कारोबार


नेप्सेको सिस्टम ‘रिप्लेस’ गरिँदै, डेरिभेटिभ इन्डेक्स सञ्चालनको तयारी

नेप्सेको सिस्टम ‘रिप्लेस’ गरिँदै, डेरिभेटिभ इन्डेक्स सञ्चालनको तयारी

केशर बोगटी
चैत ९, २०७९ बिहिबार १३:५५, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टम रिप्लेस गर्ने गरी अध्ययन सुरु गरेको छ। 

नेप्सेमा डेरिभेटिभलगायतका इन्डेक्स सञ्चालन तयारी हुँदा सिस्टम रिप्लेस गर्नुपर्ने देखिएको हो। 

नेप्सेले गत वर्ष डेरिभेटिभ इन्डेक्स सञ्चालन गर्ने गरी अध्ययन गरेको थियो। 

बम्बई स्टक एक्चेञ्जका विज्ञलाई राखेर नेपालमा सो इन्डेक्स सञ्चालन अध्ययनपश्चात् सञ्चालनको तयारी भएको हो। 

डेरिभेटिभ सञ्चालनको लागि ‘नेप्से–५०’ वा ‘नेप्से–३०’ इन्डेक्स अन्तिम चरणमा पुगेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले बताए। 

उनका अनुसार ‘नेप्से–५० वा नेप्से–३०’ कुन बन्छ टुंगो लागिसकेको छैन। 

‘डेरिभेटिभ सञ्चालनको लागि ‘नेप्से–५०’ वा ‘नेप्से–३०’ तयार गरेका हौँ’, उनले भने, ‘इन्डेक्स अन्तिम चरणमा पुगेको छ। सम्भवतः वैशाखसम्म सञ्चालनमा ल्याउनेछौँ।’

त्यसैगरी नेप्सेले अक्सन मार्केट सञ्चालनको लागि निर्देशिका बनाएर धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले अक्सन मार्केट सञ्चालनको लागि स्वीकृति दिएसँगै नेप्सेले सो इन्डेक्स सञ्चालन गर्नेछ। 

यता नेपाल धितोपत्र बोर्ड समेत एसएमई इन्डेक्स सञ्चालनको लागि नियमावली संशोधन मस्यौदा तयारी पारेको जनाएको छ। बोर्डले थोरै पुँजी भएका र जोखिमयुक्त कम्पनीको छुट्टै इन्डेक्स सञ्चालन ल्याइने जनाएको छ। 

नयाँ इन्डेक्स सञ्चालनको तयारीमा भइरहेको अवस्थामा नेप्सेको सिस्टम अपग्रेड गर्ने वा सिस्टम नै रिप्लेस गर्ने भनी अध्ययन थालेको नेप्सेका एक उच्च अधिकारी बताए। 

‘गत वर्ष एकै दिन २२ अर्बसम्मको कारोबार भएको थियो’, ती अधिकारीले नेपालखबरसँग भने, ‘सेयरबजारमा लगानीकर्ता थपिँदै गइरहेका छन्।’

सर्वसाधारणको उपस्थिति बढ्दै गइरहेको अवस्थामा नयाँ इन्डेक्स बढाउँदा सिस्टम नै रिप्लेस गर्नुपर्ने देखिएको ती अधिकारीले बताए। 

नेप्सेमा २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु भएकोे हो। नेपालको सेयरबजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नेप्सेले अनलाइन कारोबार सुरु गरेको थियो। त्यो बेला तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गरेका थिए।

सुरुवाती समयमा करोडको कारोबार भइरहेको नेप्सेमा अनलाइन सुरु हुँदा समेत खासै कारोबार बढ्नसकेको थिएन। 

२०७६ चैतमा विश्वव्यापी रुपमा कोभिड महामारी फैलियो। जसबाट नेपाल समेत अछूतो रहेन। नेपाल सरकारले कोभिडकाल लकडाउन लगाउँदा सबै क्षेत्र ठप्प भए। सबै क्षेत्र ठप्प हुँदा सेयरबजार निरन्तर बढेको थियो। 

निरन्तर बढ्दै गइरहेको बजार २०७८ भदौ २ गते कारोबार अवधिमा ३२ सय विन्दु पार गरेको थियो। साथै कारोबार समेत २२ अर्बको भएको थियो। 

कारोबार र लगानीकर्ता बजारमा थपिँदै जाने र नेप्से, टीएमएसमा भने बेला–बेलामा समस्या बढ्दा लगानीकर्ताले सास्ती भोग्दै आएका थुप्रै उदाहरण छन्। 

नेप्सेमा कारोबार बढ्दै जाँदा कहिले सिस्टम त कहिले निर्माता कम्पनी वाइकोले सिस्टम समस्या देखाउँदै नेप्से पन्छिने गरेको थियो। 

२०७७ भदौ २५ गते नेप्सेले ब्रोकरलाई दिएको टीएमएससँग ब्रोकर र नेप्सेको कनेक्सन नभएपछि कारोबार रोक्का समेत भएको थियो। 

२०७७ भदौ २८ गते सिस्टममा समस्या देखिएपछि सेयरबजार बेलुका ५ः१५ सम्म खुलेको थियो। कारोबार समयमा समस्या आउँदा कारोबार अवधि समेत थपिएको थियो। नेप्सेका र ब्रोकरको सिस्टमा बेला–बेलामा समस्या आउँदा लगानीकर्ता हैरान भई प्रधानमन्त्रीसमक्ष मौखिक उजुरी दिन समेत पुगेका थिए। 

नेप्सेले नयाँ इन्डेक्स सञ्चालन ल्याउँदा आगामी दिनमा सिस्टमका कारण समस्या आई लगानीकर्ता त्यसको मारमा नपरून् भनी सिस्टम रिप्लेस गर्न लागिएको ती अधिकारीको भनाइ छ। 

सिस्टम अपग्रेड गर्ने कि सिस्टम नै रिप्लेस गर्ने भनी अध्ययन सुरु गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली बताउँछन्। 

उनका अनुसार पाँच/छ वर्षमा सिस्टम पुरानो हुँदै जान्छ। सिस्टम पुरानो हुँदै जाँदा त्यसलाई अपग्रेड गर्ने वा रिप्लेस नै गर्नुपर्ने कुरा सामान्य हो। 

‘कारोबार धेरै हुन थालेर मात्र सिस्टम रिप्लेस गर्ने होइन’, उनले भने, ‘मोबाइल, ल्यापटपलगायतका सामान पुरानो हुँदै जाँदा पुरानो अपडेट आउँदैन। पुराना मोबाइलहरुमा केही नयाँ कुरा सञ्चालन गर्न विभिन्न एप्स डाउनलोड गरी चलाउनुपर्छ भने नयाँ मोबाइलमा सिस्टम थपिएर आउँछ।’

नेप्सेको क्यापासिटी (क्षमता) कमजोर भएर सिस्टम रिप्लेस गर्ने भन्ने नहुने उनले बताए। हाल नेप्सेले प्रतिसेकेन्ड १२ हजार कारोबार सपोर्ट गर्छ।

‘त्यो पूर्ण रुपमा प्रयोगमा आएको छैन। खर्बसम्मको कारोबार धान्ने क्षमता छ’, पराजुलीले भने, ‘कारोबारको आकार बढेर, युजर बढेका कारण नेप्सेको सिस्टम रिप्लेस हुने होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .