राजकुमार राई अभिनीत ‘सोल अफ द कमान्डो’ हङकङमा प्रदर्शन हुने

राजकुमार राई अभिनीत ‘सोल अफ द कमान्डो’ हङकङमा प्रदर्शन हुने

मगेन्द्र राई
भदौ २८, २०८१ शुक्रबार ११:६, हङकङ

‘द कमान्डो’ चलचित्रमार्फत नेपाली ‘आर्नोल्ड स्वेजनेगर’ को परिचय बनाएका एक्सन हिरो राजकुमार राई अभिनीत नेपाली कथानक चलचित्र ‘सोल अफ द कमान्डो’ हङकङमा प्रदर्शन हुँदैछ।

फिल्म, ब्रिटिस गोर्खा भूपू संघ तथा ब्रिटिस गोर्खा क्लबको संयुक्त आयोजनामा वाम्पोआ, काउलुनस्थित गोल्डेन हार्भेस्ट सिनेमा हलमा शनिबार साँझ ७:१० बजे प्रदर्शन हुनेछ।

सोही प्रदर्शनको प्रोमोसनल टुरमा नायक राई हाल हङकङमा छन्‌। चलचित्र नेपाल, क्यानडा, बेलायत र कोरियापश्चात् हङकङमा प्रदर्शन हुन लागेको हो।

हालसम्म भएका प्रदर्शनबाट उत्साहजनक प्रतिक्रिया पाएको नायक राई बताउँछन्।

‘जति पनि स्थानमा प्रदर्शन भए, फिल्म हेरेपछि धेरैबाट उत्साहजनक प्रतिक्रिया पाएको छु। दर्शकहरूले एक पटकको हेराइले मात्र धित नमर्ने प्रतिक्रिया दिनुभएको छ, यसले म झन् उत्साहित छु,’ हङकङबाट कस्तो अपेक्षा राख्नुभएको छ त? भन्ने नेपालखबरको प्रश्नमा राई भन्छन्, ‘अझ हङकङ त नेपाली कलाकारहरूको लागि लक्की चार्म नै हो। हङकङले कुनै पनि कलाकारलाई  निराश तुल्याउँदैन। त्यसमाथि मेरो त हङकङसँग लामो सम्बन्ध छ। त्यसैले पनि थप आशावादी छु।’

नेपालमा एक युट्युबरले दुर्भावनापूर्ण तरिकाले प्रचार गर्न खोजे पनि दर्शकले त्यस्ता कुरा नपत्याएको उनी बताउँछन्।
 
चलचित्र गोर्खाली सैनिकको वीरता र संघर्षको कथामा आधारित छ। आफू स्वयं पनि पूर्वगोर्खा सैनिक भएकोले सिपाहीको अभिनय गरेर चलचित्रलाई जीवन्त बनाउने प्रयास गरेको उनले बताए।

सिपाहीको हैसियतमा लड्दा भोग्नुपरेको पीडा र मानसिक तनावलाई चलचित्रमा चित्रण गरिएको छ। यो नेपाली र अङ्ग्रेजी भाषामा संवाद भएको पारिवारिक एवं एक्सन फिल्म हो। चलचित्रले गोर्खा सैनिकको दुई सय वर्षभन्दा लामो  इतिहासलाई समेट्ने प्रयास गरेको छ।

चलचित्रमा नायक राईसँगै अन्य कलाकारले पनि जोखिमपूर्ण एक्सन प्रस्तुत गरेका छन्। फिल्मको टिजर हेर्न यहाँ क्लिक गर्नुस्

अर्को वर्ष थ्रिलर एन्ड सस्पेन्स फिल्म
हङकङका नेपालीसँग मिलेर सन्‌ २०२५ भित्र नयाँ फिल्म बनाउने समेत नायक राईले बताए। यसका लागि हङकङका लगानीकर्तासँग सहमति भइसकेको उनी बताउँछन्।
 
त्यो फिल्म पनि गोर्खासम्बन्धी एक्सन फिल्म नै हुन्छ? भन्ने नेपालखबरको प्रश्नमा उनी भन्छन्, ‘अर्को फिल्म अलि बेग्लै जनराको हुनेछ। त्यो थ्रिलर तथा सस्पेन्स टाइपको हुनेछ। बेग्लै स्वादको हुनेछ। जसको लागि म नेपाल जाँदैछु।’ यसका साथै आफ्नै शब्दमा तयार भएको गीतको म्युजिक भिडिओ पनि निर्माण गर्ने राईले बताएका छन्‌।
 
लामो समयदेखि क्यानाडामा बस्दै आएका राई तेक्वान्दोका सातौँ डान ग्रान्डमास्टर हुन्‌। उनी एसियाड पदकधारी हुन्‌ भने साफ गेमका स्वर्ण पदक विजेता हुन्‌।

उनले दर्जनौँ अन्तर्राष्ट्रिय पदक जितेका छन्‌। राई बडिबिल्डर समेत हुन्‌। साथै एक्ट्रा नेसनल टेलिभिजन एसोसिएसन एन्ड प्रोफेसनल टेलिभिजन र फिल्म इन्ड्रस्ट्री एन्ड फिल्म युनियनका सदस्य हुन्‌।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .