कारोबार


कहिले बन्छन् नेपालमा विद्युतीय गाडीका अल्ट्रा फास्ट चार्जिङ स्टेसन?

स्थापित स्टेसनबाट पनि ग्राहकले फाइदा लिन पाएनन्, शुल्कमा मनोमानी
कहिले बन्छन् नेपालमा विद्युतीय गाडीका अल्ट्रा फास्ट चार्जिङ स्टेसन?

३५० डीसी चार्जर


वसन्त अर्याल
माघ २५, २०७८ मंगलबार ६:४९, काठमाडौँ

नेपालमा अत्यन्त छिटो चार्ज गर्न सकिने विद्युतीय गाडी भित्रिए पनि यस किसिमका चार्जिङ स्टेसन भने स्थापना हुनसकेका छैनन्। 

छिटो चार्ज गर्न सकिने त्यस्ता स्टेसनलाई डीसी अर्थात् डाइरेक्ट करेन्ट चार्जिङ स्टेसन भनिन्छ। यसले एसी चार्जरभन्दा छिटो सवारीसाधन चार्ज गर्न मिल्छ। 

कोरियन ब्रान्ड हुन्डाईले ३५० डीसी चार्जमा १८ मिनेटमै चार्ज हुने गाडी भित्र्याइसकेको छ। अर्थात् यो कारमा अल्ट्रा फास्ट चार्जर प्रयोग गर्न मिल्छ।  

तर नेपालमा त्यस्तो द्रुतगतिमा चार्ज हुने चार्जिङ स्टेसन अर्थात् अल्ट्रा चार्जर भने स्थापना हुनसकेको छैन। 

सबैभन्दा बढी चार्जिङ स्टेसन स्थापना गरेको हुन्डाईले नेपालमा ४० स्टेसन निर्माण गरिसकेको छ। सबै स्थानलाई समेट्ने गरी कम्पनीले ती चार्जिङ स्टेसन बनाएको हो। 
कम्पनीले ७ किलोवाटका फास्ट चार्जरयुक्त स्टेसन निर्माण गरेको हो।  

‘आयोनिक ५ मा ३५० डीसीको चार्जरबाट १८ मिनेटमै चार्ज हुन्छ। तर नेपालमा त्यो अल्ट्रा चार्जिङ स्टेसन छैन’, हुन्डाईका सन्दिप शर्माले भने, ‘हुन्डाईले अल्ट्रा चार्जिङ स्टेसनको विषयमा पनि योजना बनाइरहेको छ।’

नेपाल भित्रिएका फास्ट चार्जरबाट करिब १ घण्टामै फुल चार्ज हुन्छ भने घरबाट चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने गरेको छ। 

कुनै कुनै कम्पनीले ल्याएका विद्युतीय गाडीमा भने फास्ट चार्जिङ प्रयोग गर्न मिल्दैन।  

बीवाईडीले नेपालमा ४० किलोवाटको एसी फास्ट चार्जर राखेको छ। 

‘सामान्यतया ब्याट्रीमा एसी होइन डीसी चार्जर प्रयोग हुन्छ। बीवाईडीका गाडीमा एसी चार्जर प्रयोग गर्दा आफैँ डीसीमा कन्भर्ट हुन्छ’, कम्पनीका समिर श्रेष्ठले भने, ‘चार्जिङ स्टेसनमा सीसीएस २ स्ट्यान्डर्ड बढी चलेको छ।’

बीवाईडीका गाडीले एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने उनले बताए। 

भएकामा पनि ग्राहकले फाइदा लिन पाएनन्
अधिकांश कम्पनीले आफ्ना नेटवर्कमा चार्जिङ स्टेसन निर्माण गरिसक्दा समेत सबै ग्राहकले थाहा नै पाउनसकेका छैनन्। 

हुन्डाई, टाटालगायतका कम्पनीले आफ्ना शोरुममा चार्जिङ स्टेसन राखेका छन्। 

हुन्डाईका सन्दिप शर्माले अधिकांश शोरुमा चार्जिङ स्टेसन निर्माण भइसकेको बताए। 

‘अधिकांश चार्जिङ स्टेसन हुन्डाई नेटवर्कमा स्थापना भएका छन्’, शर्माले भने, ‘
होटल, शपिङमलमा हाम्रो कन्ट्रयाक्ट नै छ। त्यहाँ हुन्डाईका ग्राहकलाई चार्ज शुल्क फ्रि हुन्छ।’

होटलहरुले अरु कम्पनीका विद्युतीय गाडीमा चार्ज शुल्क लिन सक्छन्। तर हुन्डाईले होटलमा राखेका चार्जिङ स्टेसनबाट ग्राहकसँग शुल्क नलिने बताएको छ।

‘हुन्डाईका नेटवर्क सर्भिस सेन्टर र शोरुममा अरु कम्पनीका गाडी चार्ज गर्न पाउँदैनन्’, उनले भने, ‘होटलमा हुन्डाईका गाडीलाई प्राथमिकता दिइन्छ।’
होटलले अरु कम्पनीसँग युनिटको कति शुल्क लिने आफूहरुलाई थाहा नहुने शर्माले बताए। 

बीवाईडी नेपालका श्रेष्ठ सबै कम्पनीले बीवाईडीका चार्जिङ स्टेसनमा चार्ज गर्नसक्ने बताउँछन्। 

बीवाईडीका चार्जिङ स्टेसनमा चार्ज गर्नेले युनिटअनुसारको मूल्य तिर्नुपर्ने उनको भनाइ छ।  

चार्जिङ शुल्कमा छैन एकरुपता
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महशुल निर्धारण गरेको छ। 

तर यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन। प्राधिकरणले असोजदेखि नै लागू हुने गरी विद्युतीय सवारी चार्ज गरेबापतको महशुल निर्धारण गरे पनि ग्राहकले त्यसको सुविधा लिन पाएका छैनन्। 

‘विद्युत् प्राधिकरणले ४ रुपैयाँ प्रतियुनिट शुल्क लिनसक्ने व्यवस्था भए पनि ग्राहकले त्यसको फाइदा लिनसकेका छैनन्’, बीवाईडीका श्रेष्ठले भने, ‘चार्जिङ स्टेसन प्रयोग गर्नेबाट १० देखि १५ रुपैयाँ शुल्क लिइरहेका छौँ।’

उनले चार्जिङ स्टेसन राख्दा फरक ३ फेजलाइन राख्नुपर्ने, छुट्टै मिटर राख्नुपर्ने जस्ता प्रावधानले कार्यान्वयन हुन नसकेको बताए।

हुन्डाईका शर्माले चार्जिङ स्टेसनको लागि छुट्टै महशुल नतिरेको बताए। 

‘हामीले प्राधिकरणले दिएको सुविधा लिनसकेका छैनौँ। छुट्टै मिटर राख्नुपर्ने लगायतका प्राविधिक कारणले समय लागिरहेको छ’, उनले भने। 

यता नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई पनि विद्युत् प्राधिकरणले महशुल निर्धारण गरे पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको स्वीकार्छन्।  

उनले विद्युत् प्राधिकरणले नै स्थापना गर्ने चार्जिङ स्टेसनबाट नयाँ महशुल पूर्णरुपमा कार्यान्वयन हुने बताए। 

प्राधिकरणले विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई ४ रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने व्यवस्था गरेको छ। 

व्यावसायिक रुपमा चार्जिङ स्टेसन राख्नेले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट ४ रुपैयाँ ६० पैसामा थप २० प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरेको छ। 

वैशाखभित्रै ५० चार्जिङ स्टेसन तयार हुने
यसैबीच, प्राधिकरणका प्रवक्ता भट्टराईले वैशाखसम्म ५० चार्जिङ स्टेसन बनिसक्ने बताएका छन्। 

यसअनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ। 
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन्। यसबाट ठूला बससहित तीनवटा सवारीसाधन एक साथ चार्ज गर्न सकिनेछ।

त्यसका लागि ३ सयभन्दा बढी चार्जरलाई सेवा दिनसक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर रहने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .