कारोबार


संघीय सरकार मातहतका थप एक दर्जन सहकारी समस्यामा

विभाग भन्छ : नीतिगत सुधार नभई समस्या समाधान हुँदैन
संघीय सरकार मातहतका थप एक दर्जन सहकारी समस्यामा

केशर बोगटी
असार २१, २०८० बिहिबार १९:५, काठमाडौँ

संघीय सरकार मातहत रहेका एक दर्जन सहकारी समस्यामा देखिएका छन्। गत साउनमा संघीय सरकारको मातहतमा रहेको गौतमश्री बहुउदेश्यीय सहकारीमा समस्या देखिएको थियो। त्यसयता आर्थिक वर्ष २०७९/०८० मा संघ मातहका थप एक दर्जन सहकारीमा निरन्तर समस्या बढ्दै गएको हो। 

यतिबेला गौतमश्रीहित ९ सहकारीविरुद्ध उजुरी परेको सहकारी विभागका उप–रजिस्टार टोलराज उपाध्यायले बताए। अन्य तीनचार सहकारीले भने बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता गरेको उपाध्यायले जानकारी दिए।

उनका अनुसार पशुपति ऋण तथा बचत सहकारी, हाम्रो नयाँ कृषि बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी, श्री लालीगुँरास बहुउदेश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड को–अपरेटिभ, शिवशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताले मागदाबी गर्दै उजुरी दिएका छन्। 

‘उजुरी परेका अन्य केही सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता गरेको हुँदा अहिले पैसा फिर्ता गर्ने समय दिएका छौँ,’ उनले भने, ‘बचतकर्ताको पैसा फिर्ता गरे त राम्रो भयो। प्रतिबद्धता अनुसार बचत फिर्ता नगरे थप कारबाहीमा पठाउँछौँ।’

पछिल्लो समय विभागमा उजुरीको चाङ नै लागेको उपाध्यायले बताए। प्रदेश मातहतका सहकारी र स्थानीय तहका सहकारीका बचतकर्ता समेत विभागमा उजुरी दिन आउँदा चाङ लागेको हो।  

प्रदेश र स्थानिय सरकारको मातहतका सहकारीको उजुरी भने सम्बन्धीत क्षेत्रमा पठाउने गरेको उपाध्यायले बताए। उनका अनुसार विभागले संघीय सरकारको मातहतका सहकारीका बचतकर्ताको उजुरी लिने प्रक्रिया अगाडि बढाउने गरेको छ। 

‘सहकारी नियमन गर्न नीतिगत रुपमा समस्या छ,’ उनले भने, ‘नीतिगत छिद्र टेकेर केही सहकारीका सञ्चालकले बदमासी गरेका छन्।’

समस्या बढ्दै गइरहेकाले तत्कालैसमाधान गर्न नसकिने उपाध्याय बताउँछन्। 

‘नीतिगत छिद्रले गर्दा सहकारीमा क्षेत्रमा समस्या देखिएको हो,’ उनले भने, नीतिगत रुपमा सुधार नभएसम्म समस्या समधान कसरी हुन्छ? सहकारीलाई नियमन र सुपरीवेक्षण गर्न जनशक्ति अभाव छ,’ उनले भने।

‘उजुरी परेका सहकारीका सञ्चालक र बचतकर्तालाई बोलाएर छलफल गराइरहेका छौँ,’ उपाध्यायले भने, ‘‘छलफलपछि उहाँहरुले समस्याको समाधान गर्छु र आफ्ना सदस्यको चित्त बुझाउँछु भन्नुभएको छ। अब फेरि गुनासो आइरह्यो भने कानुन बमोजिम कारबाही अगाडि बढाउँछौं।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागका अनुसार देशभर कुल २९ हजार ८८६ सहकारी रहेकोमा १ प्रतिशत संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत स्थानीय सरकार मातहत छन्। 

संघीय सरकारको मातहतमा प्रारम्भिक १२५ सहकारी संस्था, १९ केन्द्रीय संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंक छन्। त्यसैगरी प्रदेश सरकारको मातहतमा ७ हजार ६ सय १० र बाँकी सहकारी स्थानीय सरकारको मातहतमा छन्। 

गौतमश्री सहकारीले फिर्ता गर्यो ७० करोड फिर्ता 
गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाले बचतकर्ताको ७० करोड रुपैयाँ फिर्ता गरेको छ। विभागले सहकारीलाई गत असोजमा समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिफारिस गरेको थियो। 

पछि मन्त्रालयले नै सहकारीलाई केही सर्तसहित सञ्चालन गर्न भन्दै विभागलाई पत्र पठायो। 

विभागका अनुसार ३ महिनामा सहकारीले बचतकर्ताको १ अर्ब फिर्ता गर्ने भने पनि हालसम्म ७० करोड मात्र फिर्ता गरेको छ। गत पुसबाट सञ्चालनमा आएको गौतमश्रीले हालसम्म डेढ अर्ब फिर्ता गरिसक्नु पर्ने थियो। 

यता गौतमश्री सहकारीका अध्यक्ष रामबहादु गौतमले बचतकर्ताको पैसा फिर्ता गरिरहेको बताए।

पशुपति ऋण तथा बचत सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस 
सहकारी विभागले पशुपति ऋण तथा बचत सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको छ। सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने देखिएपछि समस्याग्रस्त घोषणा गरेको उपाध्यायले बताए। 

कुन सहकारीमा कति मागदाबी?
विभागमा उजुरी परेका सहकारीको संयुक्त आवेदनलाई गणना गरी आवेदनको संख्या तय गरिएको छ। एक पटकमा आवेदन दिने सबैलाई एक उजुरी भनेर गणना गरेको विभागले जनाएको छ। 

पशुपति ऋण तथा बचत सहकारी
पशुपति ऋण तथा बचत सहकारीका १५० जना बचतकर्ताले ६० करोडको मागदाबी सहित विभागमा उजुरी दिएका छन्। 

नयाँ कृषि बहुउदेश्यीय सहकारी
हाम्रो नयाँ कृषि बहुउदेश्यीय सहकारीका ३० जना बचतकर्ताले ५ करोड माग दाबी गरेका छन। 

कृषि विकास बहुउदेश्यीय सहकारी
कृषि विकास बहुउदेश्यी सहकारीमा बचतकर्ताको कुल २ अर्बको दायित्व छ। जसमा ५० जना बचतकर्ताले ५० करोडको मागदाबी सहित उजुरी दिएका छन्। 

कान्तिपुर बचत तथा ऋण सहकारी
कान्तिपुर बचत तथा ऋण सहकारीका १५० जना बचतकर्ताले डेढ अर्ब रुपैयाँको मागदाबी सहित उजुरी दिएका छन्। सहकारीको कुल दायित्व भने ६ अर्ब छ।  

श्री लालीगुँरास बहुउदेश्यीय सहकारी
श्री लालीगुँरास बहुउदेश्यीय सहकारीको कुल दायित्व १० अर्ब रुपैयाँ छ। सहकारीका ५० बचतकर्ताले ६० करोडको मागदाबी सहित उजुरी दिएका छन्। 

गोर्खा सेभिङ एन्ड को–अपरेटिभ सहकारी  
गोर्खा सेभिङ एन्ड को–अपरेटिभ सहकारीका बचतकर्ताले ३ करोडको मागदाबी सहित विभागमा उजुरी दिएका छन्। 

शिवशिखर सहकारी 
यस सहकारीको कुल कारोबार १० अर्बको छ। जसमा बचतकर्ताले ५ अर्बको मागदाबी सहित उजुरी दिएका छन। बचतकर्ताको संयुक्त आवेदन दिने २५० रहेको विभागले जनाएको छ। 

तुलसी सहकारी
तुलसी सहकारीको कुल दायित्व पौने ३ अर्ब छ। सहकारीका १५० जना बचतकर्ताले डेढ अर्बको मागदाबी सहित उजुरी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .