कोभिड-१९ महामारीका कारण हङकङ सरकारले लगाएको कडा नियमले प्रत्येक वर्ष मातृभूमि जाने र घुम्ने तालिकामा अवरोध सृजना भएको थियो। तीन वर्षपछि कोभिड सामान्य बन्दै गयो।
पछिल्लो समय हङकङ सरकारले यससम्बन्धी कडा नियमहरू पूर्ण रूपमा हटाए पनि यात्रा गर्नेहरूले कोभिड-१९ को बुस्टर डोज खोप लगाउनुपर्ने नियम अझै बाँकी नै थियो।
मैले यही मौकामा मातृभूमि जाने निर्णय गरेँ। अनि बायो एन टेक कम्पनीको तेस्रो डोज खोप अस्पतालमा गएर लगाई प्रमाणपत्र प्राप्त गरेँ। पिँजडाबाट मुक्त भएको चरा आकाशमा रमाउँदै उडेझैँ आनन्दित भएँ।
१३ मार्च २०२३ मा नेपाल
नेपाल एयरलाइन्सको उडानमार्फत अति नै खुसी हुँदै मातृभूमि फर्किएँ। मेरो उद्देश्य यात्रा गर्नुबाहेक केही थिएन। जन्मगाउँ कोक्रुवा (खोटाङ)को माटोलाई छुने, चुम्ने, घुम्ने मुख्य ध्येय थियो।
हामी मनुष्य जाति लोभ, लालच र ईर्ष्यामा फसेका छौँ तर जिन्दगी सारै कमलो छ। कतिखेर, कहाँ ,कसरी, कुन दिन, कुन रात, कुन ठाउँ, कुन गाउँ र कोसँग अन्तिम भेट भएर माटोमा मिलिने हो थाहा छैन।
आफ्ना इच्छाहरू थोरै मात्र पूरा गर्न सकिए पनि जन्मिएको सार्थकता हुन्छ भन्छन्। मेरो सोख लेखनपछि यात्रा गर्नु पनि हो। समय मिले यात्रामा निस्किहाल्छु। बाचुन्जेल त हो जिन्दगीका अविस्मरणीय यात्राहरू।
काठमाडौँमा केही समय यताउता गर्दै अलमलिएपछि तराई घर झापाको गौरादहतिर हाँकिएँ। गाउँमा परिवार, आफन्त, साथीभाइ, गाउँलेहरूसँगको छोटो भेटघाटपछि घुमघामका लागि धरानतर्फ लागेँ।
जन्मस्थानलाई हेर्न, घुम्न तथा रमाइलो गर्न र यसमा मलाई साथ दिन साली शिव बान्तवा, भान्जा सन्तोष राई, दाइ विष्णुकमार राई, भतिज ध्यानबहादुर राई र भतिजी बुहारी तयार भए।
तराई झरेपछि पहिलोपटक जन्मघर फर्कँदा धरान, चतरा, बराहक्षेत्र, अक्करे भिर, सप्तकोसीको मिलनस्थल त्रिवेणी गड्डी, कपासे, पान्धारे, सोल्मा, खिदिमा हुँदै बाटोमा बास बस्दै ३/४ दिन हिँडेर पुगेको थिएँ।
सानो छँदा पनि पहाडबाट हिँडेरै तराई झरेको थिएँ। यसपटक भने फरक बाटो हुँदै चारपाङ्ग्रे जिपद्वारा यात्रा गर्दैथिएँ।
पहिलो दिनको यात्राका लागि शिवले भदै सुदीप राईको निजी जिपलाई प्रयोग गर्ने कुरा बताइन्। भाइ सुदीपले पनि जिपका इन्जिनहरू जाँच, मर्मत गर्न भोजपुरबाट धरान ल्याएको रहेछ। हामीलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भएको थियो।
१६ अप्रिल २०२३ का दिन बिहान आठ बजे धरानको आपगाछी चोकबाट भानुचोक, छाताचोक हुँदै जिपमा उकालो लाग्यौँ। धरानको फुस्रे नजिकैको पेट्रोल पम्पमा ट्याङ्कीभरि जिपको खाजा भर्यौँ।
सुदीपले नागबेली आकारमा रहेको धरान-धनकुटा सडकमा जिपलाई दौडाउँदै भेडेटार पुर्याएपछि रोकेर खाजा खायौँ। अनि नागबेली ओरालो हुँदै तमोर नदीको पुललाई नाघेर, बाटोमा देखिएका रमणीय दृश्यहरूलाई पछाडि छाड्दै धनकुटाको सल्लेरी पुग्यौँ।
त्यसबेला शम्भु राई दाइले गाउनुभएको ‘धनकुटा हिले दिल चित्त मिले, सुसाउने सल्लेरी’ गीतलाई सम्झिएँ। त्यहाँ हावाको झोक्का सल्लाका पातहरूमा ठोकिँदा सङ्गीतमय स्वरमा सुसाइरहेका थिए।
हिले बजार पुगेर वरिपरिका दृश्यलाई अवलोकन गर्दै आ-आफ्नो आकृतिलाई मोबाइलमा कैद गर्यौँ। कुनै यात्राक्रममा रहरमा खिचिएका प्रतिबिम्बहरू जिन्दगीका अविस्मरणीय दस्तावेज पनि बन्छन्।
त्यसपछि पाख्रीबासको डिकुरेमा बिहानको खाना खाएर पेटको उचाइलाई अलिकति बढायौँ। भदै सुदीपले चखेवा भन्ज्याङको होटलमा बेलुकीको बासका लागि अग्रिम बुकिङ गरिदिए।
डिकुरेबाट निकै ओरालो झरेपछि अरुण नदी नीलो रंगमा रंगिदै तमोर र दुधकोसीलाई भेट्न बगिरहेको थियो। पहिलोपटक तराई झर्दा पनि अरुण नदीलाई देखेको थिएँ।
विगतमा तराई झर्दाको स्मृतिका पानाहरू अरुण नदीको पुलमाथि केहीछिन उभिएर पल्टाएँ। अरुण नदीलाई पृष्ठभूमि बनाउँदै मनलाग्दी फोटोहरू खिँचिरहँदा नदीबाट बहेको चिसो हावाले स्पर्श गर्दा आनन्दित भयौँ।
अरुण नदीको किनारबाट भोजपुर बजारको दुरी ६५ किलोमिटर रहेको स्तम्भमा लेखिएको थियो। अरुण नदीको किनारबाट नागबेली आकारको उकालै-उकालोमा सुदीपले जिपलाई गुडाउन थाले। हाम्रो आँखालाई बाटोमा भेटिएका, देखिएका विभिन्न रमणीय दृश्यले लोभ्याइरहेका थिए।
कतै रातो माटोले बनेका पहाड र जमीन त कतै उर्बर भूमिमा अवस्थित गाउँ बस्तीहरू। हामी रानीटार, जरायोटार, आम्बोटे, भर्लाबोटे, प्याउली, विजयाबास, पौवदुङ, तिवारी भन्ज्याङ, हिले भन्ज्याङ, श्यामशिला हुँदै भोजपुर नगरपालिका प्रवेश गर्दा दिउँसोको ठिक १:४० भएको थियो।
भोजपुर बजारका केही रमणीय स्थलहरू मात्र घुम्यौँ। सकभर चाँडै चखेवा भन्ज्याङ पुगेर केही समय रमाइलो गर्दै घुम्ने सर-सल्लाह गरियो। भोजपुर बजारको पेट्रोल पम्पमा जिपका लागि चाहिने डाइटलाई पुनःभरियो।
जिपमा सरर देउराली हुँदै दामसिङ पुग्यौँ। सलक्क परेका खेतका गह्राहरू, नजिकै पानीका मुहान, धान र तरकारी खेतीका लागि खेतीयोग्य जमीन रहेछ।
हामी डन्के, सेराखोला हुँदै दावा पुगिसकेका थियौँ। यो सुन्तला खेतीका लागि उपयुक्त वातावरण भएको ठाउँ रहेछ। बाटोको तलमाथि गाउँ बस्तीको बारीमा लहरै सुन्तलाका रुखहरू थिए। यो पाक्ने याममा सुन्तलाका हाँगाहरू नुहेर सुनौलो रंगमा परिवर्तन हुँदा गाउँठाउँको सुन्दरताको रौनकलाई दिव्यआत्माले हेरेर रमाउन पनि भ्याएँ।
राम्रो र सिधा बाटो भएकाले सुदीपले जिपलाई निकै रफ्तारमा हाँकिरहेका थिए। म जिपको अगाडि सिटमा बसेकाले बेलाबेला उनलाई अलिक बिस्तारै हाँक्नू है भन्दै सल्लाह पनि दिन भ्याउँथेँ।
हामी सेतीबगर हुँदै भोजपुरको नाम चलेको पिखुवा खोलामा पुग्छौँ। पिखुवा देख्दा साहित्यकार गणेश रसिक दाजुले लेख्नुभएको संस्मरण ‘सिस्नोलाई टेक्दै हिँड्दा’ भन्ने कृति झ्वाट्ट सम्झिएँ।
गणेश रसिक दाइले यतै कतै पिखुवा खोलाका दहहरूमा पौडी खेल्दै तिते माछाहरू समातेर रमाएका थिए होलान्। हामी हिङ्खुवा, याङ्ता खोला, रिमचिम, अन्नपूर्ण हुँदै चखेवा भन्ज्याङमा सोचेझैँ बेलैमा पुग्यौँ।
चखेवा भन्ज्याङ भोजपुर र खोटाङ जिल्लाको सिमाना रहेछ। जिल्लाको सिमानामा स्वागत र बिदाइका अक्षरहरू लेख्न प्रवेशद्वारको निर्माण गरिएको रहेछ। त्यस द्वारमा टाँसिएको फलामका पातामा बेजोडले हावाका झोक्काहरू ठोकिँदा संगीतको धुन तरङ्गित भइरहेको थियो।
त्यो द्वारमा लेखिएका अक्षरहरू मेटिन लागेका थिए। बिममा ओल्डिङ गरी टाँसिएका पाताहरू उक्किएर पुनस् निर्माणको पर्खाइमा हल्लिरहेको देखिन्थो। समुन्द्री सतहबाट चखेवा भन्ज्याङको उचाई २,३५१ मिटर रहेछ।
चखेवा भन्ज्याङलाई प्रकृतिले निकै मेहनत गरेर बनाएको रहेछ। त्यहाँका डाँडापाखाहरू त्यति उचाइका नभएर थोरै भिरालो, फराकिलो चौर आकारका र सौर्न्दर्यले झपक्कै बलिरहेका थिए।
चखेवाका डाँडापाखा चैत-वैशाखको सुक्खा याममा त यति सुन्दर र शान्त छन् भने बर्खा याममा झारपात, भुइँ ऐसेलु, बुकी फूलहरू पलाएर वरिपरि हरियाली हुँदा झन् कस्तो होलान्रु बर्खा यामको सुन्दर दृश्यको कल्पना गरी केहीछिन हराएको थिएँ।
हामी मूल सडकबाट टेम्केडाँडापट्टिको थुम्कोमा चढ्यौँ। साप्सु खोलाबाट बेजोडले बहेको चिसो बतासले उडाउलाझैँ गरी लगातार स्वागत गरिरह्यो। बतास र वातावरणसँग झन्झन् रमाउँदै दिमागलाई त्यहीँ केन्द्रित गर्यौँ।
हाम्रो दिमाग, आँखा, तन, मनलाई चखेवा वरिपरिका दृश्यले जादु लगाइसकेका थिए। चखेवा भन्ज्याङ साँच्चै जादुमयी ठाउँ रहेछ। हामी दृश्यहरूको जादुमा सम्मोहित भई लठ्ठिएर रमाइरहेका थियौँ।
चखेवालाई पृष्ठभूमि बनाउँदै मोबाइल र क्यामेराबाट मन लागुन्जेल फोटो तथा भिडिओ खिच्यौँ। डाटा अन गर्दा इन्टरनेट छ्यासछुस चलिरहेको पाएँ।
अनि, चखेवा भन्ज्याङको दृश्य, रमाइरहेका सहयात्रीका प्रतिबिम्बका साथै आफ्नै थोपडालाई फेसबुकका साथीहरूमाझ लाइभ गर्न भ्याएँ। फेसबुकका मित्रहरूबाट पाएका लाइक, कमेन्टबाट गद्गद् हुँदै वरपरको दृश्य खिच्न दगुरिरहेँ।
शिवले सबैलाई टिकटक भिडिओमा नाच्न लगाइन्। म कहिल्यै ननाच्ने घ्याम्पेलाई चखेवाको सुन्दर वातावरणले नाच्न लगायो। नाच्नका लागि खुट्टै उचाल्न नजान्ने मनुवा म खन्च्याङखन्च्याङ गर्दै नाचेँ। हामी सबै आ-आफ्नो तरिकाले दिल खोलेर हाँस्यौ, नाँच्यौ।
जीवनमै पहिलोपटक टिकटकमा नचाइदिएकोमा शिवलाई धन्यवाद दिएँ। मलाई यस्तै चिजले गर्दा शिवसँग यात्रा गर्न निकै मजा लाग्छ।
हामी मन, आँखा र मस्तिष्कले तृप्ति नपाइन्जेल चखेवाको दृश्यमा लडिबुडी गरि नै रह्यौँ। प्रकृतिको मनोरम दृश्यले मानिसको सोचाइलाई नै परिवर्तन गर्दो रहेछ। म जिन्दगीमा दिल खोलेर कमै मात्र रमाएको छु, तिनै कम दिलदार रमाइमध्ये चखेवा भन्ज्याङको रमाइलो एक हुन पुग्यो।
जिन्दगी रहँदासम्म रमाउनु, हाँस्नु, नाच्नु, कराउनु, उफ्रिनु भन्ने प्रेरणा र सन्देश पनि प्रकृतिले दिने रहेछ। जिन्दगी भनेको चखेवा भन्ज्याङ जस्तो स्वच्छ, सुन्दर र शान्त हुनुपर्ने रहेछ। हामी चखेवामा रमाएको देखेर ट्याम्के डाँडा पनि मुसुमुसु हाँस्दै आशीर्वाद दिइरहेझैँ लाग्यो।
वातावरणलाई बाक्लो तुवाँलोले छपक्कै ढाकेकोले वरपरको गाउँघरलाई राम्ररी नियाल्न सकिएन। साप्सु खोलाबाट बादलका टुक्राहरू उकालो नआएकोले जिस्किँदै रमाउने इच्छा भने पूरा भएन।
चखेवा भन्ज्याङको सुन्दरतामा रमेर दिमागलाई स्वच्छ अनि शान्त बनाएपछि करिब ३ किलोमिटर पछाडि रहेको गोठेसिंह होम-स्टेमा बासका लागि पुग्यौँ। अनि कुशलतापूर्वक ड्राइभ गरेर हामीलाई धरानबाट चखेवा भन्ज्याङ र होटलसम्म ल्याई सहयोग गरेकोमा भाइ सुदीपलाई धन्यवाद दिँदै बिदा भयौँ।
पश्चिम दिशामा घाम अझै अस्ताइसकेको थिएन। समयलाई सदुपयोग गर्न होटलको माथिल्लो भेगमा रहेका सुन्दर डाँडाहरूमा घुम्न निस्कियौँ। यात्रामा निस्किएका यात्रीहरूलाई जसले लोभ्याउँछ त्यतै झुम्मिन पुग्नु स्वाभाविक नै थियो।
हामीलाई गोठेसिंहका सुन्दर दृश्यले लोभ्याउँदा वरिपरिका प्रतिबिम्बलाई दिमागभरि टाँसेर रमाउनसम्म रमायौँ। शिवको निर्देशनमा टिकटकमा नाँच्दै, हाँस्दै केही भिडिओ बनायौँ। सूर्यास्त भई पूर्वमा अँध्यारो हुन थालेपछि होटल फर्किएर सुस्तायौँ।
१७ अगस्ट २०२३ (३२ साउन २०८०)
तु क्वा वान, हङकङ
Shares
प्रतिक्रिया