समस्याग्रस्त ओरेन्टल को–अपरेटिभ सहकारीले बचतकर्तालाई ८ करोड फिर्ता गर्ने भएको छ।
बचतकर्तालाई प्राथमिकताका आधारमा पहिलो चरणमा ८ करोड फिर्ता गर्ने योजना बनाइएको छ। करिब ५ हजार बचतकर्ताबाट साढे ३ अर्बको मागदाबीसहित उजुरी परेको छ।
त्यसअनुसार प्राथमिकताका आधारमा बचतकर्तालाई असारभित्र पैसा फिर्ता गर्ने सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए।
‘ओरेन्टल को–अपरेटिभ सहकारीलाई दोस्रो पटक २०७९ असोज ७ गते समस्याग्रस्त घोषणा गरिएको हो’, उनले भने, ‘समितिले यसअघि उठाएको साढे ३ करोड र सहकारीले उठाएको साढे ४ करोड गरी ८ करोड फिर्ता गर्ने योजना छ।’
पौडेलका अनुसार प्राथमिकताका आधारमा बचतकर्ताको पैसा फिर्ता गरिने छ।
‘सहकारी सञ्चालक सुधीर बस्नेतविरुद्धको मुद्दाले गर्ला पैसा फिर्ता गर्न ढिलाइ भएको हो, मुद्दा फिर्ता भएसँगै असार मसान्तभित्र ८ करोड फिर्ता गर्छौं,’ उनले भने।
‘सहकारी ऐनअनुसार साना बचतकर्ता पहिलो प्राथमिकतामा छन्’, उनले भने, ‘प्राथमिताका आधारमा बचतकर्ताले पैसा पाउने व्यवस्था छ।’
समस्याग्रस्त एक दर्जन सहकारी एक दर्जन सहकारी समस्याग्रस्त घोषणा गरी सहकारी व्यवस्थापन समितिको कार्यालयले तिनको व्यस्थापकीय जिम्मेवारी सम्हाल्दै आएको छ।
समितिले ओरेन्टल को–अपरेटिभ, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी र कुवेर बचत तथा ऋण सहकारीको व्यवस्थापन सम्हालेको छ।
त्यसैगरी चाटर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी र लुः निभा बहुउद्देश्य सहकारीको व्यवस्थापन पनि समितिको कार्यालयको जिम्मामा छ।
दुई सहकारीले फिर्ता गरे
समस्याग्रस्त दुई सहकारीले बचतकर्ताको पैसा फिर्ता गरेका छन्। स्टान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ सहकारी र कुवेर बचत तथा ऋण सहकारीले बचत फिर्ता गरेको सहकारी व्यवस्थापन समितिका सदस्यसचिव पौडेलले जानकारी दिए।
सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले २०७५ असार १८ स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ र कुवेर बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषित गरेको थियो।
स्टान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा १६ जना बचतकर्ताले डेढ करोड रूपैयाँ माग दाबीसहित विभागमा उजुरी दिएका थिए।
माग दाबी गर्ने १६ बचतकर्तालाई १ करोड ४८ लाख रूपैयाँ फिर्ता गरिएको पौडेलले जानकारी दिए।
‘समस्याग्रस्त स्ट्यान्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ लिमिटेडका सबै बचतकर्ताको पैसा फिर्ता गरेका छौँ,’ उनले भने, ‘गत वर्षसम्म १४ जना बचतकर्तालाई १ करोड २६ लाख रूपैयाँ भुक्तानी गरेका थियौँ।’
यता कुवेर बचत तथा ऋण सहकारीलाई ममस्याग्रस्त घोषणा गर्दा १२ जनाले ५० लाखको मागदाबीसहित उजुरी दिएका थिए।
मागदाबी गर्ने १२ जनाकै पैसा फिर्ता गरिसकेको पौडेलले बताए। यी दुई सहकारीका बचतकर्ताको पैसा फिर्ता गरेको प्रतिवेदन तयारी गरी फाइल मन्त्रालय पठाइएको उनले बताए।
‘सबै बचतकर्ताको पैसा फिर्ता गर्न सफल भएका छौं’, उनले भने, ‘अन्य केही समस्याग्रस्त सहकारीको जग्गा लिलामी प्रक्रियामा छ। विस्तारै बचतकर्तालाई पैसा फिर्ता गर्छौं।’
लुः निभा बहुउद्देश्य र सोसाइटमा फर्च्योट तयारी
सहकारी व्यवस्थापन समितिले लुः निभा र सोसाइटल बचत तथा ऋण सहकारीको बचतकर्ताको बचत फिर्ता गरी आगाी साउनभित्र फच्र्योट गर्ने तयारी रहेको जनाएको छ।
यी दुई सहकारीका अधिकांश बचतकर्ताको पैसा फिर्ता गरिएको र छिटफुट बचतकर्ताको पैसा फिर्ता गरी चार्ड नै फच्र्योट गर्ने तयारी रहेको पौडेल बताउँछन्।
कालोसूचीको डरले ऋण उठ्न थाल्यो
पछिल्लो समय समस्याग्रस्त सहकारीका ऋणी धमाधम ऋण तिर्न थालेको पौडल बताउँछन्।
ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने भनिएपछि तिर्न आउन थालेको पौडेलले बताए।
उनका अनुसार पछिल्लो समय ऋण उठ्ने क्रम बढेकाले समस्याग्रस्त सहकारुीका बचतकर्तालाई पैसा फिर्ता गर्ने थालिएको छ।
Shares
प्रतिक्रिया