कारोबार


दिल्लीमा ‘सीए ड्रप’, काठमाडौँमा लन्ड्री व्यवसायमा छलाङ

दिल्लीमा ‘सीए ड्रप’, काठमाडौँमा लन्ड्री व्यवसायमा छलाङ

वासमान्डुका मृगेन्द्र कर्ण (तस्बिर : विजय सिंह)


वसन्त अर्याल
फागुन २२, २०७८ आइतबार ७:०, काठमाडौँ

चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना बोकेर भारत हानिएका मृगेन्द्र कर्णलाई ५ वर्ष दिल्ली बसेपछि पढ्न मन लाग्न छोड्यो। 

काठमाडौंमा प्लस २ सकेपछि उनी सीए पढ्न सन् २००९ मा उता लागेका थिए। भर्खर २३/२४ वर्षका उनलाई पढाइभन्दा केही गर्नुपर्छ भन्ने सोचले जित्दै गयो। 

नेपाल फर्केर के गर्ने त? केही समय कलेजमा टिसर्टहरु सप्लाई गर्ने काम थाले। केही पैसा कमाइ भयो। तर यसबाट पनि सन्तुष्ट हुन सकेनन्। भारत जानुअघि काठमाडौंमै केही वर्ष बिताएकाले उनलाई यहाँको अवस्था थाहा थियो। ​

बाक्लो घर, हिलो र धुलाम्मे सडक। जनघनत्वको उस्तै चाप– घरका कोठा–कोठामा सिंगासिंगै परिवार बस्ने। न लुगा धुने प्रशस्त पानी, न त त्यसको लागि छुट्याउने समय। मानिसलाई कपडा धुन र सुकाउन त्यस्तै समस्या।

मानिसहरुका यिनै समस्यामा सेतु बन्न कर्णले सुरु गरे लन्ड्री व्यवसाय– वासमान्डु। त्यो पनि अरुभन्दा भिन्न सोचका साथ। 

यो त्यस्तै २०७४ तिरको समय थियो। त्यतिबेलासम्म यहाँ लन्ड्री व्यवसाय नभएका होइनन् तर आफैँले ल्याएर लुगा धुने र पुर्‍याइदिने चलन थिएन। कर्णले भने पिकअप पनि गर्ने र ड्रप पनि आफैँले गर्नथाले। जुन व्यस्त जीवन बाँचिरहेकाहरुका लागि खोजेजस्तै सुविधा थियो। 

व्यवसाय सुरु गर्दा स्टार्टअप, आन्ट्रप्रेनर भन्ने जानकारी थिएन। हुन पनि ५ वर्षअघि नेपालमा स्टार्टअप फेसनमा आइसकेको थिएन। आफ्नै नयाँ किसिमको बिजनेस गर्ने भन्ने मात्रै थियो। 

‘त्यतिबेला ब्रान्ड बिल्डअप वा मार्केटिङसम्बन्धी कुनै आइडिया थिएन’, उनी भन्छन्, ‘मैले आफ्नो केही गर्नैपर्छ भनेर सुरु गरेको हुँ।’ 

दिल्लीमा फुरेको आइडिया
नयाँ दिल्लीमा बस्दा पढाइमा जाँगर नचले पनि केही गर्नुपर्छ भन्ने कोणबाट नयाँ आइडिया खोजिरहेका थिए। 

त्यहाँ उनले धोबी (लुगा धुने)सम्बन्धी नयाँ अवधारणाको व्यवसाय देखे। नेपालमा धोबीको काम गर्नेले हातले नै कपडा धुने र लुगाको संख्या गनेर पैसा लिने गर्दथे।

विस्तारै वासिङ मेसिन प्रयोग त भए तर धोएको शुल्क कपडा संख्याअनुसार नै लिने चलन थियो।

यो ट्रेन्ड बदल्न कर्णले कपडा गनेर होइन तौलअनुसार अर्थात् किलोमा जोखेर शुल्क लिने योजना बनाए। परम्परागत रुपमा चलेको लन्ड्रीलाई नयाँ प्रविधियुक्त बनाए।

दिल्लीमा बस्दा हरेक कुरा अनलाइनबाट गर्ने बिगबिगी थियो। नेपालमा अनलाइन डेलिभरीको प्रचलन भित्रिसकेको थिएन। भारतमा बढ्दो अनलाइन प्रणाली देखेर नेपालको भविष्य भनेको अनलाइन हुनसक्ने उनको आकलन थियो।

नभन्दै व्यवसाय सुरुवातसँगै उनले अनलाइनबाटै अर्डरसँगै ‘पिक एन्ड ड्रप’ (ल्याउने–पु¥याउने) सिस्टम बसाए। 

‘ग्राहकलाई ब्लाङ्केट बोकेर लन्ड्रीसम्म ल्याउन अप्ठ्यारो लाग्छ’, कर्ण यसबारे भन्छन्, ‘ग्राहकको चाहनाअनुसार वासमान्डुले पिक एन्ड ड्रपसहितको सेवा सुरु गरेको हो।’

१० लाखमा सुरु गरेको व्यवसाय 
कर्णसँग १० लाख रुपैयाँ थियो। त्यही पैसा लगानी गर्ने निर्णय गरे। ठूलो जग्गा चाहिने, मेसिन किनेर कमर्सियल सेटअप गर्नुपर्ने। 

करिब १० आना जग्गा लिजमा लिएर ‘वासमान्डु’ सुरु भयो। यसका लागि १० किलो कपडा धुने क्षमताको मेसिन खरिद गरे। ठूला मेसिन हुन्छन् भन्ने आइडिया नै थिएन। 

सुरुको महिना ३३० किलो कपडाको धुलाई गरी ३५ हजारको करोबार भयो। अहिले कर्णसँग दैनिक ३०० किलो कपडा धुलाई गर्ने मेसिन छ। औसतमा दैनिक उनले २ सय किलो कपडा धोइरहेका छन्। 

मेसिन २४ घण्टा नै चल्ने गरेको उनी सुनाउँछन्। ३०० किलोभन्दा बढी गर्दा गुणस्तरमा असर पर्ने उनको भनाइ छ।  

लन्ड्रीसम्बन्धी धेरै ज्ञान नभए पनि वासिङ मेसिन अपरेटिङ पहिलोपटक आफ्नै कम्पनीबाट सुरु गरेका थिए। ‘हिट एन्ड ट्रायल’ सुरु भयो। जसले उनलाई धेरै कुरा सिकायो। 

सुरुमा कपडामा ट्याग पनि सियोले राख्ने गर्थे। अहिले मेसिन प्रयोग गर्छन्। यसले धेरै समय बचेको बताउँछन् उनी। अहिलेका अधिकांश लन्ड्रीले ट्यागिङ सिस्टम नै प्रयोग गर्न थालेका छन्। 

व्यवसाय अघि बढ्दै गर्दा कस्तो केमिकल प्रयोग गर्ने, कुन डिटरजेन्ट प्रयोग गर्नेजस्ता धेरै कुरा सिकेको कर्णको भनाइ छ। 

उनका अनुसार कमर्सियल मेसिन २ प्रकारका हुन्छन्– एउटा अटोमेटिक र अर्को म्यानुअल। नेपालमा अटोमेटिक मेसिन नबन्ने हुँदा कि भारतबाट कि चीनबाट मगाउनुपर्छ। 

उत्पादक कम्पनीले आजीवन सर्भिस फ्रि भने पनि मेसिन बिग्रिए भारत वा चीनबाटै प्राविधिक आउन समय लाग्ने कर्णको अनुभव छ। 

सामान्य समस्या आउँदा आफैँ बनाउन सकिने भएकाले उनले म्यानुअल मेसिन खरिद गरेका छन्। 

मासिक १३ लाखसम्म कारोबार
कोभिडअगाडिको १ वर्ष एकदमै राम्रो कारोबार भएको बताउँछन् कर्ण। उनका अनुसार त्यतिबेला मासिक १३ लाखसम्म कारोबार भएको थियो। बढ्दो कारोबारले व्यवसायमा हौसिएका उनी उपत्यकाका विभिन्न ठाउँमा कलेक्सन सेन्टर राखी व्यापार विस्तार गर्न खोजिरहेका थिए। कोभिडको कहर सुरु भयो। 

कोभिडपछिको १५ महिनामा करिब ८ महिना बन्दजस्तै भयो। अहिले मासिक ७ देखि ८ लाखसम्म कारोबार हुनथालेको उनको भनाइ छ।

कर्णले अहिले वासमान्डुमा ५० लाख बढी लगानी गरिसकेका छन्। यहाँ कमर्सियल वासिङ मेसिन, कपडाको पानी निचोर्न छुट्टै हाइड्रो एक्स्ट्राक्टर मेसिन र ड्रायर मेसिन छ।

वासमाण्डुले अहिले नर्मल र एक्सप्रेस सर्भिस प्रदान गरिरहेको छ। नर्मल बढीमा २–३ दिनको हुन्छ। यसमा ४ वटा क्याटेगोरीमा सेवा दिइरहेको बताउँछन् कर्ण। जसमा वास एन्ड फोल्ड १२० रुपैयाँ प्रतिकिलो, वास एन्ड आइरन १५० रुपैयाँ, ब्लाङ्केट १००, कार्पेट क्लिनिङ ३० रुपैयाँ वर्गफिट छ।  

यता एक्सप्रेस सेवा भने १२ बजेअघि भए उही दिन र १२ बजेपछि आएको अर्डर अर्को दिन हुन्छ। यो सेवा लिन नर्मलको दोब्बर शुल्क लाग्छ। कोभिडअघि वासमान्डुका ग्राहक विदेशी पर्यटक थिए। टुरिष्ट, होस्टेलबाट बढी अर्डर आउँथ्यो।

पर्यटकले एक्सप्रेस सेवा अर्थात् १ दिनमै दिने सेवा लिने गर्थे। तर महामारीसँगै यो सेवा बन्दजस्तै भएको छ।

साथीहरुले पत्याएनन्, परिवारले साथ दियो
लुगा धुने कामलाई नै व्यवसाय बनाउँछु भन्दा कर्णका साथीहरु पत्याउँदैनथे। 

उनीहरु धोबीको पनि के काम हुन्छ र भन्दै उल्टै सोध्थे। हेय दृष्टिले हेर्थे। तर परिवारले साथ दिएको बताउँछन् उनी। 

‘वासमान्डु सुरु गर्दा साथीभाइहरु धोबीको पनि के काम हुन्छ र भन्थे तर परिवारबाट भने सहयोग थियो’, कर्ण भन्छन्, ‘साथीहरु तल्लो स्तरको काम भन्थे। अहिले तिनै साथी वासमान्डुको सर्भिस लिन्छन्।’

कर्णका बाबु सरकारी संस्थान डीडीसीमा काम गर्थे। छोराले सीए ड्रप गरेर नयाँ स्टार्टअप व्यवसाय गर्छु भन्दा नाइँनास्ति गरेनन्। 

सुरुमा व्यवसाय गर्दा कपडा च्यातिने, कलर जानेजस्ता बढी समस्या देखिन्थे। सुरु–सुरुमा कपडा मिसिङ हुने समस्या थियो। अहिले त्यो समस्या समाधान गरेका छन्। 

व्यवसाय थालेको सुरुतिर आफैँ पिकअप र डेलिभरी गर्ने कर्णले अहिले १०–११ जना कर्मचारी राखेका छन्। 

वासमान्डुको पिकअप र ड्रप बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चल्ने गरेको छ। यो सेवा काठमाडौं उपत्यकाभरिका लागि छ। यसको अतिरिक्त शुल्क लिँदैनन्। 

वासमान्डु रहेको शान्तिनगर बानेश्वर छेउछाउमा १–२ केजी पनि लुगा उठाउने गरेको उनले बताए। टाढाको हकमा भने बढी कपडा भएपछि पिक अप गर्ने गरेको उनको भनाइ छ। 

‘पिक अप र डेलिभरी निःशुल्क भएकाले टाढा १–२ किलोकै लागि जाँदा पेट्रोल लागत उठ्दैन’, उनी भन्छन्, ‘नेपालमा पिकअप एन्ड डेलिभरीको लागि डेडिकेटेड कर्मचारी राख्नुपर्ने बाध्यता छ।’

अबको योजना
कर्णले यो क्षेत्रमा व्यवसायको राम्रै सम्भावना देखेका छन्।

उनका अनुसार होटल, हस्पिटलजस्ता क्षेत्रमा लन्ड्रीको कर्पोरेट बजार ठूलो छ। तर पैसा भुक्तानीमा ढिलाइ हुने हुँदा त्यहाँ नगएको कर्ण बताउँछन्।  

वासमान्डुको सेवालाई चुस्त बनाउन उनले अर्को महिना बालाजुमा कलेक्सन सेन्टर खोल्दै छन्। 

‘अर्डर आउँदाबित्तिकै डेलिभरी ब्वाई पठाउन सकिँदैन। कलेक्सन सेन्टर हुँदा छिटो सर्भिस दिन सक्छौँ’, उनले थपे, ‘आगामी वर्षमा काठमाडौंका १० स्थानमा कलेक्सन सेन्टर स्थापना गर्ने सोच छ।’

लन्ड्रीको सफलतासँगै अब कपडा सर्फ, हर्पिक, ह्यान्डवासलगायतका उत्पादन थाल्दै छन् उनी। यसका लागि साथीहरुसँग मिलेर काठमाडौंको कीर्तिपुरमा नयाँ कम्पनी सेटअप गरिरहेका छन्। 

हाल वासमान्डुका ९० प्रतिशत ग्राहक पटक–पटक सेवा लिइराख्नेहरु छन्।

मृगेन्द्र कर्ण भन्छन्, ‘म आफ्नो व्यवसायप्रति सन्तुष्ट छु।’

नेपाली प्रोडक्टका थप स्टोरी :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .