हङकङमा रनिङ संघले जुराएको त्यो हाइकिङ, हात्तीदारे ढुङ्गादेखि लान्ताउको चुचुरो र शिल्वरमाइन झरना

हङकङमा रनिङ संघले जुराएको त्यो हाइकिङ, हात्तीदारे ढुङ्गादेखि लान्ताउको चुचुरो र शिल्वरमाइन झरना

सन्तोष तामाङ
असोज १, २०८१ मंगलबार ११:२, हङकङ

‘हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन’को मासिक पैदलयात्रा कार्यक्रमको निम्तो स्विकार्नुथियो सेप्टेम्बर १ मा।

किङ जर्ज वि मेमोरियल पार्क छेउमा अवस्थित हो क्वान बिल्डिङ, ४८-५४ जोर्डन रोड, काउलुनको जक्की क्लबसँगै पुरानो नाचघरको ठेगाना जम्मा हुने स्थल तोकिएको थियो। ब्रेकफास्ट खाएर हाइकिङका लागि पानी, पावर बार, जेल चक्लेट आदि झोलामा राखेर पुगियो तोकिएको स्थानमा पुगियो।

त्यहाँबाट पैदलमार्गसम्म पुग्न सशुल्क सटल बसको व्यवस्था मिलाएको रहेछ आयोजक संस्थाले। जहाँबाट ४५ मिनेटमा गन्तव्य पुगिन्छ। आयोजक साथीहरूले बस चढ्न आग्रह गर्दै बिहान ८:३० बजे बस छुट्ने सङ्केत गर्नुभयो।

‘शिके साङ्मुन हुँम्कये: ह्योई छे!’ ‘चौ ताक्काला!’ चिनियाँ बस चालकलाई गाडी अगाडि बढाउने आयोजकको आदेशपछि ६० जनाको जम्बो टोली बोकेर रुट ३ को एक खण्ड पश्चिम काउलुन राजमार्ग हुँदै बस गन्तव्यतर्फ हुइँकियो।

नयाँ रुटको हाइकिङ अनुभव गर्न पाउने भएकोले मन उत्साहित थियो। तिङकाउ र माओन झोलुङ्गे पुललाई केन्द्र बनाएर गाडी गुड्न थाल्यो। दायाँ साइडमा विशाल गगनचुम्बी भवन थिए त बायाँ साइडमा निलो समुद्रले अधिकार जमाएर लमतन्न थियो।

गाडीले तिनकाउ पुल फ्लाइओभरको गति लिन थाल्यो। तिनकाउ ब्रिज हङकङको १,१७७ मिटर (३,८६२ फीट) लामो केबल-स्टेड पुल हो। जुन, चिङयी टापु र चुनमुन रोडको उत्तरपश्चिमबाट फैलिएको छ।

त्यस्तै, चिङमा पुलले नजिकै देखिने लान्ताउ लिङ्क टापु अन्तरगत रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र हङकङको बाँकी भागबीचको प्रमुख संगमस्थलको रूपमा रहेर सडक जोड्ने काम गर्दछ। यो ५ मे १९९८ मा निर्माण पूरा भएको थियो। गत सालबाट यातायात विभागले लान्ताउ लिङ्क सवारी टोल फि नि:शुल्क गरेको छ।

उत्तरी जडान चुनमुन र हङकङ-जुहाइ-मकाओ ब्रिज हङकङ बन्दरगाह जोड्ने उपसमुद्रीय सडक सुरुङ पनि लान्ताउ लिङ्कअन्तर्गत पर्छ। यात्रामा सँगै रहेका दाजु डोम राना, धर्मराज राई दाइ यस्तै संवादमा मस्त थियौँ, हाम्रो यात्रा चिङ्मा पुलसँग जोडियो।

चिङ्मा पुल हङकङको स्प्यान रेल र सवारी यातायात बोक्ने विश्वका सबै पुलहरूमध्ये सबैभन्दा लामो हो। यो संसारको १६औँ लामो स्प्यान झोलुङ्गे पुलमा गनिन्छ भने यसको निर्माण पूरा भएको समयमा यो दोस्रो सबैभन्दा लामो पुल थियो। यो पुललाई जोड्ने दुई टापुहरूलाई चिङयी र मावानको नामबाट सम्बोधन गरिन्छ।

यसमा दुईवटा डेक छन्। यसले सडक र रेल यातायात दुवै बोक्छ। सबैभन्दा ठूलो यस झोलुङ्गे पुलको मुख्य स्प्यान १,३७७ मिटर (४,५१८ फिट) र उचाइ २०६ मिटर (६७६ फिट) छ। लान्ताउ आइल्यान्ड अर्थात्‌ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलसँग धरातल बनेर तन्किएका माओन र तीनकाउ चिङमा पुलविना न्यु टेरिटोरिज, काउलुन र हङकङको स्थलमार्गसँग सायदै जोडिन्थे।

लान्ताउ लिंक टोल प्लाजा कटेर सनिवे राजमार्गमा बसले प्रतिघण्टा ११० किलोमिटरको गति लिइरहेको थियो। गफिने क्रममा उत्तरी लान्ताउको रुट ८ छिचोलिएको पत्तै भएनछ। जसले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र लान्ताउ महाद्वीपको बाँकी क्षेत्रसँग जोड्छ।

यत्तिकैमा हाम्रो आँखाले तुङचुङका गगनचुम्बी भवनको दृश्य ग्रहण गर्‍यो। आँखा नजिकै आकाशमा उडिरहेको क्याथे प्यासिफिकको जहाज नजिकै उचाइमा देखिँदा हामीहरू एअरपोर्ट नजिकै रहेको थाहा भयो।

यसपछि भने बसले ठूलठूला रुखले छहारी बनाएको जंगलभित्र पुर्‍यायो। यी जङ्गल हेलिकप्टरबाट बीऊ छरेर बनाइएको रे! नत्र यो स्थान उजाड थियो रे भनेर धर्म दाइले हाम्रा लाहुरे बाजेहरूले सुनाएको इतिहास सम्झिनुभयो।

नागबेली कालापत्रे सडक। कतै इलाम, फिक्कल त कतै धरान, भेडेटारलाई बिर्साउने यात्रा थियो। घुमाउरो र कतै ठाडो उकालो। पहाडी सडकले देशको भूगोल यादगार बनाउँदै थियो।

बस स्टेसनमा रोकियो। हामीले हाइकिङ गर्ने गन्तव्य रहेछ पाककुङ आउ लान्ताउ ट्रेल। हामी जोसका साथ फुत्रुक-फुत्रुक बसबाट झर्‍यौँ। सहरको उकुसमुकुस गर्मीबाट आएका हामी त्यहाँ चिसो सिरेटोसँगैको प्राकृतिक मनोरमले नेपालकै हिमाली भूगोल सम्झाइदियो।

पाककुङ आउको चौबाटो पार गरेर दुई पहाड सनसेट पिक र लान्ताउ पिकमध्ये सनसेट पिक क्याम्प साइड निस्किएर पुग्नुथियो शिल्वरमाइन झरना।

चारैतिर हरिया पहाडले घेरिएको मुइओ र पुइओ खाल्डो वरपर क्याम्पिङ गरेर बहुदिने हाइकिङ गर्न सकिने थुप्रै ठाउँ छन् लान्ताउ महाद्वीपमा। मानिसहरूलाई घुम्न कहाँ जाने, कसरी जाने, कहाँबाट सुरु गर्ने भन्ने जस्ता कुरामा अलमलिनै नपर्ने भन्दै यस ठाउँको वर्णन गर्दै हुनुहुन्थ्यो हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघका हाइकिङविज्ञ डोम राना दाइ।

लान्ताउको सेरोफेरोभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले महत्त्वपूर्ण चार स्थानको पदयात्रा रुट, त्यसको नक्सा र लोभलाग्दा तस्बिरहरू देखाउँदा हामी मात्र होइन समूहका अन्य मानिसलाई पनि आफूतिर आकर्षित पारिरहनुभएको थियो उहाँले।

यसपछि भने आयोजक संस्थाका सदस्यकाम बाँडफाँटतिर लागे। उनीहरूको चुस्त व्यवस्थापनले हामी छक्क मात्र होइन मोहित पनि भयौँ। हाइकिङ कार्यलाई स्पोन्सर गर्ने धेरै अग्रज व्यक्तिको नाम पनि सुन्न पाइयो।

संयोजक सदस्य भेषराज भट्टराई (रमेश)ले हाइकिङ गर्दा अपनाउनुपर्ने सावधानी, सुरक्षा, रुटको बनावट, उच्च जोखिम स्थान, सम्भावित खतरा, जंगली जनावर, विषालु जन्तुलगायतको बारेमा ब्रिफिङ गर्नु भयो।

पदयात्रीलाई पानी वितरण गर्दै शारीरिक व्यायाम प्रारम्भ भयो। यो कार्यको लागि रविन्द्र थापा मामाको नाम बोलावट भएसँगै उहाँले खुला मैदानमा सुरु गर्नुभयो एक्सरसाइज।

औपचारिक कार्यक्रमको बनावट नितान्त फरक थियो। आयोजकको सम्मानजनक कार्यशैलीले आपसी मित्रभाव, एकता, सद्भाव र आत्मीयताका साथै सबै हाइकरप्रति रेखदेख गरेको देखिन्थ्यो।

समूह ठूलो भएकाले हाइकिङलाई दुई भागमा विभाजन गर्ने निर्णय सुनाइयो। मानिसहरूलाई ‘ग्रुप ए’ र ‘ग्रुप बी’मा छुट्याइयो। हिँडडुलमा दुर्बल ‘बी’ समूहलाई ६ किलोमिटरको सिधा शिल्वरमाइन झरना पुग्ने रुटमा गाइड टिमले डोर्‍याउन थाल्यो भने समूह ‘ए’लाई सनसेट पिक क्याम्पसाइडतर्फको ठाडो उकालो रुटमा डोर्‍याइयो।

हङकङ टापुको पश्चिममा रहेको लान्ताउ टापुमा दुई विशाल पहाड छन्- ९३४ मिटर अग्लो लान्ताउ शिखर र ८६९ मिटर अग्लो सनसेट पिक अर्थात्‌ सूर्यास्त चुचुरो। यी क्रमशः सहरको दोस्रो र तेस्रो उच्च चुचुरा हुन्। समुद्र सतहबाट लगभग ९५६ मिटर (३,१३६ फीट) उचाइमा  रहेको ताइमो शान चाहिँ हङकङको सबैभन्दा उच्च चुचुरो हो। हामी केही साथीले पनि ८६९ मिटर उचाइको सूर्यास्त शिखरको ट्रेल रोज्यौँ।

मूल रूपमा माछा मार्ने गाउँहरू भएको यो टापु २०औँ शताब्दीमा उत्तर-पश्चिमी तटमा तुङचुङ न्यु टाउनको निर्माण, सन् १९९७ मा लान्ताउ लिंक र हङकङ अन्तर्राष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माणपछि विकसित भएको हो।

नयाँ अनुहारका साथीहरूसँग परिचय लिँदै र दिँदै, आपसी सद्भाव बढाउँदै, ट्रेलमा भेटिएका प्लास्टिकजन्य फोहोर उठाउँदै टोली अगाडि बढ्यो। मेरो नाम धेरै पहिल्यैबाट ट्रेल रनर भनेर सुन्नुभएका एक अग्रज व्यक्ति नारायण भण्डारी कुरोको मेसो झिक्दै अघिअघि हिँड्नुभयो। ट्रेल रनर सम्झेर आफ्नो क्षमता भएसम्म लम्किनुहुन्छ! तर म विचराले ट्रेलमा हिँड्न छोडेको दशक बितिसकेको छ। कहिलेकाहीँ साथीहरूले उचाले भने मात्रै पछि लाग्ने भएको छु। हेर्ने कथाको प्रकाशले घर बिर्से जस्तै ट्रेल दौड भुलेको मान्छे म! कम हम्मे परेन उकालो चढ्न!

डोम दाइ, रविन्द्र मामाश्री, चोचाङ्गी काइला सरजीले अग्रस्थान लिइसक्नुभएछ। माथिल्लो डाँडामा थकाइ मारेको देखियो। अर्का एकजना मित्रसँग पनि चिनजान भयो दिपक गिरी। खाइलाग्दो ज्यान भए पनि हिँड्नमा पछि हटिँदैन, मेलो तानौँ है साथीहरू भन्दै अगाडि बढ्नुभयो।

हामी अन्तिममा छौँ भन्ने त थाहा भएकै थियो। हामीलाई गाइड गर्ने आयोजकहरूले पनि उछिनेछन्। अब समस्या बन्यो- सनसेट पिकको कुन ट्रेलबाट शिल्वरमाइन झरना पुगिएला? यतैबाट पो घर फर्किनुपर्ने हो कि जस्तो भयो।

नारायण भण्डारी सर र म दु:खसुखका कुरा गर्दै सक्दो हिँड्यौँ। काभ्रे तेमाल गाउँको ठुलो तामाङ बस्तीमा घर रहेछ। त्यहीँ खाइखेली हुर्किनुभएको उहाँ तामाङ भाषा मैले लिम्बु भाषा बोले जसरी बोल्नुहुँदो रहेछ। भण्डारी भन्न पनि मन मानेन। दाजुभाइको साइनो जोडेर हिँड्न थाल्यौँ।

एउटा थुम्कोमा पुगियो। एक हुल साथीहरू झोलाझिम्टी खोलेर काठे चौतारीमा बसेका रहेछन्। आवाज सुन्छु- सन्तोष सर लु खाउँ आउनुहोस्! पानी जुस पिउनुहोस् पो भन्छ। भोक र तिर्खाले रन्थनिँदै हिँडिरहेको बेला को होला यति उदारभावका! नजिक पुग्दा त पुराना मित्र मिलन राईलाई पो देख्छु!

रातो रङ्गको फलफूल एक प्लास्टिक दिनुभयो। खानुहोस् दुवैजना आवश्यक परे अझै एक झोला छ भन्नुहुन्छ। अनौठो फल देखियो। के हो मित्र यो भनेको जुँगे लिची रे! नयाँ फल खायौँ। जुँगावाला फल निकै गुलियो थियो। त्यसपछि मिलन सरको टिमसँगै अघि बढियो।

सनसेट पिक पुग्नै लागिएछ। केही अगाडि प्याराग्लाइडिङ गरेको देखियो। घाम चर्किए पनि शिखरको सिरोटोले शरीर आनन्दित थियो। मिलन सरलाई वर्षौँ अगाडिबाट  प्याराग्लाइडिङ उडाउँछु भनेको थिएँ। समय नमिलेकै कारण सम्भव हुन सकेको थिएन। प्याराग्लाइडिङ देखेपछि भन्न थाल्नुभयो, ‘मलाई कहिले चिल बनाउने हो सर?’

यति मात्र कहाँ हो र! त्यहाँ उपस्थित साथीहरूलाई पाइलट हो नि सन्तोष सर त भन्दै चिनाउनसम्म भ्याउनुभयो। उहाँको कुरामा सत्यता पनि थियो। पाइलट कर्मलाई निरन्तरता दिन नसकी ओझेलमा परेको म आँखा अगाडि रङ्गीबिरङ्गी ग्लाडर चम्काउँदै प्याराग्लाइडरहरूले हावामा कावा खाँदै सनसेट पिकको उचाइ चुमेको दृश्यले आफैँ मोहित बनेको थिएँ। २० मिनेट ती दृश्य कैद गरेपछि अगाडि बढ्यौँ।

सनसेट पिक क्याम्प साइडमा पुगिएछ। अगाडि छुटेका साथीहरू त्यहीँ जम्मा भएका थिए। चोचाङ्गी काइला सरजीले तपाईँहरूकै पर्खाइमा छु भन्नुभयो। किन भनेर सोधेको त माथिल्लो पिकको हात्ती दारे ढुङ्गा चढौँ भन्नुहुन्छ।

‘लान्ताउ आइलान्डको सनसेट पिक ट्रेल यात्रा गरेर हात्तीदारे ढुङ्गामा झुन्डिएर फोटो नलिए सनसेट शिखरको यात्रा अधुरै रहेको मानिन्छ रे नि त!’ सरजीको यो भनाइले हाम्रो ध्यान पनि हात्तीदारे ढुङ्गाले ध्यान तान्यो। केही साथीहरू पहिल्यै गइसक्नुभएको रहेछ।
नारायण भण्डारी, दिपक गिरी, चोचाङ्गी काइला, रोशन मगर, अन्य एक जना मित्र र मैले त्यस ठाउँको लागि बाटो ततायौँ। अरू साथी भने लागे ओरालो शिल्वरमाइन झरनातर्फ।

१० मिनेटको हिँडाइमा पुगियो हात्तीदारे ढुङ्गा। साँच्चिकै अद्भुतको प्राकृतिक ढुङ्गा रहेछ। एउटा ओडारबाट हात्तीको दाराझैँ बाहिरिएको ढुङ्गामाथि बसेर देखिएको हङकङ इन्टरनेसनल एअरपोर्टमा लस्करै उडिरहेका क्याथे प्यासिफिकको जहाज हामीभन्दा तल देखिन्थे। उत्तर किल्लाको लान्ताउ पिकले सजाएको घाँसे भीर खर्कझैँ लाग्थ्यो।

तुङचुङ सहर पहाडभित्रको खाल्डो जस्तो देखिन्थ्यो। तल समुद्र किनारमा देखिने पुइओ र मुइओको गाउँबस्ती हङकङ नभएर अन्य कुनै देशको ग्रामीण इलाका जस्तो लाग्थ्यो।

भोक लागिसकेको थियो। भएभरको झोला टकट्क्यायौँ। नारायण भण्डारी सरले एक टिफिन अङ्गुर बोक्नु भएको रहेछ। सबैले चपाउँदै लाग्यौँ ओरालो। शिल्वरमाइन झरनाको शिरसँगैको मुइओ बस्तीमा तीन जना मान्छे गुन्द्री-गजरा, ब्लाङ्केट जोर लौरो टेक्दै झर्दैथिए। बिहेका जन्तीसरह स्पिकर बजाएका छन् जङ्गल थर्किने गरी। दिपक गिरी सरले विदेशी हुन् भन्नुभयो। तर मैले भने लिम्बू भाषाको पालाम गीत बजेको बुझिरहेको थिएँ। छेउमा गएर बोलाउनु पर्ला भन्ठानेको त चिनेकै अनुहार पो छ!

हामीलाई हाइकिङ गराउने संस्थापक महासचिव वसन्त आङ्बुहाङको बुवा पो हुनुहुँदो रहेछ। अघिल्लो दिन सनसेट पिकको क्याम्प बस्नु भएको रे।

हामी पिकको क्याम्प छोडेर घना जङ्गलभित्र प्रवेश गर्‍यौँ। आफ्नै गाउँघरमा पाइने रुखका प्रजाति शिरीष, सिसौ, टाँकी, लब्सी तथा सुरिलो सल्लाका रुख भेटिए। गाउँको यादमा रुखलाई अंगालो हालेर तस्बिरहरू लियौँ।


यतिन्जेलसम्म लय हालेर झरना सुसाएको आवाज सुनिन थालिसकेको थियो। शिल्वरमाइन झरनामै पुग्नै लागेको लख काट्न गाह्रो भएन।

भदौरे घामले रापिएका हामी झरना नजिक पुगपछि पानी नहोमिइ बस्न सकेनौँ। नारायणा सर झरनासँगैको चिप्लो चट्टानमाथि पलेटी कसेर बस्नुभयो। योगासन जसरी बस्नुभएको उहाँ गुनगुनाउन पो थाल्नुभयो। के भन्नुहुन्छ भनेर नजिकै गएर कान थापेको ‘गंगे च यमुने चैव गोदावरी सरस्वती। नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु’ भन्दै हुनुहुँदो रहेछ। अझो, ‘प्रकृति देवो भव’ भन्दै झरनामा टाउको थाप्नुहुन्छ। स्नान मन्त्र भन्ने बुझाइ भयो मेरो।

अनि, म पनि के कम! कपडासँगै थापिएँ।

शिल्वरमाइन झरनामा हाइकिङ टुङ्ग्याएर मुइओ बिचमा बीबीक्यू कार्यक्रम गर्ने आयोजकको उद्घोष थियो। हामी त्यहाँ पुग्दा धेरै साथीहरू खाइवरी रमझम सुरु गरिसकेका थिए। हामी पनि खानपिनमा सामेल भयौँ।

पछिल्लो समय हाइकिङ (छोटो दूरीको पदयात्रा) गर्ने चलन बढेको छ। हेल्थ डट हावर्ड डट ईडीयूका अनुसार प्रकृतिको एकान्तमा हिँड्दा तनाव कम हुनुका साथै शरीर स्वस्थ बनाउन निकै सहयोग गर्छ। हाइकिङ प्राकृतिक सौन्दर्यसँग निकट हुने र नयाँ ठाउँबारे बुझ्ने अवसर पनि हो।

पाककुङ आउ, सनसेट पिक हाइक एक चुनौतीपूर्ण ट्रेल हो, जसले हामीलाई लान्ताउ टापुको घुमाउरा पहाड र सुन्दर चुचुराहरूमा पुर्‍यायो। हङकङको तेस्रो उच्च शिखर कसरी चढ्ने भन्नेबारे हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनको पैदल यात्राले अविस्मरणीय ज्ञान दियो।

स्थापनाको वर्षदिन नबित्दै संस्थाको रूप र आकारमा परिवर्तन भइसकेको छ। युवाहरूको जोसमा गठित संस्थामा अहिले बहुल संख्याको अपनत्व बनिसकेको छ। संस्थाको हाइकिङ कार्यक्रम कहिले होला भनेर मिति कुरेर बस्ने नेपाली धेरै छन्। विदेशीहरूको पनि उत्तिकै सहभागिता रहने गरेको संस्थापक सचिव वसन्त आङबुहाङ लिम्बूले कुराकानीका क्रममा बताउँदै हुनुहुन्थ्यो।

बीबीक्यू कार्यक्रमपछि मानिसहरू आ-आफ्नै हिसाबले बिदा भए। म र नारायण भण्डारी सर पनि मुइओ बस स्टेसनबाट ३एम बस चढेर घर फर्क्यौँ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .