कारोबार


जुर्मुराउँदै पर्यटन क्षेत्रः विदेशी मुद्रा सञ्चितिको दबाबलाई कति सहयोग पुग्ला?

जुर्मुराउँदै पर्यटन क्षेत्रः विदेशी मुद्रा सञ्चितिको दबाबलाई कति सहयोग पुग्ला?

वसन्त अर्याल
चैत २३, २०७८ बुधबार १८:४२, काठमाडौँ

वैदेशिक मुद्रा सञ्चिति कम भइरहँदा विदेशी पर्यटकको आगमन बढेको छ।   

कोभिडपछि शून्यप्रायः रहेको पर्यटन क्षेत्र कोभिडअघिको तुलनामा अहिले ४५ प्रतिशतले ‘रिभाइभ’ भएको हो। 

यसले कमजोर भइरहेको विदेशी मुद्रा सञ्चिति दबाबलाई केही राहत मिल्नेछ। राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति मात्र छ। 

कोभिड महामारीपछि शून्यमा झरेको पर्यटन क्षेत्रमा कोरोना प्रभाव घटेसँगै पर्यटकीय चहलपहल बढ्न थालेको व्यवसायीले बताएका छन्।  

मार्च महिनामा मात्रै ४२ हजार पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको यही अवधिमा १४ हजार ९७७ जना मात्रै नेपाल आएका थिए। मार्च महिनामा भारतबाट १५ हजार पर्यटक भित्रिँदा चीनबाट ४३१ जना मात्रै भित्रिएका छन्। 

बेलायतबाट ४ हजार, अमेरिकाबाट ४ हजार ८९६ पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ। 

हाल आन्तरिक पर्यटकले नै धानेको पर्यटन क्षेत्रमा विदेशीको संख्या बढ्दो रहेको छ। पर्यटन बोर्डले भारत र बंगलादेशबाट पर्यटनको संख्या बढ्दो रहेको बताएका छन्। 

‘२०१९ को तुलनामा भारतबाट ९८ प्रतिशत रिभाइभ भइसकेको छ’, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने, ‘बंगलादेशबाट ११ प्रतिशतले बढेका छन्।’

जनवरीमा १२ सय ३६, फेब्रुअरीमा ८८८ आउँदा मार्च महिनामा मात्रै २ हजार बढी पर्यटक भित्रिएका छन्। पहिला बंगलादेशी क्यासिनो र पोखरामा रमाउन नेपाल आउने गरेका थिए। अहिले पर्यटक थोरै टे«किङमा निस्कन थालेका छन्। 

बंगलादेशीहरु सन् २०१३ मा २२ हजार ४१० पर्यटक भित्रिएका थिए। २०१६ मा २३ हजार ४४०, २०१७ मा २९  हजार ६०, २०१९ मा २५ हजार ८४९ पर्यटक भित्रिएका थिए। 
 
२०२० अघि मासिक औसत १ लाख पर्यटक भित्रिने गरेका थिए। सन् २०२१ कुल १ लाख ५० हजार पर्यटक नेपाल भित्रिएका छन्। 

जसमा भारतबाट ६४ हजार ६७३, अमेरिकाबाट २२ हजार ८५३ हजार, बेलायतबाट ८ हजार ६८०, चीनबाट ६ हजार १९६ पर्यटक नेपाल भित्रिएका थिए। बंगलादेशबाट गत वर्षभरिमा ५ हजार पर्यटक मात्रै भित्रिएका थिए। 

२०१८ मा ११ लाख ७३ हजार पर्यटक र २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएका थिए। २०१८ मा भारतीय पर्यटक १ लाख ९४ हजार रहँदा २०१९ मा २ लाख ५४ हजार भित्रिएका थिए। 

भ्रमण वर्ष २०२० मनाई २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य कोभिड महामारीको कारण ठेस लाग्यो। २०२० मा चैतदेखि लकडाउन भएसँगै पर्यटक २ लाख ३० हजारमा सीमित भए। 

पर्यटन व्यवसायमा आशा जागेको छः व्यवसायी 
वसन्तयाममा हिमाल आरोहणकालागि मंगलबारसम्म ३ सय ६६ जनाले अनुमति पाइसकेका छन्। अप्रिल ५ तारिखसम्म सगरमाथा आरोहणको लागि १३८ जना आरोहीले अनुमति लिएका छन्। 

अमादब्लाम हिमाल आरोहणको लागि ३९, अन्नपूर्ण २६, भेमदाङ रि ८, धौलागिरि २१, गंगापूर्ण २, हिमलुङ १६, कञ्चनजंगा १७, ल्होत्से ३३, मकालु १५, मनास्लु ९, मुकोट ४, नुप्तसे २३, पोखर खाङ ९, र थापा पिक ६ जनाले आरोहण अनुमति लिएका छन्। 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा)का अध्यक्ष रमेश थापाले मार्च महिनाको तथ्यांकले आशातित बनाएको बताए।

‘कोभिडपछि मार्च महिनाको तथ्यांकले पर्यटन व्यवसायी आशावादी हुनसकेका छन्’, थापाले भने, ‘भारत र बंगलादेशबाट पर्यटकको संख्या बढ्दो छ। चीनबाट ठप्प छ।’

चीनबाट नियमित उडान हुन नसक्दा पर्यटक आउन नसकेको बताए। उनले नेपालमा विदेशी पर्यटक आगमनको लागि कुनै समस्या नरहेको बताए। 

‘पहिला नै बुकिङ गरेका विदेशी पर्यटक आउँदै छन्’, उनले भने, ‘अहिले पनि बुकिङ भइरहेको छ। मेको अन्तसम्म पर्यटकको राम्रै उपस्थिति हुने देखिन्छ।’

टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटकको आगमनले व्यवसायी उत्साहित बनेको बताए। 

‘बिग्रिँदै गएको अर्थतन्त्रलाई सकारात्मक बनाउन पर्यटन क्षेत्रले सहयोग गर्ने आशा पलाएको छ’, सुवेदीले भने, ‘यो सिजनमा राम्रै पर्यटक आउँदै छन्। अटम सिजनमा राम्रै पर्यटक आउँछन्।’

उनले अब कोभिड महामारीले लकडाउन वा उडान अवरोध नभए पर्यटन क्षेत्र सुधार हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .