कारोबार


लुम्बिनीमा वर्ष दिनदेखि पार्किङमै थन्किए १३ करोडका विद्युतीय सवारीसाधन

लुम्बिनीमा वर्ष दिनदेखि पार्किङमै थन्किए १३ करोडका विद्युतीय सवारीसाधन

लुम्बिनी विकास कोषको कार्यालयनजिक एक वर्षभन्दा बढी समयदेखि थन्किएका विद्युतीय सवारीसाधन। तस्बिर : सुदीप भण्डारी


सुदीप भण्डारी
माघ १७, २०७८ सोमबार १५:५९, काठमाडौँ

बुद्ध जन्मस्थल लुम्बिनीमा सेता रंगका ५ वटा बस र १४ वटा ट्याक्सी पार्किङमै थन्किएका छन्। 

लुम्बिनी विकास कोषको कार्यालयनजिक एक वर्षभन्दा बढी समयदेखि ती सवारीसाधन थन्किन पुगेका हुन्। 

२०७७ मंसिर र पुसमा २ पटक गरी यी सवारी साधन लुम्बिनी ल्याइएका थिए। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा विद्युतीय बस र ट्याक्सी ल्याइएको थियो। 

ती सवारीसाधनका लागि सरकारले साढे ३ करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको थियो। चीनबाट ल्याइएका ती बस जहाज र लरीमा लुम्बिनी ल्याइएका हुन्।  

यतिका समयसम्म विद्युतीय बस र ट्याक्सी चल्न नसक्दा देखाउनको लागि मात्र राखेजस्तो भएको छ। 

कोषले नपाउँदा रोकिए
लामो प्रशासनिक प्रक्रिया र लुम्बिनी विकास कोषको नाममा हस्तान्तरण नहुँदा ती सवारीसाधन चल्न नसकेका हुन्। यसबाहेक विद्युतीय सवारीसाधन कुन मोडालिटीमा चल्ने भन्ने पनि टुंगो लागेको छैन। 

केही दिनअघि मात्र विद्युतीय सवारीसाधनको रोड टेष्ट गराइएको छ। सवारीसाधनमा प्राविधिकहरु राखेर रामग्राम तिलौराकोटसम्म गुडाइएको थियो। रोड टेष्टपछि दर्ता पक्रिया सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। 

‘दर्ता प्रक्रियाको लागि कागजपत्र लिएर मन्त्रालयमा जाँदै छौँ। त्यसपछि प्रदेश सरकारअन्तर्गत रुपन्देहीको यातायात कार्यालयमा दर्ता गर्नुपर्छ’, उनले नेपालखबरसँग भने, ‘दर्ता पक्रियाको लागि केही दिन लाग्छ।’ 

कोभिडको कारण पनि दर्ता प्रक्रियामा केही ढिलाइ भएको शाक्यको भनाइ छ। 

ती बसहरु पहिले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको नाममा दर्ता हुने र त्यसपछि मन्त्रालयले कोषलाई हस्तान्तरण गर्नेछ। 

दर्ता प्रक्रिया सकिएपछि बल्ल विद्युतीय गाडीको सञ्चालनको लागि टेण्डर आह्वान हुनेछ। त्यसअघि कुन मोडालिटीमा सञ्चालन गर्ने भनेर छलफल हुने सदस्यसचिव शाक्यले जानकारी दिए। 

‘निजी क्षेत्रलाई दिन पनि सकिन्छ। प्रदेश सरकारसँग मिलेर कोष आफैँले पनि चलाउन सक्छ। साझाले पनि हामी चलाउन सक्छौँ भनिरहेको छ। कसरी सञ्चालन गर्ने भन्नेबारे हामी छलफल गर्छौँ’, उनले भने। 

कहिलेदेखि कहाँ चल्छन्?
दर्ता, टेण्डरलगायतका प्रक्रिया टुंगिएपछि सुरुमा भैरहवा एयरपोर्टबाट लुम्बिनीसम्म विद्युतीय बस चल्नेछ। त्यसपछि रामग्राम, बुटवल र तिलौराकोटसम्म विस्तार गर्ने कोषको योजना छ। 

नेपालको हकमा यो विद्युतीय सवारी साधन नयाँ हो । विगतमा साझा, ट्रलीबसलगायतका सवारीसाधन चल्न नसकेर बन्द भएका थिए। 

होटेल संघ लुम्बिनीका  अध्यक्ष गोबिन्द ज्ञवालीले राम्रोसँग पूर्वतयारी गरेर मात्र ती विद्युतीय सवारी चलाउनुपर्ने बताए। 

‘यसको सञ्चालन र मर्मत खर्च पनि बढी हुने भएकाले त्यहीअनुसारको जनशक्ति राम्रो व्यवस्थापन हुनुपर्छ’, उनले भने, ‘भोलि चल्न नसकेर अलपत्र बन्न दिनुहुँदैन।’  

५ जना अट्ने ट्याक्सी, १९ सिट क्षमताका बस 
अपांगमैत्री समेत रहेको विद्युतीय बसमा १९ सिट क्षमता छ। त्यस्तै ट्याक्सीमा ५ जना अट्न सक्छन्। 

बसहरुको लागि विद्युत् र सोलारबाट चार्ज गर्न लुम्बिनीमा चार्जिङ स्टेसन बनाइएको छ। त्यहाँबाट १ सय ५० किलोवाट विद्युत उत्पादन हुन्छ। पूरा चार्ज भएको विद्युतीय सवारी ३ सयदेखि ४ सय किलोमिटरसम्म गुड्न सक्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .