कारोबार


२६ वर्षीय युवाले ८० हजार लगानीमा थालेको ‘अफरिङ ह्याप्पिनेस’

२६ वर्षीय युवाले ८० हजार लगानीमा थालेको ‘अफरिङ ह्याप्पिनेस’

अफरिङ ह्याप्पिनेसका सह-संस्थापक सन्तोष पाण्डे (तस्बिर : विक्रम राई)


वसन्त अर्याल
माघ २२, २०७८ शनिबार १२:३९, काठमाडौँ

सन्तोष पाण्डे सन् २०१६ सालमा डेभलपमेन्ट स्टडिजमा स्नातक गरिरहेका थिए। 

अध्ययनसँगै एनजीओमा आबद्ध उनलाई डोनरको पैसामा बाँच्नुभन्दा आफैँ केही गर्ने सोच पलायो। तर कुनै आइडिया थिएन। 

बिजनेस अध्ययन नगरे पनि नयाँ आइडियामा कुनै बिजनेस नै सुरु गर्नुपर्छ भन्ने लागिरहेको थियो। 

यत्तिकैमा साथी निरज काफ्लेले एउटा बिजनेस आइडिया सुनाए– साथीहरु मिलेर गिफ्ट बनाउने, अर्डरअनुसार गिफ्टलाई रचनात्मक ढंगले प्रस्तुत गर्ने। 

फिल्महरुमा त्यस्तो ‘सरप्राइज गिफ्ट’ देखेका पाण्डे निरजको आइडियामा सहमत भए। अरु साथीहरुसँग पनि छलफल गरेपछि चार साथीले करिब ८० हजार जम्मा गरेर थाले– अफरिङ ह्याप्पिनेस।  

योजना २०१६ बाटै बन्नथालेको थियो। तर कम्पनी नै स्थापना गरी २०१७ बाट मात्रै काम सुुरु भयो। सुरुका वर्षमा ससाना गिफ्ट बनाएर बिक्री गरे। १५–१६ हजारभन्दा बढी कमाइ नै भएन। 

‘व्यवसाय थालेको ३ महिनामै व्यवसाय गर्न सक्दैनौँ भन्ने महशुस भयो’, सुरुका दिन सम्झिँदै पाण्डे भन्छन्, ‘कम्पनी नै बन्द गर्ने अवस्थामा पुगेका थियौँ।’

साथीको त्यो अफर
त्यही समयमा उनका एक साथी विदेशबाट नेपाल आइरहेका थिए।  

उनले १ महिनाको लागि आफ्नो गर्लफ्रेन्डलाई सरप्राइज प्लानिङ गर्न प्रस्ताव गरे। त्यसको लागि लाग्ने खर्च पनि दिने बताए। 

‘सेल्सभन्दा पनि साथीको सहयोगको लागि सुरु गरौँ भन्ने लाग्यो’, पाण्डे भन्छन्, ‘साथीको गर्लफ्रेन्डलाई सरप्राइज दिन सुरु गर्यौँ।’

उनीहरुले एयरपोर्टमै गिटारिस्ट लगेर सरप्राइज दिनेदेखि घरमा डेकोरेट गर्नेसम्मका काम गरे। ​बच्चैदेखिको साथीलाई रि-युनियन गराइदिए, डिनर डेटको व्यवस्था मिलाए। त्यसको भिडियो र फोटो खिच्दै सामाजिक सञ्जालमा राखे। 

‘यस्तो सरप्राइज अफरिङको व्यवसाय हुने रहेछ, थाहा थिएन’, पाण्डे भन्छन्, ‘सामाजिक सञ्जालबाट धेरैको अर्डर आउन थाल्यो– मेरो लागि पनि यस्तै गरिदिनु।’

ती साथी उनीहरुका लागि साँच्चै भाग्यमानी साबित भए। 

व्यक्तिगत इभेन्ट म्यानेजमेन्टका माग बढ्न थाले। पहिला जन्मदिन मनाउँदा ह्याप्पी बर्थडेका बेलुन राख्ने, डेकोरेट गर्ने चलन कम थियो। 

उनका कम्पनीमा यस्ता कामको माग आउन थाल्यो। आफ्नै कर्मचारी राखेर सबै इभेन्ट म्यानेज गर्नथाले। 

एकपछि अर्को चुनौती
बालुवाटार क्षेत्रमा १० हजारको कोठा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरुले अब ठूलो क्षेत्र भाडामा लिए। कम्पनीमा १८–१९ जना कर्मचारी पनि पुर्याए। तर गर्न सकेनन् सोचे अनुसारको व्यापार।

कर्मचारीलाई तलब दिनसक्ने अवस्था रहेन। ४ जना साथीमध्ये २ जनाले कम्पनी सञ्चालन गर्न नसकिने भन्दै छोडे। यसका बाबजुद आइडिया ल्याउने काफ्ले र पाण्डे कम्पनीमै रहे। 

‘हामी २ जनालाई अझै कम्पनी सञ्चालन गर्न सकिन्छ भन्ने विश्वास थियो’, उनी भन्छन्। 

त्यसपछि घाटामा गएको कम्पनीलाई कसरी जोगाउने भन्दै एउटा बैठक बोलाए।

‘सहभागी १९ जनालाई भनेँ– हामीले लिएको ठूलो ठाउँको भाडा तिर्न सकेनौँ’, बैठकमा जानकारी गराए, ‘अब ठाउँ सर्छौँ। २–३ महिना अझै नियमित तलब नआउन सक्छ।’

त्यसपछि १९ जनामध्ये ९ जनाले नियमित तलबविना पनि नयाँ ‘कन्सेप्ट’ भन्दै काम गर्न तयार रहेको बताए। 

त्यसपछि अफिस सारेर कन्सल्टेन्सी चलाइरहेका साथीबाट आफ्नो काम जारी राखे। पहिलाको गल्ती सुधार्दै कम्पनी अगाडि बढ्यो। 

अवसर छोप्दा मिलेको आइडिया
नेपालमा नयाँ बिजनेस सोचसम्बन्धी प्रतिस्पर्धा हुन थालेको थियो। जसमा आफ्नो बिजनेस आइडियाबारे प्रस्तुति दिनुपथ्र्यो। 

अन्तर्राष्ट्रिय रुपमा सञ्चालन हुने ‘ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर अवार्ड’ नेपालबाट पाण्डेले जिते। त्यो बेला उनी स्नातक गरिरहेका थिए। 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि पाण्डेले मकाउ जाने अवसर पाए। जहाँ अष्ट्रेलियाको सार्क ट्यांकको जज पाण्डेको मेन्टर थिए। 

पाण्डे र ती जजको व्यवसाय एउटै रहेछ। पाण्डेले नेपालमा सबै आफ्नै स्टाफमार्फत सरप्राइज दिने गर्थे भने अष्ट्रेलियाका उनले अनलाइन प्लेटफर्म बनाई विभिन्न कम्पनीसँग सहकार्य गरेर ठूलो व्यवसाय बनाएका थिए। 

अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएपछि ‘आफैँले स्टाफ राखेर यस्तो व्यवसायमा ठूलो आम्दानी गर्न सकिँदो रहेनछ, अब बिजनेस मोडल नै बदल्नुपर्छ’ भन्ने सोचमा पुगे। 

त्यसपछि कम्पनीमा कर्मचारी घटाए। बिजनेस पार्टनरसिप गर्नेलाई भित्र्याउन थाले। 

व्यवसाय पनि ठूलो बन्दै गयो। टिमले नयाँ आइडिया बनाउने र त्यसको कार्यान्वयन कुनै पार्टनरसँग मिलेर गर्ने गर्नथाल्यो। 

अफरिङ ह्याप्पिनेसले पार्टनरसिप मोडलमा काम सुरु गर्यो। 

स्टार्टअपसम्बन्धी प्रतिस्पर्धा नेपालमा बढ्दै गइरहेको थियो। पाण्डेले सिटी स्टार प्रतिस्पर्धामा पनि प्रथम भई एसियन क्षेत्रमा कम्बोडियामा आफ्नो प्रस्तुति दिने अवसर पाए। 

कम्बोडियाको पनि प्रतिस्पर्धा जितेर स्विट्जरल्यान्डमा सहभागी भए।​

बाधक महामारी
यता अफरिङ ह्याप्पिनेसलाई ठूलो बनाउन लगानीकर्ता भित्र्याउने तयारी थाले। अन्तर्राष्ट्रिय लगानीकर्ताले चासो त देखाए तर ५ करोडभन्दा सानो लगानी ल्याउन नसक्ने प्रावधानले आउन पाएनन्। 

त्यसपछि नेपाली व्यवसायीबाटै लगानी भित्र्याए। कम्पनी पनि ठूलो बन्यो। काठमाडौंमा खुम्चिएको कार्यक्षेत्र अब पोखरालगायत ठूला सहरमा लैजाने योजना बन्यो। टिम पनि ठूलो भएपछि

व्यवसाय पनि विस्तार हुँदै थियो। कोभिड महामारी सुरु भयो। इभेन्ट नै गर्न नसकिने भयो। तर पाण्डेको टिमले हार मानेन। 

अनलाइन जुममार्फत नै बर्थडे मनाइदिन थाले। नेपाली कलाकारसँग शुभकामना भिडिओ बनाउन थाले। 

‘हामीले कसैको जन्मदिनमा नेपाली कलाकारसँगै भारतीय कलाकारसँग पनि भिडिओ बनाएर शुभकामना दिन थाल्यौँ’, पाण्डे भन्छन्, ‘एउटा भिडिओ ल्याउनलाई ५० हजारसम्म पनि खर्च गर्थे तर स्केलिङ (ठूलो) हुन सकेन।’

महामारीको समयमा कम्पनी टिकाउन एउटा मात्रै कामले नहुने उनले बुझे। त्यसपछि उनी ‘गिफ्टिङ’का सबै काम गर्ने मोडलमा पुगे।​

व्यक्तिगतबाट कर्पोरेट इभेन्टतिर 
कम्पनीले फूल, गिफ्ट, केक गिफ्टिङका काम गर्यो। कम्पनीले अब व्यक्तिगत इभेन्ट म्यानेज गरेर मात्रै हुँदैन भनेर ‘कर्पोरेट इभेन्ट’ गर्न थाल्यो। 

महामारीको समयमा थुप्रै स्टार्टअप बन्द भए तर अफरिङ ह्याप्पिनेस चलिरहयो।   

हाल ८० प्रतिशत व्यवसाय कर्पोरेट क्षेत्रमै चलिरहेको बताउँछन् उनी। 

‘ठूला कम्पनीमा बर्थ डे, एनिभर्सरीको रेगुलर बिजनेस छ’, पाण्डे भन्छन्, ‘हामी एउटा आइडिया सोचेर व्यवसायमा लागेका थियौँ, अहिले मोडल फरक भएको छ। एनजीओ आईएनजीओसँगै कर्पोरेट हाउसले कर्मचारीलाई खुसी बनाउन टाइअप गरेका छन्।’​

भायोनेट, वर्ल्डलिंक, खल्ती, होन्डा जस्ता कम्पनीसँग वार्षिक सम्झौता गरेका छन्।

‘कोभिड महामारीअघि ४ करोडसम्म टर्नओभर गरेका थियौँ। अहिले टिकिरहेका मात्रै छौँ’, पाण्डे भन्छन्।   

महामारीले कर्पोरेट हाउसमा व्यवसाय केन्द्रित भए पनि ‘सरप्राइज प्लानिङ’ गर्न पनि नछाडेको उनको भनाइ छ। 

कसैलाई म्यारिज प्रपोज गर्नुपर्यो भने पोखरा, एभरेष्ट बेस क्याम्पमा गर्न सकिने कम्पनीको प्याकेज छ। यसमा पनि हेलिकप्टर, प्याराग्लाइडिङदेखि घरमा गिटारिष्टमार्फत सरप्राइज दिनेसम्मका प्याकेज छन्।

कम्पनीले १५० को चकलेटसँगै क्रिएटिभ कार्डदेखि लाखौँका सरप्राइज प्याकेजको व्यवस्था गरेको छ। यसका लागि उनले राम्रो फिडब्याक पनि पाएका छन्। सबैले नयाँ कन्सेप्टमा व्यवसाय गरेको भन्दै वाहवाही गर्ने गरेका छन्। 

‘विदेशमा हनिमुन नै गिफ्ट गर्ने संस्कृतिको विकास भएको छ। नेपालमा हामीले त्यही संस्कृति भित्र्याउन खोजिरहेका छौँ’, पाण्डे भन्छन्, ‘सोचेजस्तो सफल भएका छैनौँ तर प्रयासरत छौँ, हार मानेका छैनौँ।’

महामारी संकटले जन्मायो ‘ओहो केक’
अफरिङ ह्याप्पिनेसबाट राम्रो काम भइरहँदा कोरोना महामारी आयो। त्यो समयमा इभेन्ट अर्डर नआए पनि केकको माग राम्रै थियो। 

पाण्डेले अरु व्यवसायीबाटै केक अर्डर गरेर गिफ्टको रुपमा दिने गरेका थिए। भ्यालेन्टाइनको समय, विवाह तथा एनिभर्सरीको समयमा कम्पनीले मागअनुसार केक पाउन गाह्रो पथ्र्यो। 

ठूलो स्केलमा बनाउने केक उद्योग कम रहेको देखे। आफ्नै केक उद्योग चाहिन्छ भन्ने ‘फिल’ भयो। अफरिङ ह्याप्पिनेसमा काम गरिरहेको टिमले केक उद्योगमा त्यति चासो राखेन। 

पाण्डेले प्रविधि क्षेत्रमा काम गरिरहेका दिवेश गिरीसँग मिलेर ‘ओहो केक’ उद्योग सुरु गरे। 

गिरीले प्रविधि क्षेत्रमा एक दशक बिताइसकेका थिए। उनीसँग मिलेर अनलाइनमार्फत केक सप्लाई गर्ने योजना बनाए। 

२०२१ जनवरीबाट आफ्नै एप बनाउने र सबै इ–कमर्स प्लेटफर्ममार्फत केक बेच्न थाले। 

फुडमान्डु, दराज, पठाओ फुड, ग्यापुलगायतका ठूला प्लेटफर्ममा ओहो केक डेलिभरी हुनथाल्यो। ओहो केक राम्रो लागेर उद्योगमै ग्राहक आउन थाले। 

बाहिर सानो आउटलेट खोले। केकमा एउटा स्वाद र अर्को महत्वपूर्ण कुरा डिजाइन त्यसपछि काठमाडौंको हकमा छिटो डेलिभरी। 

यसैलाई आत्मसात् गरी ओहो केकको सुरुवात जोडजाडबाटै भएको थियो। 

पाण्डे भन्छन्, ‘साथीहरुका रेष्टुरेन्ट बन्द भए, २ महिनाको लागि फ्रिज माग्यौँ। एक जना कर्मचारी राखेर दैनिक ५–६ वटा केक बिक्री गथ्र्यौँ।’

जनवरीमा सुरु गरेको ओहो केकको फेब्रुअरीमा आइपुग्दा माग बढ्यो। विवाह तथा भ्यालेनटाइनले कम्पनीको कारोबार ह्वात्तै बढायो।

‘सामान्य समयमा दैनिक १०० बढी केक बिक्री हुन्छन्। विवाहको सिजन, भ्यालेनटाइन डेमा ५०० बढी केक बिक्री हुन्छ’, पाण्डे भन्छन्, ‘अनलाइनसँगै आउटलेट पनि चल्दा रहेछन्। अबको ६ महिनामा काठमाडौंका थुप्रै ठाउँमा आउटलेट विस्तार गर्छौँ।’

५०० केक बिक्री हुँदा एक दिनमै ५ लाखको कारोबार हुन्छ। पाण्डेले १ रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका केक बिक्री गरेका छन्। 

ओहो केकको मूल्य १ पाउन्डको ५ सय रुपैयाँ छ। अहिले त कति तल्लाको केक काट्ने चलन सुरु भइसकेको छ। 

ओहो केक सुरुवाती वर्षमै १ करोडको टर्न ओभर भइसकेको उनले सुनाए। यसमा फुल टाइम काम गर्ने नै २४ जना छन्। 

‘बेलुनवाला’ पाण्डेको नेशनल जिओग्राफीमा डकुमेन्ट्री फिल्म
२० वर्षको उमेरमै व्यवसाय सुरु गरेका पाण्डे भर्खर २६ वर्षमा प्रवेश गर्दै छन्। पाण्डेका बाबु सेनामा थिए।

बिजनेस आइडियाभन्दा पनि आफ्नो केही गरौँ भनेर नै व्यवसाय सुरु गरेको उनी बताउँछन्। 

व्यवसाय सुरु गर्न धेरैले समस्या देखाउने गरेका छन्। पाण्डे भने व्यवसाय सुरु गर्नुभन्दा ठूलो बनाउनमा समस्या देख्छन्।

‘नेपालमा स्टार्टअप व्यवसाय गर्न समस्या छैन। स्केलिङ गर्न समस्या छ’, उनी भन्छन्, ‘नयाँ कन्सेप्टको व्यवसाय सुरु गर्दा घर, साथीभाइलाई बुझाउनै मुस्किल पथ्र्यो। कसैले टेन्टवाला, कसैले बेलुनवाला, कसैले फुलवाला भनेर जिस्काउँथे।’ 

धेरैले यो व्यवसाय नै हुन नसक्ने दाबी गर्थे। तिनै पाण्डेले नयाँ आइडियाको व्यवसाय गरेको आधारमा नेशनल जिओग्राफी टेलिभिजनले उनीमाथि डकुमेन्ट्री फिल्म बनायो। 

डकुमेन्ट्रीको लागि चर्चित टेलिभिजन च्यानल नेशनल जिओग्राफीले आफूमाथि फिल्म बनाउन लागेको उनैलाई विश्वास थिएन। तर कन्फर्मेसन मेल आएपछि बल्ल विश्वस्त भएको बताउँछन् उनी। 

‘अमेरिकाबाटै फिल्म सुटिङको लागि आए। २–३ वर्षको व्यवसाय अनुभवसँग जोडेर डकुमेन्ट्री फिल्म बनाए’, पाण्डे भन्छन्।

उनीहरुले आफ्ना प्रियजनहरुलाई सरप्राइज गिफ्ट दिने व्यवसायीको रुपमा ‘अन द रुम’ डकुमेन्ट्री फिल्म बनाएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .