कारोबार


रोजगारी होस् कि अध्ययन, विदेश आउजाउ अब भैरहवाबाटै

रोजगारी होस् कि अध्ययन, विदेश आउजाउ अब भैरहवाबाटै

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा सोमबार पहिलोपटक अवतरण गरेको जजिरा एयरवेजको जहाज। बुद्धजयन्तीको अवसरमा कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो। तस्बिर : रासस


वसन्त अर्याल
जेठ २, २०७९ सोमबार १७:३१, काठमाडौँ

विदेश आउजाउको लागि अब काठमाडौं आउनैपर्ने बाध्यता हटेको छ। 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विदेश आउजाउ सबै भैरहवाबाट हुने भएको हो। 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले नियमित सुरु गरेको छ।

जजिरा एयरवेज वैदेशिक रोजगारीको लागि खाडी मुलुक आउने÷जाने नेपाली र लुम्बिनी घुम्न आउने विदेशी सिधै भैरहवा आउजाउ गर्न पाउने भएका छन्। 

अध्यागमन विभागले काठमाडौं त्रिभुवन विमानस्थलपछि भैरहवामा अन्तर्राष्ट्रिय भिसा जारी हुने बताएको छ। 

सोमबार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि प्रधानमन्त्री शेरबहादुर देउवा

‘अहिले त्रिभुवन विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रिय यात्रु आउन सक्छन्’, अध्यागमन विभागका निर्देशक अन्जान न्यौपानेले भने, ‘अब विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय भिसा त्रिभुवनपछि भैरहवामा दिन थालिएको छ।’

अहिले रोडबाट आउँदा बोर्डरबाट भिसा दिँदै आएको थियो। हालसम्म भिसा एक्सटेन्सन गर्न पोखरा र काठमाडौँ जानुपर्ने अवस्था छ भने मेडिकल चेकअपका लागि केन्द्रमै भर पर्नुपर्ने बाध्यता छ।

अध्यागमन विभागअन्तर्गत १३ वटा कार्यालय सञ्चालनमा छन्। उत्तरतर्फ रसुवागढी कार्यालय र कोदारी कार्यालय रहेको छ। 

पूर्वतर्फ पशुपतिनगर, काँकरभिट्टा, विराटनगर, वीरगन्ज, बेलहिया, जमुनाह, मोहना र गड्डाचौकीमा अध्यागमन कार्यालय छन्। काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र पोखरामा समेत अध्यागमन कार्यालय छन्। 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी काठमाडौंको चाप थेग्न भैरहवा विमानस्थल सहयोगी हुने बताउँछन्। 

‘अहिले काठमाडौंको एयर ट्राफिकले धान्नसक्ने अवस्थामा छैन’, अधिकारीले थपे, ‘अब काठमाडौंमा हुने चाप भैरहवाले घटाउँछ। विदेश जाने यात्रुलाई डिले हुने समस्या समाधान हुन्छ।’

४३ यात्रु भित्रिए, ११८ यात्रु बाहिरिए
भैरहवा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अनुप केसीले नेपालमा पहिलोपटक ४३ जना नेपाल भित्रिएको जानकारी दिए। 

‘क्याबिन क्रुबाहेक ४३ जना अन्तर्राष्ट्रिय यात्रु पहिलोपटक भैरहवा विमानस्थलबाट प्रवेश पाएका छन्’, केसीले नेपालखबरसँग भने, ‘नेपालतर्फबाट जाने ११८ जना यात्रु रहेका छन्।’

जजिरा एयरवेज बिहान ७ः०८ मा नेपाल आएको थियो। १० बजे भैरहवाबाट फर्किएको थियो। 

योसँगै अब विदेशबाट आउनेले भैरहवा इन्ट्री राखेर भिसा लगाएर आउन सक्नेछन्। अब भिसाकै लागि काठमाडौं जानुपर्ने अवस्था नआउने अध्यागमन कार्यालयले जनाएको छ। 

‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल चलाएपछि अब हरेक कामको लागि काठमाडौं जानुपर्दैन’, केसीले थपे, ‘भिजिट भिसा होस् वा पर्यटन सम्पूर्ण काम भैरहवाबाटै हुन्छ।’

अध्यागमन कार्यालयले काठमाडौंको विमानस्थलबाट पाउने सबै सुविधा भैरहवा विमानस्थलमा उपलब्ध रहेको जनाएको छ। 

भैरहवामा कुल पूरा दरबन्दी ४० जनाको छ। अहिले सबै कर्मचारी पूर्ति भएको छैन। 

‘अहिले जजिराले हप्ताको ३ वटा उडान मात्रै गर्ने हुँदा धेरै कर्मचारी आवश्यक हुँदैन’, उनले भने, ‘उडान संख्या बढ्दै जाँदा कर्मचारी थप हुँदै जान्छन्।’

जजिरा एयरवेजले हरेक हप्ता सोमबार, बुधबार र बिहीबार नियमित उडान गर्नेछ। कम्पनीले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ। 

‘भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति पाएको छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘काठमाडौंको उडान कटौती गरेर भैरहवा थपेको होइन। भैरहवाको ३ उडान थपेको हो।’

नेपालमा हाल एयर अरेबिया, एयर इन्डिया, एयर चाइना, विमान बंगलादेश, फ्लाई दुवई, जजिरा एयरवेज, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्सले दैनिक काठमाडौं उडान भर्दै आएका छन्। 

प्राधिकरणले नेपाली एयरलाइन्सबाहेक भारत, श्रीलंका, थाइल्यान्ड, चीन र नेपाली बढी कामदार रहेका खाडी देशका एयरलाइन्सले भैरहवाबाट उडान नियमित उडान भर्ने अनुमान गरेको छ।

‘काठमाडौंमा नियमित उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले भैरहवा पनि उडान गर्ने बताएका छन्’, गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले भने, ‘दशैँसम्म करिब १ दर्जन कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विश्वास छ।’

जागिर होस् वा पढ्न, भैरहवाबाटै जान पाइने
वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति अनलाइनबाटै हुँदा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। पासपोर्ट जिल्लामै १ हप्ता र १५ दिनमा पाइन्छ। 

विमानस्थलका महाप्रबन्धक दाहालले भैरहवाबाट विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने नेपाली, विदेशी पर्यटक, भीभीआईपीका अध्यागमनमा चेकइन कोठा छुट्याइएको बताए। 

‘भैरहवा विमानस्थलमा अध्यागमनको लागि प्रत्येक क्षेत्रको लागि २ वटा चेकइन पोइन्ट छुटाइएको छ’, दाहालले भने, ‘८ वटा कोठामा चेकइन हुन्छ। त्यसपछि सुरक्षाको चेकजाँच हुने दाहाल बताउँछन्।’

भैरहवाबाट वैदेशिक रोजगारीको लागि कतार, साउदी अरेबिया, यूएई, ओमान, मलेसिया जान होस् वा अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका, बेलायत भैरहवाबाटै प्रवेश पाउन सक्छन्। 

‘भैरहवाबाट उडान हुने एयरलाइन्सले ट्रान्जिट गरी सम्बन्धित देशमा लैजान्छन्’, दाहालले भने। 

अहिले पनि काठमाडौंबाट पनि धेरै देशमा सिधा उडान हुँदैनन्। दोहा, सिंगापुर, इस्टानबुल, दुवईमा ट्रान्जिट भएर युरोप तथा अमेरिका जाने गरेका छन्। 

भैरहवा विमानस्थलसम्बन्धी थप स्टोरी :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .