कारोबार


पेट्रोल इतिहासमै महंगो हुँदा पनि विद्युतीय दुईपांग्रेमा किन बढेन ग्राहकको रुचि?

पेट्रोल इतिहासमै महंगो हुँदा पनि विद्युतीय दुईपांग्रेमा किन बढेन ग्राहकको रुचि?

वसन्त अर्याल
माघ २०, २०७८ बिहिबार ११:१४, काठमाडौँ

नेपालमा पेट्रोलको मूल्य इतिहासकै महंगो हुँदा पनि विद्युतीय दुईपांग्रेमा उल्लेखनीय मात्रामा आकर्षण बढ्नसकेको छैन। 

चीन, भारत र अमेरिकी ब्रान्डका विद्युतीय दुईपांग्रे सवारीसाधन नेपालमा भित्रिए पनि यसप्रति ग्राहकको आकर्षण बढ्न नसकेको हो। 

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ।

योसँगै ग्राहकले प्रतिलिटर पेट्रोलको लागि १४२ रुपैयाँ तिर्नुपर्ने भएको छ। यो मूल्य इतिहासकै सबैभन्दा धेरै हो। तर यति हुँदा पनि ग्राहकले विद्युतीय दुईपांग्रेमा रुचि नदेखाएका हुन्। 

त्यसो त विद्युतीय दुईपांग्रेमा अधिकांश स्कुटर भित्रिरहेका छन्। २ लाखभन्दा कम मूल्यका विद्युतीय स्कुटर नेपाल आए पनि ग्राहकको आकर्षण देखिएको छैन। 

पछिल्लो ६ महिनामा १ लाख ६६ हजार मोटरसाइकल तथा स्कुटर आयात  हुँदा विद्युतीय दुईपांग्रे १९ सय २२ वटा मात्रै भित्रिएका छन्। जसमा१६७ वटा मोटरसाइकल नेपाल भित्रिएका छन्। 

पछिल्लो ६ महिनामा चीनबाट १४ सय ७९ स्कुटर आयात भएका छन् भने भारतबाट २७४ स्कुटर आयात भएका छन्। 

अमेरिकाबाट २ वटा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विद्युतीय मोटरसाइकल चीनबाट १६५ र भारतबाट २ वटा आयात भएका छन्। 

६ महिनामा १० हजार चारपांग्रे भित्रिँदा ११ सय ३ वटा चारपांग्रे सवारीसाधन भित्रिएका छन्। 

६ महिनामा चारपांग्रे ११ सय ३ वटा गाडी बिक्री हुँदा स्कुटर जम्मा १९ सय २२ मात्रै बिक्री भएका छन्। चारपांग्रे गाडीको तुलनामा विद्युतीय स्कुटरमा आकर्षण कम छ। 

नेपालमा एकपटकको चार्जमा ६० किलोमिटरदेखि २०० किमि गुड्ने स्कुटर भित्रिसकेका छन्। स्कुटरको मूल्य १ लाख ७० हजारदेखि ५ लाखसम्मका विद्युतीय स्कुटर भित्रिएका छन्। ​

पेट्रोलको मूल्य आकाशिँदा पनि आकर्षण बढेन विद्युतीय दुईपांग्रेमा
दुईपांग्रे सवारीसाधनमा प्रयोग हुने इन्धनको मूल्य आकाशिँदा समेत विद्युतीय स्कुटरमा आकर्षण बढ्नसकेको छैन। 

नेपाल आयल निगमले मंगलबारमात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाउँदै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुर्याएको छ।  

दुईपांग्रे विद्युतीय अटो व्यवसायीले विद्युतीय स्कुटरको मूल्य बढी र रेञ्ज कम हुँदा बिक्री नबढेको बताउँछन्। पेट्रोलको मूल्य बढ्दै जाँदा विद्युतीय सवारीसाधनमा आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन्।

‘पेट्रोलका सवारीसाधनको डोमिनेन्टलाई हामीले चिर्नसकेका छैनौँ’, पियोर इलेक्ट्रिक स्कुटरका साम्सद आलम भन्छन्, ‘लामो दूरीको लागि विद्युतीय स्कुटरमा यात्रा गर्दा कहाँ चार्ज गर्ने भन्ने धेरैको चिन्ता हुन्छ।’

उनले विद्युतीय स्कुटर सामान्य चार्जिङ पोर्टबाट गर्न सकिने भए पनि ठाउँ–ठाउँमा चार्जिङ स्टेसन नहुँदा विद्युतीय स्कुटरमा आकर्षण बढ्न नसकेको बताए।  

विद्युतीय दुईपांग्रेमा चासो राख्नेले स्कुटरको मूल्य महंगो र रेञ्ज कम भएको बताउने गरेका छन्। तर अटो व्यवसायीले लामो दूरीको लागि पूर्वाधार तयार नभइसकेको बताउँदै सहरी यात्राको लागि विद्युतीय स्कुटर उपयुक्त भएको बताउने गरेका छन्। 

नेपाली बजारमा विद्युतीय स्कुटरको आयातमा ठूला घरानाले खासै चासो राखेका छैनन्। पेट्रोलबाट चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता बन्न प्रतिस्पर्धा गरे पनि विद्युतीय स्कुटरमा कम छ। 

हाल लक्ष्मी ग्रुपले भारतीय हिरो ब्रान्डका विद्युतीय स्कुटर भित्र्याएको छ। ग्रुपले नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। 

एकपटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज रहेका छन्।  

विभिन्न ब्रान्ड भित्र्याउने तर अफ्टर सेल्स सर्भिस कमजोर हुँदा पनि विद्युतीय स्कुटरमा विश्वास कम भएको व्यवसायी नै बताउँछन्। 

‘ब्रान्ड नै स्पष्ट नभएका विद्युतीय स्कुटर नेपाल भित्रिने गरेका छन्’, एक व्यवसायीले भने, ‘बिक्रीपछि सर्भिस दिन सक्दैनन्। जसले ग्राहकमा विद्युतीय स्कुटरको विश्वास बढाउनसकेको छैन।’

केही व्यवसायीले चीनबाट विना ब्रान्डका विद्युतीय स्कुटर भित्र्याउने केही बिक्रीपछि शोरुम नै बन्द गर्दा विश्वास बढाउन नसकिएको व्यवसायी स्वीकार गर्छन्। 

यी हुन् नेपाल भित्रिएका विद्युतीय स्कुटर ब्रान्ड
केही समयअघि मात्रै अमेरिकी ब्रान्ड सेगवे नाइनबोटका स्कुटर नेपाल भित्रिएका छन्। 

नेपालको आधिकारिक बिक्रेता आई हब प्रालिले स्कुटरको मूल्य २ लाख ९१ हजारको स्कुटर भित्र्याएको छ। हाल एउटा मात्रै मोडल भित्र्याएको कम्पनीले नयाँ मोडल ल्याउने बताएको छ। 

भारतीय ब्रान्ड पियोरको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले बिक्री वितरण गर्दै आएको छ। कम्पनीले ईप्लुटो ७ जी र इन्ट्रान्स निओ बिक्री गर्दै आएको छ। इन्ट्रान्स निओको मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ भने ईप्लुटो ७जीको २ लाख ६० हजार रुपैयाँ रहेको छ।

याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले विभिन्न ४ भेरियन्टमा विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ । 

स्लाइक सिंगल ब्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार, एस लाइक मोडलकै डबल ब्याट्री भेरियन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ छ। याडिया जी ५ को मूल्य ३ लाख ३० हजार र सि वान एस मोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ छ।  

कम्पनीले सबै स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको छ।

डी लाइफ स्टाइलले सुपरस्को ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको छ। टीसी म्याक्स र टीकएक्सका मोटरसाइकल र सीपीएक्स, सीयुक्स मोडल बिक्रीवितरण गर्दै आएका छन्। २ लाख ४० हजारदेखि ४ लाख ६० हजार मूल्य छन्। 

विक्की इन्टरप्राइजेज प्रालिले ओकिनावा ब्रान्ड भित्र्याएको छ। आइपेइज, प्राइज प्रो, रिजिड, आर ३० र लाईट मोटर भित्र्याएको छ। १ लाख ७० हजारदेखि ३ लाख ४० हजार रुपैयाँसम्मका स्कुटर छन्। 

टेलजी नेपालले लायोन र टाइगर मोडल भित्र्याएको छ। दुवै स्कुटरको मूल्य २ लाखभन्दा कम छन्। 

ईको इन्फिटीले प्रा.लिले एनआइयु ब्रान्डका स्कुटर बिक्रीवितरण गर्दै आएको छ। २ लाख ५५ हजारदेखि ४ लाख ४५ हजारसम्मका स्कुटर छन्।  

त्यस्तै कालिबर अटोले २ पांग्रे र ३ पांग्रे विद्युतीय स्कुटर भित्र्याएको छ। २ लाख ३२ हजारदेखि ३ लाख ६० हजार रुपैयाँ छ। 

विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातका सञ्चालकले विद्युतीय स्कुटर समेत भित्र्याएका छन्। सुन्दर ट्रेडर्स प्रालिले भारतीय विद्युतीय स्कुटर नेपाल भित्र्याएको छ। 

सुन्दर ट्रेडर्सले १ लाख ८७ हजारदेखि २ लाख ३५ हजारसम्मका विद्युतीय स्कुटर नेपाल भित्र्याएको छ। 

पाँचवटा मोडल भित्र्याएको कम्पनीले सेनिया २.०  को मूल्य २ लाख ३५ हजार, सेनियाको मूल्य २ लाख २४ हजार, अहामाको मूल्य १ लाख ९१ हजार, एट्रिओ १ लाख ९६ हजार, विन्ड १ लाख ८७ हजार रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .