ब्लग


लिभरपुलमा बसेर सोचिरहेछु- कालीगण्डकी किनारमा अन्तिम सास फेर्ने योजना पूरा होला?

लिभरपुलमा बसेर सोचिरहेछु- कालीगण्डकी किनारमा अन्तिम सास फेर्ने योजना पूरा होला?

डा. हेमराज शर्मा
बैशाख १५, २०८१ शनिबार १६:७, लिभरपुल

‍बेलायतको राजधानी लन्डनबाट ३५० किलोमिटर उत्तरपश्चिममा लिभरपुल सिटीमा रहेको घरबाट मंगलबार अफिसको काम गर्दै थिएँ। दिन घमाइलो थियो। छिमेकी घरअगाडि रोकिएको पुलिसको गाडीमा आँखा पर्‍यो।

पुलिसको गाडी पहिले यस टोलमा बिरलै देखिन्थ्यो। पर्दाबाट चिहाएर हेरेँ। सडक शान्त थियो। म आफ्नै काममा लागेँ।

केही क्षणपछि प्यारामेडिक्सको गाडी रोकियो। एक घर परका छिमेकीकहाँ प्यारामेडिक्सको टिम पस्यो। एक्लै बस्दै आएका वृद्ध गोरे छिमेकी बिरामी भएको अनुमान लगाउन गाह्रो भएन। म आफ्नै काममा टाँसिए।

त्यसको करिब आधा घण्टापछि त्यही घरअगाडि शववाहन टक्क रोकिँदा भने मेरा हातखुट्टा काँपे। ढोका खोलेर बाहिर निस्केँ, सडकमा फेरि पनि कोही थिएन। ढोका बन्द गरेर घरमै छिरेँ।

मन छटपटाइरह्यो। हेर्दाहेर्दै कालो प्लास्टिकको झोलामा बेरिएका मेरा छिमेकीलाई लिएर शववाहन गन्तव्यतिर लाग्यो।

पारिपट्टिकी छिमेकी पनि मैलेजस्तै ढोकाबाट चिहाएर त्यो दृश्य हेर्दै थिइन्। मेरो छिमेकीको मृत्युमा रुने कोही थिएन। न ‘बिचरा बूढा बितेछन् है’ भनेर सहानुभूति दिने कोही थियो। हप्तैपिच्छे औषधि पुर्‍याउने फार्मेसीको मानिसले ढोका ढकढक्याउँदा नखुलेपछि पुलिसलाई खबर गरिएको रहेछ। उनले त्यही दिन प्राण त्यागे वा केही दिन पहिले, सरोकार राख्ने पनि कोही थिएन।

मर्दापर्दा एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने संस्कारमा हुर्केको मेरा लागि यो दृश्य बिझाइरहने खालको थियो।

म केटाकेटी हुँदा बाग्लुङको जैमिनी घाटमा अवस्थित काली गण्डकीको तीरमा दाहसंस्कारमा जाने मलामीहरू मेरो घरको छेउबाट हिँड्थे। सबै गाउँछिमेक उल्टिएर खुट्टा खाली र टाउको छोपेर पहेँलो कात्रोमा बेरिएको लासको पछि लाम लाग्थे। पुण्य काम गर्नेले धेरै मलामी कमाउँछन् भन्थे।

शंखको एकोहोरो आवाजले कालीगण्डकीको पर पारिसम्म मृतकले धर्ती छाडेको सन्देश दिइरहन्थ्यो। हुनेखानेले बाजा बजाउँथे। लासको अगाडि मलामीले लिएको सेतो कपडा (बाटो) को लम्बाइले मृतकको खानदानको मापन गर्छ भन्थे। मलामी जान नमिल्ने भनिएका महिला र केटाकेटीले बाटोको छेउछाउमा उभिएर मृतकका बारे चासो राख्थे– कसरी बिते होलान्, कति उमेरमा थिए होलान्, भाग्यमानी रहेछन्, छोराछोरीकै काखमा मरेछन् आदि इत्यादि।

हामी परदेशमा बस्नेहरूका लागि त्यो मृत्यु अब कल्पनामा मात्र रह्यो। बरु कतै हाम्रो पनि तिनै मेरा छिमेकीको जस्तो हविगत हुने त होइन भन्ने प्रश्नले मनलाई बेचैन बनाइरह्यो।

हुन त उता नेपालमा हुने हाम्रा बाआमाको मृत्यु पनि मैले बाल्यकालमा देख्नेजस्तो कहाँ रह्यो र अब? केही दिनपहिले कमेडी च्याम्पियनमा साइग्रेस पोखरेलले वाचन गरेको रविन सापकोटाको ‘मलामी जाने सूचना’ ले अहिलेको मृत्यु चित्रण गरेको छ।

रविन सापकोटा लेख्छन्, ‘गाउँ छोडी सहर पसेको म, सहरले आकाश छुने सपना देखाइदियो, रित्तो कोठा रित्तो गोजी ढल्किँदो बाआमाको उमेरले सहर छोडी उड्न सिकाइदियो, त्यही उडेको देशबाट सूचना लेख्दै छु, बा बितेछन्।’

उनी अगाडि लेख्छन्, ‘गाउँमा दाउरा काट्ने मान्छे भएनन् रे, तुलसीको मठसम्म बोकेर लिएर आउने पाखुरा भएनन् रे, अगाडि अनि पछाडि लाग्ने मलामी भएनन् रे, त्यसैले मलामी जाने सूचना लेख्छु। आज मेरा बा बितेछन्, लौ न कोही गई आमालाई सम्झाइदिनू, अनि बालाई काँधमा बोकी दुई खोलीको दोभानसम्म पुर्‍याइदिनू, बिन्ती!’

शब्दहरू अहिले घरघरको कहानी भएका छन्।

रविन सापकोटाले लेखेजस्तै ३५ वर्षपहिले बागलुङबाट काठमाडौँ छिर्दा राजधानीले विदेशको सपना देखायो। २७ वर्षको विदेश बसाइमा बाल्यकालमा नसोचेको कुरा प्राप्त भयो। क्याम्पस पढ्दाको ऋणमुक्त, बाआमालाई काठमाडौँमा बस्ने घर, विद्यावारिधि, बेलायतको विश्वविद्यालयमा प्राध्यापनको जागिर, मोर्गेजमै भए पनि बेलायतमा बस्ने घर, छोराहरूको शिक्षा आदि। पछि फर्केर हेर्न कहिल्यै परेन।

भर्खर ५० काटेको म र ७० नकाटेका बाआमाको मृत्युबारे सोच्ने बेला अझै आएको छैन। तर, मेरो छिमेकीको मृत्यु र ‘मलामी जाने सूचना’ सुनेपछि मलाई रोकिन बाध्य बनायो।

विदेश उडेका रविन सापकोटाका ती पात्रले कमसेकम उनको बाको मलामी जाने सूचना त जारी गरेछन्। कताकता लाग्दै छ, विदेशमा जन्मेहुर्केका हाम्रा दोस्रो पुस्ताका छोराछोरीले हाम्रो मलामी जाने सूचना जारी गर्लान् कि नगर्लान्? अफ्रिकी बुहारी र अंग्रेजी ज्वाइँले हाम्रो मृत्युलाई बुझ्लान् कि नबुझ्लान्? हामीले नेपाल छाडेझैँ बेलायतबाट पखेटा हालेर अस्ट्रेलिया र अमेरिका उडेका छोराहरू के हाम्रो मृत्युको साक्षी होलान्?

अझै पनि लाग्छ, कुनै दिन नेपाल फर्कौंला, अन्तिम श्वास कालीगण्डकीको सुस्केरासँगै त्यतै फेरौँला। चारा खोज्न गएको पंक्षी कुनै दिन गुँड फर्केलान् भनेर बाआमा नेपालमा प्रतीक्षामा छन्।

तर, फर्किने कहिले?

ह्विस्कीको चुस्कीमा साथीहरूको जवाफ हुन्छ– छोराछोरीलाई सेटल गरेर।

तर, ती दिनहरू आउने सम्भावना कमै देख्छु। छोराछोरी सेटल हुने बेलासम्म नेपालमा भएका बाआमाले धर्ती छाडिसकेका हुनेछन्। नेपाल तान्ने बाआमाको मायाको डोरी चुँडिसकेपछि कसरी नेपाल फर्किइएला र?

स्कुल पढ्दाको साथीभाइ आफूजस्तै विदेशमा नंग्रा खियाइरहेका हुनेछन्। छिमेकीले चिन्न छाडिसकेका हुनेछन्। यता घरको मोर्गेज अझै बाँकी रहेकोले गोजी रित्तो नै हुनेछ। नेपालमा ठूलो उपचार गर्ने पैसाको जोगाड हुने छैन। जिन्दगीभरको कमाइको घर बेचेर नेपाल फर्कौं भने छोराछोरीले चित्त दुखाउला कि भन्ने डर। छोराछोरीले हेरेनन् भने त्यही घर बेचेर केयर होममा मृत्यु कुर्ने योजनामा जोखिम आउँछ कि भन्ने डर।

मेरा केही साथीहरूले नेपाल फर्किने आँट गरे। विद्यावारिधि गरेर उनीहरू उत्साहपूर्वक नेपाल फर्किंदा आफू दोषी भएको महसुस भयो। तर उनीहरू धेरै वर्ष नेपाल टिक्न सकेनन्। उनीहरूको क्षमतालाई नेपालले चिन्न सकेन वा उनीहरूले नेपालको आवश्यकतालाई बुझ्न सकेनन्, केही वर्षमा फेरि विदेश फर्के।

एकजना साथी क्यानाडाको विश्वविद्यालयको प्राध्यापन पेसा र छोराछोरी छाडेर नेपाल फर्के। यताको घर बेचेर आएको पैसा लगानी गर्न दिएको बिचौलियाले खाइदियो। जागिर पाउन सकेनन्। उनलाई विदेश फर्कन मन लागेन। उनले पहाडको बाल्यघरमा भैँसी पालेर समाज परिवर्तनको कोसिस गर्दै छन्।

मेरा जापानमा बस्ने अर्का मित्र नेपाल फर्किने तरखरमा थिए। उनको मृत्युको प्रमाणपत्र बनाएर दलालले नेपालमा भएको उनको जग्गा अरू कसैलाई बेचिदिएको पत्तो पाएपछि उनले आफ्नो कदम रोके। अहिले त्यही जग्गा फिर्ता लिन जापानमा बसेर नेपालको मुद्दा लड्दै छन्।

विदेशबाट फर्किने सबैले रवि लामिछाने, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, रवीन्द्र मिश्र, सूर्यराज आचार्यहरूको कदम चाल्न किन सकेनन्? रविले जस्तै अमेरिकाबाट रित्तो गोजी लिएर नेपाल फर्केको १–२ वर्षमा करोडौँ रुपैयाँको लगानी गर्ने क्षमता हुने हामी परदेशी कति हौँला र? रवीन्द्र र सुमनाजस्ता मस्त पुस्ताका हामी परदेशी कमै छौँ। स्वर्णिमजस्तो अवसर पाएका नेपाली त औँलामा गन्न सक्ने होलान्। सूर्यराज आचार्यहरू थाकेको देख्दा कतिको नेपाल फर्किने आँट हराएको होला।

त्यसैले नेपाल फर्किने रहर मनभरि बोकेर विदेशको माटो रुङ्ने हामीहरूले बिस्तारै मृत्युको योजना बनाउनुपर्ने हो कि? जीवनमा मात्र होइन, मरणमा पनि आफ्नै संस्कार लिएर जाने रहर कसलाई नहोला र? त्यसैले होला, अमेरिका बस्ने मेरा एकजना मित्रले तलाउको किनारमा सेतो गाडीमा आगो लगाएर आफ्नो दागबत्ती आफैँ दिए।

विकसित मुलुकमा बस्ने हामी शिक्षितहरूले मृत्युको योजना बनाउँदै गर्दा वैदेशिक रोजगारीमा जाँदा रातो बाकसमा फर्किन बाध्य भएका कर्मयोगी नेपालीको मृत्युको बारे कल्पना गर्न सक्दैनौँ। तैपनि, मृत्यु एउटा शाश्वत सत्य हो। बाँचुन्जेल खुसी रहौँ, सुखी रहौँ, आपसी सद्भावनामा बाँचौँ। कमसेकम मेरो छिमेकीलाई जस्तै पराईले घरबाट कालो झोलमा टिपेर लैजाने स्थिति नहुने गरी बाँचौँ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .