कारोबार


कोरियन कम्पनी मोट्रेक्स नेपालमा विद्युतीय गाडी उत्पादन गर्न सहमत

कोरियन कम्पनी मोट्रेक्स नेपालमा विद्युतीय गाडी उत्पादन गर्न सहमत

वसन्त अर्याल
भदौ १२, २०७९ आइतबार १९:२०, काठमाडौँ

कोरियन कम्पनी मोट्रेक्स नेपालमा विद्युतीय गाडी उत्पादन गर्न सहमत भएको छ। लगानी बोर्डको बैठकले विद्युतीय गाडी मात्रै उत्पादन गर्न दिने निर्णयमा सहमति जनाएको हो। 

जेठ २३ मा बसेको लगानी बोर्ड बैठकमा बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विद्युतीय गाडी उत्पादन गर्न दिने प्रस्ताव पारित भएको थियो। 

बोर्ड बैठकमा डिजेल पेट्रोलका गाडी नभएर विद्युतीय गाडी मात्रै उत्पादन गर्न दिइनुपर्ने प्रस्ताव पारित भएको थियो। 

उक्त प्रस्तावमा मोट्रेक्स सहमत भएपनि केही शर्त अघि सारेको छ। 

‘मोट्रेक्स कम्पनी डिजेल पेट्रोल नभई विद्युतीय गाडी मात्रै उत्पादन गर्न सहमत भएको छ,’ प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले भने, ‘गाडी उत्पादनको लागि केही सर्त अघि सारेको छ। ती बजेटमा सम्बोधन भएका छैनन्।’

सरकारले चालु आर्थिक वर्षको बजेटमा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा ६ वर्षसम्म आयकर छुट दिने व्यवस्था गरेको छ। उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट पाउने व्यवस्था बजेटमा रहेको छ। 

चारपाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारी साधन उत्पादनका लागि चाहिने पाटपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ।  

मोट्रेक्सले आफ्नो लगानीबाट आम्दानी सुनिश्चितताको लागि थप सुविधा माग गरेको छ। मोट्रेक्सले यसअघि नै केही वर्षको लागि नयाँ कम्पनी आउन नदिने लगायतका शर्त राखेको थियो। सरकार मोट्रेक्सका सर्तमा सहमत नहुँदा लगानी भित्रन सकेको छैन।

लगानी बोर्डले अब विद्युतीय गाडी उत्पादन मात्रै नभई ‘इको सिस्टम’ नै विकास गर्न चाहेको जनाएको छ। 

‘लगानी बोर्ड विद्युतीय गाडी मात्रै होइन त्यसको लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने वातावरण बनाउन खोज्दै छ,’ भट्टले भने, ‘चार्जिङ स्टेसन लगायतका पूर्वाधारमा लगानी गर्नुपर्छ।’

कोरियन मोट्रेक्स कम्पनी लिमिटेडले मोतीपुर औद्योगिक क्षेत्र बुटवलमा एसम्बल प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेको थियो। 

लगानी सम्मेलन मार्फत नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लागतमा एसेम्बलिङ र उत्पादन गर्ने प्रस्ताव गरेको थियो। 

लगानी बोर्डका अनुसार उद्योग स्थापनाको लागि कुल ७३.६ एकड जग्गा आवश्यक छ। पहिलो चरणमा २४.७ र दोस्रो चरणमा ४८.९ एकड जमिन आवश्यक पर्ने उल्लेख गरेको छ। 

कम्पनीले वार्षिक ५० हजार युनिट गाडी उत्पादन तथा एसेम्बलिङ गर्ने प्रस्ताव गरेको छ।

जसमा सेगमेन्ट ‘ए’अन्तर्गत ३४ हजार प्यासेन्जर, सेगमेन्ट बीअन्तर्गत १५ हजार एसयूभी गाडी र सेगमेन्ट सीअन्तर्गत कमर्सियल एक हजार गाडी उत्पादन गर्ने प्रस्ताव गरेको छ। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .