गर्मीले हङकङ सहर तातिएको थियो। जुलाईको एक बिहानी पूर्वमा उषाले आफ्नो वस्त्र खोल्दै गन्तव्य पुग्ने तरखरमा छिटफुट किरणका टुक्रा छर्दै निलो गगनसँग मुस्कुराउँदै थियो। हामीलाई यही कन्चन दिनसँग समीपता बढाउनुथियो सप्ताहन्तको छुट्टी।
साई कुङ र शातिनको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित माओन सान पर्वतको संगमस्थल बनेर एक अद्भुत चट्टानमा चारतले झरना वर्षौँदेखि आफ्नो सुन्दरता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ। गर्मीयाममा धेरै स्थानीय मानिस समय खर्चेर कहाँ कहाँ कुँदिरहेका हुन्छन्, बत्तीमुनि अँध्यारो भनेझैँ हामीले आफ्नो आँगनको प्राकृतिक विशेषता भुलिरहेका छौँ। महिनौँअघि अग्रज दाइ डोम रानाले हामी पनि एकफेर जाम न हौ भनेर राख्नुभएको प्रस्ताव यस दिन पूरा हुँदैथियो।
झरनामा रमाउनका लागि मन मिल्ने ४ भाइ जम्मा भयौँ- डोम दाजु, मेरो भाइ सुजन, म अनि डोम दाइको मामा रविन्द्र थापा।
ताइचु हाङ हाम्रो गन्तव्य भएको हुनाले वुकाइ सा को ट्रेन ट्र्याक समातेर जानुथियो। होमानतिन, हिनकेङ, चेकुङ टेम्पल, ताइवाइ, शातिन वाइ, सिटी वान, शेक मुन हुँदै ताइचु हाङ पुगिँदो रहेछ।
याउमा तेइ एमटीआर स्टेसनमा भेट्ने पूर्व सहमति थियो। हामी दाजु आउने समयलाई पछ्याउँदै त्यहाँ पुग्यौँ। रविन्द्र थापा १५ मिनेटअघि नै आएर बस्नुभएको रहेछ।
मामासँग पहिले पनि देखभेट त भएको तर परिचय भएको रहेनछ। ‘हजुर दाइको मामा। म पनि मामा भन्छु नि!’ मैले कुराकानीको मेसो निकालेँ।
मामाले फिस्स हाँस्दै ‘हुन्छ नि भान्जा बाबु’ भन्नुभयो।
‘हङकङेली साइनो केही उमेर ढल्केकालाई अङ्कल-आन्टी, मामा-माइजू भन्ने प्रचलन छ। कतै रिसाउनु पो भयो कि? मान्छे जवान हुनुहुन्छ,’ मैले डर मिसाएँ। मामाले यसमा मुसुक्क हाँसेरै स्वीकारोक्ति दिनुभयो।
यतिन्जेलसम्म डोम दाजु पनि आइसक्नुभएको थियो। अनि पसियो होमान तिनतर्फको रेल लाइनमा।
यात्रा सुरु भयो। रविन्द्र मामा र भाइ सुजन सिटमा अडेस लागेर सुस्ताउन थाले भने हामी दाजुभाइ आँखामा आएसम्मका दृश्य कैद गर्न थाल्यौँ।
हामी जाँदैथियौँ शातिन। जाँदाजाँदैको पहेँलो रङ्गे पहाडको दर्शन पाइयो। सुनकै पहाड जस्तो! बौद्ध मार्गीको आस्थाको केन्द्र हजार बुद्ध (थाउजन्ड बुद्ध) को मूर्ति प्रतिस्थापन गरिएको यस स्थान पर्यटकीयस्थलका रूपमा पनि परिचित छ हङकङमा। निरन्तर धार्मिक कार्य सञ्चालन हुनुका साथै आवश्यक संरचनाहरू निर्माण हुँदै आइरहेको शातिनस्थित थाउजन्ड बुद्धको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा यो स्थानसँग बुद्धका थरीथरीका अनुयायी भिक्षुहरूका सम्बन्ध भेटिन्छन्। यसैकारण पनि यस ठाउँमा बुद्धको मूर्ति (प्रतिमा) स्थापना अर्थपूर्ण देखिन्छ।
शातिनको धर्ती छिचोल्दै थियो हामीलाई यात्रा गराइरहेको रेलले। आँखामा नअटाइन्जेलको घाँसे रंगशालाको कम्पाउन्डले बाँधिसकेको थियो हामीलाई।
‘कति त्यो गुजुक्क परेको कंक्रिटको अटसमटस कोलाहलमय पार्क र गल्लीमा मात्रै दौडिने, कहिलेकाहीँ त यस्तो सुन्दरताले भरिएको घाँसे चौरमा पनि पाइला चिप्ल्याउन? ’ डोम दाइलाई भनेँ।
‘यो त कहाँ मान्छे दौडिने मैदान हो त! घोडा दौडाहामा प्रयोग गरिने रंगशाला हो नि!’ दाइले वृतान्त सुरु गर्नुभयो-
‘चाइनिजहरूको क्यासिनो, जुवापछि बाजी मार्ने अर्को एक चिज हो, घोडा दौड। घोडा दौडमा बाजी मार्ने भन्दा हार्नेको संख्या छ। कमाउने प्रलोभनमा नेपालीहरू पनि उत्तिकै देखिन्छन्। महिना दिन काम गरेर आएको तलब एकै दिन घोडा रेस र मार्क सिक्समा फसाएर परिवारसँगको आत्मीयता टुटेको र कुलतमा फसेका मानिसहरू प्रशस्तै देखिन्छन्। यस अन्तरगत मेसिनमा भएका रुलेट, पोकर, ब्ल्याक ज्याक फ्रुट गेम, भिडिओ गेम इत्यादि टाट पल्टाउने गेम भित्र्याइएका छन्।’
दाजु डोम रानाको कार्यस्थल शातिन, ताइवाइ, माओन सान हुनाले दाइ लामो समयदेखि यो परिवेशसँग नजिक हुनुहुँदो रहेछ।
हङकङको अर्को पर्यटकीय आकर्षणको केन्द्र ‘हेरिटेज म्युजियम’ ऊ ऊ भन्दै औँलाले देखाउनुभयो। आँखामा गत महिना बेइजिङ भ्रमणका क्रममा देखिएको तियानमेन चोकको सुन्तले रङको विशाल दरबारको वास्तुकलाको झल्को आयो। डोम दाजु हाम्रो यात्रामा गाइडको भूमिका निभाउँदै हुनुहुन्थ्यो।
दाइले हेरिटेज म्युजियमलाई एकदिने भ्रमणमा समय निकालौँ है साथीहरू भन्दै संग्रहालयको संक्षिप्त परिचय यसरी दिनुभयो- ‘हङकङ सहरको सबैभन्दा ठूलो संग्रहालय, हेरिटेज म्युजियम हो। परम्परागत चिनियाँ कला, संस्कृति र इतिहास बोकेको यस संग्रहालयमा पुरानो खेलौना प्रदर्शनसहित स्थायी प्रदर्शनी ग्यालरी छन्।’
शिङमुन नदीको काखमा अवस्थित यसको स्थान अद्वितीय छ। पिक्सारदेखि समकालीन पोस्टरसम्मका नियमित विषयवस्तु प्रदर्शनीमा छन्। यहाँ ब्रुस लीको प्रदर्शनी पनि हेर्न पाइन्छ। चलचित्र स्टार र कुङ फु मास्टर ब्रुस लीका फ्यानहरूले सहरमा रहेको उनको पुरानो हवेलीको भर्चुअल प्रतिकृति पनि हेर्न सक्नेछन्।
यात्राको क्रममा ब्याप्टिस विश्वविद्यालय देखियो। जुन नेपालीमूलका धेरै विद्यार्थीले अध्ययन गर्ने थलो पनि हो। मल्टिमिडिया सुसज्जित कक्षाकोठा, कम्प्युटर प्रयोगशाला, नर्सिङ प्रयोगशाला, रसायन र जीवविज्ञान प्रयोगशाला, सिनेमा तथा टिभी स्टुडियो, इन्डोर व्यायामशाला, पौडी पोखरी तथा खेलकुद क्षेत्रहरू, फाइन आर्ट, संगीत कोठा, समाचार र रिपोर्ट लेखन स्टुडियो लगायत सम्बन्धित विधाका विभिन्न अध्ययन केन्द्र यस विश्वविद्यलयको विशेषता रहेछ। डोम दाजुले आफ्नो छोराले पनि यहीँ पर्यटन र होटल व्यवस्थापनमा स्नातक गरेको सुनाउनुभयो।
अब भने हाम्रो रेल ताइचु हाङ स्टेसन पुग्छ जुन हाम्रो गन्तव्य थियो। टिङतोङ आवाज दिँदै रेल रोकियो। ढोका सुतुतु खुल्यो हामी ह्वारर बाहिर निस्क्यौँ।
अब भने सुरु भयो हाम्रो पैदल यात्रा। एमटीआर स्टेसनसँगै रहेको सेभेन एलाभेनमा पानी, चिया-कफी तथा बिहानको खाजा किनेर बी गेटबाट बाहिरियौँ।
निलो आकाशको पृष्ठभूमिमा वरपरको पहाड मस्त फक्रिएको थियो। बिहान १० नबज्दै हामीले झरना अवलोकनको लागि पाइला चाल्यौँ। साइकलिङ ट्रयाकसँगैको बाटोबाट अघि बढ्दा सिधा अगाडि कामचुन कोर्ट लेखिएको गगनचुम्बी भवनमा आँखा ठोकियो। भवनलाई बायाँ पारेर अघि बढ्दा कालोपत्र गरिएको पक्की सडकको मुखैमा ताल्चा ठोकेर बेरियर तेर्स्याइएको थियो। सँगै ‘अनुमितविना सवारी साधन निषेध’ लेखिएको पानी आपूर्ति विभागको बोर्डले स्वागत गर्यो।
भर्खरै अलकत्र लेपन गरेको जस्तो देखिने नागबेली सडकले पहाडलाई चिरेर अघि बढ्दो छ। सडकका दुवै भित्तामा ढलान गरिएको छ। अब भने हरियाली जङ्गल हाम्रो नजिक आयो। एक हुल युवती सेल्फी लिइरहेका थिए। बाटोमा कोही आउला र फोटोग्राफरको जिम्मा दिउँला भनेका रहेछन् कि कुन्नि! जब हामी नजिक पुग्यौँ, क्यामरा हस्तान्तरण गर्नै हतार!
अझ ताजुब त वर्षौँको चिनजान भएझैँ पो बोलाउँछ! समकालीन दौँतरी जस्तो, माई फ्रेन्ड रे! अनि, दाइ र मामालाई चाहिँ ब्रोदर! हामी पनि के कम! फोटोग्राफर बनिदियौँ। अझ, माइती नै बनेर ग्रुप सेल्फीमा पनि अटायौँ।
‘ह्वयर आर यु फ्रम?’ दाइले कुराकानीको मेसो झिक्नुभयो। उत्तर आयो ‘फिलिपिन्स’। रविन्द्र मामाले अर्को झटारो हान्नुभयो, ‘लेट्स गो!’ अन्य साथी आउँदैछन्, पर्खेर जाने जस्ता उत्तर आएपछि बाईबाई भन्दै हाम्रो यात्रा अघि बढ्यो।
चट्टाने पहाडमा उम्रेको पानीले कलकल गीत गाउन थाल्यो। हामी पनि के कम! अँजुलीमा थाप्दै खाना थाल्यौँ। बोतल भर्यौँ। जरुवा पानीले तिर्खा मेटाउन पाइएकोमा उत्साह बढ्यो।
टोली अघि बढ्दै गयो। अलि माथि पानीको ठूलो मुहान भेटियो। त्यहीँनेर सल्लाको सुरिलो रुख, बाँसको झ्याङ लगायतले सितल भरिएको चौतारीले हामीलाई नै पर्खेझैँ देखिन्थ्यो। थकाइ खासै नलागे पनि यो क्षण नगुमाउने निधोमा हामी पुग्यौँ।
मधुर श्वरमा ‘काफल पाक्यो’ आवज गुन्जियो। भोर्लाको लहरा जस्तै लाग्ने लठारो बटारिएको रुखबाट चराले संगीत भरिरह्यो। हामी चकित पर्यौँ। वाह! हङकङमा पनि काफल पाक्यो शब्दको आवाज दिने कोइली चरी! पक्कै पनि यो नेपालबाटै आएको हुनुपर्छ! हामीले ठट्टा गर्यौँ।
पदमार्गमा देखिएका प्राकृतिक विविधता ग्रहण गरिनसक्नुको थियो। अब भने बाटोमा पहाड उक्लिँदै गरेका मानिसको लस्कर देखिन थाल्यो। केही अगाडि रुखको छहारीमा वृद्ध अवस्थाका आमाहरू रातो गोटी बटुलेर समय बिताइरहेका थिए।
के गरिरहेका होलान् उनीहरू? डोम दाजु क्यान्टोनिजमा राम्रो दखल राख्नुहुन्छ। सोध्नुभो, ‘च्यु मेयाआ?’
‘लिक्व मेलेगाआ आच्ये’ आमैको नम्र जवाफ थियो- जङ्गली फल। भर्खरै कोइलीको ‘काफल पाक्यो’ गुन्जिएको थियो। वास्तवमा आमैहरूले टिपिरहेको त्यो काफल थियो। हाम्रो वरिपरिका धेरै रुख काफलका थिए।
जब त्यो फल काफल हो भनेर थाहा पायौँ, शरीर हङकङमा भए पनि मन भने उडेर नेपाल पुग्यो। नेपालमा हामी चारै भाइको भूगोल मिल्दोजुल्दो थियो। ग्रामीण बस्तीमा जन्मे-हुर्केका हामीलाई स्कुलबाट घर फर्किँदा बाटोमा काफल खाएको, हाँगै लासेर अमला टिपेको, रुखको हाँगामा सोइसोइ खेलेको ताजा बन्यो। हामीले पनि निख्रिँदै गरेको काफल रुख नै टकटक्याएर खायौँ।
अब भने हाम्रो कानमा झरनाको सुसेली ठोकिन्छ। झरना पोखरी नजिकै आयौँ भन्ने थाहा भयो। एकैछिनमा कञ्चन खोला लय हालेर बगेको देखियो।
एक हुल व्यक्ति माउन्टेन बाइकमा हुर्रिँदै झरनासँगैको पोखरीमा डुबल्की मार्न थाले। ती साहसिक साइकलयात्री चाइनिजमूलका थिए। यो झरनाको नाम के हो? भनेर उनीहरूसँग बुझ्यौँ। ‘मादाइ स्ट्रिम’ भन्ने जवाफ आयो।
अब भने चिटिक्क कालोपत्रे सडकले पनि बिदा माग्यो। प्राकृतिक ट्रेल र कञ्चन खोला एकै ठाउँ गाँसियो। त्यहाँबाट हाइकिङ गरे पिरामिट हिल ‘माओन सान’ हवाइ स्पोर्ट्स पुगिने रहेछ। जहाँ साहसिक खेल प्याराग्लाइडिङ गरिन्छ। स्थानीय नेपाली पाइलटहरूले पनि पिरामिट हिलको आकाशमा कावा खाँदै प्याराग्लाइडिङ गरिरहेका हुन्छन्। विश्वचर्चित हङकङको अक्सफाम ट्रेल वाक पनि मेक्लेहो ट्रेलमै गराइन्छ।
हामीले चाहेको झरनाको शिर चाहिँ केही माथि रहेछ। झरनाको खोज्दै शिर खोज्दै खोलाको तिर केहीछिन यात्रा गर्नुपर्ने भयो। झरना पुग्न छुट्टै बाटो छैन। कञ्चन खोलाका सिलौटे/लोहोरे आकृतिको ढुङ्गा पन्छाउँदै खोल्सोलाई पछ्याउनुको विकल्प थिएन।
सूर्योदयले किरणका टुक्रा धर्तीमा बिछ्याउँदै थियो। जमिन तात्न सुरु भएसँगै गगन निलो पोतिएझैँ सङ्लिएको थियो। मलाई भने कहिले ‘मादाइ’को चार तले झरनामा पुगौँ र कञ्चन पानीमा फाल हानौँ भइरहेको थियो।
यत्तिकैमा एक अपरिचित नामबाट फेसबुक म्यासेन्जरमा घण्टी बज्यो। ‘सहयोगको लागि हार्दिक अपिल’ लेखिएको शीर्षकमा अस्पतालको शैय्यामा ब्लाङ्केट ओडाइएका बिरामीको तस्बिर र रोमनमा लेखिएका हरफ- ‘प्लिज दाजु मेरो बैनीको उपचारको लागि जति सक्नुहुन्छ हेल्फ गर्नुहोस्’।
यता म भने सकीनसकी नदीको किनारै किनार हिँडिरहेको थिएँ। लेउ लागेका ढुङ्गा। टेक्ने ठाउँ ठम्याउनै मुश्किल परिरहेको थियो। एउटा ढुङ्गामाथि टेक्यो पिलित्तै चिप्लेर आधा जिउ खोलामा पुग्छ। खोलाको अल्लो छेउ र पल्लो छेउ गरेर घिस्रिँदाघिस्रिँदै निथ्रुक्क भिजिसकेको थिएँ।
यता गन्तव्यमा पुग्न शारीरिक कष्ट गरिरहेकै बेला सहयोगको अपिल पठाउने अपरिचित बहिनीको पीडाले मन पोल्न थाल्यो। अपरिचित बिरामीको पीडाले मन तान्यो।
डोम दाजु कति छिटै झरनासँगैको पोखरीमा पुगिसक्नुभएछ। डिलमा उभिएर मपट्टि हेर्दै चिच्याउनु पो हुन्छ, ‘हन कति सुस्त हिँडाइ हो अल्ट्रा रनरको!’
दाजुको व्यंग्यले एक दशक पछाडि पुर्यायो। म त्यही धावक थिएँ, हङकङमा भएको एक्सन एसिया स्प्रिन्ट दौड प्रतियोगिताअन्तर्गतको तीन वटा सिरिज कप्लक्कै निलेको थिएँ। म त एसियाको अब्बल स्वर्ण पदकधारी पो थिएँ! एक्सन एसियाको स्प्रिन्ट दौड नै ह्याट्रिक गरेको थिएँ। दर्जनौँ मिडियाले आफ्नो शरीरलाई चौकोण बनाएर लामो र महङ्गो क्यामेरामा कैद गरेका थिए। अङ्ग्रेजी छापा पत्रिका र अनलाइनमा मेरो तस्बिर र समाचार रङ्गिएका थिए।
फेरि झल्याँस्स अघिको म्यासेजतर्फ ध्यान गयो। नेपालमै रहेको माइलो भाइ जीवनलाई फोन डायल गरेँ। तीन पटकको प्रयासपछि फोन उठ्यो। घाँस काट्दै रहेछ। सहयोगका लागि आएको म्यासेजबारे कुरा गरेँ। के कसरी सहयोग गर्न सकिन्छ। सम्बन्धित ठाउँमा पुग्छ पुग्दैन आदिबारे कुरा भए।
म यता फोनमा व्यस्त भएँ। टोली त ठाउँमा पुगिवरी रमाइलो गर्न भ्याइसकेको रहेछ।
पोखरीमा पुग्ने बेला एउटा कान्लो उक्लनको लागि डोरी झुन्ड्याइएको रहेछ। रविन्द्र मामा डोरी दिँदै भन्नुहुन्छ, ‘अप्ठेरो छ, बिस्तारै आउनु, कता हराउनुभएको?’ उहाँ पौडीको आनन्द लिएर आराम गर्न पोखरीको डिलमा आउनुभएको रहेछ।
उहाँलाई म्यासेज र भाइसँग भएका कुरा बताएँ। यत्तिकैमा डोम दाजु पनि के गफ चुट्दैछौँ यहाँ भन्दै आइपुग्नुभयो। सबै जना बिरामीको पीडाप्रति सम्वेदनशील देखिनुभयो। के कसरी सहयोग गर्न सकिन्छ त भन्नेबारे पनि कुराकानी भए। तर, ठगहरूको बिगबिगी रहेकोले सचेत रहनुपर्ने कुरामा पनि सबै एकमत भयौँ। र, यी कुरा पछि गर्दै गर्ने सहमतिमा आजको उद्देश्यतिर लाग्ने निर्णय भयो। सहयोग अपिलको यो कथा सम्भव भएसम्म अर्को भेटमा सविस्तार वर्णन गर्नेछु।
अब भने मैले पनि झरनासँगैको पोखरीमा पाइला राखेँ। प्रचण्ड गर्मीले तातिएको शरीर चिसो पानीमा चोपलिँदा आनन्दित भयो। दुई वटा बडेमाका ढुङ्गाको बीचबाट तह-तहको बजारिँदै तीन चार तहमा बगिरहेको भएर होला कि यस झरनालाई चार तले झरना नामकरण गरिएको!
त्यस दिन पोखरीमा पुग्ने आगन्तुकमा हामी नै पहिलो थियौँ। ३ घण्टा हामीले एकछत्र राज गर्यौँ। पोखरीभित्र ढुंगा खोज्ने खेल निकै रोचक भएको थियो। डोम दाइ किनारबाट पोखरीमा ढुंगा फालिदिनुहुन्थ्यो र हामीलाई टिप्न पठाउनुहुन्थ्यो। हामी विचरा अर्कै ढुंगा लिएर आउँथ्यौँ। उहाँ भने आनन्दसँग त्यही ढुंगा टिपेर ल्याउनुहुन्थ्यो। त्यस्तै, रविन्द्र मामाको स्वीमिङ कला पनि अद्भुत थियो। झरनाको शिरबाट हामफाल्ने अनि ३/४ मिनेट पोखरीभित्रै हराइदिने।
यसपछि भने चार जना पाका उमेरका पुरुष आए। यसो हेर्दा जेष्ठ नागरिकको भत्ता खाँदै गरेका जस्ता देखिन्थे। मर्निङ वाक गएर फर्केका होलान् भन्ने सोच्दै थियौँ। तर, उनीहरू त कपडासहित झ्वाम्म झ्वाम पानीमा हामफाले। कपाल फुलिसकेका बुढा छन्, ११ फिटको उचाइबाट झ्वाम झ्वाम हामफाल्दै छन्, मलाई त डर लाग्न थालिसकेको थियो मुल्कामा खदार्यो भने के होला! तर, डोम दाइ अनुभवी हुन् यिनीहरू भन्नुहुन्छ।
‘फान्याउ ल्हे केइत्वो सोय्वा?’ क्यान्टोनिज जानेका डोम दाइको प्रश्न थियो। बाजेको जवाफ थियो ७१ वर्ष। वा! मान्नै पर्छ बाजेहरूको साहस।
हाम्रो प्रश्नपछि ती बाजे त हौसिएर झरनाको टाउको ताकेरै माथि चढे जसलाई चार तले झरनाको शिर मानिन्छ। र, त्यहाँबाट पनि फाल हाने। बाजेको यो साहस देखेर मलाई पनि एक तलाबाट चाहिँ फाल हान्न मन लाग्यो। डराएको देखेर होला बाजे छातीमा हात राखेर जिम्मेवारी लिने सपथ खाँदैथिए।
हो त भन्दै म पनि चिप्लो चट्टान चढ्ने तरखरमा के लागेको थिएँ, भाइ सुजनले मलिन अनुहार बनायो। ‘हामी यो झरना र पोखरीको परिवेशसँग परिचित छैनौँ, अरूको उक्साहट लागेर किन जानु! पहरामा हातखुट्टा बजारिन के बेर? टाउको फुट्यो भने के गर्ने!’ भाइले मन दु:खायो। यता बाजे भने मैले जस्तै गर डुब्दैनस् भने जस्तो हाउभाउ दिँदै थिए। तर भाइको चित्त दुखाइपछि जबरजस्ती गर्न मन लागेन।
घडीले बिहानको ११ बजाएछ। पोखरी तलको होचो झरना रङरङका मान्छेले भरिएको थियो। कोही बालुवा मोबाइल ठड्याएर फोटो लिँदै थिए। कोही वनभोजमा मस्त थिए। दाउरा जोरेर खाना पकाउँदा धुवाँको मुस्लो निकालिरहेका थिए।
एउटा कुरा चाहिँ त्यहाँ अलि चित्त नबुझ्दो देखियो। पोखरी आसपासमा फालिएका बियरको खोक्रो केन, खाली बोतल लगायत अन्य फोहोरले भने वातावरण खलबलिएको भान भयो।
हामीले प्रकृतिसँग भरपुर मनोरञ्जन लिइसकेका थियौँ। अब भने विस्तारै ओरालो पाइला चाल्ने सुर कस्यौँ।
माओन सान प्रकृतिले दिएको अनुपम रमाइलोको उपहार मनभित्र पोको पार्दै मध्यदिनमा झरना खोलासँग बिदा मागेर सकुशल घर फर्क्यौँ।
Shares
प्रतिक्रिया