कारोबार


पाँच वाणिज्य बैंकलाई पुँजीकोषको दबाब, लाभांश वितरण प्रभावित हुनसक्ने

पाँच वाणिज्य बैंकलाई पुँजीकोषको दबाब, लाभांश वितरण प्रभावित हुनसक्ने

केशर बोगटी
कात्तिक २५, २०८० शनिबार १२:४६, काठमाडौँ

पाँच वाणिज्य बैंकलाई पुँजी कोषको दबाब देखिएको छ। एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई पुँजीकोषको दबाब देखिएको हो।

पुँजीकोषको दबाब भएका बैंकहरुको लाभांश वितरण प्रभावित हुनुका साथै व्यवसाय विस्तारमा समेत समस्या पर्ने देखिन्छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको प्राथमिक पुँजी (सीसीएआर) र पुरक पुँजी (सीएआर) गणना गर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पुरक पुँजी गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था छ। जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो। 

त्रैमासिक रुपमा बैंकहरुले पुँजीकोष कायम गर्न नसकेको खण्डमा नेपाल राष्ट्र बैंकले सोही वर्षको नाफाबाट लाभांश वितरणमा रोक लगाउने गर्छ। साथै, पुँजी कोष कम भएका बैंकहरुको व्यवसाय विस्तार समेत प्रभावित हुन्छ।

दैनिक तथा मासिक रूपमा पनि तोकिएको पुँजीकोष कायम नगर्ने बैंकहरू राष्ट्र बैंकको सुपरिवेक्षकीय कारबाहीमा समेत पर्ने व्यवस्था छ। वाणिज्य बैंकहरुले चालु आवभित्र काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। 

क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र पुरक पुँजी २.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेकोमा अब ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर थप कायम गर्नुपर्नेछ। 

काउन्टर साइक्लिकल बफर लागू भएसँगै बैंकहरुले जीडीपीमा भएको वृद्धिको तुलनामा कर्जा विस्तार जति धेरै हुन्छ, त्यति नै धेरै पुँजीकोष कायम गर्नुपर्ने हुन्छ।

जीडीपीको वृद्धिदरभन्दा कर्जा प्रवाहको वृद्धिदर बढी हुँदा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफरको व्यवस्था कायम गर्नुपर्ने हुन्छ। 

पहिलो चरणमा वाणिज्य बैंकहरुले ०.५ प्रतिशत मात्रै काउन्टर साइक्लिकल बफर (थप पुँजीकोष) कायम गर्नुपर्नेछ। पुँजीकोष कम रहेका बैंकहरुलाई थप ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्न सकस पर्ने भएको छ।  

गत वर्षसम्म कुमारी बैंक, प्रभु र माछापुच्छ्रे बैंकको पुँजी कोष कम देखिएको छ। यी तीन वटा बैंकको प्राथमिक पुँजी कोष क्रमशः ८.८३ प्रतिशत, ८.९१ र ९.०२ प्रतिशत छ।

यस्तै, सद्धार्थ, एनआईसी एशिया र हिमालयन बैंकको प्राथमिक पुँजी कोष पनि ९ प्रतिशतको हाराहारीमा छ। गत असार मसान्तमसम्मको तथ्यांक अनुसार यी बैंकहरुको पुँजी कोष क्रमशः ९.४४ प्रतिशत, ९.५२ प्रतिशत र ९.९६ प्रतिशत छ।

काउन्टर साइक्लिकल बफर थप ०.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था लागू भएसँगै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने हुन्छ। 

यद्यपि, ९ प्रतिशत प्राथमिक पुँजी रहेका बैंकहरुलाई व्यवसाय विस्तारमा समस्या साथै आगामी वर्ष लाभांश वितरण गर्न समस्या गर्न सक्ने देखिएको हो। 

१० प्रतिशत पुँजीकोष भएका बैंक
गत वर्षसम्म नबिल बैंकको प्राथमिक पुँजी कोष १०.४६ प्रतिशत छ। त्यसैगरी नेपाल एसबीआई बैंकको १०.३१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.९४ प्रतिशत, सिटिजन बैंकको १०.१४ प्रतिशत, एनएमबी बैंकको १०.२६ प्रतिशत र सानिमा बैंकको १०.०८ प्रतिशत सीसीएआर रहेको छ। 

११ प्रतिशतभन्दा बढी पुँजीकोष भएका बैंक 
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पुँजीकोष सबैभन्दा बढी छ। गत वर्षसम्म बैंकको प्राथमिक पुँजीकोष १४.२२ प्रतिशत छ। त्यसैगरी नेपाल बैंकको सीसीएआर ११.५६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.३५ प्रतिशत, कृषि विकास बैंकको १२.७८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ११.५८ प्रतिशत, एभरेस्ट बैंकको ११.२० प्रतिशत र प्राइम कमर्सियल बैंकको ११.२६ प्रतिशत छ। 

प्राथमिक पुँजी कोष टाइट भएका बैंकहरूलाई आगामी दिनमा कर्जा प्रवाहमा समस्या हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउँछन। उनका अनुसार बैंकहरुले सीसीएआर सीमा नपुर्याए लाभांशसमेत रोक्का हुने व्यवस्था छ। 

‘अघिल्लो वर्ष चार वाणिज्य बैंकले सीसीएआर सीमा पुर्याउन नसक्दा गत वर्ष लाभांश बाँड्न पाएका थिएनन्,’ उनले भने, ‘गत वर्ष सबै बैंकको सीसीएआर सीमामा छ। तर, केही बैंकको टाइट नै देखिन्छ।’

काउन्टर साइक्लिकल बफर बैंकहरुको प्राथमिक पुँजीबाटै थप्नुपर्ने हुँदा यस्तो अनुपात टाइट भएका बैंकहरुलाई थप प्रभाव पर्ने देखिएको छ। अधिकांश बैंकको पुरक पुँजी सहज भए पनि प्राथमिक पुँजी टाइट नै देखिएको छ। 

प्राथमिक पुँजीकोषमा संस्थापक सेयरधनीले चुक्ता गरेको पुँजी, रिटर्न अर्निङ लगायतको पुँजी पर्दछ। त्यसैगरी पुरक पुँजीमा ऋणपत्र, प्रोभिजन लगायत पुँजीसमेत जोडिने हुँदा यस्तो पुँजी सहज हुने गरेको उनीहरुको भनाइ छ।

यसअघि नै पुँजी कोषको दबाबमा रहेका बैंकहरु भने पुँजी वृद्धिको बाटो खोलिदिन लबिइङमा लागेका थिए। तर, राष्ट्र बैंकले पुँजी वृद्धि गर्न दिने कुनै संकेत गरेको देखिँदैन। 

बैंकर्स संघका अध्यक्ष सुनिल केसी केही बैंकहरुलाई पुँजीकोषको दबाब देखिएको अवस्थामा मौद्रिक नीतिले केही नबोलेको बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .