ad ad

कारोबार


सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरा?

अभियोग पत्रमा नाम भए पनि प्रतिवादी बनाइएन, सीआईबी भन्छ : अनुसन्धान जारी छ
सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरा?

उजिर कार्की
साउन ४, २०८० बिहिबार ६:५९, काठमाडौँ

चिनियाँ नागरिकले तस्करी गरी ल्याएको सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु–छोरा नै जोडिएको खुलेको छ। चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको अभियोग पत्रमै उल्लेख भए पनि प्रहरी र सरकारी वकिलले उनीहरुलाई प्रतिवादी भने नबनाई मुद्दा दर्ता गरेका छन्। 

चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो। तस्करहरुले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए। 

भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका छन्। 

चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ। महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ। 

सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहका छुट्टाछुट्टै तीनवटा चार्ट अदालतमा पुगेको छ। महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको छ। 

सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको छ। 

सुन किन्ने समूहका मुख्य अभियुक्त वेदप्रकाश अग्रवाल देखिएका छन्। अग्रवालसँग सुन चोर्ने गोपाल सुवेदी, दिपेश बस्नेत र विश्वराम खड्काको कनेक्सन देखिएको छ। 

सुन किन्ने समूहमा १० जना बढी छन्। त्यो समूहका व्यापारीहरु पनि एकअर्का मार्फत अग्रवालसम्म कनेक्सनमा देखिएका छन्। सम्बन्ध देखिएका केहीलाई भने प्रहरीले पहिचान गर्न सकेको छैन। तर प्रहरी अनुसन्धानमा जोडिएको पुष्टि भएका महरा बाबुछोरालाई मुद्दामा प्रतिवादी बनाइएको छैन।

भन्सार अधिकृतको बयानमा पनि मुछिएका छन् महरा बाबुछोरा 
कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्।

भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिनु पर्यो भनी अनुरोध गरेका थिए। 

तर अधिकृत श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको बताएका छन्। उनी फर्किएको केही समयपछि कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको श्रेष्ठको बयान छ। यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि फोन गरेर जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलाम प्रक्रियाबारे सोधेको श्रेष्ठले बयान दिएका छन्। 

उनले बयानमा भनेका छन्, ‘निज (श्यामसुन्दर साह) यात्रु शाखाबाट निस्की गएकोमा केही समय पश्चात ९८५१०....नम्बरबाट मेरो मोवाइलमा समेत फोन गरी सोही कुरा दोहोर्‍याएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँच पास नहुने भनेको थिएँ।’

यसरी फोन गर्ने कृष्णबहादुर महरा थिए। महरासँग कुरा भइसकेपछि पनि काम नभएपछि उनका छोरा राहुलले आफूलाई फोन गरेको भन्सार अधिकृतले बयान दिएका छन्। 

‘सोही विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११....मेरो मोबाइलमा फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,’ श्रेष्ठले बयानमा भनेका छन्। 

चिनियाँ नागरिकबाट जफत गरिएको इलेक्ट्रिक सिगरेट भनिएको सुनसहितको वस्तु २०७९ माघ २९ गतेको पत्रसाथ मुद्दा शाखामा थप कानुनी कारबाहीका लागि पठाएको उनले बताएका छन्। 

अनुसन्धान जारी छ– सीआईबी प्रवक्ता
तर यसरी जोडिएका कृष्णबहादुर महराका बाबुछोरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने सोधपुछ समेत नगरेको मिसिलबाट प्रष्ट हुन्छ। जुन कुरा सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले पनि स्वीकार गरेका छन्। बुधबार नेपालखबरसँग कुरा गर्दै एसपी थापाले अनुसन्धान जारी नै रहेको बताए। 

सीआईबीका प्रवक्ता सञ्जय थापा

सीआईबीका प्रवक्ता सञ्जय थापाको भनाइ
यसलाई तीनवटा कुराबाट बुझ्नुपर्छ। एउटा सुन ल्याउने समूह छ। त्यो सञ्जाल छ, गिरोह छ। जे भने पनि त्यसले दुबईबाट इलेक्ट्रिक सिगरेटमा लुकाइछिपाई नेपाल सुन लिएर आएको छ। सुन बरामद भयो। त्रिवि भन्सार कार्यालयमा दाखिला भयो।

अहिले हामीले अनुसन्धान गरेको पाटोचाहिँ त्रिवि भन्सारमा आएको सामान थियो। त्यो चाहिँ त्यहाँका कर्मचारी र अन्य मान्छेहरुको मिलेमतोमा चोरी भयो र त्यसमा सुन रहेछ। त्यो बिक्री वितरण गरेर हिनामिना गरेको विषयमा हो। 

जफत गरेको सामानमा सम्बन्धित कार्यालय जिम्मेवार हुनुपर्छ। हामीलाई त्रिवि भन्सार कार्यालयले लेखिपठाएपछि अनुसन्धान गर्‍यौँ र अनुसन्धान गर्ने क्रममा पुसमा आएको सामान हामीलाई अनुसन्धान गर्न वैशाखमा लेखिपठाउनु भएको छ। 

यत्रो अन्तरालको बीचमा उहाँहरुले खालि हाम्रा कर्मचारीको मिलेमतोमा यो सामान सट्टापट्टा गरियो र यो संलग्न थियो भन्ने समन बुझिएको भन्ने लेख्नुभयो। 

हामीले अनुसन्धानका क्रममा त्यहाँका कर्मचारी, भन्सार एजेन्ट लगायतका व्यक्तिको मिलेमतोमा भन्सारबाट इलेक्ट्रिक सिगरेटभित्रको सुन चोरी गरियो, त्यसलाई बाहिर लगेर बेचियो र किन्ने मान्छेको समूहले त्यसलाई अन्यत्र कहाँ कहाँ पुर्‍याए हामीले त्यसको अनुसन्धानमा धेरै कुरा पत्ता लगाएर खुलाएका छौं। 

ल्याउने समूहको गिरोह सञ्जालको बारेमा चाहिँ फ्लाई दुबईको एयरलाइन्सबाट सामान लिएर आयो। आएपछि रोकियो, त्यो सामान छुटाउनका लागि उसले अर्को चाइनिजलाई भन्यो। अर्को चाइनिजमार्फत विभिन्न व्यक्तिहरुबाट छुटाउन प्रयासका लागि कुरा भए। मुक्तिप्रसाद श्रेष्ठको बयानबाट पनि केही कुरा आएको छ। हामीले सीडीआर एनालिसिस गर्दाखेरी यहाँले भनेका ती व्यक्तिहरुको सम्पर्क भएको देखिन्छ। 

तर ल्याउने चाइनिजले पनि सामान जफत भएको तीन दिनपछि नेपाल छाडिसकेको अवस्था छ। जुन अर्को चिनियाँ व्यक्तिले विभिन्न व्यक्तिलाई त्यो सामान छुटाउनका लागि अनुरोध गर्यो, उसले पनि हामीलाई पत्र आउनु केही हप्ताअगाडि नै नेपाल छाडिसकेको अवस्था छ।

सम्बन्धित व्यक्तिले कुनै व्यक्तिलाई फोन गरेको देखिन्छ र बयानमा पनि यसको प्रक्रियाको बारेमा सोधिएको र प्रक्रिया पूरा गरेर गरिदिनुस् न भनेको उल्लेख छ। सम्बन्धित सामान ल्याउने व्यक्ति नभइसकेको अवस्थामा सुन ल्याउने गिरोहको बारेमा अनुसन्धान गर्ने पाटो फरक छ। त्यो बाँकी छ, जारी छ। 

अहिले हामीले खालि भन्सार कार्यालयबाट भएको भन्सार कार्यालयका कर्मचारी र अन्य व्यक्तिको संलग्नतामा भएको भित्र रहेको सामान चोरी तथा तस्करीको बारेमा अनुसन्धान गर्दा यतिसम्म देखाएको छ। 

सुन किन्ने मान्छेहरुलाई पनि हामीले दायरामा ल्याउन सफल भएका छौं। अझै पछाडिको लेयरसम्म जाने हाम्रो अनुसन्धानको पाटो बाँकी छ। अहिले चिनियाँ पक्राउ नपरेसम्म केही व्यक्तिको कनेक्सन देखिए पनि संलग्नता यही हो भन्नेसम्मको अवस्था देखिएन। 

सम्बन्धित व्यक्तिसम्म नपुगी अन्यसँग सोध्दा उसले जे भन्न पनि सक्ने अवस्था भयो। अनुसन्धान जारी छ, यो केसका कुरा पछाडिको पाटो रह्यो। अनुसन्धानले देखाएका व्यक्तिहरु भोलिका दिनमा तानिन सक्छन्। मैले र यहाँले चाहँदैमा तान्ने नतान्ने भन्ने हुँदैन। अनुसन्धानमा आवश्यकता देखिन्छ, प्रमाणले पुष्टि गर्छ भने संलग्न व्यक्तिलाई अनुसन्धान अधिकृतले ल्याउँछन्। सुन ल्याउने गिरोहको बारेमा अनुसन्धान जारी भएकाले मैले अहिले यति भन्न सक्छु।

९ प्रतिवादीमध्ये ५ जना कारागार चलान
चिनियाँ तस्करले ल्याएको सुन चोर्ने भन्सारका कर्मचारीसहित ५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइसकेको छ। 

गत हप्ता जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरु वेदप्रकाश अग्रवाल र साहेब राय पाण्डुरङ पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

यो प्रकरणमा प्रहरीले ९ जनालाई प्रतिवादी बनाएको छ। यीमध्ये अमृत कार्की पक्राउ परे पनि पुर्पक्षका लागि थुनामा परेनन्। बाँकी तीन जना फरार छन्। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ का २९ वर्षीय दिपेश बस्नेत, सोही ठेगानाका गोपाल सुवेदी र काभ्रेपलान्चोकको बनेपा नगरपालिका १० थापागाउँका रामकेशव थापा फरार छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो। तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।

आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो। विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिनमा त्रुटि पाइएपछि थप अनुसन्धान गरी कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २०८० वैशाख २६ गते जाहेरी दिएको थियो।

दुई वटा सुटकेसमा सिगरेटभित्र लुकाएर सुन ल्याएको खुलेको छ। तर भन्सारका कर्मचारीसहितको मिलेमतोमा पछि सिगरेट ल्याएर सुन लगेको खुलेको हो।

उनीहरुले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम बाँडेर लगेको खुलेको छ। प्रहरी प्रतिवेदनमा भने उक्त सुनको मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रहेको उल्लेख छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .