कारोबार


लाइसेन्स नै खारेज भइसकेका दूरसञ्चार कम्पनीका नाममा फ्रिक्वेन्सी ‘होल्ड’

लाइसेन्स नै खारेज भइसकेका दूरसञ्चार कम्पनीका नाममा फ्रिक्वेन्सी ‘होल्ड’

लाइसेन्स खारेज भएका कम्पनीहरु।


वसन्त अर्याल
माघ १५, २०७८ शनिबार १७:४७, काठमाडौँ

दूरसञ्चार सेवा प्रवाह गर्न नसक्ने कम्पनीले महत्वपूर्ण फ्रिक्वेन्सी होल्ड गरिरहेको पाइएको छ।  

नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज भएका र खारेजीको प्रक्रिया अघि बढेको समेत गरी तीन कम्पनीबाट फ्रिक्वेन्सी अझै फिर्ता ल्याउन नसकेको हो।  

युटीएल र हेल्लो नेपालको लाइसेन्स खारेज नै भइसकेको छ भने स्मार्ट टेलिकमको पनि खारेजीको प्रक्रिया अगाडि बढिसकेको छ। 

प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै कम ग्राहक होल्ड गरेको स्मार्ट टेलिकमले सरकारलाई ७ अर्ब बढी भुक्तानी गर्न नसक्दा लाइसेन्स खारेज हुने अवस्थामा पुगेको हो। 

पुस मसान्तसम्म रकम तिर्न सरकारले समय उपलब्ध गराए पनि उसले बक्यौता तिर्नसकेको छैन। बक्यौता नतिर्ने स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गर्ने तयारी गरे पनि मन्त्रालयबाट ‘ग्रिन सिग्नल’ पाएको छैन। 

यता प्राधिकरणले लाइसेन्स खारेज नै गरिसकेका युनाइटेड टेलिकम लिमिटेड (युटीएल) र नेपाल स्याटेलाइट कम्पनी (हेलो नेपाल)बाट फ्रिक्वेन्सी फिर्ता ल्याउनसकेको छैन। 

युटीएलले लाइसेन्स खारेजीविरुद्ध अदालत गएर ‘स्टे अर्डर’ ल्याएको छ भने स्याटेलाइट कम्पनी पुनरवलोकन समितिमा गएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको पुनरवलोकन समितिले लाइसेन्स खारेजको निर्णय गरे पनि अझै अदालत जान सक्छ।  

भ्वाइस सेवाको लागि ५ वटा कम्पनीलाई प्राधिकरणले फ्रिक्वेन्सी प्रदान गरेको छ। तर नेपाल दूरसञ्चार कम्पनी लि. र एनसेल आजियटा लिमिटेडले मात्रै राम्रोसँग सेवा सञ्चालन गरिरहेका छन्। 

गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपाल टेलिकमको ५२.४७ प्रतिशत, एनसेलको ४१.५७ प्रतिशत, स्मार्ट टेलिकमको ५.९५ प्रतिशत र बाँकीको ०.०१ प्रतिशत ग्राहक रहेकामा चालू आर्थिक वर्षको कात्तिकसम्म आइपुग्दा यस्तो संख्या नेपाल टेलिकमको ५४.२१ प्रतिशत, एनसेलको ४०.०९ प्रतिशत र स्मार्ट टेलिकमको ५.७० प्रतिशत छ। 

कुन कम्पनीको कति बक्यौता?
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र राम्रोसँग सेवा सञ्चालन गर्न नसक्ने तीनवटा कम्पनी खारेज गर्न खोजे पनि सकेको छैन। 

स्मार्ट टेलिकमले सबैभन्दा बढी ७ अर्ब ७४ करोड ९७ लाख रुपैयाँ  बक्यौता बाँकी छ। 

स्मार्ट टेलिकमले लाइसेन्स २ अर्ब ७५ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यसबाहेक आर्थिक वर्ष ०७५÷७६ देखिको आरटीडीएफ, रोयल्टी तिर्नसकेको छैन। पुस मसान्तसम्म आरटीडीएफ र रोयल्टीबापत २५ करोड ३८ लाख रुपैयाँ छ। 

युनाइटेड टेलिकम लिमिटेडले अनुमतिपत्र शर्तबमोजिम आर्थिक वर्ष २०७३÷०७४ पछि किस्ता बुझाएको छैन। आर्थिक वर्ष ०७४÷०७५ पछि हरेक वर्षको २० करोड ४१ लाख रुपैयाँ बुझाउन बाँकी छ। 

युटीएलले ६१ करोड २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको नेपाल दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ। 

मन्त्रिपरिषद्ले २०७६ पुस २१ को निर्णयअनुसार नेपाल स्याटेलाइट प्रा.लिले (हेलो नेपाल) १ अर्ब ३८ करोड रुपैयाँ बुझाउनुपर्ने निर्णय भएको थियो। यसअनुसार कम्पनीले पहिलो वर्ष २१ करोड ५१ लाख रुपैयाँ किस्ता बुझाए पनि अरु बाँकी छ।

स्याटेलाइट कम्पनीले फ्रिक्वेन्सी दस्तुरबापत १ अर्ब १७ करोड रुपैयाँ तिर्न बाँकी छ। 

८०० देखि २३०० मेगाहर्जका ब्यान्ड प्रयोगमा 
नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सीमा ८०० देखि २३ सय मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्ड टेलिकम्युनिकेसनमा प्रयोग हुन्छ। मोबाइलको इकोसिस्टममा ९०० र १८०० मेगाहर्ज ब्यान्ड सबैभन्दा बढी प्रयोग हुने बताइन्छ।  

नेपालमा हाल ८०० ब्यान्डमा २० मेगाहर्ज, ८५० ब्यान्डमा १० मेगाहर्ज, ९०० ब्यान्डमा ६७.२ मेगाहर्ज, १८०० व्यान्डमा १४६ मेगाहर्ज, २१०० ब्यान्डमा ५० मेगाहर्ज र २३०० ब्यान्डमा १० मेगाहर्ज प्रयोग भएको छ। 

नेपाल दुर सञ्चार प्राधिकरणसंग ८०० ब्यान्डमा फ्रिक्वेन्सी खाली छैन। ८५० ब्यान्डमा १० मेगाहर्ज, ९०० ब्यान्डमा २.८ मेगाहर्ज, १८०० ब्यान्डमा ४ मेगाहर्ज, २१०० ब्यान्डमा ९० मेगाहर्ज बाँकी रहेको छ। 

नेपाल दूरसञ्चार कम्पनी लि.ले ८००  मेगाहर्ज ब्यान्डमा २० मेगाहर्ज,  ८५० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्ज, ९०० मेगाहर्ज ब्यान्डमा १९.२ मेगाहर्ज, १८०० मेगाहर्ज ब्यान्डमा ४० मेगाहर्ज, २१ सय मेगाहर्जमा २० मेगाहर्ज र २३०० मेगाहर्ज ब्यान्डमै फ्रिक्वेन्सी प्रयोग गरेको छ। 

एनसेल एक्जिएटा लिमिटेडले ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा सेवा सञ्चालन गरिरहेको छ। ९०० मेगाहर्ज ब्यान्डमा १९.२ मेगाहर्ज, १८०० ब्यान्डमा ४० मेगाहर्ज र २१०० ब्यान्डमा ३० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ। 

नेपाल टेलिकम र एनसेलले आफ्नो सेवा सुचारु राखे पनि बाँकी ३ वटा कम्पनीले फ्रिक्वेन्सी होल्ड मात्रै गरेका छन्। स्मार्ट टेलिकमले ५ प्रतिशत मात्रै ग्राहक छन्। 

३ वटा कम्पनीको लाइसेन्स खारेज हुँदा कस्तो हुन्छ ‘स्पेक्ट्रम’?
स्मार्ट टेलिकम, युनाइटेड टेलिकम र नेपाल स्याटेलाइटको लाइसेन्स खारेज हुँदा मुख्य फ्रिक्वेन्सी खाली हुन्छ। फ्रिक्वेन्सी खाली हुँदा नयाँ टेलिकम्युनिकेसन कम्पनी आउनसक्ने प्राधिकरणले बताएको छ। 

नयाँ आउन चाहेका कम्पनीले ९०० र १८०० मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी माग गरिरहेका छन्। ९०० ब्यान्डमा २८.८ मेगाहर्ज र १८०० ब्यान्डमा ६६ मेगाहर्ज फ्रिक्वेन्सी खाली हुन्छ। 

हाल स्मार्ट टेलिकमले ९०० ब्यान्डमा १० मेगाहर्ज र १८०० ब्यान्डमा २४ मेगाहर्ज फ्रिक्वेन्सी सञ्चालन गरिरहेको छ। 

युनाइटेड टेलिकमले ८५०, ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ। ८५० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्ज, ९०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमा २४ मेगाहर्ज ब्यान्ड होल्ड गरिरहेको छ। 

नेपाल स्याटेलाइट प्रा.लिले (हेलो नेपाल)ले ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ। ९०० मेगाहर्ज ब्यान्डमा ८.८ मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमा १८ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .