कारोबार


भरिभराउ हुनथाले होटल र रिसोर्टः ‘रिभाइभ’ भएको हो नेपालको पर्यटन?

भरिभराउ हुनथाले होटल र रिसोर्टः ‘रिभाइभ’ भएको हो नेपालको पर्यटन?

पोखरा लेकसाइड ६ खहरे नहरमार्गमा रहेको होटल पोखरा टुरिस्ट होममा पर्यटकहरु। (फाइल तस्बिरः होटलको वेबसाइटबाट)


वसन्त अर्याल
बैशाख २, २०७९ शुक्रबार १७:११, काठमाडौँ

नयाँ वर्षमा प्रमुख गन्तव्यका सबै होटल भरिभराउ भएका छन्। कोभिड महामारीको त्रास घटेसँगै आन्तरिक पर्यटकले नै होटल भरिएका हुन्। 

पर्यटन व्यवसायीका अनुसार चैतको पहिलो हप्ताबाटै आन्तरिक पर्यटकको संख्या बढेको थियो। 

वैशाखसम्म आइपुग्दा काठमाडौंआसपासका होटल तथा रिसोर्ट र काठमाडौंबाहिर पोखरा, चितवनका होटल ‘फुल’ भएको उनीहरू बताउँछन्। 

२ वर्षपछि होटल शतप्रतिशत बुकिङ हुनथालेसँगै व्यवसायीलाई उत्साहित बनाएको छ। महामारीको समयमा विदेशी पर्यटक ठप्प हुँदा आन्तरिक पर्यटक समेत बाहिर निस्किएका थिएनन्। 

अहिले दैनिक कोरोना संक्रमितको संख्या २० भन्दा तल पुगेको छ। योसँगै नेपालीहरू घुमघामका लागि तयार भएको व्यवसायीहरूको भनाइ छ। 

‘प्याक छन् होटलहरू’
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले नगरकोट, धुलिखेल, चितवन, पोखराका होटल पूरै बुकिङ भएको बताए।

‘अस्ति (बुधबार) म पोखरामा थिएँ, त्यहाँ कुनै होटल खाली थिएनन्। नयाँ वर्षले व्यवसायीमा उत्साह ल्याएको छ’, शाहले नेपालखबरसँग भने, ‘चैत पहिलो हप्तादेखि नै आन्तरिक पर्यटकको संख्या बढ्दो थियो। नयाँ वर्षमा होटल भरिएका छन्।’

सरकारले महामारीको बीचमा लगाएका मापदण्ड खुकुलो बनाएको छ। क्वारेन्टिन बस्नुपर्ने, खोप कार्डलगायत विषय खुकुलो भएका छन्। नेपालमा पनि अधिकांशले कोभिड खोप लगाएको कारण बाहिर निस्किने बढेको देखिन्छ। 

‘नेपालीमा आत्मविश्वास बढेको छ। शुक्रबार र शनिबार अधिकांश होटल तथा रेष्टुरेन्ट भरिएका हुन्छन्’, उनले भने, ‘२ वर्षपछि होटल व्यवसायीमा उत्साह थपिएको छ।’ 

बढ्नथाल्यो पर्यटक आगमन 
मार्चसम्मको तथ्यांकले कोभिड महामारीमा ठप्प भएको पर्यटन जुर्मुराउँदै गएको छ। मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। 

पर्यटन बोर्डका अनुसार भारतीय पर्यटक शतप्रतिशत आउनथालेको बताएका छन् भने बंगलादेशबाट पहिलाको तुलनामा ११ प्रतिशत बढी पर्यटक भित्रिएका छन्। 

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले चितवनका होटलमा भारतीय पर्यटकको आगमन बढेको बताए। 

‘भारतीयसँगै विदेशी पर्यटकको संख्या बढेको छ’, भट्टराईले भने, ‘नेपालीहरूले डेस्टिनेसन परिवर्तन गरेका हुन् कि नयाँ वर्षमा धेरै क्राउड (भीड) छैन।’

उनले पछिल्लो हप्ता पर्यटकको संख्या बढ्दै जाँदा व्यवसायीमा आत्मविश्वास बढ्दै गएको बताए। 

‘नेपालको पर्यटन रिभाइभ भयो’
त्यसो त हिमाल आरोहण अनुमति पाउनेको संख्या पनि बढ्दै छ। चैत ३० गतेसम्म ६ सय ८९ जनाले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन्। 

जसमा ८४ वटा टिमका ५ सय ३८ पुरुष र १५१ महिला आरोही रहेको पर्यटन विभागले जनाएको छ। 

सगरमाथा आरोहणका लागि ३१ टिमका २ सय ५० जनाले आरोहण अनुमति पाएका छन्। जसमध्ये १ सय ९४ पुरुष छन् भने ५६ महिला आरोही छन्। 

पर्यटन विभागले हिमाल आरोहण अनुमति पाएसँगै ३७ करोड ३८ लाख राजस्व उठाएको छ। अमादब्लममा ६५, अन्नपूर्ण २६, बरुत्से २० धौलागिरिमा २७, हिमलुङ ३१, कञ्चनजंघा ६१, ल्होत्से ८१, मकालु आरोहणका लागि ३९ जनाले अनुमति पाएका छन्। 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले विदेशीसँगै आन्तरिक पर्यटक बढ्दा होटल भरिभराउ हुनथालेको बताए। 

हाल नेपालको पर्यटन ‘रिभाइभ’ भएको उनको बुझाइ छ। उनका अनुसार नयाँ वर्षअघि नै सबै सहरमा होटलमा भरिभराउ पर्यटक हुनथालेका छन्। 

‘पर्यटन बोर्डले विभिन्न सहरमा ट्राभल मार्ट गर्दा तराईका जिल्लामा भारतबाट आउने पर्यटक धेरै आएका छन्’, रेग्मीले भने, ‘नेपालीसँगै भारतीय पर्यटकले तराईका होटल भरिने गरेका छन्।’ 

रेग्मीले भारतीय र बंगलादेशी पर्यटकको संख्या बढ्दै गएको बताए। शरद् ऋतुमा नेपालको पर्यटन पुरानै अवस्थामा फर्किने बताए। 

विमानस्थलमा बढ्दै छ चाप 
नेपालमा पर्यटकको गतिविधि बढेसँगै त्रिभुवन विमानस्थलमा चाप बढेको छ।

चीनलगायतका देशबाट नियमित उडान हुन नसके पनि अरु देशमा नियमित उडान सुरु गरेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले चीनबाहेकका गन्तव्यमा उडान सुरु गरेका छन्। विदेशी एयरलाइन्सले पनि उडान थालेको त्रिभुवन विमानस्थलले जनाएको छ। 

पछिल्ला दिनमा उडानको चाप बढ्दा ‘उडान डिले’ हुने समस्या बढ्दै गएको छ। 

व्यवसायीको मागअनुसार भन्दा पनि त्रिभुवन विमानस्थलले दिएको स्लटअनुसार उडान गर्नुपर्ने अवस्था आएको बताउँछन् हवाइ सेवा प्रदायक। त्रिभुवन विमानस्थलबाट दैनिक ३०० बढी उडान तथा अवतरण हुँदै आएका छन्। 

मुस्ताङका होटलमा जेठसम्मको बुकिङ
मुस्ताङमा होटल व्यवसाय सञ्चालन गरिरहेका मोहन सिंहलाल चन्दले सामान्य अवस्थाको जस्तै पर्यटक आएको जानकारी दिए।

‘मुस्ताङमा अहिले सामान्य अवस्थाजस्तै छ। जेठसम्मको होटल बुकिङ राम्रो छ’, मार्फा होटलका सञ्चालक समेत रहेका चन्दले भने, ‘नेपालीसँगै पश्चिमा देशका पर्यटक पनि बढ्दै गएका छन्।’

उनले नयाँ वर्षको अवसरमा मात्र नभई वसन्तयाम भएकाले चैतबाटै मुस्ताङमा पर्यटक बढ्नथालेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .