कारोबार


निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न मिल्दैन : महासंघ अध्यक्ष ढकाल

निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न मिल्दैन : महासंघ अध्यक्ष ढकाल

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १८:४८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिएका छन्। 

बिहीबार नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने बताए। 

अध्यक्ष ढकालले राष्टिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेसो संशोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरामा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन्। 

सोही कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्ति मात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताए। यो व्यवस्था संशोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण बिग्रिने उनले बताए।

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने बताए। उनले यो व्यवस्था संशोधनका लागि पार्टीले पहल गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, वीरबहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संशोधन आवश्यक रहेको धारणा राखेका थिए। उनीहरुले नेपाली कांग्रेस निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने नीतिमा विश्वास राख्ने पार्टी भएकोले यसको संशोधन आवश्यक रहेको बताए।

कार्यक्रमका संयोजक एवं नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यसबारेको संशोधन व्यक्तिगत वा सामुहिक रुपमा हाल्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .