समाजमा पुरानो सम्बन्ध तोडेर नयाँ सम्बन्ध जोड्नेहरू अनगिन्ती छन्। तर विडम्बना नयाँ सम्बन्धपछि पुराना सम्बन्धबाट जन्मिएका धेरै छोराछोरीहरू टुहुरा–टुहुरी समान बनेका देखिन्छन्। तिनको जरुरत र तिनको मानसिक अवस्था एवम् अन्य समस्याहरू नयाँ जोडीको लागि जिम्मेवारीमा परेको पनि देखिँदैन। जसले गर्दा ती पूर्व सम्बन्धबाट जन्मिएका छोराछोरीको जीवन अत्यन्त कष्टकर बन्ने गरेको देखिएको छ।
नतिजास्वरुप ती छोराछोरा एन्जाइटी भोग्न बाध्य हुन्छन्। कति कुलतमा फस्छन् भने कतिले पढिरहेको स्कुल ड्रपआउट गर्दछन्। कतिपयको जिन्दगी नै डामाडोल बन्ने गरेको छ। आज पनि पूर्वसम्बन्धबाट जन्मिएका छोराछोरीहरू बाजेबजैको जिम्मा लगाइन्छन्। अझ कतिपयलाई त आमाबाबा मरिसकेको झुटो बहाना बनाएर कुनै रेस्टुरेन्टमा काम लगाइने गरिन्छ। कति देह व्यापार गराउने गिरोहको चंगुलसम्म पुग्छन्।
कतिपय उदाहरण त यस्ता छन् कि महिलाको पूर्वलोग्नेबाट जन्मिएका छोरीहरूले वर्तमान लोग्नेबाट यौनहिंसाको सिकार हुन्छन्। यो अवस्थामा समस्या कतिसम्म जटिल बन्ला? यौन हिंसामा पर्ने छोरी र आमाको मानसिक अवस्था के होला, सजिलोसँग आकलन गर्न सकिन्छ।
एकातिर वयस्क हुँदै गरेका छोरी घरबाहिरकाहरूबाट जोखिममा त छँदैछन्, घरमै पनि ती असुरक्षित हुन्छन्। छोराछोरीको आमा वा बाबासँग नयाँ सम्बन्ध गाँस्न हुने फेरि तिनै आमा या बाबाबाट जन्मेका छोराछोरी नाजायज हुने? छोराछोरी छ भन्ने पूर्व जानकारी हुँदाहुँदै सम्बन्धमा बस्ने आमा या बाबाको गल्ती हो कि छोराछोरीको गल्ती हो? यदि साँच्चिकै विश्वास र समझदारी सहितको सम्बन्ध हो भने त दुवैको छोराछोरी दुवैको लागि आफ्नै छोराछोरी समान हुनुपर्ने होइन र?
नयाँ सम्बन्ध खालि शारीरिक आवश्यकता पूर्तिका लागि मात्रै जोडिएको हो भने त्यहाँ पूर्वसम्बन्धबाट जन्मिएका छोराछोरीको लागि सहज वातावरण अपेक्षा गर्नु गल्ती हो। बाउआमाको बेमेल सम्बन्ध र नयाँ सम्बन्धको चपेटामा परेका छोराछोरीको अवस्था के कस्तो छ भनेर हाम्रो समाजमा चासो राखिएको पनि देखिँदैन। समाजले खबरदारी गर्ने भूमिका निभाएको पनि देखिँदैन।
हुन त महिलाबाट पनि अरुको सन्तानप्रति विभेद नहुने हैन तर दोस्रो सम्बन्धमा यदि पुरुषबाट असमझदारी र असहयोग सुरू भएमा महिला स्वाभाविक रुपले हिंसामा पर्ने देखिन्छ। उसै त समाज पितृसत्तात्मक छ। पितृसत्ताको जगमा उभिएका हरेकजस्तो पुरुष मानसिकतामा अझैसम्म पनि महिलाहरूको अस्तित्व केवल तिनको बच्चा जन्माउन र तिनले चाहेको समयमा शरीर सुम्पनेभन्दा माथिको छैन।
यसैको उपज हो, महिलाहरूले पनि पुरुषसमान सहजरुपमा आफ्नो नामबाट आफ्ना छोराछोरीको नागरिकता बनाउन मिल्ने सजिलो कानुन बनेको छैन। व्यवस्था र शासन फेरिए पनि, नयाँ नियम–ऐनहरू लेखिए पनि विशेष अवस्थामा मात्रै आमाको नामबाट छोराछोरीले नागरिकता प्राप्त गर्न सक्ने अवस्था राखेर थप उल्झन थपिएपछि आमाको नामबाट नागरिकता बनाउने क्रममा आमाहरूले अनेकौँ लान्छना एवम् आक्षेपको सामना गर्नु परिरहेकै छ।
कुनै महिलाले आफूले जन्माएका छोराछोरीलाई आफ्नो नामबाट नागरिकता दिलाउँछु भनेमा ती महिलाको चरित्रमाथि अनेकौँ औँला उठ्न सुरु हुन्छ। र, यो समाज र राज्यको भेदभावपूर्ण व्यवहारसँग लड्न नसक्ने महिलाहरूबाट जन्मिएका छोराछोरी कति नागरिकताबिना नै मर्नुपरेको छ र कति अधिकारविहीन छन्। यसबारे पनि समाजलाई विशेष चासो रहेको देखिँदैन। सम्भव भएसम्म हरेक सम्बन्ध सुमधुर चलोस् भन्ने सबैको चाहना हुन्छ। कुनै पनि महिला या पुरुषले आफ्नो जीवनसाथी आफूले चाहेजस्तो हुनुपर्छ भन्ने चाहना राख्छन्।
राज्यले वैधानिकता र आधिकारिकता दिएको सम्बन्ध विवाह हो। विवाह गरिसकेपछि त्यो वैवाहिक सम्बन्ध सुमधुर चल्नुपर्छ। दुवैले एकअर्काको अस्तित्वको सम्मान गर्दै आफ्नो कर्तव्य निर्वाह गरिएका सम्बन्ध दीर्घकालीन चल्नेमा दुईमत छैन। तर वैवाहिक सम्बन्धमा हरेक दिन झैझगडा र भौतिक हिंसा छ, असमझदारी छ भने त्यो सम्बन्ध अन्त्य गर्नुको विकल्प रहँदैन। कारण त्यो बेमेल सम्बन्धले छोराछोरीको जीवनमा पनि प्रत्यक्ष नकारात्मक असर पु¥याउँछ।
एक असफल सम्बन्धबाट अलग हुनु नै नयाँ सुरुवात पनि हो। पुरानो सम्बन्धमा भएका कमजोरीहरू सुधारेर नयाँ सम्बन्धमा जोडिनु या नजोडिनु व्यक्तिको रोजाइको विषय हो। तर अर्को सम्बन्ध जोडिनुअगाडि विगत र वर्तमानबारे जानकारी भएमा दुवैलाई सहजरुपले अगाडि बढ्न सजिलो हुनसक्छ।
दुवैले दुवैको विगत र वर्तमान सम्मानपूर्वक स्वीकारेर नयाँ सम्बन्ध जोडिएमा पछिल्लो सम्बन्धबाट जन्मिएका छोराछोरीको लागि पनि सहज वातावरण निर्माणमा सहयोग हुन्छ नै। यदि पूर्वसम्बन्धबाट छोराछोरी नजन्मिएको भए नयाँ जोडीलाई एकअर्काप्रतिको भूमिका निभाउन सहज हुन्छ। तर आफ्नो पार्टनरको छोराछोरी र विगतको सम्बन्धबारे आपसमा अवगत भएर अगाडि बढेको सम्बन्धमा चाहिँ अभिभावकीय भूमिका निभाएमा ती छोराछोरी सहितको नयाँ सम्बन्ध समाजको निमित्त उदाहरणीय बन्न सक्छ। पूर्वसम्बन्धबाट जन्मिएका छोराछोरीले आमाबाबुको सामीप्य र मार्गदर्शन पाएर तिनको भविष्य सुरक्षित हुनसक्छ।
अझ महत्वपूर्ण कुनै सम्बन्धबाट अलग बनेर अर्को सम्बन्ध जोड्नु, त्यो सम्बन्ध जोडिएको व्यक्तिलाई प्रेम गर्नु, उसको विगत र वर्तमान एवम् भविष्य सहितको यथार्थलाई सम्मानपूर्वक स्वीकार गर्नु हो। छोराछोरीले यस्ता प्रकारका अवस्था नभोगून् या उनीहरूले आफू हुँदाहुँदै टुहुरो जीवन बाँच्न नपरोस् भन्ने सुनिश्चित गर्न कुनैपनि सम्बन्धमा जोडिनुभन्दा अगाडि जोडिने व्यक्तिको व्यवहार बुझ्नु पहिलो प्राथमिकता हुनुपर्छ। आफ्ना छोराछोरीले आफू हुँदाहुँदै पनि एक्लोपन महसुस गर्नुजस्तो बिडम्बना अरु के होला?
आजकालका पुरुष या महिलाहरूको कमजोर पक्ष के छ भने आफ्ना पति या पत्नीको पूर्वसम्बन्धको रिस आफ्ना छोराछोरीमाथि खन्याउँछन्। छोराछोरीलाई बाबा या आमाको नाम जोडेर मानसिक चोट दिन्छन्। तिनलाई उसै त बाबाआमाको सम्बन्धविच्छेदको चोट एकातिर हुन्छ भने अर्कोतिर आफूले सहारा मानेको अभिभावकबाट यस्तो व्यवहार भोग्नु नर्क भोग्नुको समान नै हो। यहाँ कुनै पनि सम्बन्ध शत प्रतिशत सही र सफल चलेका छैनन्। कुनै पनि मान्छे आफैसँग पनि शत प्रतिशत सन्तुष्ट हुन सक्दैन। झन् अर्को मान्छेसँगको संगत र सम्बन्ध त नितान्त बेग्लै हुन्छ। यो भन्दा माथि केही साइनो–सम्बन्ध हुन्छन्। जसमा आमाबाबा र श्रीमानश्रीमतीको अनि छोराछोरीको सम्बन्ध पर्छ।
हरेकलाई आफ्नो बेमेल सम्बन्ध तोड्न र नयाँ जोड्न स्वतन्त्रता छ। तर आफ्नो स्वतन्त्रताले आफूले जन्माएका छोराछोरीको जिन्दगी अन्धकारमय नबनोस्। भविष्य गञ्जागोल नबनोस्। जीवन आफ्नो हो र आफ्नो खुसीले पुरानो सम्बन्ध तोडेर नयाँ सम्बन्ध जोडौँ। तर छोराछोरीलाई बेवारिसे बनाएर जोडेको नयाँ सम्बन्धले क्षणिक सुख त देला तर दीर्घकालीन खुसी पक्कै दिनेछैन। जसले गर्दा नयाँ सम्बन्धको यात्रा बत्तीमुनिको अँध्यारो नबनोस्।
Shares
प्रतिक्रिया