ad ad

बागमती


श्रीमान्‌को अत्याचार सहन नसकेकी सरिता, छोराछोरी छाडेर माइतीघरमा त्यागिन् प्राण

एक महिनाअघि श्रीमान्‌ले पनि पिएका थिए विष
श्रीमान्‌को अत्याचार सहन नसकेकी सरिता, छोराछोरी छाडेर माइतीघरमा त्यागिन् प्राण

सुनिता विष्ट
असोज ८, २०८१ मंगलबार १७:५७, मकवानपुर (हेटौंडा)

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सामरीकी २३ वर्षीया सरिता घिमिरे चितवनको रत्ननगरस्थित आफ्नै माइतीघरमै मृत भेटिइन्। घरमा श्रीमान्‌को अत्याचार सहन नसकेर माइती गएकी घिमिरेले सोमबार (हिजो) माइती घरमै आफ्नो प्राण त्यागेकी हुन्। 

आइतबारको रातमा खाना खाएर सरिताको बुवा, आमा र भाउजु सुते। सरिता पनि आफू सुत्ने कोठामा सुत्न गइन्। भोलिपल्ट अर्थात् सोमबार (हिजो) घरका सबैजना उठे। तर, सरिता सुतेको कोठाको ढोका अबेरसम्म खुलेन। परिवारका सदस्यहरूले उनलाई बोलाए।

सरिता नबोलेपछि घरका मान्छेहरूले छिमेकीको साहरामा ढोका फुटाए। सरिता सिलिङ पङ्खामा सलको पासो लगाएर भुण्डिएको अवस्थामा फेला परिन्। 

२०७३ सालमा सामरीकै सुजन सापकोटासँग बिहे बन्धनमा बाँधिएकी सरिताको त्यसपछिको जीवन केही वर्ष राम्रै चल्यो। १५ वर्षको कलिलो उमेरमै परिवारले सुजनसँग बिहे मागी गराइदिएका थिए। उनीहरूको वैवाहिक जीवन तबसम्म राम्रो भयो, जबसम्म सन्तानको जन्म भएन। 

२०७५ सालतिर सरिताको गर्भ बस्यो।

सोहीबेलादेखि उनका श्रीमान् सुजनको अत्याचार सुरु भएको सरिताको सानिआमा नाता पर्ने पुष्पा सापकोटा बताउँछिन्।

उनका अनुसार, सुजन जाँडरक्सी खाएर सरितामाथि कुटपिट गर्थे। 

साना साना निहुँमा पनि रक्सी खाएर पिट्ने गरेकै कारण सरिताले पटक÷पटक आफू श्रीमान्को घरमा बस्न नसक्ने माइती पक्षलाई बताउँदै आएकी थिइन्। परिवारका अन्य सदस्यले राम्रै गरेपनि श्रीमान्‌को अत्याचार सहेर उसैसँग बस्न नसक्ने भन्दै केही दिन अघि सरिताले पुष्पा (सरिताकी सानिमा) सँग पनि रुँदै गुनासो गरेकी थिइन्। 

‘त्यसले ज्वाइँसँग धेरै दुःख पाएकी थिई,’ पुष्पाले नेपालखबरसँग भनिन्, ‘सकेसम्म मिलेर घरजम गरेको राम्रो भनेर हामीले सल्लाह पनि दियौँ। केही सीप नलागे माइतीमै बस पनि भनेका थियौँ। माइती आएर दुई रात सुतेकी थिई, तेस्रो रातमा त आत्महत्या गरिछे।’ 

उनका अनुसार, सुजनले निकै कुटपिट गर्न थालेपछि जनप्रतिनिधिहरूकै सल्लाहमा सरितालाई एक महिना माइत बस्न भनिएको थियो। एक महिना माइतीघरमा बसे सुजन पनि सुध्रने र माया गर्न सक्ने आकलन गरेर उनलाई माइती पठाइएको आफन्तहरू बताउँछन्। 

तर घरमा ६ वर्षकी छोरी र ४ वर्षको सानो छोरा छोडेर आफू एक्लै माइत बस्न नसक्ने सरिताले बताएकी थिइन्। यता, परिवारका सदस्यहरूले बच्चाको पढाइ छुटाउन नहुने भन्दै उनलाई मात्रै माइती पठाएको पुष्पा बताउँछिन्। 

माइती पुगेकी उनले बच्चाहरूको याद आएको भन्दै रोइरहेकी थिइन्। ‘चाडपर्वको मुखमा घर र बच्चाहरू छोडेर म कसरी माइतीमा बसौँ भन्दै रुँदै फोनमा कुरा गरेकी थिई,’ पुष्पाले भनिन्, ‘छोराछोरी साथमै भइदिएका भए तीनका अनुहार हेरेर पनि यस्तो गलत बाटो रोज्दिन थिइ होला कि!’

त्यसोत, मृतक सरिताको पारिवारिक स्रोतका अनुसार, उनले घरेलु हिंसा सहन नसकेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा केही महिनाअघि उजुरी समेत दिएकी थिइन्।

तर, प्रहरीले मिलापत्र गराएर सुजनकै घर पठाएको सरिताकी सानिमा पुष्पा बताउँछिन्। 

यता, प्रहरीले भने प्रहरीले जबर्जस्ती कसैको घटनामा मिलापत्र गर्न दबाब दिने नगरेको बताउँछ। मकवानपुर प्रहरी प्रवक्ता एवंम् प्रहरी नायब उपरिक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार, उक्त समयमा दुवै पक्षका परिवारकै उपस्थितिमा एकपटकलाई मिलापत्र गरेर बस्ने सहमति भएको थियो। 

‘प्रहरीले मिल्नुस्, मिल्नपर्छ कसैलाई पनि भन्दैन,’ डीएसपी भण्डारीले भने, ‘एकपटकमा समस्या सुल्झिएन भने दोस्रो पटक, तेस्रोपटक गरेर पनि प्रहरी कार्यालय आउन सक्नुहुन्थ्यो। परिवारले मिलाउँछौँ भनेर लानु भएपछि त्यसमा चासो देखाइरहनु आवश्यक पनि होइन।’

यता, गत भदौको पहिलो साता सुजनले समेत विष सेवन गरेका थिए। रक्सिको नशामा विष सेवन गरेका सुजनलाई १५ दिन भरतपुर अस्पतालमा उपचार गराएर घर लगिएको मकवानपुरगढी–५ का वडाध्यक्ष दिपेश घिमिरेले बताए। 

उनका अनुसार, विष सेवन गरेर उपचारपछि निको भएका सुजनको मानसिक सन्तुलन समेत बिग्रिएको थियो। जसका कारण छोराछोरी र श्रीमतीलाई पिट्ने गर्दै आएका थिए। 

‘केहीदिन अघि सुजनका बुवाले घरको दुःख सुनाउनुभएको थियो,’ वडाध्यक्ष घिमिरेले भने, ‘हामीले सरिताका बुवासँग पनि कुरा गर्‍यौँ। उहाँले नै बच्चाहरूको पढाइ छुट्छ। उनीहरूलाई राम्ररी राख्नु। छोरीलाई ८/१० दिनका लागि रत्ननगर (माइती) पठाइदिनु भन्नुभएको थियो। सल्लाहमै माइती पठाइएको हो।’

सरिताले आत्महत्या गरेपछि चितवन प्रहरीले उनका श्रीमान् सुजनलाई नियन्त्रणमा लिएको थियो। तर माइती र घर पक्षको सहमतिपछि सुजनलाई प्रहरीले घर पठाएको वडाध्यक्ष घिमिरे बताउँछन्। 

‘छोराछोरीलाई पढाउने, हेरचाह गर्ने लगायतका विषयमा दुईपक्षबीच सहमति भयो, सरिताको शव हिजै दाहसंस्कार भइसकेको छ,’ वडाध्यक्ष घिमिरेले भने।

सुजन र मृतक सरिताको परिवारबीच मिलेमतो गराउन वडाध्यक्ष आफैँ चितवन पुगेका थिए। सरिताको काजकिरिया भने सुजनका बुवा अर्थात् सरिताको ससुराले गरेको वडाध्यक्ष घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .