विभिन्न देशमा रहेका नेपाली दूतावासले गम्भीर विषयमा काम गर्नै सकेका छैनन्। उनीहरू सामान्य कागजात र पासपोर्ट बनाइदिने जस्ता प्राविधिक काममा अल्झिको देखिन्छ।
वास्तवमा दुतावासले नेपाललाई कसरी प्रवर्द्धन गर्न सकिन्छ? कसरी बढी भन्दा बढी नेपालीपन देखाउन सकिन्? कसरी नागरिकलाई नेपाल पठाउन सकिन्छ? जस्ता विषयमा ध्यान दिनुपर्नेमा खाली नेपाल पर्यटन बोर्डले पठाएको बजेट फुरमास गर्न देखावटी कार्यक्रम मात्रै गरेको देखिन्छ। यसरी हुँदैन।
गम्भीर विषयमा काम गर्न उनीहरूले नेपाल बुझेका नेपाली टूर गाइडको सहयोग लिन सक्दछन्, वा तिनको क्षमतावृद्धि गर्नसक्दछ, त्यसतर्फ ध्यान मोड्न जरुरी देखिन्छ।
ब्राजिल र अफ्रिकाले आफ्नो संस्कार र संस्कृति देखाउन हरेक वर्ष हजारौंको संख्यामा बहुसांस्कृतिक भेषभुषा झल्कनेगरी कलाकार तयार गर्छन्। र, लाखौंको संख्यामा विदेशी पर्यटक आकर्षित गर्छन्। हामीले किन नसिक्ने?
हाम्रा सरकारले नियुक्त गरेका काम न काजका सदभावना दूतहरूले के गरिरहेकाछन्? टुरगाइडको रूपमा मैले एशिया मात्र नभई युरोपका कतिपय देशको भ्रमण गराएको छु। एनआरएन हङकङको अध्यक्षको हैसियतले सन् २०१६ मा एनआरएन केन्द्रीय समितिका महासचिव तेन्जी शेर्पालगायत हङकङका १५३ जना चिनिया पर्यटकलाई काठमाण्डौं विमानस्थलमा स्वागत र सम्मान गर्ने अभिभारा पनि बोकेकै हुँ।
त्यतिबेला चीन, मकाउ र ताइवानका व्यापारी पनि आएका थिए। हामीले याक एण्ड यतिमा नेपाल सरकारको तर्फबाट पर्यटनमन्त्री, सचिव र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायतका व्यक्तिसँग अन्तरक्रिया पनि गरायौँ। जसले हाम्रो पर्यटनलाई केही प्लस प्वइन्ट भएकै हो। त्यो शौहार्दपूर्ण बहस थियो, हामीले एउटा थालनी गरेका थियौँ।
तर त्यसपछि त्यस्तो कार्यक्रम दोहोर्याएर हुनै सकेन।
केही समयअघि म दुबई भ्रमणमा थिएँ। त्यहाँ पर्यटकहरूको भीड देखेर म अचम्मित भएँ। त्यहाँ एउटा स्तम्भ हेर्न वर्षमा १० करोड पर्यटक आउँदा रहेछन्। तर अन्त कतै नभएको सर्वोच्च शिखर हामीसँग छ। बुद्ध जन्मभूमि छ। हामीले सगरमाथा र लुम्बबिनीको ब्राण्डिङ गर्न किन सकेनौँ? हाम्रो सम्पदाले आकर्षण गर्न किन सकेनौँ? सहयोगका लागि अरु देशसँग किन हात फैलाइरहेका छौँ? यो सोचनीय छ।
नेपाल सरकारले सडक र होटल बनाइदिएको भए पर्यटक बढ्ने थिए, तर त्यसमा केही काम नै हुन सकेको छैन। अवस्था लज्जास्पद छ।
मेरो नेतृत्वमा चलेको अल्फा ट्रावल्सले करिब ४ सय चिनियाँ पर्यटकहरुलाई लुम्बिनी र पोखरामा भ्रमण गराएको थियो। म आफैँ सगरमाथा बेसक्याम्प सम्म पुगेँ। आफैँ ती ठाउँमा पुगेपछि मैले अनुभव गरेँ हामीले पर्यटक तान्ने पूर्वाधार नै बनाउन सकेका रहेनछौँ। पर्यटकहरुलाई आश्वस्त पार्न सकेका छैनौँ।
सरकारको असहयोगका कारण पर्यटन क्षेत्र नै उत्साहित हुन सकिरहेको छैन। अहिलेका पर्यटनमन्त्री सुदन किराँतीले केही आशा देखाएका छन्, हेरौँ। उनले घोषणा गरेजस्तो केही काम गर्न सके पर्यटन क्षेत्रमा केही हुनसक्छ कि भन्ने आशा पलाएको छ। तर अन्य नेताले जस्तो उनी पनि गफैमा सीमित नहोऊन्। हेर्दै जाऊँ!
(ललित लिम्बु एनआरएन हङकङका पूर्वअध्यक्ष हुन्।)
Shares
प्रतिक्रिया