‘त्यो साथी धेरै बोल्दैन ममी, नेपालीहरुले उसको ड्याडीको एक्सिडेन्टको फोटो सोसल मिडियाभरि पोस्ट गरेका छन्। एटलिस्ट उसको फ्यामिलीलाई कति हर्ट हुन्छ भनेर त सोच्नु नि ममी। आइ एम अल्सो फिलिङ भेरी डिस्टर्ब्ड।’
‘आज ऊ अर्ली लिभमा घर गएको छ। कहाँ छ, कस्तो छ, केही थाहा छैन। हामी साथीहरु कसरी हेल्प गर्न सक्छौं उसलाई?’
मसँग केही जवाफ थिएन। छोरीको मन राख्न भनेँ– उसलाई बोलाइरहनू, केयर गर्नू।
हिजो फेरि एकजना नेपालीलाई थ्रीडीले लग्यो। दुर्घटनामा ज्यान गुमाउने नेपालीको छोरा र मेरी छोरी सुम्निमा एकै स्कुलमा पढ्ने गरेको पनि छोरीले भनेपछि आजै थाहा भयो। आफ्नो साथीको बाबा दुर्घटनामा गुमाउनुपरेकोले सुम्निमा चिन्तित थिइन्।
हङकङमा केही दिन अगाडिबाट पानी परेको थियो। पानी पर्दा कतै न कतै केही दुर्घटना घटेको जस्तो लाग्छ। यो पटकको पानीले दुर्घटनासँगै फेरि धेरैलाई कोभिडले दर्शन पनि दिएर गएछ। यहाँ अहिले पुनः संक्रमित हुनु सामान्य मान्न थालियो। कोरोना पोजिटिभ भए पनि आफू काम गर्न सक्ने अवस्था छ भने काममा जान सकिन्छ। यहाँ अहिले अवस्थालाई यसरी सामान्यकरण गरिएको छ।
१६ मे। एकदिने बिरामी बिदा बसेर काममा आएको अवस्था थियो। काममा पनि धेरैजस्तो समयमा मोबाइल त हातमै हुन्छ। दिउँसो एक बजेतिर फेसबुक हेर्दैगर्दा साउथ चाइना मर्निङ पोस्टको एउटा समाचारमा आँखा रोकियो। एकजना नेपालीको फोर्कलिफ्टको ठक्करबाट मृत्यु भएको समाचार थियो।
उसै त विदेशमा नेपाली भनेपछि चासो त हुने नै भयो। को हुन्, नेपाल घर कहाँ हो भन्ने सोधखोज त चलिहाल्छ। हङकङका प्रमुख मिडियाहरुले बडो प्राथमिकता सहित यो घटनालाई सर्कुलेट गरेका थिए। जतिपल्ट पेजमा यो घटना देख्थेँ, त्यतिपल्ट मन खिन्न हुन्थ्यो।
साँझतिर दुर्घटनास्थल र दुर्घटनाको फोटो पनि आयो। त्यति दर्दनाक फोटो हेर्दा कसको मन नरोला र! हामी अपरिचितलाई त पीडा हुन्छ भने परिवारलाई कस्तो चोट पर्ला? त्यो छोरीको साथीले अब कसलाई बाबा भनेर सम्बोधन गर्ला? मनमा यस्तै यस्तै तर्कना खेल्न थाले।
छोरीले गरेको प्रश्नले झन्झनाएको दिमागमा विगतमा आफैँलाई दुर्घटनाको दृश्यले पु¥याएको आघातले धेरै वर्षसम्म असर गरेको सम्झना दिलायो। दुर्घटना भएको प्रत्यक्ष नदेखे पनि भोलिपल्ट त्यतिखेरको दैनिक पत्रिकामा दुर्घटनाको दृश्य हेरेपछि धेरै वर्षसम्म चोट गहिरिएर बस्यो। ठूलो डबलडेकर गाडीले थिचिएको शरीर, रक्ताम्य टाउको र गाडीको टायरले किचेको बेल्ट देख्दा तत्काल एक किसिमको चोट दियो। धेरै पछिसम्म फिल्ममा देखाइने दृश्य पनि त्यही दुर्घटनाको दृश्य ठानेर भावविह्वल हुन्थेँ।
उसो त सबैलाई थाहा भएको कुरा हो, यस्तै किसिमका दुर्घटना र एकआपसमा मारामार गरेका खबरबाहेक हङकङका मिडियामा नेपालीहरुको सकारात्मक समाचारहरु विरलै आउँछन्। जस्तै २०१२ मा चुनमुनको बटरफ्लाई बिचमा बाबाछोरा डुबेको घटना, कुनै नेपाली हाइकिङ जाँदा भिरबाट झरेको घटना, कुनै नेपाली डाइभ हान्दा दहमा मृत्यु भएको घटना, कुनै नेपाली टनेलमा काम गर्दैगर्दा कुनै हेभी मेसिनको ठक्कर लागेर मर्नुपरेको घटना या सामूहिक रुपमा रेस्टुरेन्टको आगलागीमा मर्नुपरेको घटना।
आजकाल यस्तो लाग्छ कि कुनै दिन आफ्नो मृत्यु पनि भाइरलको त्यही संवेदनाहीन भेलमा पर्ने पो हो कि! या कसैले आफ्नो लाससँग सेल्फी पो पोस्ट गर्ने हो कि! दुर्घटनाले धनी–गरिब या पूर्व–पश्चिम हेर्दैन। न दुर्घटना पूर्वसूचना दिएर आउँछ। लाग्छ यो जिन्दगी नामको धागो चट्ट चुँडिने पो हो कि!
अहिले हङकङमा नेपालीको संख्या चालीस हजारको हाराहारीमा पुगेको भन्ने गरिन्छ। जब कुनै घटना घट्छ, तब चैतको आगो जस्तो क्षणभरमै फैलिन्छ। सानो ठाउँ मान्छेहरु धेरै, हात हातमा इन्टरनेटको पहुँचले गर्दा हरेक घटना क्षणभरमै सर्कुलेट हुन्छ। कतिले मोबाइलभित्र नै सिमित राख्छन। कतिले ग्रुपतिर, र कतिले सोसल मिडियामा रक्ताम्य ढलेको फोटो पोस्ट गरिदिन्छन्।
हो पोस्ट गर्नुको आशय गलत होइन। बरु दुर्घटनामा ज्यान गुमाएको व्यक्तिप्रतिको सहानुभूति या समवेदना हो। तर यसरी पोस्ट गर्दा के साँच्चिकै हामीले मानवीय संवेदनशीलताबारे सजगता अपनाएका छौं त? रक्ताम्य या रक्तस्राव भएको फोटोले सम्बन्धित व्यक्तिको छोराछोरी या आफन्तलाई कस्तो आघात पुग्दो हो भन्ने बारेमा कहिले मनन गरेका छौँ?
त्यस्तो लाग्दैन। त्यसैले सबैले बिचार गरौं। मानवीयता मनन गरौँ। आफू नजिकका व्यक्तिको अकल्पनीय मृत्युले दिने आघातबारे हामी सबै संवेदनशील बनौँ।
दुःख लाग्छ, हामी मान्छे यतिधेरै कठोर बनिसक्यौँ कि कसैको मृत्युलाई आज भाइरल हुने माध्यम बनाउन उद्यत छौँ। सायद हामी सहानुभूति सहितको मान्छेबाट मानवयन्त्र बन्न लागिसक्यौं। या भनौँ, अब हामी अरु कसैको पीडालाई महसुस गर्न नसक्ने बनिसक्यौँ।
सामान्यतया कसैको कुनै दुर्घटनामा मृत्यु भयो, उसलाई श्रद्धाञ्जली दियो र सकियो। तर जसले अभिभावक वा सन्तान गुमाउनुपरेको छ, उनीहरुको पीडा दीर्घकालसम्म रहन्छ। किनकि कुनै अपरिचितको लागि एक जना व्यक्तिको इहलिला सकिएको हुन्छ। तर कुनै परिवारको लागि घरको मूल खम्बा नै ढलेको हुन्छ।
अन्तमा मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस्ता अप्रिय खबरहरू फेरि नआऊन् भन्ने कामना गर्छु!
Shares
प्रतिक्रिया