पहिले ३ बिगाहमा जुट (पटुवा) लगाएका मोरङ धनपालथानका देवनारायण मण्डलले लगानीभन्दा आम्दानी कम भएपछि अहिले यसको खेती गर्न छाडेका छन्। विकल्पमा उनले धान खेती गरिरहेका छन्।
धान उत्पादक किसान भनेर चिनिने मण्डलले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु!’
साबिक नोचा गाविसमा मात्र कम्तीमा १५ बिघामा किसानहरूले जुट खेती गरिरहेका थिए, तर अहिले यो खेती मासिएर बढीमा ४ बिघामा सीमित भएको मण्डल बताउँछन्।
झापा गौरदहका दीपेन्द्र महतोले ५ वर्ष अघिसम्म दुई बिगाहमा जुट खेती गर्थे, तर यसबाट फाइदा नभएपछि उनी पनि गएको वर्षदेखि धान खेतीमा फर्किएका छन्।
पछिल्लो समय सुनसरी, मोरङ र झापाका दक्षिणी क्षेत्रका किसानले जुटले भाउ नपाउने, मजदुर नपाइने, मल–बीउको अभाव र कम आम्दानी हुने समस्याका कारण जुट खेतीको विकल्प खोज्न थालेका हुन्। जुट खेतीका लागि उर्वर भूमि भनेर चिनिएका जिल्लाबाट जुट खेती क्रमशः हराउँदै गएको छ।
प्रदेश १ कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार मोरङ, सुनसरी र झापामा २ दशकअघि ६० हजार हेक्टरमा जुट खेती गरिन्थ्यो। अहिले जम्मा ६ हजार हेक्टरमा मात्र जुट खेती हुन्छ। मोरङमा ५ हजार ३ सय ३८ हेक्टर, सुनसरीमा १ हजार ४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टरमा जुट खेती भइरहेको छ।
कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीले मोरङ, सुनसरी र झापामा हुने जुट खेती दुई दशकपछि आउँदा कूल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको बताए।
जुट खेतीबाट किसान पलायन हुने क्रमसँगै तीन जिल्लामा करिब १ लाखको संख्यामा रहेका पोखरी पनि मासिँदै गएका छन्। जुट प्रशोधनका लागि जुट पानीमा डुबाएर राख्न ती पोखरी बनाइएका थिए।
जुट खेतीका लागि तयार परिएका पोखरी मासिएपछि भूमिगत पानी नआउने समस्याका साथै जलचर जीव पनि मासिएको डाँगीले बताए।
किसानहरूले खाडीलाई पोखरीका रूपमा प्रयोग गर्ने गरेका छन् भने कतिपयले खाडी मासेर धान खेती लगाएका छन्।
अहिले मोरङ, सुनसरी र झापाका दक्षिणी क्षेत्रस्थित हुलाकी राजमार्ग आसपासका किसानले मात्र थोरै जग्गामा जुट खेती गर्ने गरेका छन्। पछिल्लो समय किसानले चाडपर्व मनाउने खर्च जोहो गर्न मात्र थोरै जग्गामा जुट खेती गर्ने गरेका हुन्।
मोरङ, सुनसरी र झापामा ०४३÷४४ सालदेखि जुट खेती थालिएको सरकारी तथ्यांक छ। विगतका वर्षमा मोरङ, सुनसरी र झापामा उत्पादित जुट भारतका साथै बंगलादेशमा समेत निर्यात गरिन्थ्यो, तर अहिले ठीक उल्टो छ। अर्थात् विराटनगरका अधिकतर जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंलादेशबाट आयात गरिन्छ।
जुट भित्र्याउने मुख्य समय साउन मसान्तदेखि कात्तिकसम्म हो। जुट खेती हुन छाडेपछि जुट उद्योगहरू पनि धराशायी भएका छन्। मोरङमा रहेका ११ वटा जुट उद्योगमध्ये कच्चा पदार्थ अभावमा ६ वटा बन्द भइसकेका छन्। सञ्चालनमा रहेका उद्योग पनि संकटमा छन्।
जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरू बन्द हुनुको मुख्य कारण कच्चा पदार्थ अभाव नै रहेको बताए। नेपाली उत्पादनले नपुगेपछि भारत र बंगलादेशबाट जुटका कच्चा पदार्थ आयात गर्ने गरिएको छ।
‘जुट खेतीमा किसानको आकर्षण बर्सेनि घट्दै छ, त्यसको प्रत्यक्ष मार मोरङ–सुनसरी औद्योगिक कोरिडोरका जुट उद्योगमा परेको छ’, अध्यक्ष गोल्छा भन्छन्, ‘अहिले सबै उद्योगले आवश्यक कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याइरहेका छन्।’
वार्षिक दुई अर्बभन्दा बढीको कच्चा जुट आयात
विराटनगरका अधिकतर जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात गरिन्छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित ६ वटा उद्योगका लागि वार्षिक ९० हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्छ।
चालू उद्योगलाई आवश्यक कच्चा जुटको आन्तरिक उत्पादन १६ हजार मेट्रिक टन मात्रै छ। कोरिडोरमा बाबा, अर्हन्त, स्वस्तिक, रघुपति, नेपाल र चन्द्र शिव जुट मिलले कच्चा जुट भारत र बंगलादेशबाट आयात गरिरहेका छन्।
उद्योगी गोल्छाका अनुसार कोरिडोरमा सञ्चालित ६ उद्योगका लागि आवश्यक कच्चा पदार्थमध्ये ६५ प्रतिशत भारत र बंगलादेशबाट आयात गरिन्छ। जसका कारण वार्षिक साढे दुई अर्ब रुपैयाँ विदेशिने गरेको छ। भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उत्पादन गरेको जुटका सामग्री ती उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत भारत निकासी गरिरहेका छन्।
कोरिडोरमा रहेका जुट उद्योगले वार्षिक ६५ हजार मेट्रिक टन खपत गर्ने गरेका छन्। त्यसमध्ये वार्षिक ४५ हजार मेट्रिक टन भारत र बंगलादेशबाट कच्चा जुट आयात हुने गरेको छ।
नेपालको जम्मा १८ हजार मेट्रिक टन कच्चा जुट उद्योगले प्रयोग गर्छन्। तर विराटनगरमा ११ वटा जुट उद्योग सञ्चालनमा रहँदा वर्षकै१ लाख मेट्रिक टन जुट खपत हुने गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा मात्र रानी भन्सार कार्यालय र मेची भन्सार कार्यालयबाट ६४ हजार ४२० टन कच्चा जुट आयात भएका छन्। जसमा रानी भन्सारबाट ३० हजार ६ सय १ मेट्रिक टन र मेचीबाट ३३ हजार ८ सय १९ मेट्रिक टन कच्चा जुट आयात भएको छ।
Shares
प्रतिक्रिया