ad ad

कारोबार


१६ वर्षे ग्लोबल आईएमई, जसले बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्‍यो

१६ वर्षे ग्लोबल आईएमई, जसले बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्‍यो

दीपक भट्ट
साउन ३२, २०८० बिहिबार २१:१०, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड नेपालको ठूलो बैंकका रुपमा दर्ज छ। पछिल्लो समय बैंकहरु एक आफसमा गाभिएर ठूला भएका छन्। गत वर्ष त वाणिज्य बैंकहरुको मर्जर वर्ष नै रह्यो। जसले धेरै बैंकको आकार बढायो। 

बैंकको संख्या २६ वटाबाट एकै वर्ष २० मा झर्‍यो। 

पुँजीको हिसाबले ग्लोबल आईएमई सबैभन्दा ठूलो छ। 

गत वर्ष मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुमा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु पनि थिए। त्यसको केही अघि मात्र ग्लोबल आईएमईले मात्रै अर्को वाणिज्य बैंक जनता बैंक लिमिटेडसँग मर्ज गरेको थियो। 

चुक्ता पुँजीको हिसाबमा माथि रहेको ग्लोबल आईएमईले बैंक अफ काठमाण्डुलाई पनि मर्ज गरेपछि धेरै मर्जर र प्राप्तिहरु मा सफलता हासिल गर्ने बैंक बनेको हो ग्लोबल आईएमई।

बैंकमा मर्जर पछिको ‘ल्यान्डिङ’मा पनि समस्या छैन।

मर्जरबाट आफ्नो बिजनेस र आकारमा ठूलो बन्दै गएको यस बैंक यो पटक इतिहास रच्न समेत सफल भएको छ। नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्न सफल बनेको छ ग्लोबल आईएमई।

नेपाल सरकारको भरपर्दो आयस्रोत हुन् बैंक तथा वित्तीय संस्था। सबै वाणिज्य बैंकहरु ठूला करदाता कार्यालयमा दर्ता छन्। यो वर्ष नेपालको सबैभन्दा ठूला १० करदातामा ४ वटा त बैंकहरु नै छन्। यस हिसाबले सरकारको प्रमुख आयस्रोत बैंकहरु नै बन्दै गएको देखिन्छ।

पछिल्ला वर्षहरुमा अन्य क्षेत्रको कर खस्किँदा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट संकलन हुने कर भने वृद्धि भइरहेको छ। त्यसमा पनि यो वर्ष ग्लोबल आईएमई बैंकले त छलाङ हानेर सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ।

यसअघि सबैभन्दा धेरै कर तिर्ने बैंकमा एनआईसी एसिया बैंक थियो। जसले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट ३ अर्ब ४१ करोड रुपैयाँ कर बुझाएको थियो। यो नै बैंकहरुले तिरेको सबैभन्दा ठूलो कर रकम थियो।

तर गत आर्थिक वर्ष २०७९/८० मा ग्लोबल आईएमईले तिरेको करले त्यसलाई पनि उछिनेको छ। नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष ग्लोबल आईएमईले इतिहास रचेको छ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ। विगतको रेकर्डभन्दा यो २ अर्ब भन्दा बढी हो। 

बैंक एकआपसमा गाभिएर अघि बढ्नु धेरै कठिन काम हो। बिजनेसको व्यवस्थापन र कर्मचारीको व्यवस्थापन गर्न गाह्रो छ। तर ग्लोबल आईएमई भने त्यसमा सफलता हासिल गरिरहेको छ। 

बैंकका डेपुटी सीईओ सुरेन्द्रराज रेग्मी पनि यो बैंकको संयुक्त पहलबाट नै सफलता हात लागेको बताउँछन्।

‘बैंकको सञ्चालक समिति तथा व्यवस्थापनको संयुक्त पहलमा नै बैंकको सूचकदेखि कारोबारमा समेत सबल नतिजाहरु देखिएको हो,’ उनी भन्छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समिति अध्यक्ष हुन्। 

सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको बैंकको भनाइ छ।  

हाल यस बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। 

बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूलो, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैँ अग्रस्थानमा रहँदै आएको छ।

ग्लोबल आईएमई बैंक लिमिटेड गत पुस १८ गतेबाट १६ पुगेर १७ वर्षमा प्रवेश गरेको छ। बैंकले साढे १६ वर्ष वित्तीय सेवामा खर्चिंदा यो बीचमा धेरै संस्थाहरु बैंकमा समाहित भइसकेका छन्। 

यही बीचमा पछिल्लो पटक ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु एक भए। यी दुईबीच गत आर्थिक वर्ष मर्ज हुँदा यसमा मिल्ने वित्तीय संस्थाको संख्या २१ पुगेको छ। यो भन्दाअघि २० वटा बैंक मिलेर ग्लोबल आईएमई बैंक बनेको हो। 

ग्लोबल आईएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ। यस बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु हुन्छ। त्यस दिन तत्कालीन ग्लोबल बैंक लिमिटेडले आईएमई फाइनान्सलाई मर्ज गरेको थियो। यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। 

त्यसै समयमा लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो। सो समय अर्थात् यी तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो। त्यसपछि यसमा गाभिएको संस्था थियो सोसल डेभलपमेन्ट बैंक। मर्जर यतिमै सीमित रहेन। सोही समयमा गुल्मीमा स्थापना भएको गुल्मी विकास बैंक पनि यसमै समाहित भयो। 

त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि आफूमा गाभ्यो। सन् २०१६ मा आइपुग्दा अन्य दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। 

ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए।

त्यसपछि ग्लोबल आईएमई बैंकसँग गाभिएको संस्था हो हाथवे फाइनान्स। योसँगै बैंक १० वटा संस्था एकआपसमा गाभिएको संस्था बन्यो। 

त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए। यति ठूलो मर्जर सम्झौताको ६ महिनापछि नै एकीकृत कारोबार भएको थियो। 

जनता बैंक मर्जरमा आउनुअघि ८ वटा वित्तीय संस्था मिलेर बनेको बैंक थियो। त्यसपछि बैंक अफ काठमाण्डुसँग मर्जर भएको हो। 

यसरी नेपाली बैंकिङ क्षेत्रमा उदाएको ग्लोबल आईएमईले सेवाग्राही र सेयरधनी दुवैलाई आफ्नो सफलतासँग जोडेको छ।

यसरी भएको मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गर्न सक्दा आजको एक नम्बरको बैंकको रुपमा ग्लोबल आईएमई बैंक चिनिन थालेको हो।

ग्लोबल आईएमई बैंकको अहिलेका सबै सूचकहरु सबल देखिन्छन्। 

गत आर्थिक वर्षको यो बैंकको सूचक हेर्ने हो भने पनि खुद नाफा ४६ दशमलब २६ प्रतिशत बढाएर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ छ। 

खुद ब्याज आम्दानी ६६ दशमलब ३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोष ६४ दशमलब ३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ।

बैंकको गत वर्ष निक्षेप ५३ दशमलब ९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ पुगेको र कर्जा लगानी ३८ दशमलब ०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको वित्तीय प्रतिवेदनमा उल्लेख छ। 

यस्तो सूचक रहेको ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक समेत हो। बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्। 

मुलुकभित्र मात्र नभई मुलुकबाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ। 

बैंकका बेलायतको लन्डन, भारतको नयाँ दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु छन्। यसरी बैंकले एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ। ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .