सर्लाहीका किसानले उखु मास्दै तोरीसहितका अन्नबालीको खेती बढाउँदै लगेका छन्।
पछिल्ला केही वर्षयता सर्लाहीका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर, हरिपुर, बरहथवालगायत ठाउँका किसान तोरीसहितका परम्परागत खेतीतर्फ फर्किन थालेका हुन्।
यहाँका अधिकांश किसानले २० वर्षअघिदेखि अन्नबाली मासेर सबै खेतबारीमा उखु खेती लगाएका थिए। तर उखुमा भनेजस्तो आम्दानी नभएपछि किसान पुरानै खेतीतिर लागेका हुन्।
उखुमा लगानीसमेत नउठेपछि तोरी, धान, मकै गहुँ, बोडी, मास, कोदो जस्ता अन्नबाली र तरकारी खेती गर्न थालिएको किसानले बताएका छन्।
दुई दशक अघिसम्म सर्लाही देशमै तोरी खेतीमा अब्बल जिल्लाका रुपमा गनिन्थ्यो।
तर हरिवनमा चिनी उद्योग स्थापना भएपछि यहाँका किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए।
फेरि झण्डै २० वर्षपछि यहाँका किसान पुनः उखु मासेर पुरानै खेतीमा फर्किएका हुन्।
यहाँका किसानले धान, मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना, मुसुरो, रहरीजस्ता दलहन बाली पनि हुन्छ। अहिले सर्लाहीका किसानका खेतबारी तोरी फुलेर पहेँलै भएका छन्।
तोरी, चना भित्र्याएपछि खेतबारी बर्खे मकै खेतीका लागि तयार पारिन्छ। तीन बाली लगाउँदा किसानले उखुबाट भन्दा दोब्बर बढी आम्दानी गर्छन्।
किसानले उखु खेती मास्दै गएपछि सर्लाहीका चिनी उद्योगले भने केही वर्षदेखि भनेजति उखु पेल्न पाएका छैनन्। यसले चिनी उद्योगको स्थायित्वमै संकट सिर्जना हुँदै गएको छ।
एक दशक अघिसम्म एक सिजनमा ५० लाख क्विन्टल भन्दा धेरै उखु पेल्ने सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेस्ट चिनी उद्योले केही वर्षयता वर्षमा मुस्किलले २० लाख क्विन्टल उखु मात्र पाउने गरेका छन्।
Shares
प्रतिक्रिया