बताए।

‘बागमती प्रदेश सबैभन्दा बढी आत्माहत्या हुने गरेको प्रदेश हो। यहाँ आर्थिक गञ्जागोलकै कारण आत्माहत्या बढेको एउटा तथ्यले देखाएको छ। सहकारीकै पीडाले कतिका घरबार उजाडिएका छन्। यसलाई हामीले सम्हाल्न सक्छौं कि सक्दैनौं? यसबारे सोच्न ढिला भएन?’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .