ad ad

कारोबार


लाइसेन्स र ब्लुबुकको राजस्व तिर्न अब लाइन बस्नु नपर्ने

लाइसेन्स र ब्लुबुकको राजस्व तिर्न अब लाइन बस्नु नपर्ने

वसन्त अर्याल
असोज २५, २०८० बिहिबार १६:४९, काठमाडौँ

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता पत्र (ब्लुबुक)को सबै राजस्व पुनः अनलाइनबाट गर्ने भएको छ। संघीय सरकार र प्रदेश सरकारको समन्वयमा तिहारसम्म यातायात कार्यालयमा बुझाउने राजस्व अनलाइनबाट हुने भएको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बिहीबार एकान्तकुना यातायात कार्यालयबाट सेवा शुभारम्भ गरेका छन्। 

योसँगै अब कार्यालयबाट सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै हुने भएको छ। ब्लुबुकको राजस्वण् नागरिक एपबाटै तिर्न सकिने व्यवस्था भएपनि प्रदेश सरकारले सिस्टम अपडेट नगर्दा लाइन लाग्नैपर्ने अवस्था छ। अब संघकै पुरानो सिस्टमबाट सबै प्रदेशमा अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।  

दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात कार्यालयको लाइन पूर्णरुपमा हट्ने बताएका छन्।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनलाइन भुक्तानी प्रणालीलाई निरन्तरता दिनुपर्ने बताए। 

‘जुन उत्साहपूर्ण रुपमा अनलाइन प्रणाली सुरु गरेका छौं,’ ज्वालाले कार्यक्रम शुभारम्भ गर्दै भने,‘सेवामा देखापरेका समस्यालाई समाधान गर्दै भरपर्दो बनाउनुपर्छ।’

उद्घाटन गर्नुमात्रै प्रगति नभएको भन्दै सिस्टमलाई नियमित अपडेट गर्नुपर्ने उनको भनाइ छ। 

घरमै बसेर कर तिर्न नसक्दा सरकारप्रतिको विश्वास घट्दै जाने पनि उनले उल्लेख गरे। 

‘कर तिर्नलाई लाइन लाग्ने व्यवस्था हटाउन अनलाइन सेवाको सुरु गरेका छौं। यसलाई नियमित गर्ने जिम्मा कर्मचारीको हो,’ मन्त्री ज्वालाले भने, ‘मन्त्रीले होइन प्राविधिक कर्मचारी जिम्मेवार र सक्रिय भए मात्रै सेवा सञ्चालन हुन्छ।’

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। तर बिहीबारदेखि राजस्व भुुक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ।
मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौं सेवाग्राहीले पाउँदै आएको सास्ती  हटेको छ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्ने सरकारको दाबी छ।    

‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात ब्यवस्था कार्यालयमा जानुुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो।’

बागमती प्रदेश श्रम तथा यातायात सचिव तिर्थराज भट्टराईले एकान्तकुना कार्यालयमा लाइसेन्सको राजस्व तिर्न सकिने व्यवस्था गरिएको बताए। 

‘दसैँ आउन अब १ हप्तामात्रै बाँकी छ। सबै काम अनलाइनबाट गर्न सक्दैनौं,’ भट्टराई भन्छन्, ‘अहिले लाइसेन्सको राजस्व अनलाइनबाट गर्न थालिएको छ। ब्लुबुक पनि तिहारअघि नै अनलाइनबाट भुक्तान गर्न सकिन्छ।’

‘गण्डकी र बागमतीबाट सबै प्रदेशमा विस्तार हुन्छ’
यातायात व्यवस्था विभागले लाइसेन्स र ब्लुबुक नवीकरणका लागि छुट्टा– छुट्टै सिस्टम बनाएको छ। लाइसेन्सको सिस्टम  गण्डकीमा सफल भएपछि सबैभन्दा बढी सेवाग्राही भएको बागमतीमा सुरुवात गरेको छ।

बागमतीमा पनि सफल परीक्षणसँगै देशभरका यातायात कार्यालयमा लागू गरिने विभागले जनाएको छ। 

ब्लुबुक नवीकरण तथा दस्तुर तिर्नका लागि भेहिकल रजिस्ट्रेशन सिस्टम निर्माणको अन्तिम चरणमा रहेको छ। तिहारअघि बागमती प्रदेशमा सुरु गर्ने विभागको योजना रहेको छ। 

‘लाइसेन्सको अनलाइन सिस्टम गण्डकीमा सफल भएसागै बागमतीमा सुरु गरेका छौं,’ पनेरुले भने, ‘सिस्टम सञ्चालन गर्दा कुनै समस्या देखिए समाधान गर्दै अरु प्रदेशमा पनि विस्तार गछौं।’

विभागले विकास गरेको सिस्टमले यातायातका सेवाग्राही अब करतिर्नका लागि लामो लाइन लाग्नु पर्ने अवस्था अन्त्य हुने दाबी गरेको छ। 

‘लाइसेन्समा सफल भैसकेका छौं। विस्तार गर्न बाँकी रहेको छ,’ उनले भने, ‘ब्लुबुकका लागि सिस्टम बनिरहेको छ। तिहारअघि नै बागमतीमा परिक्षण गरी अरु प्रदेशमा पुर्‍याउँछौं।’

२० असारदेखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो। कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ। 

‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालय मार्फत पनि अनलाइन सेवा सुचारु गछौंं’, मन्त्री ज्वालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .