नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र सम्बन्धी नीतिको तर्जुमा जनताको हित हेरेर मात्रै गरिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्।
जनताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धी नीति निमार्ण गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको हमालको भनाइ थियो।
‘जनताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धी नीति निमार्ण गर्नु नै मेरो प्रमुख उद्देश्य हो,’ अध्यक्ष हमालले भने ‘काम गर्दै जाँदा हुनसक्ने प्रक्रियागत गल्तीमा सचेत गराउन म सबैलाई आग्रह गर्छु।’
गलत उदेश्य र नियत राखेर आफू कहिल्यै अघि नबढ्ने पनि हमालले प्रष्ट्याए।
बोर्डको नेतृत्वमा आएपछि वित्तीय साक्षरतामा धेरै काम गर्नु पर्ने देखिएको पनि उनले बताए। वित्तीय साक्षरताका लागि उपयुक्त नीति र बजेटका लागि बोर्डले गृहकार्य गरिरहेको पनि उनले प्रष्ट्याए।
वित्तीय साक्षरताका लागि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि अनिवार्य भएको भन्दै उनले बदलिँदो प्रविधि र विश्व आयमसँग अनुकुल हुनेगरी आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेबारे बोर्डले तयारी थालेको पनि जानकारी दिए।
कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थतन्त्र विकासमा आर्थिक पत्रकारहरूले खबरदारी गरिरहेको बताए।
‘जिम्मेवार स्थानमा बसेका नियामक निकायहरूले गर्ने राम्रा कामको प्रचार गर्दै नकारात्मक र गैह्रकानूनी काम गरेमा निरुत्साहित गर्ने भूमिकामा आर्थिक पत्रकार छन्,’ अध्यक्ष ढकालले भने।
Shares
प्रतिक्रिया