बागमती


‘एअर नोच’ नभएका कुकुर-बिराला देखिए फोन गर्न बालेन्द्रको आग्रह

‘एअर नोच’ नभएका कुकुर-बिराला देखिए फोन गर्न बालेन्द्रको आग्रह

नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर क्षेत्रभित्र ‘एअर नोच’ (कानमा सानो चिह्न) नभएका कुकुर–बिराला देखिए महानगरपालिकाको निःशुल्क फोन नम्बरमा खबर गर्न नगरवासीलाई आग्रह गरेका छन्।  

उनका अनुसार महानगर क्षेत्रमा सामुदायिक कुकुर–बिरालाको संख्या घटाउने उद्देश्यअनुरूप हाल तिनलाई बन्ध्याकरण गर्ने अभियान चलिरहेको छ। यस क्रममा १२० दिनमा ४ हजार ९ सय ३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको छ। 

‘यही गतिमा काम गरेर अब ३ देखि ४ वर्षभित्र सामुदायिक कुकुर र बिरालो सबैको संख्या घटाउँदै जानेछौँ’, उनले भनेका छन्, ‘हामीले सोचेजस्तो धेरै कुकुर र बिरालोको संख्या भेटिएन। टोलमा भेटिएका कुकुर–बिरालाहरूलाई वडाका प्रतिनिधिको रोहबरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात् गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनर्स्थापना गरिरहेका छौँ। बन्ध्याकरण गरिएका कुकुर– बिरालोको एअर नोच (कानमा सानो चिह्न) लगाएको छ।’ 

महानगरपालिकाको लक्ष्य सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने भएको उनले उल्लेख गरेका छन्। 

मेयर शाहले अनुरोध गरेका छन्, ‘तपाईंले एअर नोच नभएका कुकुर–बिराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुृहुनेछ। हामी यस्ता कुकुर–बिरालालाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ।’ 

उनका अनुसार अहिलेसम्म ११ हजार ३ सय ८ वटा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .