बागमती


काठमाडौँमा कहिले होला वर्षा?

काठमाडौँमा कहिले होला वर्षा?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख २३, २०८१ आइतबार ८:४५, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि पानी नपरेको धेरै दिन भइसकेको छ। शनिबार भने पश्चिमी वायु सक्रिय भई देशभर धेरथोर मौसम बदली (बादल लागेको) भएकाले गर्मीमा थोरै राहत महसुस भएको थियो। तर शनिबार वर्षा देशभर कतै हुन नसकेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाले भने शनिबार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरेको थियो।

तर शनिबार देशभर कतै वर्षा हुन नसकेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्।

‘हिजो (शनिबार) कतै वर्षा भएको पाइएन’, उनले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘आज पनि वर्षाको सम्भावना खासै छैन, दिउँसो कोसी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मात्र पानी पर्ने सम्भावना देखिएको छ, अरू ठाउँमा छैन।’

यस हिसाबले आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना नरहेको मौसमविद् नगरकोटीले बताइन्। 

‘भोलि (सोमबार) पनि काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना कम नै छ’, उनले भनिन्, ‘पर्सि (मंगलबार) चाहिँ हल्कासम्म वर्षा हुने सम्भावना अलि बढी देखिएको छ।’

उनका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ। यसको अर्थ आकाशमा खासै बादल छैन।

‘दिउँसोचाहिँ आंशिक बदलीसम्म हुने सम्भावना छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘आंशिक बदली भनेको पातलो खालको बादल लाग्ने अवस्था हो।’ 

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.४ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिइन्। आज यहाँको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .