कारोबार


सेनाको गण सारेर यसरी गरिनेछ भरतपुर विमानस्थलको धावनमार्ग विस्तार

२ अर्बको टर्मिनल भवनसँगै उड्नेछन् एटीआर ७२ सम्मका जहाज
सेनाको गण सारेर यसरी गरिनेछ भरतपुर विमानस्थलको धावनमार्ग विस्तार

वसन्त अर्याल
चैत १९, २०७९ आइतबार १९:३५, काठमाडौँ

भरतपुर विमानस्थलमा धावनमार्ग विस्तारका लागि नेपाली सेनाको गण सर्ने भएको छ। विमानस्थलनजिकै रहेको गण सार्न नेपाली सेना सहमत भएको हो। 

योसँगै अब ठूला जहाज समेत उडान अवतरण हुनसक्ने गरी विमानस्थल विस्तार हुनेछ। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्ने बताए पनि नेपाली सेनाको ‘ब्यारेक’को कारण अगाडि बढ्नसकेको थिएन। 

त्यसले गर्दा आन्तरिक र बाह्य पर्यटकको गन्तव्य चितनवमा ठूला जहाज उडान तथा अवतरण गर्नसक्ने अवस्था थिएन। चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा मानिसहरु घुम्न तथा बस्न जाने गरेका छन्।

उडानमा समेत वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा नहुँदा भाडा महँगो छ। 

बुद्ध एयरको भरतपुरमा सामान्य भाडा नै पोखरा बराबर अर्थात् ३५ सय रुपैयाँ छ। कम्पनीले काठमाडौंबाट भरतपुर र पोखराको एउटै भाडादर लिँदै आएको छ। गुण एयरलाइन्सले कर्मचारीलाई समेत तलब दिन नसकेपछि उडान नै रोकिएको छ। 

विमानस्थलमा एटीआर ४२, जेटस्ट्रिम ४१, बिचक्राफ्ट १९०, ट्विनअटर जहाज उडान अवतरण गर्न सक्छन्। हाल बुद्ध एयरको एटीआर ४२ले मात्रै उडान अवतरण गरिरहेको विमानस्थलले जनाएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले एटीआर ७२ सम्मका जहाज अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउन लागिएको बताए। 

‘अहिले साना जहाज मात्रै उडान अवतरण गर्छन्। धावनमार्ग विस्तारसँगै ठूला जहाज उड्न सक्छन्’, निरौलाले भने। 

१९ बिघा जमिन आवश्यक, मन्त्रिपरिषद्मा प्रस्ताव 
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारको लागि १९ बिघा जमिन आवश्यक पर्छ।

हाल १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ  ४१२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनुपर्नेछ।

उत्तर पश्चिममा धावनमार्ग विस्तार हुने भएपछि भरतपुर महानगरले समेत चासो दिएको छ। 

धावनमार्ग विस्तारमा सरकारी जग्गा नै भएकाले थप रकम लाग्नेछैन। तर नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न सरकारले खर्च व्यहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गणलाई नेपाल ट्रस्टको जग्गामा सार्ने सहमति भएको छ। भरतपुरमा हाल कालिबहादुर गण छ। सेनाकै घोडा बस्ने युनिट गणेशस्थानमा सार्ने सहमति भएको उनले बताए। 

‘प्राधिकरणले निर्णय गरेर उड्डयन मन्त्रालयमा पठाएको थियो’, सूचना अधिकारी भुलले नेपालखबरसँग भने, ‘रक्षा मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा पुगेको जानकारी पाएका छौँ।’

हाल मन्त्रिपरिषद्को विषयगत समितिमा प्रस्तावमाथि छलफल भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको गृह क्षेत्र नै भएकाले मन्त्रिपरिषद्मा गएको प्रस्ताव पास हुने प्राधिकरणका अधिकारीहरु बताउँछन्। 

नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले २ वटा युनिट स्थानान्तरण गर्न तयार रहेको बताए।  

‘विमानस्थल विस्तारको क्रममा सेना बस्ने गण र घोडा बस्ने युनिटलाई आवश्यक पूर्वाधार तयार भएपछि अहिलेको स्थान नेपाली सेनाले उपलब्ध गराउँछ’, प्रवक्ता भण्डारीले नेपालखबरसँग भने, ‘विकास निर्माणको काममा नेपाली सेनाको कुनै अवरोध छैन।’

उनले नेपाली सेना स्थानान्तरणको लागि आवश्यक भौतिक पूर्वाधार तयार भएपछि विमानस्थलका लागि आवश्यक पर्ने इलाका छोड्न सकिने जानकारी दिए। 

सेनाले प्रयोग गरेको सबै जग्गा विमानस्थलको लागि आवश्यक नभएको समेत उनको भनाइ छ। 

२ अर्बको टर्मिनल भवन शिलान्यास
यसैबीच, गत बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलमा आधुनिक भवन निर्माणको शिलान्यास गरेका थिए।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टर्मिनल भवन पिक आवरमा १ हजार यात्रुले सहजै प्रयोग गर्नसक्नेछन्। 

करिब १४ कट्ठा क्षेत्रफलमा निर्माण हुने टर्मिनल भवन आयोजनाअन्तर्गत ८ हजार वर्गमिटरभन्दा बढी निर्माण क्षेत्र भएको दुई तले टर्मिनल भवन, ८ तले कन्ट्रोल टावर, पार्किङ, पहुँचयुक्त सडक निर्माण हुनेछ। 

यसको कुल लागत १ अर्ब ९२ करोड छ। निर्माण व्यवसायी केसी– क्षमादेवी–प्रतिष्ठा जेभीसँग ३ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

यसअघि भरतपुर विमानस्थलको निर्माण सन् १९५८ मा सम्पन्न भएको थियो। विमानस्थलमा पहिलो उडान भने सन् १९६१ अर्थात् करिब ६२ वर्षअगाडि भएको थियो। 

नेपाल वायुसेवा निगम तथा नेकोन एअरको एभ्रो जहाज अवतरण हुनसक्ने गरी सन् १९९४ मा ११ सय ५८ मिटरको धावनमार्ग बनाइएको थियो। 

त्योसँगै सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा धावनमार्ग कालोपत्रे गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .