काजल नैना शेरचन राई। एक नेपाली आर्टिस्ट अनि सफल व्यवसायी, जो आफ्नै नाममा ‘काजल नैना’ ज्वेलरी ब्रान्ड बनाउन सफल भइन् र हङकङकै अति महँगो व्यावसायिक स्थल काउलुनको हार्बर सिटीमा स्टोर सञ्चालन गरिरहेकी छिन्। नेपाल छँदा उनी डेन्टिस्ट थिइन्। सुरुमा डेन्टिस्ट्रीमै रम्न जापान पुगेकी उनी त्यसपछि सिंगापुर हुँदै हङकङ आएसँगै आफ्नै डिजाइनमा ज्वेलरीको अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सफल भइन्। हङकङमा आफैँले स्थापना गरेको काजल नैना फाइन ज्वेलरीको सीईओ हुन् राई।
वर्षौंदेखि हङकङमा व्यवसाय गर्दै आएका नेपालीले अझै पनि हार्बर सिटीमा स्टोर सञ्चालन गर्ने आँट गर्न सक्दैनन्, गरेकाहरू पनि छेउछाउमै सीमित हुँदा उनले आफ्नो पहिलो स्टोर नै हार्बर सिटीमा खोलिन्। ‘काजल नैना’ हङकङको हार्बर सिटीमा खोलिएको एउटा ज्वेलरी सप मात्रै होइन। यो एक ब्रान्ड पनि हो। ‘ब्रान्ड’ बनिसकेपछि राईले हार्बर सिटी जस्तो विश्वकै महँगो ठाउँमा स्टोर खोल्ने आँट गरिन्। उनीसँग ब्रान्ड थिएन भने हार्बर सिटीमा यस्तो स्टोर खोल्न सम्भव नै थिएन।
विदेशमा रहेर पनि नेपाललाई सधैँ अगाडि राख्न चाहने राई त्यही सोचले ‘काजल नैना’ नेपाली नामलाई ज्वेलरीको अन्तर्राष्ट्रिय ब्रान्ड बनाउँदैछिन्। ज्वेलरीको अथाह बजार रहेको हङकङमा काजल नैना एउटा नयाँ ब्रान्ड हो, जसको डिजाइन र बिजनेस दुवै गर्छिन् उनी। अब यो ब्रान्ड हङकङ मात्रै होइन, चीनदेखि सिंगापुर हुँदै अमेरिका, अस्ट्रेलिया र यूकेमा फैलिएको छ, विदेशी र नेपाली डायस्पोरामाझ।
सन् २०१७ को मध्यतिर मात्र हङकङ टेकेकी राईले कसरी ‘काजल नैना’ ब्रान्ड बनाइन् र आफूलाई अन्तर्राष्ट्रिय व्यवसायीमा रूपान्तरण गरिन् त? नेपालखबरले हङकङको हार्बर सिटीमा काजल नैना शेरचन राईसँग गरेको बिजनेस–वार्ता :
तपाईंको नेपालदेखि जापान, सिंगापुर हुँदै हङकङसम्मको जुन यात्रा छ। यसलाई विस्तृतमा बताइदिनुस् न?
म एउटा डेन्टिस्ट थिएँ नेपालमा। दुईवटा डेन्टल क्लिनिक चलाइरहेकी थिएँ। त्यसपछि जापान गएँ। जापान जाँदासम्म डेन्टलमै काम गर्छु भन्ने सोचमा थिएँ। श्रीमान्ले पनि तिमीलाई जे गर्न मन लाग्छ त्यही गर भनेर एकदम सपोर्ट गरिरहनुभएकै थियो।
जापान जानेबित्तिकै सर्वप्रथम जापनीज भाषा सिक्न थालेँ। मेरो उद्देश्य जापानमा पनि डेन्टिस्ट्री नै थियो। यसको लागि जापनीज भाषामै परीक्षा दिनुपर्ने भएकोले भाषा सिकिहाल्नुपर्ने जरुरी थियो। जापानमा चार वर्ष बसेँ। भाषाकक्षा लिइरहेकै थिएँ तर विविध कारणवश डेन्टलको परीक्षा दिन जुरिरहेको थिएन।
यसबीचमा हामी सपरिवार सिंगापुर जाने भयौँ। सिंगापुरमा त परीक्षा अंग्रेजीमा हुन्छ। त्यहाँ जानेबित्तिकै म सिंगापुर एनिमेसमा छिरेँ। यो एनिमेस विश्वकै उत्कृष्ट युनिभर्सिटीमध्ये पर्दछ। यहाँ छिर्न एकदमै गाह्रो हुन्छ।
पहिलो वर्ष सफल भइनँ। दोस्रो वर्ष फेरि अप्लाई गरेँ।
त्यो बेला डेन्टिस्ट्रीमा मेरो अलिकति ग्याप भएको थियो। अनि उनीहरूले तिम्रो ग्याप छ, यो छ, त्यो छ भन्न थाले।
उनीहरूले यो कारण देखाएर नलिएपछि मैले के जुक्ति लगाएँ भने, त्यसो भए त्यो सबै फुलफिल गर्छु भनेर डेन्टिस्ट्रीमै धेरैवटा सब–कोर्सहरू गरेँ। फेरि नेपाल गएँ, काम गरेँ आदि धेरै कुराहरू गरेँ। अनि दोस्रो पटक प्रयास गर्दा सफल भएँ।
म मास्टर्सको लागि छिरेको हो। उनीहरूले प्रत्येक वर्ष जम्मा तीन जनालाई लिन्छन्। स्थानीय र विदेशीको कोटा एउटै– जम्मा तीन जना। यसमा म छिरेँ। एक वर्ष पोस्ट ग्राजुएट कोर्स पढेँ। डाक्टर त भइ नै सकेको हो, त्यहाँ काम पनि गरेँ।
त्यहाँका दुई ठूला राष्ट्रिय तहका अस्पतालमा काम गरेँ। एउटा नेशनल डेन्टल सेन्टर (एनडीसी) र अर्को नेशनल युनिभर्सिटी हस्पिटल (एनयूएच)। यी दुई त्यहाँका सबैभन्दा ठूला अस्पताल हुन्, सरकारी तहका। पढाइको दौरानमा पढ्ने र काम गर्ने दुवै काम गरेँ।
व्यक्तिगत रूपमा डेन्टिस्टसम्बन्धी काम गर्न बाहिर यसै पनि ३/४ वर्ष लाग्छ नै। त्यसमाथि डेन्टिस्ट्रीसम्बन्धी त्यहाँको कानुनले गर्दा अड्किने भयो किनभने मैले बेसिक डिग्री इन्डियाबाट गरेको हो। त्यो बेलामा त्यहाँ डेन्टल क्षेत्रमा एकदम उथलपुथल आएको थियो।
अनि मलाई लाग्यो– मैले दुःख गरिसकेर पनि पछि यिनीहरूले मलाई काम गर्न दिँदैनन् जस्तो छ, यस्तो भयो भने त मूर्खता मात्र हुनेछ। त्यसैले अरू नै काम गर्नुपर्छ।
डेन्टिस्ट भइसकेपछि छोड्न पनि गाह्रो फेरि। दश/बाह्र वर्ष यही क्षेत्रमा लगानी भइसक्यो, अनुभव त्यहीँ छ कहाँ छोड्ने भन्ने पनि लाग्ने एक मनले।
तर मैले छोड्नै पर्छ भनेर निर्णय लिएँ। यसपछि के गर्ने त भन्दा, मलाई आर्टमा एकदम रुचि। ज्वेलरी त महिलाहरूलाई मन पर्ने नै भयो।
धेरै चिजहरूको कोसिसपछि ज्वेलरी मन पर्यो। त्यसपछि ज्वेलरी सुरु गरेँ, सिंगापुरमा।
यो कहिलेतिरको कुरा हो?
सन् २०१३ देखि २०१७ को कुरा हुनुपर्छ। सिंगापुर चार वर्ष बसेँ। २०१७ मा सिंगापुर छोडेको हो। सिंगापुरमा हुँदा फ्लेक्जिबल कुरा पनि गरौँ न, यत्तिकै किन बस्नु! परिवारलाई पनि गाह्रो नहुनेगरी केही गरौँ भन्ने भयो। हुनत बच्चाहरू सानै थिए, उनीहरूलाई हेरेर बसे पनि मलाई काम पुग्थ्यो।
तर मलाई बच्चा पनि हेर्छु, काम पनि गर्छु भन्ने भयो। श्रीमान्को कमाइमा मात्र भर पर्नु हुँदैन आफूले पनि केही गर्नुपर्छ भन्ने सोचेँ।
विदेशमा छौँ, केही त गर्नैपर्छ भनेर सोच्दा म डेन्टिस्ट्रीबाट ज्वेलरीमा आइपुगेँ।
यो भनेको कति वर्ष अगाडिको कुरा हो?
सन् २०१६ मा म डेन्टिस्ट्री छोडेर सिंगापुरमा ज्वेलरी स्कूल गएँ। ज्वेलरी स्कूलमा गएर दुई वटा डिप्लोमा गरेँ। अरू सर्टिफिकेट कोर्सहरू गरेँ। थाइल्यान्डमा पनि ट्रेनिङ गरेँ। सिंगापुरमै पनि ट्रेनिङङहरू गरेँ। अमेरिकामा पनि स्पेसलाइजेसन कोर्सहरू गरेँ।
ज्वेलरीमा साँच्चिकै काम चाहिँ हङकङ आएर गरेँ। मेरो ज्वेलरीको यात्रा सिंगापुरबाट सुरु भयो, कामको सुरुआत हङकङबाट भयो।
हङकङमा सन् २०१७ मा आउनुभयो?
हजुर। २०१७ को मध्यतिर आएँ।
हङकङ आएर हार्बर सिटीमा आउनुअघि के गर्नुभयो? कुनै पसल थियो कि? वा जागिर वा अरू केही?
सुरुमा म यहाँ आउँदा एउटा मात्र परिवारलाई चिन्दथेँ, पूरा हङकङमा। त्यो बाहेक चाइनिज, नेपाली कोही चिन्दनथेँ। एउटा साथीको परिवार थियो, तिनीहरूलाई मात्र हो चिन्ने। तिनीहरू अहिले अमेरिका बसाइँ सरे।
यसकारण मलाई ठूलो चुनौती थियो। बच्चाहरू पनि सानै थिए। एउटा पाँच वर्षको र अर्को सात वर्षको। नयाँ ठाउँ, नयाँ बिजनेस, चिनेको मान्छे कोही नहुनु। ठूलै चुनौती थियो।
म डिजाइनर त हो तर बिजनेस पढेको मान्छे होइन, साइन्स पढेको थिएँ, बिरामी हेरेर बस्थेँ। बिजनेस गर्नको लागि बुझ्नुपर्यो, यसको लागि मैले गहिरो अध्ययनमा जानुपर्यो। तैपनि मलाई एकदमै चाहना भएर होला, काम गर्दा त्यसको बारेमा रिसर्च गर्ने, जे पनि बुझ्न खोज्ने गर्दा कामै जस्तो लागेन।
हङकङमा नेपालीहरू २५/३० वर्षदेखि छन्। कतिपयले बिजनेस पनि गरिरहेका छन्। तर धेरैजसोले यस्तो स्थानमा बिजनेस गर्ने, पसल खोल्ने आँट गर्न सकेका छैनन्। आँट गरेकाहरू पनि अलि परपरै छन्। तपाईंको सुरुआती नै हार्बर सिटीबाट भयो?
हजुर, सुरुआती नै यहीँ हो मेरो। मैले ज्वेलरी डिजाइन थालेपछि अनलाइनबाट यसको बिजनेस पनि सुुरु गरेँ। हङकङमै प्राइभेट शोरुम खोलिसकेको थिएँ। चार वर्ष अनलाइनबाटै बिजनेस गरेँ। जब बिजनेस बढ्दै गयो त्यसपछि स्टोर सुरु गरेँ। पहिलो स्टोर यही हार्बर सिटीकै हो।
रिस्क हुन्छ जस्तो लागेन? कसरी यो आँट गर्नुभयो?
पहिले त्यसरी पनि सोचेको थिइनँ। हङकङ आएर म जुन किसिमले अगाडि बढिरहेको छु, एकदम राम्रो रेस्पोन्स आइरहेको छ।
म नेपालबाट सिधै आएको भए गर्थेँ वा गर्दैनथेँ। देश–विदेश घुम्दै आएकोले पनि यो आँट आएको हुन सक्छ। विभिन्न देशका अनुभवले पनि आत्मबल बढाएको हुन सक्छ।
मेरो के बानी छ भने– मानिसहरू घुम्न जाने, खाने, रमाउने गर्छन् नि। म पनि त्यो गर्छु तर त्यसलाई त्यतिमै मात्र सीमित नगरी त्यस ठाउँको अध्ययन पनि गरिरहेको हुन्छु।
तपाईँले अघि भन्नुभयो नि नेपालीहरू २०औँ वर्षदेखि हङकङमा छन्। ठूलै बिजनेस भए पनि सोचाइमा फरक पर्छ कतिपय कुरा।
मेरो सवालमा भन्दा, मैले आँट्न सकेँ। आफूलाई विश्व ब्रान्डको बीचमा देख्नुछ भने किन आँट नगर्ने? त्यहाँ पुग्नुछ भने त्यस किसिमको गतिविधि त गर्नैपर्यो।
यहाँ गरौँ कि त्यहाँ गरौँ अर्को अप्सन छान्न त सक्थेँ होला तर लक्ष्य भेट्टाउन सक्छु कि सक्दिनँ भन्ने कुरा महत्वपूर्ण हुन्छ। गर्ने नै भएपछि होला जस्तो छ भने किन नगर्ने! आँट्न नसक्ने हो भने त केही पनि गर्न सकिँदैन।
सबैको आ–आफ्नो सपना हुन्छ। मेरो पनि सपना छ, त्यही सपनासम्म पुग्न मैले गर्नैपर्ने हुन्छ।
राजा–महाराजाहरू विदेश घुम्न निस्कँदा हङकङ हार्बर सिटीमा सपिङ गरेर फर्किन्छन् भन्ने सुनिँदै आएको हो। पक्कै पनि तपाईंले आफ्ना ग्राहकहरू अनुमान गरेरै हार्बर सिटीमा यो सप सुरु गर्नु भएको होला। पछिल्लो ६ महिनाको रेस्पोन्स कस्तो पाउनुभएको छ?
एकदम प्रेरणादायक छ। म यो छनोटप्रति खुसी पनि छु। मैले त कहिल्यै पनि आफूलाई बिजनेस वुमन भएर सोचेकै थिइनँ। अब चाहिँ सोच्न थालेको छु। तैपनि सर्वप्रथम त आफूलाई आर्टिस्ट भएर सोच्छु। आर्टिस्ट भएर आर्ट बेच्नको लागि पनि म बिजनेस वुमन हुनैपर्यो। त्यसैले बिजनेस पर्सन जबरजस्ती हुनैपर्यो।
म बिजेनस पर्सन होइन, म साइन्टिस्ट हो, आर्टिस्ट हो भन्दा सबैजना छक्क पर्थे।
हुनत हाम्रो खानदान नै बिजनेसबाटै आएको। हजुरबुवा, जिजुहजुरबुवादेखिकै यो जिन ममा पनि केही मात्रामा सर्यो होला। तैपनि म आफूलाई आर्टिस्ट नै भन्न बढी मन पराउँछु। पहिले डेन्टिस्ट थिएँ, डेन्टिस्ट हुँदा पनि केही मात्रामा आर्टिस्ट थिएँ र अहिले त झन् आर्टिस्ट नै छु।
त्यसैले आफ्नो परिचय दिनुपर्दा म एउटा आर्टिस्ट हो र म बिजनेस गर्दैछु। बिजनेस चाहिँ मैले अहिले आएर मात्र बुझेँ। कसरी भने, जीवनमा जे काम गरे पनि त्यसमा बिजनेस त जोडिएकै हुने रहेछ।
जस्तै, म डेन्टिस्ट नै भइरहेको भए र क्लिनिक खोलेको भए पनि क्लिनिक रन हुन त साइडमा बिजनेस नै चाहियो। र, म जसरी पनि बिजनेस वुमन त हुने नै रहेछु।
म यहाँ स्टेप बाइ स्टेप नै गएको हो तर हाम्रो स्टेप चाहिँ अलि छिटो भयो।
सर्वप्रथम त मैले घरबाटै बेचेको हो। कम्पनी चाहिँ रजिस्टर गरिहालेँ।
सुरुका पाँच वर्षजति तपाईंले घरबाटै बेच्नुभयो, होइन?
हो। चार वर्ष भनौँ न। किनभने यो भन्दा अगाडि मेरो अर्को प्राइभेट शोरुम खोलिसकेको थिएँ।
फेरि मैले घरबाट नेपालीलाई बेचेको होइन। सबै यहीँका मान्छेलाई बेचेको हो। क्लाइन्टलाई घरमै गएर वा कफीसपमा गएर भेटिन्थ्यो।
काम गर्दै, अनुभव लिँदै अगाडि बढेको हो।
धेरै ज्वेलरी सप छन् हङकङमा। एकदम ठूलठूला ब्रान्डहरू पनि छन्। नेपालीहरूकै पनि जोर्डन, याउमा तेइतिर टन्नै छन्। तपाईंले हार्बर सिटीलाई रोज्नुको मतलब निश्चय नै तपाईंको टार्गेट नेपालीभन्दा पनि विदेशीहरू अझ चाइनिजहरू नै हुन्। किनभने हार्बर सिटीमा आउने भनेका त विदेशीहरू नै हुन्। तपाईंको जुन डिजाइन र ज्वेलरी छन् त्यसमा तपाईंले कस्ता क्लाइन्टहरू पाउनुभएको छ? एथ्निक हिसाबले, चाइनिज वा गैर–चाइनिज विदेशी वा कस्ता?
वाकिङ क्लाइन्टमा चाहिँ धेरै चाइनिजहरू नै छन्। हामी अनलाइन, अफलाइन गर्छौं। मेरो क्लाइन्टमा प्रवासी नेपाली समुदाय पनि ठूलै छ।
हङकङ साइड र यहाँ काउलुन दुई ठाउँबाट बेच्छु नि त मैले। हङकङ साइडमा चाहिँ धेरै प्रवासी ग्राहक छन्। काउलुन साइडमा चाहिँ हङकङको चाइनिज र मुख्यभूमि चीनकै बढी छन्।
अनलाइनमा चाहिँ अलओभर नै छ। यद्यपि पठाउनसक्ने ठाउँ चाहिँ हुनुपर्यो। जस्तै, कुनै कुनै देशमा त पठाउन पनि मिल्दैन। मिल्ने ठाउँमा त पेमेन्ट अनलाइनबाटै भइहाल्छ, पठाउने सिपिङ गरेर हो समस्यै भएन।
त्यो पनि भइरहेको छ?
हङकङमा त्यो चाहिँ राम्रो छ। नीतिगत रूपमै धेरै कुराहरू सजिलो बनाइदिएको छ। राम्ररी बुझेर गर्ने हो भने हङकङ र सिंगापुरमा काम गर्नको लागि नीतिहरू सजिलै छन्।
अन्तर्राष्ट्रिय व्यापारको लागि?
हो, अन्तर्राष्ट्रिय बिजनेसका लागि सजिलो छ। राम्ररी बुझ्नु चाहिँ पर्छ। सिंगापुरमा पनि इन्टरनेशनल बिजनेसको लागि पोलिसीहरू सजिलो बनाइदिएको छ। सिंगापुरमा मेरो सप त छैन तर अरूको सपबाट मेरो केही सेलेक्टिभ कलेक्सन बेच्छन्। बिजनेस गर्नको लागि पोलिसीहरू राम्रो छ।
नेपाली र भारतीय क्लाइन्टको अवस्था कस्तो छ? कसरी हेर्छन् उनीहरूले?
नेपाली, भारतीय क्लाइन्टहरू पनि छन् हाम्रोमा। हार्बर सिटीमा पनि दश प्रतिशत जति मेरो नेपाली क्लाइन्ट नै हुनुहुन्छ। मुख्यगरी त दिदीबहिनीहरू नै हुनुहुन्छ। कहिलेकाहीँ चाहिँ जेन्टलमेनहरू पनि आइपुग्नुहुन्छ फाट्टफुट्ट रूपमा। हुनसक्छ– श्रीमतीलाई वा कसैलाई किन्नको लागि।
धेरैले त सुनेरै पनि आएको हुन्छ नि त। ‘काजललाई चिन्छ? हाम्रो देशको हो।’ भनेर आउनुहुन्छ कति जना।
मेरो स्टाफ त सबै चाइनिज हो। उनीहरूले पनि भन्छ– ‘हो, हो, नेपाली हो नि त हाम्रो वनर, डिजाइनर।’
यहाँ स्टोरको सेल्समा १० प्रतिशत जति नेपालीले किन्नुहुन्छ। हङकङकै नेपालीले अनलाइनबाट पनि किन्नुहुन्छ। हाम्रो वेबसाइटबाट पनि किन्न मिल्छ।
नेपालमा चाहिँ– चिनेजानेको, साथीभाइले वेबसाइट हेरेर किन्नुहुन्छ। अनि चिनेजानेका मानिसहरू कोही जाने छ भने उहाँहरूले लग्दिने हो, लैजान मिल्ने सीमितताभित्र।
अमेरिका, अस्ट्रेलिया र यूकेमा पनि हाम्रो नेपाली क्लाइन्ट हुनुहुन्छ। धैरेले मन पराउनुहुन्छ र अर्डर पनि गर्नुहुन्छ। अघि भनेजस्तै पठाउन पनि सजिलै छ– सिपिङ भइहाल्छ।
कतिपय अन्य देशहरूबाट पनि अर्डर गर्नुहुन्छ तर त्यहाँ सिपिङ हुँदैन। त्यस्तो अवस्थामा चाहिँ तपाईंको देशमा त पठाउन मिल्दैन, मिल्ने देशमा भन्नुभयो भने पठाइदिन्छु भन्छु।
नेपालका सेलिब्रेटी कलाकारहरूबाट कत्तिको माग हुन्छ?
पहिलो त प्रियंकाले नै होला मगाएको। मैले नै उहाँको लागि ‘माया मंगलसूत्र’ डिजाइन गरेको थिएँ।
बिहेको लागि?
हजुर। बिहेको बेलामा प्रियंकासँग १ घण्टा बसेर कुराकानी गरी उहाँको भावना बुझेको थिएँ। कसैको पनि ज्वेलरी बनाउँदा उसको भावनासँग मेल खाने हुनुपर्छ भन्ने मेरो मान्यता रहन्छ। उसलाई के चाहिएको हो भन्ने पहिचान गर्न सक्नु पर्दछ।
म प्रायः तीन/चार वटा डिजाइन बनाएर छान्न दिने गर्दछु। उहाँलाई पनि डिजाइनहरू बनाएर छान्न दिएँ। उहाँले एउटा छान्नुभयो र त्यही अनुसार बनाएँ।
उहाँले डिजाइन हेरेपछि ‘प्रियंका मंगलसूत्र’ भन्छु भन्नुभयो। मैले होइन होइन, नाम पनि मैले सोचिसकेँ भनेर ‘माया मंगलसूत्र’ नाम दिएँ। म चाहिँ पहिलेदेखि हरेकको नाम दिने गर्दथेँ। नेपालमा खासै नाम दिने चलन थिएन। यो पनि नेपालमा नौलै भयो सुरुमा।
प्रियंका र आयुषको माया देखाउन विशेषगरी त्यो डिजाइन बनाएको थिएँ, त्यसैले त्यसको नाम ‘माया मंगलसूत्र’ राखेँ।
उनीहरूको बारेमा अनेकथरी कुरा पनि आएका थिए नि त! कतिले के के भने। आखिरमा अहिलेसम्म कस्तो राम्रो छ। मैले त पहिलेदेखि चिनिरहेको। एकदमै मायालु जोडी के उनीहरू।
म एउटा डिजाइनर, एउटा आर्टिस्टको हिसाबले तपाईंहरूको माया सधैंभरिलाई रहोस् भन्ने हेतुले डिजाइन गरेको त्यसैले यसको नाम ‘माया मंगलसूत्र’ हुनुपर्छ भनेको थिएँ।
प्रियंकाले बिहेमा मंगलसूत्र लगाएपछि सबैको आँखामा गएछ। कसले बनाएको, कहाँ बनाएको भनेछन् धेरैले।
त्यसपछि मसँग चिनजान भएका अरू केही सेलिब्रेटीले पनि ए प्रियंकालाई मंगलसूत्र डिजाइन गरिदिएको? कस्तो युनिक रहेछ। सबैले मन परायो। मलाई पनि लगाउन मन छ भने। यसरी दुई/चार जनालाई बनाइदिएँ।
चाइनिज अथवा विदेशी सेलिब्रेटीहरूका लागि डिजाइन तयार गरिदिनुभएको छ कि?
आफू नेपाली भएकोले पनि होला पहिलो कुरा त चाइनिज सेलिब्रेटीहरूलाई धेरै चिन्नै नसकिने। हलिउड, बलिउडतिर बरु चिन्न सकिन्छ। २/३ जना पर्सनल्ली चिनेकाहरूलाई चाहिँ बनाइदिएको छु।
हङकङकै एक जना टेलिभिजनमा काम गर्ने एंकरलाई मेरो डिजाइन एकदम मन परेर सधैँ नै लगाइरहन्छ। ऊ चाहिँ चिनेको होइन, क्लाइन्ट नै हो। मेरो ज्वेलरी मन परेर सधैँ नै लगाइरहन्छ।
अर्को यहाँको लुइस लङ भन्ने एक्ट्रेस छ, उससँग मैले काम नै गरेको हो। त्यस्तै अर्को एउटा चिनेको छ जेएसईई भन्ने।
चिनजान भएकोले मैले पनि उनीहरूलाई केही गर्दिन्छु, उनीहरूले पनि मलाई केही सहयोग गरिदिन्छन्।
अहिलेको जमानामा केही न केही गर्नैपर्छ, बिजनेस बढाउनको लागि।
डिजाइनमा तपाईंलाई चुनौती के हो? यहाँका ठूलाठूला कम्पनीको भन्दा कसरी फरक गर्नुहुन्छ ?
डिजाइनमा कस्तो हुन्छ भने, पहिलो कुरा त मलाई के गर्न मन छ भनेर सोच्नुपर्यो किनभने यो त सृजना हो नि त। आफूले एउटा क्रिएसन निकालेर राख्ने हो।
तपाईंले हेर्नुभयो भने, हरेक डिजाइन मिनिङफुल छन् मेरा ज्वेलरीमा। प्रत्येकमा केही न केही छ। जे बनाउन सुरु गर्दा पनि पहिले आफूलाई चित्त बुझेपछि मात्रै बनाउँछु। खालि बिजनेसको लागि मात्र सोच्यो भने त्यो पैसाका लागि मात्र हुन्छ।
धेरैले मेरो डिजाइनको नक्कल गर्नुभएको छ। हङकङमा त होइन, अमेरिका, अस्ट्रेलिया, युके अनि नेपालमा मेरो डिजाइन चोरिएका छन्।
मैले नै थाहा पाउन पनि नपर्ने। अरूहरूले नै तपाईंको डिजाइन त यता पनि आएछ, उता पनि आएछ भनिदिनुहुन्छ।
पहिले त साह्रै चित्त दुख्थ्यो। अहिले चाहिँ ठिकै छ भन्ने लाग्छ। एउटा मंगलसूत्रको डिजाइन बनाएर सय वटा बेचेँ र सबैले गरेर हजार वटा बेच्यो भने अरू दश वटा कम्पनीलाई पनि सित्तैमा डिजाइन गरिदिएछु भनेर चित्त बुझाउँछु।
कतिले त मेरो वेबसाइटबाट मेरै प्रोडक्टको फोटो झिकेर मेरै घाँटीसहित विज्ञापन राख्थे सुरु सुरुमा।
यसो हेर्छु मेरै घाँटीले विज्ञापन रन गरिरहेको हुन्छ! बहुत रिस उठ्थ्यो। डिजाइन चोरेर सामान बनाएको छ त कमसेकम आफ्नै फोटो राख्नु नि! किन मेरो घाँटीले विज्ञापन रन गर्नुपर्यो भन्ने लाग्थ्यो। कोही कोहीलाई त भनेँ पनि नगर यस्तो, मेरो हो यो भनेर।
हङकङमा ठूला ब्रान्डहरू छन्, यस्तोमा प्रतिस्पर्धा गर्नुका फाइदा र बेफाइदा के छन्?
हङकङमा एकदम ठूला ब्रान्ड छन्। तर डराउन पर्छ जस्तो मलाई लाग्दैन। संसारमा यति धेरै मान्छे छन्, हरेकले आ–आफ्नो क्रिएसन निकाल्ने हो भने कति क्रिएसन हुन्छ? तपाईंलाई सफल हुन कति जना चाहिन्छ? कति जनाले किनिदिनुपर्छ? त्यसैले गर्दा म ब्रान्डहरूसँग आत्तिन्नँ। प्रतिस्पर्धा त हुन्छ तर आत्तिने होइन।
हङकङमा भएर फाइदा र बेफाइदा दुवै छन्। फाइदा चाहिँ, यहाँका मानिसले किन्न सक्छन्, ब्रान्ड भ्यालु बुझ्छन्, आर्टिस्टको मान्यता दिन्छन्।
बेफाइदा चाहिँ त्यत्तिकै प्रतिस्पर्धा पनि छ।
(यो फेसबुक पेज र वेबपेजबाट काजल नैनासँग सम्पर्क गर्न सकिन्छ)
Shares
प्रतिक्रिया