ad ad

अपराध


कतारबाट सुन तस्करी गरेरै यो दम्पतीले काठमाडौँमा किन्यो घर

कतारबाट सुन तस्करी गरेरै यो दम्पतीले काठमाडौँमा किन्यो घर

उजिर कार्की
असार २५, २०८० सोमबार १६:१८, काठमाडौँ

कतारबाट सुन तस्करी गरेरै एक दम्पतीले काठमाडौँमा होटल किनेको खुलेको छ। सप्तरीको बलानबिहुल गाउँपालिका २ चनहिपथराहका विनोदकुमार साह र उनकी पत्नी सञ्जुकुमारी साह सुनतस्करीको आरोपमा पक्राउ परेका छन्। 

सुनतस्करी गरेको रकमबाट उनीहरुले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि रहेको होटल हिमालयन स्पायर किनेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए। 

एसएसपी केसीका अनुसार उनीहरुले सुन तस्करीको रकमबाट उक्त होटल किनेको स्वीकार गरेका छन्। 

कतारमा बस्ने तस्करीका गिरोहले पठाएको सुन विनोद र सञ्जुले काठमाडौंमा बुझ्थे। वैदेशिक रोजगारीमा गएका श्रमिकलाई यसरी पठाउने र उनीहरुले विमानस्थलमा सुन बुझ्ने गरेको खुलेको छ। 

यसरी भित्र्याएको सुनमध्ये केही काठमाडौँमै बेच्ने र केही सुन शिवसुन्दर राउतलाई पठाउने गरेको खुलेको छ। कतारबाट आएका श्रमिकबाट सुन लिइसकेपछि उनीहरुले आफ्नो कमिसन बुझ्ने गरेका थिए। 

सञ्जुलाई शिव सुन्दर राउतको मोबाइलबाट खाता नम्बरहरु पठाएको पाइएको छ। विनोदकुमार साहले शिवसुन्दर राउतको विभिन्न खातामा रकम पठाएको समात प्रमाण प्रहरीले फेला पारेको छ। 

शिवसुन्दर राउत।

सञ्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँको कारोबार भएको खुलेको छ। 

यस्तै उनका पति विनोद पनि विमानस्थलमा सुन बुझ्न जाने गरेको खुलेको छ। उनलाई पनि शिवसुन्दर राउतको मोबाइलबाट खाता नम्बरहरु आएको र उनको खाताबाट शिवसुन्दरलाई रकम पठाएको पाइएको छ। 

विनोदको खातामा ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ ७६ पैसाको कारोबार देखिएको छ। 

विनोदले सुन बेच्ने गरेका निमाइ साह पनि पक्राउ परेका छन्। उनीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ४६ तोला सुन बरामद गरेको छ। सर्लाहीका ५६ वर्षीय साहले काठमाडौंको बागबजारमा सुन पसल सञ्चालन गरेका छन्। 

उनीहरुले पठाएको सुन र सुन बेचेको रकम लिने शिवसुन्दर राउतको खातामा भने एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँको कारोबार भएको छ। उनी नेपालको मुख्य एजेन्ट भएको एसएसपी केसीले बताए। उनले रितेस जनरल स्टोर सञ्चालन गरेका छन्। 

सिरहाको लाहान नगरपालिका ४ कुमहालका राउत रेमिट्यान्स सञ्चालक पनि हुन्। उनले नेपालमा सुन बेचेको रकम संकलन गरेर विदेशमा पठाउने गरेको खुलेको छ। 

उनले यसरी सुन र रकम संकलन तथा अरुलाई पठाउनका लागि अन्यलाई पनि खटाउने गरेको पाइएको छ। तिनैमध्येका हुन् सिरहाको धनगढी नगरपालिका ३ हनुमाननगरका मोहनकुमार यादव। २३ वर्षीय यादवले शिवसुन्दर राउतले भनेका व्यक्तिहरुलाई रकम जम्मा गरिदिने गरेका थिए। सप्तरीका बोदेबर्साइन नगरपालिका १ का देवानन्द साह मोहनकुमारले जस्तै शिवसुन्दरको काम गर्थे। उनको खातामा ९४ लाख ५० हजार रुपैयाँको कारोबार भएको पाइएको छ। उनले विभिन्न व्यक्तिलाई रकम जम्मा गरेको प्रमाण समेत प्रहरीले फेला पारेको छ। 

सप्तरीको बलानबिहुल गाउँपालिका ६ का दुर्गाप्रसाद यादव पनि यस्तै काम गर्थे। २२ वर्षीय यादवले यसरी ९० लाख ९८ हजार ५ सय रुपैयाँको कारोबार गरेको पाइएको छ। उनले रकम जम्मा गरिदिएको प्रमाण फेला परेको छ। 

प्रहरीले उनीहरुसँगै विदेशबाट सुन ल्याउने श्रमिकहरु बाँकेको राप्ती सोनार गाउँपालिका ४ का भुमबहादुर वली पक्राउ परेका छन्। उनले ५८ ग्राम सुन जुत्तामा लुकाएर ल्याएका थिए। उनले पहिले पनि यसरी तस्करीको सुन ल्याउने गरेको अडिओ प्रमाण प्रहरीले फेला पारेको छ।धनुषाको धनुषाधाम ५ का नरेश पंजियारले पनि तस्करीको सुन ल्याएका थिए। उनले कमिजको कलरमा लुकाएर ल्याएको ५८ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका बाझखोरका सन्तुगुलाम मुराउ पनि कमिजको कलरमै लुकाएर सुन ल्याउँदा पक्राउ परेका छन्। 

सिरहाका दिनेशकुमार यादव, धनुषाका मिथिला बिहारी नगरपालिकाका सुनिलकुमार महराले पनि कमिजको कलरमा लुकाएर ५८ ग्रामका दरले तस्करीको सुन ल्याएका थिए। उनी सञ्जुलाई विमानस्थलमा सुन दिन लाग्दा पक्राउ परेका थिए। 

कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार फर्किने बेलामा उनीहरुलाई तस्करीको सुन बोकाएर पठाउने र त्यसबापत काठमाडौंमा खानबस्न निशुल्क दिएर ५ हजार रुपैयाँ दिने गरेका थिए। 

सुन बोकेर जाने मान्छेको फोटो र लगेजसहित पासपोर्टको फोटोकपी समेत उनीहरुले फोटो खिचेर नेपालमा विनोद र सन्जुलाई पठाउने गरेका थिए। त्यही फोटोको आधारमा सन्जु र विनोद गएर विमानस्थलमा सुन बुझ्ने गरेका थिए। 

पक्राउ परेका १२ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार सार्वजनिक गरेको छ। काठमाडौं बाहिर रहेकालाई पनि पक्राउ गरेर सोमबार नै काठमाडौं ल्याइएको हो। उनीहरुलाई थप कारबाहीका लागि काठमाडौं परिसर पठाउने तयारी रहेको एसएसपी केसीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .