कारोबार


चीनलाई टक्कर दिन निजी क्षेत्रमा ३ अर्ब डलर लगानी गर्दै अमेरिका

चीनलाई टक्कर दिन निजी क्षेत्रमा ३ अर्ब डलर लगानी गर्दै अमेरिका

वसन्त अर्याल
साउन १३, २०७९ शुक्रबार २३:३४, काठमाडौँ

नेपालमा दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको विश्व शक्ति अमेरिकाले सरकारसँगै नीजि क्षेत्रसँग गहिरो सहकार्य गर्ने तयारी गरेको छ।

सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको नीजि क्षेत्रसँग पनि व्यापक साझेदारी थालेको हो।

नेपालको पहिलो अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना भएको आठ महिनापछि शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले यहाँको व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनमा अमेरिकाले तीन अर्ब डलर लगानी गर्ने बताएका छन्।

‘अमेरिकी सहायक विदेशमन्त्री लुले व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनका लागि नेपालको नीजि क्षेत्रमा दुई–तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाए’, प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने, ‘त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने छलफल प्रधानमन्त्री देउवा र लुबीच भएको छ।’

यसअघि पनि नेपालको नीजि क्षेत्रसँग अमेरिकाले साझेदारी गर्दै नै आएको थियो। तर चीनले व्यापार र उद्योगको क्षेत्रमा लगानी बढाएसँगै अमेरिकी लगानी बढ्न थालेको मानिएको छ।

‘अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीले लुसँगको भेटपछि ट्विटमा भनेका छन्।

मध्य र दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आएको अवसरमा अमेरिकी दूतावासले बिहीबार व्यवसायी तथा सरकारी नेतृत्व कर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकास प्रवद्र्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठीे आयोजना गरेको थियो।

जसमा दूतावासका कार्यबाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आफ्ना धारणा राखेका थिए।

नेपाल र अमेरिकाबीच वार्षिक व्यापार ६७ अर्ब रुपैयाँ माथि पुगेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा अमेरिकाबाट ५० अर्बको आयात गर्दा नेपालले १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। कोभिड माहामारीको समयमा पनि नेपाल र अमेरिकाबीच वार्षिक ३३ अर्ब बढीको व्यापार भइरहेको थियो। आर्थिक वर्ष २०७७/०७८ मा अमेरिकाबाट १९ अर्ब ५० करोडको आयात भएको थियो भने निर्यात १३ अर्ब ७९ करोडको भएको तथ्यांकले देखाएको छ।

उद्योग सचिव अर्जुन पोखरेलका अनुसार नेपालमा अमेरिकी लगानी भएका क्षेत्रको समस्या र लगानी विस्तारबारे बिहीबार छलफल भएको थियो।

‘दूतावासले आयोजना गरेको कार्यक्रममा अमेरिकी लगानी प्रवद्र्धन कसरी गर्न सकिन्छ, लगानीका संभावना के के छन् भन्ने विषयमा बढी छलफल भयो,’ पोखरेलले भने, ‘अहिले आर्थिक रुपमा देखिएका समस्याले उनीहरुको लगानीमा कस्तो असर पर्छ भन्ने चासो राखेका थिए।’

कार्यक्रमबाट पोखरेल अमेरिकन र युरोपियन देशहरूले नेपालमा एग्रिकल्चरल प्रोसेससँगै मेसिन भन्दापनि ‘मेनमेड’ वस्तु खोजिरहेको निष्कर्षमा पुगेका छन्।

‘अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक नीजि क्षेत्र नै हो, जसले रोजगारी सिर्जना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्याउँछ,’ कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले भने।

बिहीबारको कार्यक्रममा नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेका व्यवसाय तथा अमेरिका–नेपालबीच व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्याउन प्रयासरत अमेरिकन चेम्बरर्स अफ कमर्सको विषयमा छलफल भएको थियो।​

लुले नै स्थापना गरेका थिए ‘अमचेम’
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले २०२१ नोभेम्बरमा काठमाडौँ आउँदा नेपालमा पहिलो पटक अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना गरेका थिए। अमचेम विश्वका धेरै देहरूमा छ, जसले अमेरिकी कम्पनी र उत्पादनका माध्यमबाट आर्थिक प्रवद्र्धनको लागि सहयोग पु¥याउँदै आएको छ।

१३ जना सदस्य रहेर सुरु भएको अमेरिका चेम्बर अफ कमर्स नेपालमा सदस्य हुन विभिन्न मापदण्ड पूरा गरेको हुनुपर्छ। अहिले अमचेममा लोटस होल्डिङका अजित शाह, मेटलाइफका निर्मल श्रेष्ठ,  कम्प्लाइन्स क्वेस्टका अतुल्य रिसाल, लेप फ्रग टेक्नोलोजिका कैलाश वियानन्द, फोर्डका आधिकारिक विक्रेता आकाश गोल्छा, बर्डवाइजर बियरका आधिकारिक विक्रेता राज शाह, तारे होटल हायातका जयादिन श्रेष्ठ सदस्य रहेका छन्।

अमचेममा फ्रोस्ट एन्ड सुलिभनका मंगेशलाल श्रेष्ठ, क्याटेपिलरका आधिकारिक बिक्रेता ओस्कर बतास, पठाओ राइड सेयरिङका अशिम बस्नेत, डेलका आधिकारिक विक्रेता सञ्जय गोल्छा, कारखानाका सकार पुडासैनी र कानुनी सल्लाहकार सेमन्त दाहाल पनि रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .