मेरो उडानको समय राति ११ बजेको थियो। पत्रपत्रिकामा पढेजस्तै युवाले विमानस्थल भरिभराउ थियो। एकजना म पनि थपिएँ। लाग्थ्यो, यसरी प्रत्येक दिन युवा विदेश उड्ने हो भने त चाँडै देश रित्तिन बेर छैन। हुन त कोही बिदामा आएका हुँदा हुन्। कतै बाआमा पनि देख्थेँ, उहाँहरूलाई छोराछोरीले बोलाएको हुनुपर्छ! कोही भ्रमणका लागि जाँदा हुन्!
जहाज छुट्ने हो कि! कागजात मिलेको छैन कि! गन्तव्यमा पुग्न सकिने होइन कि! मन एकदम विरङ भयो। डरले बेलाबखत मुटु जोडले धड्कन्थ्यो। आफन्तले खादा पहिराइदिएको देख्थेँ। नेपाली झण्डा ओढाइदिएतिर नजर पर्थ्यो। बिछोडका आँसु पुछिन्थे। एकले अर्कालाई सम्झाउँथे। ती हृदयविदारक दृश्यहरूले मलाई असहज भयो। मलाई पनि कोही छोड्न आएको भए त्यहाँको माहौलले गर्दा आँसु चुहिन्थ्यो पक्कै। भर्खर स्कुल जान सुरु गरेको छोरालाई छोडेर वैदेशिक रोजगारीमा हिँडेकी आमा अत्तालिएर रोइरहेकी थिइन्। एउटी छोरी बाबुलाई रोक्न खुट्टा छोप्दै चिच्च्याइरहेकी थिइन्।
नेपाली जनतालाई यो अवस्थामा पुर्याउने नेतालाई धिक्कार छ। नेतृत्व गर्न नसक्ने तर कुर्सीमा लिसो टाँसिएजस्तो बसेर सन्ततिका निम्ति सम्पत्ति थुपार्नेले नै बढी नेपाल र नेपाली जनताको समृद्धिका लागि भाषण गर्छन्। अफसोच, हामी बारम्बार पत्याइदिन्छौँ। नेताका भावनामा डुबिदिन्छौँ, तर उनीहरूले देश डुबाएको चाहिँ अनदेखा गरिदिन्छौँ।
नेपाल एरलाइन्स आरए– २३९ ले तोकेकै समयमा उडान भर्यो। हेर्दाहेर्दा केही मिनटमै आकाशको ताराजस्तै चम्केको काठमाडौँ खाल्डो छोड्यो। हृदय एकतमासको भयो। मेरा गह भरिएनन्। किनकि गन्तव्य र यात्रा मात्रै फरक थियो। नत्र लगभग पन्ध्रौँचोटि जन्मभूमि छोडेको हुँला! पहिलोचोटि भारत जाँदा मात्रै आँसु चुहाएको थिएँ आमालाई सम्झेर। त्यसयता त बानी नै पर्यो, कहिलै रोइनँ। एकपटक होइन कति पटक हो परिवार र देश छोड्ने!
ट्रान्जिट थियो कतार। प्रतीक्षा गर्नुपर्ने ६ घण्टा। काममा खटिरहेका नेपाली दाइभाइ भेटिए। विमानस्थल जति ठूलो थियो, यात्रुको भीड उति कम देखिन्थ्यो। कतार समयअनुसार बिहान ८ बजे उडियो साइप्रसका लागि। रेगिस्तान, समुद्र पुनः रेगिस्तान फेरि समुद्रमाथिमाथि ४ घण्टा उडानपछि मध्यान्न १२ बजे पुगियो साइप्रस समयमा विमानस्थल। ओर्लनपूर्व जब साइप्रस भूमिमाथि थियौँ, कस्तो तराईको फाँटजस्तो देखियो। बारीबीचमा टाढाटाढा सेता ठूलाठूला घर। छेउटुप्पोमा हरिया झाडी। सिमरा विमानस्थल हो कि झैँ लाग्ने।
प्रक्रिया पूरा गरेर विमानस्थलबाहिर निस्किएँ। मलाई लिन एजेन्ट आएको थिएन। काकाको सामान ल्याइदिएको थिएँ, उहाँसित भेट भयो। एजेन्टकहाँ पुग्ने ९ युरोको बस टिकट काट्न मद्दत गरेर काका कामतिर जानुभयो। बसको समय थियो दिउँसो २ः३० बजेको। नेपालको मिनी बसजस्तो तर लगेज राख्ने चाहिँ ट्रली जोडिएको थियो। बाटोमुनि र माथि अचम्मैका निला र पहेँला फूल फुलेको देखिन्थ्यो। सानासाना डाँडो काट्दै बस अगाडि बढिरह्यो। पारिपारिसम्म बस्ती थिएन। हरियो चउर। सल्लाको रूखमा फलेको सिम्ठाले गाउँ घरको याद मज्जाले दिलायो। तर, साइप्रसको सल्ला नेपालजस्तो सुरिलो भने देखिएन। सफा मौसम। धुलो कतै उडेको थिएन। तुँवालो लागेको देखिनँ। कतै पहाडमा गजबको व्यवस्थित बस्ती बसेतिर दृश्य पर्यो। नयाँ ठाउँको काम कस्तो हुने हो भनेर मथिङ्गलमा तनावसाथै परिवार र आफ्नो मुलुकदेखि टाढिएको हुँदा मन कुँडिएको थियो। प्राकृतिक सुन्दरताले भने हृदय प्रफुल्लित भयो। पाखापखेरी नेपालजस्तै लागे पनि भौतिक विकासले चाहिँ सजिलै फरक छुट्टाइदिन्थ्यो। मलाई थाहा थिएन, साइप्रसको मुख्य आयस्रोत के थियो? तर, जुन तरिकाले विकासको गति देखेँ त्यसले मलाई चुप्यो भित्र कहीँकतै।
भौगोलिक अवस्थालाई दोष दिएर उन्नति हुन नसकेको बताउने इतिहासदेखि वर्तमानका हाम्रा शासकलाई साइप्रसको विकासले चाहिँ दनकै दियो। निजी स्वार्थ भन्दामाथि उठेर देश र जनताका लागि सारा जीवन समर्पित गर्ने विचार भएका नेता हुने हो भने साँच्चै समृद्धि सम्भव छ। हाम्रा नेताजस्तो आलोपालो गरी कहिले त्यो कहिले यो कुर्सीमा बसेर मुलुक कहिल्यै उँभो लाग्दैन। भाषण ओकलेजस्तो पटक्कै सजिलो छैन देश परिवर्तन गर्न। त्यसका लागि त सर्वप्रथम व्यक्तिगत लाभ त्याग नै चाहिन्छ।
बसपार्क सानो। मानिस पनि थोरै थिए। एकछिन अचम्मै भयो सेतो बादलले एक झर पानी पार्यो। तुरुन्तै घाम लागिहाल्यो। म एजेन्टको प्रतीक्षामा थिएँ। पैदल कोही पनि हिँड्दा रहेनछन्। एउटा कार मेरोअघि आएर रोकियो। एक नजर मोबाइलतिर लगाएर मलाई हेरिन् र ‘कम’ भनिन्। थाहा पाएँ, मलाई लिन आएको हो। हामीबीच खासै कुरा भएन। नेपालमा भए पो खाना खायो/खाएन! थकाइ लाग्यो/लागेन! यात्रा कस्तो रह्यो? पहाड घर कहाँ हो भनेर सोध्थे होला।
एजेन्टको कार्यलयमाथि कोठा रहेछ। मलाई उतै जाने इसारा गरियो। त्यहाँ नेपाली दिदीबहिनीसँग चिनजान भयो। दिदी भन्थिन्– ‘पुरानो काम छोडेर आएँ। नयाँ घरमा काम लगाइदिन्छ भनेर यहाँ बसेकी छु।’
चस्मा लगाउने बहिनी भन्थिन्– ‘घरका मान्छेले साह्रै कचकच गरेर बस्नै सकिनँ। कतै कार्यलयतिर काम खोज्न भनेकी छु।’
शेर्पा थर बताउने बहिनी भन्थिन्– ‘घरमा बूढो हेर्न आएकी। उसले मलाई पो हेरेर हैरान बनायो। मलाई असहज लाग्नेगरी शरीरतिर छुन्थ्यो। यौन हिंसामा परिने भयले राहदानीसमेत त्यहीँ छोडेर भागीकन आएकी छु।’
उनीहरूको कुरा सुन्दा नेपाली दिदीबहिनीहरू धेरै घरेलु काममा आउँदा रहेछन् भन्ने चाल पाएँ। अनि त्यहाँ भनेजस्तो सजिलो छैन भन्ने पनि थाहा लाग्यो। शेर्पा बहिनीको भनाइले कतै दुख्यो छातीभित्र। मलाई के लाग्थ्यो भने युरोपजस्तो देशमा स्त्रीमाथि यौनहिंसा चाहिँ हुँदैन होला। किनकि विकसित मुलुकमा शिक्षित मानिस हुन्छन्। तर, म गलत रहेछु। अब लाग्यो, संसारको कुनै पनि कुनामा जुनैबेला पनि महिलामाथि यौनहिंसा हुन सक्छ। अमेरिका होस् कि अस्ट्रेलिया! एसिया होस् कि अफ्रिका या युरोप नै किन नहोस् महिला सुरक्षित छैनन्। भौतिक विकास हुँदैमा मानिसको बौद्धिक वृद्धि नहुँदो रहेछ। पुरुषको नजरमा स्त्री कुनै देशमा भोग्या। कुनै देशमा वस्तु। दुवैको चिन्तनमा स्त्री पुरुषको मनोरञ्जनको पात्र। पुरुषको मतिको गति।
अर्कोदिन बिहान १० बजेको बस चढेर म काम गर्ने रेस्टुरेन्टतिर लागेँ। दुई पहाडको बीचबीच हुँदै हल्का ओराली झर्दै थियो बस। दमार, चउर, पाखोपखेरो ठाउँठाउँमा देखिन्थ्यो। चउरतिर वस्तुभाउ चर्न आएका छन् कि भनेर आँखा लगाएँ। वस्तुभाउ मात्रै होइन जङ्गली जनावर पनि नजर आएनन्। दमारतिर भने भुर्र चरा उड्थे। बेलाबेला नेपालकै कुनै पहाडी यात्रा गरेझैँ भान हुन्थ्यो। दुई घण्टापछि समुद्र छेउमा बसेको सहरमा पुगियो। त्यहाँ अर्को एजेन्टसित भेट भएपछि समुद्रलाई तल छोडेर ट्याक्सीमा उकालो चढियो। त्यस्तो पहाडमा पनि फराकिलो सडक। माथि डाँडामा पुगेर मुन्तिर हेर्दा लाग्थ्यो, सारङ्गकोटबाट पोखरा फेवातालजस्तो। पाखोतिर छपक्कै बसेका घरघरै देखिए। डाँडैडाँडा गाडी हुँकिरह्यो। समुन्द्र पहाडले छेकिदियो। अचम्मै लाग्यो, साइप्रस त मैदानभन्दा धेरै पहाडी भेग रहेछ। बाटोमुनि र माथि जौ पाक्न सुरु गरेको थियो। बस्ती नजिक कतै थिएन। व्यक्तिको बारी हुन् कि सरकारको थाहा पाइनँ, तर जहाँ समथर परेको भूभाग छ त्यहाँ जौ छरेको देखियो। चैत महिनाको मध्य भएकाले सुन्तलाका दाना पहेँला देख्दा अनौठो लाग्यो।
लगभग ५० मिनेटको यात्रा पहाडदेखि ओराली झरेपछि पुनः समुद्र किनारामा गाडी पुग्यो। सानो सहरमा धेरै गाडी रोकिएका थिए, तर मान्छे भने टाढाटाढासम्म पनि दृश्यअगाडि परेनन्। गाडीबाट ओर्लेपछि चारैतिर आँखा घुमाएँ। उत्तरतिर समुद्र। दक्षिण भेगमा अग्लो पहाड मुन्तिर बस्ती बसेको थाहा पाएँ। म पाफस जिल्लाको लाची भन्ने ठाउँमा रहेछु। सडकपारि समुद्री किनारतिर रेस्टुरेन्ट। सडकवारि थोरै फाँटमा अपार्टमेन्ट। अन्य भागमा पहेँलपुर जौ। यो पर्यटकीय केन्द्र रहेछ। सानो बजार भए तापनि ठाउँठाउँमा ठूलो फोहर राख्ने भाँडा देखियो। सडक छेउतिर कतै पनि जथाभावी फालिएको कागजको टुक्रासमेत थिएन।
बेलुकातिर समुद्री छाल हेर्न गएँ। आँखा दृष्टि नपुग्ने निलो सागरमाथि पर्यटक बोकेका सेता पानी जहाज ओहोरदोहोर गर्दै थिए। लाग्यो, नेपाल पनि समुद्रसँग जोडिएको भए यस्तै हुन्थ्यो कि! तेस्रो मुलुकसँग सिधै व्यापारिक कारोबार गर्न सजिलो हुन्थ्यो। ठूला मुलुकको हैकमबाट मुलुकबाट छुटकारा पाइन्थ्यो। दक्षिणी छिमेकी देशको दबदबामा नेपाली राजनीतिमा हुने उथुलपुथल रोकिन्थ्यो। अस्थिर राजनीतिबाट दिक्क जनताले मुक्ति पाउँथे कि!
हुन त यो अनुमान हो, अरूको इसारामा चल्ने हाम्रा नेता नै हनुमान हुन्। व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्न नसक्ने तर तिनै नेताले चर्को भाषण गरेर जनतालाई भ्रममा राख्ने। समाजवादको सपना देखाएर आफू सत्तामा पुगेपछि नातावाद र कृपावाद मान्ने। निजी सम्पत्तिलाई सामूहिक बनाउने भन्नेले नै विदेशमा धन थुपार्ने। सरकारी शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्नेले नै आफ्ना छोरोछोरी अमेरिका र अस्ट्रेलियामा पढाउने। आफ्नो मुलुकमा उपचार सम्भव हुन्छ भन्नेहरु नै रुघा लाग्दा पनि सिङ्गापुर पुग्ने। युवालाई स्वरोजगार बनाउनुपर्छ भन्नेले निशुल्क टिकट र भिसाको नियम लागू गर्ने। धर्मनिरपेक्ष राष्ट्रमा सबैभन्दा बढी धार्मिक बिदा दिइन्छ। कथित कम्युनिस्ट नेता मन्दिर, चर्च र मस्जिदमा पुगेर पूजा गर्छन्। गणतन्त्र ल्याउने नेता नै आज राजतन्त्र फर्काउने सडक आन्दोलनमा छन्। भ्रष्टाचारविरुद्ध बोल्नेले भ्रष्टाचारबाटै राजधानीमा महल खडा गरिसके। यस्ता दुई चरित्रे नेता भएको मुलुकको जनता म साइप्रसजस्तो भौतिक विकासको दिवा स्वप्न देख्ने। लाज पो लाग्यो। रन्थनिँदै साहुको बफादारीतिर लागेँ। कमसेकम उसले मन परायो भने त तलब बढाइदिन्छ अनि काढेर आएको ब्याजे ऋण तिर्न चाँडै सकिएला!
नेपालको इतिहास सूक्ष्म ढङ्गले केलाउने हो भने जुनै शासकले पनि जनहितका निम्ति राजनीति गरेको देखिँदैन। आफ्नो सत्ता बचाउनका लागि भाइभारदारलाई खटाएर मात्र थोरै विकास गरेजस्तो जनतालाई ठग्ने काम भएको छ। जित्नेको इतिहास लेखिन्छ भनेजस्तै हाम्रा पुर्खा पनि त्योभन्दा टाढा रहेनन्। शासककै गुन गाएर आउने पिँढीलाई भ्रममा राख्ने काम बुद्धिजीवी भनिनेबाटै गरियो। जनताले बेलाबखत इमानदारीसाथ निरङ्कुश शासन व्यवस्था बदल्ने आन्दोलन गरेकै हुन्, तर नेताले पटकपटक धोका दिँदै आए। यो बेइमानी जारी नै छ।
नेतामा यस्तो पनि देखियो जुन व्यवस्थामा आफ्नो स्थान ग्रहण गर्न सकिँदैन, त्यो सत्तापक्ष विरुद्ध जनआन्दोलन गरेर व्यवस्था फ्याँक्न सफल भए। जनताको अधिकार कागजमा मात्रै लेखियो, व्यवहारमा देखिएन। अर्थात् सिधा भन्नुपर्दा पात्र उही, अनुहार मात्र परिवर्तित। अहिले राजा आऊ देश बचाऊ भनेर सडकमा उत्रने नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको पदमा पुगेर लुट्न पाएका छैनन्। जुन नेतालाई मात्रै गणतन्त्रमा समाजवाद लागू भएको छ, ऊ शान्त देखिन्छ। राजा होस् या राजा फर्काउन कम्मर कसेका नेताहरूसँग पनि उत्पादनका कार्य योजना छैन। सियोदेखि नुनसम्म आयात नै हुने हो। रेमिट्यान्सले नै देशको अर्थतन्त्र धान्ने हो। राजतन्त्र आयो भने पनि यिनै नेतालाई राजाले मन्त्री नबनाउने हो भने पुनः गणतन्त्र जिन्दावादको नारा लगाउँदै सडकमै आउने हुन्। निजी स्वार्थका लागि जिन्दावाद र मुर्दावादको नारा लगाउने नेतासँग दूरदर्शिता हुँदैन।
सत्ता र शक्तिका लागि राजनीति गर्ने नेताबाट देशको भौतिक विकास होस् या जनताको मानसिक विकास दुईवटै असम्भव छ। हो, सजिलै जनताको आँखामा छारो हाल्ने काम भने गर्न सक्छन्। देशलाई आत्मनिर्भर होइन परजीवी बनाइएको छ। दैनिक उपभोग्यदेखि निर्माणका सामानसम्म आयात हुन्छ। राज्यसँग उत्पादन सम्बन्धी कुनै योजना नै छैन। उसको विकास भनेको भिरमा बाटो खन्ने हो। बर्खामा पहिरो जाँदा त्यहाँ गोरेटो पनि रहँदैन।
साइप्रसको विकाससँग हाम्रो देशलाई तुलना गर्न मिल्दैन। तर, जे जति स्रोत साधन छन्, त्यसलाई ढङ्ग पुर्याएर उपयोग गर्न सक्ने राजनीतिक नेतृत्वको आवश्यकता छ। वर्तमानमा कम्युनिस्ट गठबन्धनको सरकार छ, तर यति भन्दै गर्दा लाजमर्दो कुरा के छ भने उनीहरूसँग पनि उत्पादनको कुनै योजना छैन। भिरपखेरामा डोजर चलाउने। डाँडामा भ्यु टावर खडा गरेर बजेट सिध्याउनेभन्दा अरू केही छजस्तो लाग्दैन। गाउँ रित्तिँदै छ। भलपानीले रोप्ने खेत बन्जर बनेको छ। बारी बाँझो रहँदै छ। उब्जनी हुने तराईका जमिन घरघडेरीमा टुक्रिसके। खेती हुने जमिन घट्दैछ, यसलाई विकास भन्ने कि विनाश मान्ने!
Shares
प्रतिक्रिया