कारोबार


ब्याजदर उतारचढावका १० वर्ष : कर्जा कहिले सस्तो, कहिले महँगो?

ब्याजदर उतारचढावका १० वर्ष : कर्जा कहिले सस्तो, कहिले महँगो?

केशर बोगटी
चैत १९, २०७९ आइतबार ७:१२, काठमाडौँ

पछिल्लो समय देशैभर ब्याजदर वृद्धिको व्यापक विरोध भइरहेको छ। अधिकांश ठाउँमा त बैंकको बढेको ब्याजदरविरुद्ध आन्दोलन नै भए।

उद्योगि व्यवसायीले जिल्लादेखि माइतीघर हुँदै राष्ट्र बैंक घेराउसम्म गरे। तर, कर्जाको ब्याजदर घटेन। 

गत पुसमा विष्णु पौडेलले अर्थमन्त्री भएलगत्तै निजी क्षेत्रलाई यसलाई सम्बोधन गरिने आश्वासन दिएर आन्दोलन मत्थर पार्ने प्रयास गरे। व्यवसायीले पनि केही समय आन्दोलन रोके। 

तर यो बीचमा सरकार परिवर्तन भयो भने व्यवसायीले चाहेको कम ब्याजदरको माग पूरा भएको छैन। सोसँगै राष्ट्र बैंक घेराउलगायतका विरोध कार्यक्रम व्यवसायीबाट हुँदै आएका छन्। 

ब्याजदर उतारचढाव : कर्जा कहिले सस्तो, कहिले महँगो? 
पछिल्लो १० वर्षलाई हेर्दा २०७४/०७५ मा वाणिज्य बैंकको आधार दर करिब साढे १० प्रतिशत पुगेको थियो। 

त्यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपछि भारतले गरेको नाकाबन्दीले आयात घट्न गई बैंकहरुमा तरलता सहज हुँदा  वाणिज्य बैंकले ६.५४ प्रतिशत आधारदरमा प्रिमियम थपेर कर्जा प्रवाह गरेका थिए। 

सो आधार दर पछिल्लो दश वर्षमध्येको कम हो। आधारदर कम हुँदा कर्जा पनि सस्तो थियो। कर्जा सस्तो हुँदा उद्योगी व्यवसायीले व्यवसाय विस्तार गर्न थालेपछि पुनः तरलता कसिलो भई ब्याजदर बढेको हो।

त्यस्तै, २०७८ असारमा वाणिज्य बैंकको कर्जा सस्तो देखिएको छ। २०७८ असारमा वाणिज्य बैंकले ६.८७ प्रतिशत आधार दरमा प्रिमियम थपेर कर्जा प्रवाह गरेका थिए। 

यता २०७७ चैतमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि सरकारले लगाएको लकडाउनका कारण समग्र क्षेत्र ठप्प हुँदा बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदा आधार दर घट्न गई कर्जा सस्तो हुनपुगेको थियो। सो समयमा वाणिज्य बैंकको सीडी रेसियो ७० प्रतिशतको हाराहारीमा थियो। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई खुकुलो पारिदियो। त्यसपछि वाणिज्य बैंकहरु कर्जा विस्तारको प्रतिस्पर्धामा होमिए। 

उल्लेख्य रुपमा वाणिज्य बैंकले कर्जा विस्तार गर्दा २०७८ असारमा सीडी रेसियो ७८ प्रतिशत पुग्यो। यता खराब कर्जा १.४० प्रतिशत थियो। सो अवधिमा आधार दर समेत ६.८७ प्रतिशतमा झरेको थियो। बैंकहरुले प्रशस्त रुपमा कर्जा प्रवाह गरिरहेकाले खराब कर्जा समेत घट्दै गइरहेको थियो। 

२०७७ असारमा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७० प्रतिशत थियो। सीडी रेसियो जति थोरै हुन्छ, त्यति नै बैंकहरुसँग लगानीयोग्य रकम रहेको बुझिन्छ। सोही अवधिमा वाणिज्य बैंकको खराब कर्जा दर १.८१ प्रतिशत थियो। बैंकहरुसँग लगानीयोग्य रकम प्रशस्त हुँदा ८.५० प्रतिशतमा प्रिमियम थपेर कर्जा लगानी गरिरहेका थिए। 

२०७८ को मौद्रिक नीतिले समेत पुनर्कर्जालगायतका सुविधा यथावत् राख्दा बैंकहरुले कर्जा विस्तारलाई अझै तीव्रता दिए। 

२०७८ फागुनमा कुल निक्षेप ४३ अर्ब ३३ अर्ब थियो भने कर्जा ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो। 

२०७९ फागुनमा वाणिज्य बैंकको निक्षेप ४७ खर्ब ७१ अर्ब र कर्जा ४२ खर्ब ७० अर्ब हाराहारीमा छ। राष्ट्र बैंकले गरेको खुकुलो व्यवस्थाका कारण बैंकहरुले धमाधम कर्जा विस्तार गरेको यसले पुष्टि गर्छ। 

कहिले घट्छ ब्याजदर? 
आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० खर्ब १९ अर्बको आयात हुँदा २ खर्बको निर्यात भएको थियो। 

उलेख्य मात्रामा आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा गिरावट देखिएपछि आयात केही कसिलो गरिएको थियो। राष्ट्र बैंकले बैंकहरुलाई कोभिड कालमा दिएका सुविधा कस्न थाल्यो। जसले गर्दा तरलता समस्या बढ्दै गएको थियो। 

तरलता बढ्दै जाँदा बैंकहरु निक्षेप बढाउने प्रतिस्पर्धामा लागे।  उनीहरुले कर्जा विस्तार ठप्प गरी निक्षेप बढाउन थाले। 

त्यसयता ब्याजदर निरन्तर बढ्दै गयो। यता कर्जा विस्तार ठप्प पारी निक्षेप बढाउने प्रतिस्पर्धामा लागेका बैंकको लागत पनि बढ्न थाल्यो।  

लागत बढ्न थालेपछि गत माघमा बैंकर्स संघले मुद्दती निक्षेपको ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय गर्यो। वाणिज्य बैंकले चैतदेखि लागू हुने गरी साधारण निक्षेपमा समेत ०.४४ प्रतिशतले ब्याजदर घटाए। 

निक्षेपको ब्याजदर घटाउने निर्णय भएपछि कर्जाको ब्याजदर पनि परिवर्तन हुने देखिन्छ। तर, आगामी वैशाख १ देखि मात्रै कर्जाको ब्याजदर परिवर्तन हुनेछ। 

त्रैमासिक रूपमा आधारदरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्ने भएकाले निक्षेपको ब्याजदर घटे पनि यसको असर तत्काल देखिनेछैन। 

माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति हुन्छ सोही अनुपातमा वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने बैंकरहरूको भनाइ छ। 

बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बैंकको खर्चसमेत घट्ने भएकाले आधारदर पनि घट्ने हुन्छ।

कुन वर्ष कति आधार दर? 
आर्थिक वर्ष २०७९ असारमा वाणिज्य बैंकको आधार दर (बेसरेट) ९.४५ प्रतिशत थियो। बैंकले सोही आधार दरमा प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका थिए। जुन माघ मसान्तमा निरन्तर बढ्दै १०.७२ प्रतिशतसम्म पुगेको थियो। 

२०६९ यता चार आर्थिक वर्ष वाणिज्य बैंकको आधार दर निरन्तर घट्दै गएको देखिन्छ। पुनः २०७४ असारमा वाणिज्य बैंकको आधार दर ९.८९ प्रतिशत पुगेको थियो। 

२०७४ र २०७५ मा वाणिज्य बैंकहरुको आधार दर बढ्दा ब्याजदर बढेको देखिन्छ। त्यो बेला देशभरका अधिकांश ठाँउमा बैंकहरुले गरेको ब्याजदर वृद्धि गरेको ब्याजदरका विरुद्ध आन्दोलन समेत भएका थिए।

सोही अवधिमा वाणिज्य बैंकको खराब कर्जा बढेर २.४१ प्रतिशत पुगेको देखिन्छ। साथै, अवधिमा वाणिज्य बैंकको सीडी रेसियो समेत बढेर ७८ प्रतिशत पुगेको थियो।  

२०७५ पछि निरन्तर घट्दै गएको आधार दर २०७८ असारमा आधार दर ६.८७ प्रतिशत झरेको थियो। २०७८ यता निरन्तर ब्याजदर बढ्दै गएको देखिन्छ। २०७९ असारमा वाणिज्य बैंकको आधार दर ९.४५ रहेकोमा पुस मसान्त अर्थात् दोस्रो त्रैमासमा १०.९१ प्रतिशत, माघ मसान्तमा १०.७२ प्रतिशत र फागुनमा १०.६८ प्रतिशतमा झरेको छ। 

चैतदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएकाले बैंकको लागत घट्न गई आगामी वैशाखदेखि कर्जाको ब्याजदर समेत घट्ने देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .