कारोबार


३ महिनामा ३४ अर्बको गाडी आयात, भित्रिए १ लाख बढी मोटरसाइकल

३ महिनामा ३४ अर्बको गाडी आयात, भित्रिए १ लाख बढी मोटरसाइकल

प्रतिनिधिमूलक तस्बिर


वसन्त अर्याल
कात्तिक १०, २०७८ बुधबार १७:५२, काठमाडौँ

नेपालले चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म ३४ अर्ब ३८ करोड रुपैयाँको सवारीसाधन तथा तिनको पार्ट्स आयात गरेको छ। 

गत वर्षको यही अवधिमा १९ अर्ब ८२ करोड रुपैयाँको आयात भएको थियो। 

चालू आर्थिक वर्षको भदौ महिनासम्म २१ अर्ब ८४ करोड रुपैयाँको आयात भएकोमा दशैँअघि अर्थात् असोज महिनामा साढे १२ अर्ब रुपैयाँको सवारीसाधन भित्रिएको छ। 

यो अवधिमा हजारदेखि १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका गाडी ३ हजार ६६० गाडी आयात भएका छन्। त्यस्तै १५ सयदेखि २ हजार सीसीसम्मका १०२ वटा गाडी भित्रिएका छन्।

अघिल्लो वर्ष यही अवधिमा हजारदेखि १५ सय सीसीसम्म २ हजार ३४७ वटा आयात भएका थिए। १५ सयदेखि २ हजार सीसीसम्म ९० वटा गाडी आयात भएका छन्। 

डिजेल इन्जिनका १५ सय सीसीसम्मका २ सय ५१ वटा गाडी आयात भएका छन्। १५ सयदेखि २५०० सीसीसम्म ३ सय ६३ वटा गाडी भित्रिएको विभागको तथ्यांकले देखाएको छ। २५ सय सीसीमाथिको ७९ वटा गाडी आयात भएका छन्। 

गत वर्ष १५ सय सीसीसम्मका ३ सय ९७ गाडी आयात भएका थिए। १५ सयदेखि २५ सय सीसीसम्म १४८ वटा र २५ सय सीसीमाथिका ५९ वटा गाडी आयात भएका थिए। 

चालू आवमा विद्युतीय गाडीको आयात पनि बढेको छ। ३ महिनाको अवधिमा ४ सय ४६ वटा विद्युतीय गाडी आयात भएका छन्। 

मोटरसाइकल ३ महिनामै १ लाख बढी 
चालू आर्थिक वर्षको ३ महिनामै १ लाख बढी मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। साउनदेखि असोजसम्म १ लाख ३ सय २७ वटा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

जसमा ५० देखि १२५ सीसीसम्मका २१ हजार ३८१ मोटरसाइकल आयात भएका छन्। १२५ देखि २ सय सीसीसम्मका १४ हजार ४ सय मोटरसाइकल भित्रिएको विभागले जनाएको छ। 

गत वर्ष ३ महिनामा ७० हजार २५९ मोटरसाइकल आयात भएका थिए। २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटर ६८ हजार ८६५ वटा आयात भएका थिए भने २५० देखि ४०० सीसीसम्मका १३ सय ९४ वटा भित्रिएका थिए। 

यो तीन महिनामा सामान ढुवानी गर्ने र दुईभन्दा बढी व्यक्ति बस्न मिल्ने डबल पिकअप १ हजार ७९ वटा आयात भएका छन्। ड्राइभर सिटसहित सिंगल पिकअप गाडी २२ सय ५८ वटा आयात भएका छन्। 

शतप्रतिशतले बढ्यो निर्यात
चालू आर्थिक वर्षमा नेपालको विश्व व्यापार बढेको छ। 

३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको कुल आयात भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले वृद्धि भएको हो। 

गत वर्षको यही अवधिमा २ खर्ब ९२ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो। त्यसअघि आर्थिक वर्ष २०७६÷०७७ मा ३ खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको थियो। 

त्यसैगरी गत वर्षको तुलनामा चालू आवमा निर्यात शतप्रतिशतले बढेको छ। 

गत वर्ष ३ महिनामा ३१ अर्बको निर्यात भएकोमा यो वर्ष ६५ अर्ब रुपैयाँ पुगेको छ। 

नेपालको निर्यातमा तेलजन्य पदार्थले मात्रै ३७ अर्ब ३६ करोड रुपैयाँको हिस्सा ओगटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .