देश-विदेश भ्रमण गर्ने सपना मनमा लुकिरहेको थियो। यसैको खोजीमा सामाजिक सञ्जाल चहार्दै थिएँ।
मिग अल्फाको फेसबुक पेज जापान, कोरियाका साथै चीनको ग्रेटवाल लगायत दर्जनौँ उत्कृष्ट र आकर्षक स्थानको भ्रमण प्याकेजका विज्ञापनले भरिभराउ थियो।
देश-विदेश भ्रमणको सूचीमा मलाई चीन भ्रमण खास लाग्दैन तर पनि ग्रेटवाल भ्रमणको पोस्टले भने मेरो ध्यान तान्यो।
भोलिपल्ट बिहान अग्रज दाजु, एक अभिभावक अनि अझ साथी पनि डोम रानाको फोन आयो। मलाई लाग्यो- दाजुले कतै हाइकिङ जाने योजना बनाएको हुनुपर्छ। वा, कतै डिनरको लागि सल्लाह लिन लाग्नुभयो। उहाँ खानाको केही न केही नयाँ देख्नुभयो भने त्यसको स्वाद चाखिहाल्ने स्वभावको मान्छे। यस्तै केही कुराकानी होला भन्ठानेर फोन उठाएँ।
‘हल्लो... हन भाइ, हामी चाइना घुम्न जाम हौ एक फेर। म पनि बुढीलाई भन्छु, आफू पनि बुहारीलाई भन,’ दाजुको यस्तो आवाज पो आउँछ!
विश्वमै तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेको चीनको राजधानी बेइजिङ भ्रमणको अवसर जुटेकाले उत्तिखेरै मैले दाइलाई सोधेँ, ‘भिसा प्रक्रियाबारे केही बुझ्नुभएको छ त?’
‘प्रक्रियाबारे म एकफेर बुझ्छु, त्यसपछि भाइलाई गाइडलाइन दिउँला नि!’
भोलिपल्ट दाइको फेरि फोन आयो, ‘भाइ, ल मैले त भिसा एप्लाइ पनि गरिभ्याएँ। आफूहरू पनि समय मिलाएर गए भो। अति सजिलो रहेछ। आत्तिनु पर्दैन!’
दाइले यति भनिसकेपछि कुन दिन जाने र को को जाने भनेर दिमाग घुम्न थाल्यो। मिग अल्फा ट्राभल्ससँगको समन्वय नै सार्थक हुनेमा हामी निर्धक्क थियौँ।
चीनको चुलिँदो अर्थतन्त्र र नेपालीको बढ्दो महत्त्वाकांक्षाका कारण नेपाल-चीनबीच जनस्तरको गतिविधि भविष्यमा बढ्ने नै छ। तर, एकअर्कालाई भाषा र व्यवहारबाट राम्रोसँग चिन्न नसकेका मानिसहरूको संवाद कति हदसम्म मैत्रीपूर्ण रहिरहला?
भ्रमणको पहिलो दिन
जुन ८ बिहान ११ बजे हङकङ इन्टरनेसनल एअरपोर्ट टर्मिनल१ मा भेट्ने निधो गर्नुभएको थियो अल्फा ट्राभल्सका दाइ इन्दर पुनले। हामी सकेसम्म निर्धारित समयभन्दा अघि नै पुग्ने जमर्को मिलाइरहेका थियौँ।
१० बजे नाथन रोड ४५७ केएफसी अगाडिबाट बस चढ्ने डोम दाजुको सल्लाहअनुसार त्यहीँ जम्मा भएर ४ जनाको टिम एअरपोर्टतर्फ लाग्यौँ।
डोम दाइ त्यसै पनि रमाइलो मान्छे। भ्रमणको उत्साहमा अझ थप्नुभयो, ‘ल है आज चाहिँ यो जोडी निकै हँसिलो रसिलो देखिएको छ! निद राम्रो लाग्यो होला क्यारे! किसिम रमाइलो गर्नुपर्छ है।’
तर मलाई भने घुम्न जाने उत्साहले रातभरि निद्रै परेको थिएन। बिहान ९ बजे नै चेकलाप ककस्थित हङकङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ। त्यहाँ नौला-नौला अनुहार जम्मा भइरहेका थिए।
साथीहरू थपिने क्रम जारी नै थियो। यत्तिकैमा एक घनिष्ट मित्र एक हातले सुट्केस गुडाउँदै अर्को हात हल्लाउँदै पो आइपुग्नु हुन्छ!
मित्र विरज विक्रम चेम्जोङले यस्तो सरप्राइज दिनुभयो जो, एउटै कम्पनीमा सँगै काम गर्ने, दिनहुँजसो भेटघाट, हाइहेलो गरिरहेको मान्छे! हामीले भ्रमणका बारे एकअर्कालाई कहिल्यै भनेनछौँ। उहाँ पनि परिवारसँगै आउनुभएको रहेछ।
त्यसैगरी केहीछिनमा जिल्लावासी वरिष्ठ अधिवक्ता जे बी ओख्रबु दाइलाई भेटियो। हुँदाहुँदै हङकङको नेपाली समुदायका लोकप्रिय फोटोग्राफर ज्याप स्टुडियोका विक्रम गुरुङ दाइ भाउजूसँगै देखिनुभयो। ‘हनिमुन पिरियड नै छ नि हो भाइ हाम्रो, ’ दाइ रोमान्टिक मुडमा देखिनुभयो।
यसपछि आफ्नै सोल्टिनीहरू, काकी, दिदीहरू भेट हुनुभयो। जम्बो टिम पो रहेछ हाम्रो!
त्यो दिन विमानस्थलमा सदाभन्दा केही भिन्न देखियो। नेपाल एयरलाइन्सद्वारा नेपाल जाँदाको क्षण कत्रो भीड हुन्थ्यो। तर चाइना साउदर्न एयरलाइन्सको काउन्टर क्षेत्रमा न त भीड देखिन्थ्यो न सामान तौलको मोलमोलाइ गर्ने दलाल नै भेटिए।
को आयो को गयो पत्तै नहुने। पातलो गरी एक्कादुक्का मानिस भिसा, पासपोर्ट र टिकट देखाउँदै डिपार्चर गेटतर्फ लम्किन थाले। हामी पनि त्यसैगरी प्रवेश गर्यौँ।
जहाजमा सबै आ-आफ्नै सिटमा रमाइरहेको थिए। सबै जना उत्तिकै उत्साहित देखिन्थे। जब जहाजले टेकअफको संकेत गर्दै धावनमार्गमा बेग लिन थाल्यो, मेरो मनमा कौतुहल मौलायो- नयाँ परिवेश र शैलीको भ्रमण कस्तो रहला!
हामी चाइनाको आकाशमा छौँ भनेर जब विमानका कर्मचारीले उद्घोष गरे सबै यात्रुले झ्यालतिर मुन्टो घुमाउन थाले।
मेरो झ्यालकै सिट परेको हुनाले नियाल्न सहज थियो। चाइनाको विकासको गतिले मन लोभ्याउन थाल्यो। फराकिलो क्षेत्रफल, चारैतिर हरियाली अनि एकै ठाउँमा अङ्गुरको झुप्पाझैँ झुरुप्प रातो, सुन्तले, खैरो र बैजनी जस्ता देखिने व्यवस्थित मानव बस्ती। कृषि उत्पादनको विशाल टारी खेत, हरियो घाँसे मैदान, ठूलठूला सडकको आकासे पुलमा लस्करै गुडिरहेका रेल तथा गाडीहरू, द्रूतगतिमार्ग रेल्वे। हेर्दाहेर्दै दुई घण्टा ५५ मिनेटको बितेको पत्तै भएन।
अनि, बेइजिङको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल तथा विश्वको सबैभन्दा ठूलो एकल-संरचना विमानस्थल, ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलभित्र अवतरण गर्यौँ। विनाझन्झट सबैले अध्यागमन पार गर्यौँ।
यसपछि ब्यागेज कलेक्ट हलतर्फ पाइला चाल्यौँ। सबै जनाको ब्यागेज, ह्यान्डब्याग प्राप्त भयो। सबैको ब्यागेज सकुशल नै थियो तर विक्रम दाइको ब्यागेज भने प्वाल परेछ।
जहाजबाट सामान ओसारपसार गर्ने क्रममा कहिलेकाहीँ यस्तो भैहाल्छ जाउँ भन्ने कुरा भयो सुरुमा। विक्रम दाइभाउजूले पनि यसमा सहमति जनाउनुभयो।
फेरि, एअरपोर्ट कर्मचारीलाई एकपटक अवगत गराउने कि भन्ने सल्लाह भयो। अनि, नजिकै रेखदेखमा खटिएकी एक महिला कर्मचारीलाई त्यो हालत देखायौँ।
उनले दु:खी नबन्न भन्दै नजिकै रहेको कार्यालयमा लगिन्। ब्यागेज हेरेपछि त्यहाँ रहेका अन्य कर्मचारीले तत्काल निर्णय गरे, ‘यसको क्षतिपूर्तिवापत् तपाईँ पैसा लिन चाहनुहुन्छ वा अर्को यस्तै ब्याग?’
दाइभाउजूसँगको सल्लाहअनुसार ब्याग नै लिने कुरा भयो। एउटा विकसित राष्ट्रको चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरण त्यहीँ देख्यौँ।
हाम्रो देशको एअरपोर्टमा भएको भए धेरै हल्ला गर्छस् भन्दै प्रहरी र कर्मचारी मिलेर घिसार्दै गेट बाहिर कटाउँथे। क्षतिपूर्ति त कता हो कता सामान नै जफत हुनसक्थ्यो। यो हामीले भोग्दै आएको अनुभव हो।
हङकङ एअरपोर्टदेखि चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट ड्यास्किङ एअरपोर्ट हुँदै जुन ८ मै राजधानी बेइजिङ जाने योजना रहेको मिग अल्फाका सीईओ इन्दर पुनको प्रि-ब्रिफिङ थियो।
हामीलाई लागेको थियो, हाम्रो गाइड इन्दर पुन नै हो। तर त्यसो होइन रहेछ। जब एअरपोर्टबाट गेट पास भएर बाहिरियौँ। एअरपोर्ट परिसरमा मिग अल्फा लेखिएको ब्यानरमा एक सुन्दरीलाई देख्यौँ।
अभिवादनसहित शिर झुकाएर भनिन्- वेलकम टु चाइना। माइ नेम इज आनी।
झट्ट हेर्दा नेपाली जस्तै देखिने उमेरले भर्खरै युनिभर्सिटी अध्ययनरत। भाषामा स्पष्टता, बोलीवचनमा उस्तै मिठासपन। यति राम्री सुन्दरीको साथ चाइना भ्रमण गजबै हुनेभयो भन्दै हामी उनको पछि लाग्यौँ।
सडकपेटीमा झ्याम्म पात भएका थरीथरीका रुख, फुलको दृश्यले सबैको मुखमा वाह शब्द निस्किरहेको थियो।
सडक किनारमा रहेको बसलाई देखाउँदै आनीजीले हामीलाई यात्रा गराउने बस भनेर चिनाइन्।
गाडी हेर्दा नेपालमा पूर्व-पश्चिम चल्ने भर्खर शोरुमबाट निकालिएको रात्रिकालीन बसभन्दा कम थिएन। आनीले चिनाउँदै गर्दा बसको क्याबिनबाट चालक पनि बाहिरिँदै हामीलाई स्वागत गरे, ‘वेलकम! अबका चार दिन हामी सँगै हुनेछौँ।’
त्यहाँका गाडी चालक कति भलाद्मी! हामीहरूको ब्यागेज आफैँले बसको डिकीमा लोड गरे।
करिब एक घण्टा यात्रा गरेपछि बस एउटा सहरभित्रको पार्किङमा रोकियो। झमक्क साँझ परेको थियो। हामी रेस्टुरेन्टमा पुगेका रहेछौँ।
रेस्टुरेन्ट एक तलामाथि रहेछ। हामी गाइडलाई पछ्याउँदै गयौँ। फराकिलो हलभित्र ठूलो डाइनिङ टेबलमा घुमिरहेको खानाको परिकार देखाउँदै आनीले खाना लिन आग्रह गरिन्।
त्यहाँ राखिएको खानेकुरा चौरासी व्यञ्जनभन्दा कम थिएन। कुन खाने, कताबाट सुरु गर्ने! खाँदै थियौँ, टेबलमा भएजति मात्रै परिकार होला भन्ने लागेको थियो। तर, जति प्लेट घट्छ, उति नै नयाँ परिकार पो आउँछ!
नेपाली खुवाइ त हो, हिँड्नै मुस्किल पर्नेगरी, पेट चर्केलाझैँ अंश-अंश भइन्जेल खाइएछ।
डिनर सकिएपछि १० मिनेटको बस यात्रापछि ठूलो अक्षरले बनाएको क्राउन प्लाजा पुग्यौँ। २६ तलाको पाँचतारे होटेल रहेछ। होटलका गार्डले सबैलाई आ-आफ्नो कोठाको चाबी दिए। त्यहाँको प्रक्रिया पूरा गरेर हाम्रो गाइड आनी भोलिपल्ट बिहान ८ बजे सबै जना तयार रहनुहोला भन्दै बाटो लागिन्।
आरामदायी कोठा, फराकिलो खाटको आनन्दै बेग्लै। उता हङकङको साँघुरा कोठा, मज्जाले जिउ हल्लाउन समेत हम्मेहम्मे पर्ने बसाइमा यता पाँचतारे होटलको बसाइ बडो आनन्दमयी थियो।
खाटदेदखि ट्वाइलेट, वासरुमसम्मै टेलिफोन। जताबाट पनि कुराकानी गर्न सकिने। बिहानसम्म मज्जैले निदाइएछ। ८:१० मा आएको डोम दाइको कलपछि हस्याङफस्याङ गर्दै उठेर ग्राउन्ड फ्लोरमा रहेको नास्ता रुममा पुगेँ।
सबै जनाले नास्ता गरिसकेछ्न्। ‘ल छिटो खाने भाइ। हैट, घुम्न आको मान्छे के हो यस्तो पनि हुन्छ!’ भन्नुहुन्छ डोम दाइ।
ब्रेकफास्टमा पनि त्यस्तै परिकार। कतिपय त कहिल्यै देखेको थिइनँ। १२ प्रकारको चिया, १२ प्रकारकै कफी। यसभित्र पनि चिनी, दूध हालेको/नहालेको। आइस कफी, आइस टी के-के, के-के। दर्जनौँ प्रकारका फ्रेस जुस, वन तरुलदेखि घर तरुलसम्म, पुरी तरकारीदेखि बर्गर पास्ता, फलफूल खाइनसक्नुको परिकार थियो।
ब्रेकफास्टको टेस्ट ४ दिनसम्म खान पाइनेमा ढुक्क भइयो। यसपछि हाम्रो दोस्रो दिनको भ्रमण सुरु भयो।
दोस्रो दिन
बेइजिङ भ्रमणका उल्लेख्य स्थलमध्ये हामीले दोस्रो दिन धेरै स्थानको भ्रमण गर्यौँ।
दरबार क्षेत्र, दरबारियाहरूले बनाएका गर्मी छल्ने ठाउँ, वास्तवमै उल्लेखनीय भ्रमणस्थल थिए। दरबार किनारमा बनाइएका ठ्याक्कै फेवा तालको झल्को मेटाउने डुङ्गा चढेर दरबार परिक्रमा गर्न मिल्ने रहेछ। बेइजिङ र वरिपरिका सहरमा रहेको ३०-३२ डिग्री सेल्सियसको गर्मीका बाबजुद पनि हामीले उल्लेखित पर्यटकीय स्थललाई हेर्न चुकेनौँ।
तेस्रो दिन
विश्वका सात आश्चर्यमध्येको एक र अन्तरिक्ष समेतबाट देखिने पृथ्वीको एक मात्र भौतिक संरचना- लामो पर्खाल अर्थात् ग्रेटवाल चढ्न जाने त्यस बिहान वास्तवमै हाम्रो लागि रोमाञ्चक र कौतुहलपूर्ण बनेको थियो।
त्यो दिन बिहानै हामी ग्रेटवालको काखतर्फ हानियौँ। त्यहाँ चिनियाँ भाषाको ठूला-ठूला अक्षरमा माओको भनाइ लेखिएको रहेछ, ‘ग्रेटवाल नचढेको मानिस बहादुर होइन।’
लामो पर्खाल अनि ३०-३२ डिग्री सेल्सियसको गर्मी। आफूलाई स्वास्थ्य समस्या पर्न सक्ने सोचेर हाम्रो गाइड आनीले आफ्नो स्थानमा स्थानीय गाइड च्याङ वेलाई अनुरोध गरेकी रहिछन्।
वेको बारेमा बताउँदै आनी अघि लागिन्, हामी उनको पछि-पछि ग्रेटवालका दृश्यावलोकन गर्दै फोटो खिच्दै, खिचाउँदै अघि बढ्यौँ।
सय मिटर जति सिँढी चढेपछि ‘ल तपाईँहरू अगाडि बढ्नुहोस्, म यहीँ हुनेछु। रमाइलो गर्नुहोला। १२ बजेभित्र आइपुग्नुहोला,’ आनीजीले हामीसँग बिदा मागिन्।
कुनै समय किताब र पत्रपत्रिकामा ग्रेटवालबारे पढेको र फोटो हेरेको सम्झँदै आज त्यही ग्रेटवालका सिँढी चढ्दै थियौँ।
ग्रेटवालमा छँदै हाम्रै समूहकी शान्ति वनेम दिदीले ठूलो सरप्राइज दिनुभयो। नेपाली पहिरनमा नेपालको झन्डा लिएर सुटुक्कै तस्बिर खिचाइसक्नु भएछ। लुगा कतिखेर फेर्नुभयो, तस्बिर कतिखेर खिच्नुभो, एकाएक फोटो पो आउँछ व्हाट्सएप ग्रुपमा!
ग्रेटवाल भ्रमणपछि खाना खाइवरी लगत्तै हाम्रो टोली ओलम्पिक भ्रमण गर्ने योजनाअनुसार बाटो लाग्यो। करिब १ घण्टा ४० मिनेटमा त्यहाँ पुग्यौँ।
ओलम्पिक यस्तो ठाउँ हो, ग्रीष्मकालीन र शीतकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने विश्वमै पहिलो सहर बेइजिङ बनिसकेको छ। हामीले त्यहाँ पनि पुगेर तस्बिर खिचाउने रहर पूरा गर्यौँ।
चौथो दिन
हाम्रो भ्रमण प्याकेजमा रहेका स्थानमध्ये बाँकी स्थलको दर्शन चौथो दिनमा भ्याएर हामी हङकङ फर्केका थियौँ।
Shares
प्रतिक्रिया