कारोबार


प्यासिफिक सेभिङ : सुनको सिक्री दिएर लोभ्यायो, बचतकर्तालाई सावाँ न ब्याज

४ वर्षदेखि ९६ करोड पाउन भौँतारिँदै छन् ३५२ बचतकर्ता
प्यासिफिक सेभिङ : सुनको सिक्री दिएर लोभ्यायो, बचतकर्तालाई सावाँ न ब्याज

केशर बोगटी
चैत ७, २०७९ मंगलबार १२:५७, काठमाडौँ

‘५ लाख जम्मा गरे १ तोला, १० लाख राखे २ तोलाको सुनको सिक्री’ 

कस्तो राम्रो अफर! 

त्यसमाथि आफन्तले नै असाध्यै राम्रो सहकारी छ, ब्याज पनि राम्रो पाइन्छ भनेपछि ६५ वर्षीय हरिबहादुर शर्मालाई पैसा राखौँ राखौँ भइहाल्यो। 

०७० सालमा उनले आफूसँग भएको ५ लाख प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ सहकारीमा खनखनी गनेर राखिदिए। नभन्दै उनले १ तोलाको सुनको सिक्री पनि पाए। त्यसपछि त उनले ठाने– सहकारी गज्जब राम्रो रहेछ!

सहकारीले पनि भरोसा बढाएझैँ गर्‍यो– १/२ वर्षसम्म शर्मालाई राम्रो ब्याज दियो। शर्माले अन्य आफन्तलाई समेत सहकारीमा पैसा राख्न सुझाए। 

सुनको सिक्री र राम्रो ब्याजको चर्चा चुलिँदै गएपछि प्यासिफिक सेभिङमा बचतकर्ताको भीड झुम्मियो। चारैतिर सहकारीको चर्चा सुन्नथालेपछि उनलाई पैसा बचत गरेकामा कुनै पछूतो लागेन। 

तर सधैँ उस्तै कहाँ हुन्थ्यो र! १/२ वर्ष राम्रै ब्याज दिएपछि सहकारीले उनलाई सशंकित बनाउन थाल्यो। 

बचत गर्दैखेरि सहकारीले शर्त राखेकै थियो– राखेको पैसा तत्काल नझिक्ने। अब विस्तारै ब्याज दिन छोड्यो। त्यसपछि सावाँ मात्रै माग्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था आयो। 

शर्मा भन्छन्, ‘एक/दुई वर्षसम्म त ब्याज पनि राम्रो आयो, पछि विस्तारै न ब्याज दियो, न त सावाँ नै फिर्ता गर्‍यो।’

अहिले राखेको ५ लाख फिर्ता ल्याउन उनलाई हत्तो भएको छ। 

‘(सहकारीले) आन्तरिक कारणले केही समय कारोबार अवरोध हुने कुरा सुनायो’, उनले नेपालखबरसँग भने, ‘होला त भन्दै विश्वास गरियोे। अन्ततः फसियो।’ 

शर्माले उक्त सहकारीसँग सावाँ माग्न थालेको नै अहिले ४ वर्ष बितिसकेको छ। 

२०७५ असार १८ मा प्यासिफिक सेभिङलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो।

सोसँगै बचतकर्तासँग मागदाबी गर्न भनिएको थियो। शर्माले पनि गरेका थिए। तर अझै पाएका छैनन्। 

समस्याग्रस्त घोषणापछि प्यासिफिक सेभिङको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मा सहकारी व्यवस्थापन समितिको कार्यालयले लिएको छ।

३५२ बचतकर्ताको ९६ करोड मागदाबी 
सहकारीमा ३५२ जना बचतकर्ताले ९६ करोड रुपैयाँको मागदाबी गरेका छन्। 

उक्त रकम मागदाबी गर्दै उजुरी परेको सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए। 

पौडेललका अनुसार कार्यालयले हालसम्म १७४ जनालाई पैसा फिर्ता गरिसकेको छ। 

अझै १७८ जनाले बचत फिर्ता नपाएको उनको भनाइ छ।  

‘सहकारीका ऋणीको संख्या २२६ रहेकोमा समितिले हालसम्म ५ लाख ५९ हजार रुपैयाँ असुलउपर गरेको छ’, पौडेलले थपे, ‘ऋणीको जग्गा खोजी गर्ने र रोक्का गर्ने काम भइरहेको छ।’

सहकारी ऐनअनुसार साना बचतकर्तालाई पहिलो प्राथमिकता राखेर ऋण फिर्ता गरिरहेको उनले जानकारी दिए। 

ओरेण्टलले पनि देखाएको थियो सुनको प्रलोभन
त्यसो त सुनको उपहार लोभ देखाएर बचतकर्ता तान्ने काइदा प्रयोग गर्ने प्यासिफिक एक्लो होइन। 

सुधीर बस्नेतको ओरेण्टल को–ओपरेटिभ सहकारीले पनि यस्तै स्किम बचतकर्तामाझ ल्याएको थियो।  केही बचतकर्ताले सुनको सिक्री उपहारको प्रलोभनमा परेर बचत गरेको पौडेल बताउँछन्। 

‘प्यासिफिक सेभिङ र ओरेण्टल को–ओपरेटिभका केही बचतकर्ता सुनको सिक्री उपहारको प्रलोभनमा परेर बचत गरेको भेटिएको छ’, उनले नेपालखबरसँग भने, ‘केही बचतकर्तालाई कसरी सहकारीमा पैसा राख्नुभयो भन्दा ब्याज राम्रो दिने र पाँच लाख राख्दा १ तोला सुनको सिक्री लगाएर सम्मान गर्यो भन्नुहुन्छ।’

दुवै सहकारीले बचतअनुसार उपहारको प्रलोभनमा देखाएर पैसा संकलन गरेको भेटिएको पौडेल बताउँछन्। 

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि ओरेण्टल को–ओपरेटिभलाई पनि पहिलोपटक २०७४ सालमा समस्याग्रस्त घोषणा गरिएको थियो। 

तर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न प्रक्रिया नपुगेको भन्दै सर्वोच्चले सहकारीलाई सञ्चालन गर्ने फैसला सुनाएको थियो। 

पौडेलका अनुसार सहकारीले पुनः बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि प्रक्रिया पुर्याएर २०७९ असोज ७ गते मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो। 

हाल समितिले पुनः बचतकर्तासँग मागदाबी गर्न सूचना जारी गरेको पौडेलले उल्लेख गरे। 

‘मागदाबी गरेका साना बचतकर्ताको डाटा भेरिफाई (प्रमाणीकरण)को काम भइरहेको छ’, उनले भने, ‘डाटा भेरिफाई भइसकेपछि साना बचतकर्तालाई पैसा फिर्ता गर्छौँ।’ 

उनका अनुसार ओरेण्टलका साना बचतकर्तालाई यो चैतभित्र बचत फिर्ता गर्ने कार्यालयको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .