कारोबार


कालीगण्डकी रिभरसाइडमा जोडीका लागि आकर्षक ‘डोम रुम’

२५ करोडमा खुलेको हार्नेस रिसोर्ट : विलासिता र साहसिक पर्यटनको नयाँ गन्तव्य
कालीगण्डकी रिभरसाइडमा जोडीका लागि आकर्षक ‘डोम रुम’

१६ रोपनीमा फैलिएको यो रिसोर्टले प्रकृतिको काखमै पुगेको अनुभूति दिलाउँछ (तस्बिर : हार्नेस रिसोर्ट)


लक्ष्मी बलायर
बैशाख २२, २०८१ शनिबार १३:५३, कुश्मा बजारमा

अन्यभन्दा फरक स्वाद पस्किन्छ कुश्माको हार्नेस जिपलाइन एन्ड एडभेन्चर रिसोर्ट। प्राकृतिक स्वाद। 

वरिपरि हरियाली डाँडाकाँडा, चराचुरुंगीको चिर्बिर गुञ्जन र मनै प्रफुल्ल पार्ने कालीगण्डकीको अविच्छिन्न प्रवाह। 

यसको आनन्द लिन चाहनेले पर्वत र बाग्लुङलाई जोड्दै बग्ने कालीगण्डकीको किनार पुग्नुपर्छ। कुश्मा बजारबाट १.३ किमि टाढा। नयाँ सडक र कालीगण्डकी सडक हुँदै ४ मिनेटमा पुगिन्छ। 

पोखराबाट जानेका लागि भने यो ७०.४ किमिको दूरी हो। झण्डै दुई घण्टाको पोखरा–बागलुङ खण्डको मोटरबाटो। माथिल्लोबजार मार्गबाट पुष्पलाल मध्यपहाडी राजमार्ग छोडेर बायाँ मोडिएपछि थोरै समयमा पुगिन्छ। 

१६ रोपनीमा फैलिएको यो रिसोर्टले प्रकृतिको काखमै पुगेको अनुभूति दिलाउँछ। 

पछिल्लो समय एडभेन्चरसहित पर्यटन विकास भइरहेको कुश्मामा सुनिल सिंह बानियाँले पनि एउटा पृथक् र सुविधासम्पन्न रिसोर्टको सम्भावना देखे। हार्नेस जिपलाइन त्यसैको साकार रूप हो। 

‘पर्यटन र एडभेन्चरको क्षेत्रमा मलाई पनि केही नयाँ गर्न मन लाग्यो। सुरुमा जिपलाइन सेवा थालेँ’, हार्नेसका निर्देशक रहेका सुनिल भन्छन्, ‘कालीगण्डकीमा रमाउन चाहनेहरुका लागि नै यो सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरेको हुँ।’

उनी पर्वतको कुश्मा नगरपालिका ५ का स्थानीय बासिन्दा हुन्। परिवार अमेरिकामा बसे पनि उनलाई नेपालमै केही गर्ने हुटहुटी थियो। 

त्यही पूरा गर्न उनले विदेशबारे सोचेनन्। नेपाललाई कर्मथलो बनाउने निधो गरे। 

सुनिलको सोचमा कुश्माका मेयर रामचन्द्र जोशी र सूर्य केसीले साथ दिएका छन्। उनीहरु साझेदार छन्।

सुरुमा हार्नेसले लामो जिपलाइन सञ्चालनमा ल्याएको थियो। जिपलाइनले गति लिन थालेपछि रिसोर्ट खोल्न सम्भव भएको उनी सुनाउँछन्। 

गोलघरदेखि डोमसम्म
अहिले धेरैजसो रेस्टुरेन्ट कंक्रिट र स्टिलबाट बनेका छन्। तर, हार्नेस रिसोर्टले आफ्नो स्वरुपमा पृथकता झल्काएको छ।

कंक्रिटको साटो काठको आकर्षक संरचना छ। गोलघरदेखि रुमसम्म काठको प्रयोग गरिएको छ। रिसोर्टको वातावरणअनुसार भौतिक संरचनामा धेरैजसो काठ प्रयोग गरिएको उनी बताउँछन्। 

‘अहिले जता पनि कंक्रिट र स्टिलको मात्रै संरचना देखिन्छ। हामीले भने धेरैजसो काठ नै प्रयोग गरेका छौँ’, उनले नेपालखबरसँग भने, ‘वालहरु पनि माटोकै कन्सेप्ट (अवधारणा)मा बनेका छन्। एक त हाम्रो रिसोर्टको नेचर (स्वरूप) पनि त्यस्तै छ। वरिपरि डाँडापाखा र रुख छन्। त्यसमा म्याच गराउन पनि वुडन (काठ) नै प्रयोग गरिएको छ।’

प्राकृतिक सौन्दर्य त छँदै छ। हार्नेसमा पर्यटकहरुको विलासितालाई पनि उत्तिकै ध्यान दिइएको छ। सुविधासम्पन्न २१ रुम र १० भिल्ला छन्। तिनलाई डिलक्स, सुपरडिलक्स र डोममा प्रस्तुत गरिएको छ।

निर्देशक सुनिलका अनुसार ‘डोम रुम’को फरक विशेषता छ। यो जोडीको लागि तयार पारिएको हो। जहाँबाट कालीगण्डकीलाई नियाल्न सकिन्छ। बेडबाटै मनोरम बाहिरी दृश्य अवलोकन गराउने अवधारणामा डोम रुमहरु तयार गरिएको उनी बताउँछन्। डोम रुमहरु अन्यभन्दा महँगो र विलासी पनि छन्।

कालीगण्डकी रिभरसाइडमा यस्ता रुमहरु नभएको उनको दाबी छ। 

‘हामीसँग पाँचवटा डोम रुम छन्। व्यावसायिक रुपमा पहिलोपटक सुरु गर्दै छौँ। कालीगण्डकी रिभरसाइडमा कहीँ पनि यस्तो रिसोर्ट छैन। जहाँबाट कालीगण्डकीलाई हेरेर यहाँ बस्नुको मज्जा लिन सकियोस्!’ उनी थप्छन्, ‘किन कि रिभरसाइड रिसोर्ट भन्नेबित्तिकै टेन्ट राखिएको हुन्छ। तर, हामीले केही फरक गर्ने कोशिस गरेका छौँ।’

हार्नेसमा ७ हजारदेखि १० हजारसम्मका रुम उपलब्ध छन्। एउटै रुम सेयर गर्दा प्रतिव्यक्ति २५ सय तिरेर पनि बस्न मिल्ने उनले सुनाए। 

ठूलो समूहलाई लक्षित गर्दै चाँडै स्विट रुम ल्याउने हार्नेसको तयारी छ। रिसोर्टभित्र स्विमिङ पुल र साउनालगायतको आनन्द समेत लिन पाइन्छ। 

केही सेमिनार, गोष्ठी गर्नेका लागि रिसोर्टभित्रै २५० जना अटाउने कन्फ्रेन्स हल पनि छ।

हार्नेसमा नेपाली खानासहित चाइनिज, इन्डियन र इटालियन खानाका परिकार खान पाइन्छ। हाललाई स्पेसल डिस नराखे पनि विस्तारै स्थानीय खानालाई मेन्युमा समावेश गर्दै जाने हार्नेसको योजना छ। कालीगण्डकीको माछालाई पनि स्पेसल डिसको रुपमा राख्ने योजना रहेको सुनिलले सुनाए। 

एडभेन्चर पर्यटनको जंक्सन
स्वाद र विलासिताबाहेक हार्नेसले एडभेन्चर चाहनेको मन पनि भरिदिन्छ। यहाँ जिपलाइनसहित स्काई ब्रिज, स्विङ र र्‍याफ्टिङजस्ता एडभेन्चर पूर्वाधार विस्तार गरेको छ। 

यस अर्थमा हार्नेस साहसिक पर्यटनका पारखीका लागि उत्कृष्ट गन्तव्य हुनसक्छ।

उनीहरुलाई नै लक्षित गरी सुरुवाती चरणमा खोलेको जिपलाइनले पर्यटकलाई मज्जैले तानिरहेको छ। 

यहाँको जिपलाइन कालीगण्डकी नदीको सतहबाट २२८ मिटर उचाइबाट सुरु हुन्छ। १६ सय मिटर लामो जिपलाइन गर्दा कालीगण्डकी दुईचोटि पार हुन्छ।

क्लासिक, सुपरम्यान र टेन्डम शैलीका जिपलाइनबाट पर्यटकहरुले प्राकृतिक सुन्दरताको पनि मजा लिन सक्छन्। सोही कारण हार्नेसको जिपलाइन अन्यभन्दा फरक रहेको सुनिल बताउँछन्। 

‘हार्नेस जिपलाइनले नेचरलाई फिल गर्ने (प्राकृतिक) आनन्द दिन्छ। बीचमा जंगल छ। उचाइबाट तल आउँछ। कालीगण्डकी नै दुईचोटि क्रस (पार) हुन्छ’, उनले भने।

त्यसका अतिरिक्त स्काईब्रिज (सिसाको पुल) हार्नेसको अर्को आकर्षण हो। कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदीको अविरल प्रवाह देखिन्छ। एकपटकमा सय जनाजतिले पुलमा चढेर आनन्द लिन सक्छन्।   

स्विङसहित हार्नेसले कालीगण्डकीमा र्‍याफ्टिङ समेत सञ्चालनमा ल्याएको छ। २ घण्टासम्म र्‍याफ्टिङबाट नदीमा सयर गर्न सकिन्छ। चाँडै ह्युमन स्लिङसट (डोरी तन्काएर हुत्याउने खेल) पनि सञ्चालनमा ल्याउने हार्नेसको तयारी छ। 

उत्कृष्ट लोकेसन
मुस्ताङ जाने राजमार्गको पोखरा–बागलुङ खण्डबाट १ किलोमिटर दूरीमा मात्र छ यो रिसोर्ट। 

यसको नजिक पर्ने अर्को बाटो कालीगण्डकी लोकमार्ग हो। जुन मार्गबाट बाटो बनिसकेको अवस्थामा ३ घण्टामा बुटवल पुग्न सकिन्छ। भारत र चीन जोड्ने यो छोटो बाटो समेत हो। यो हिसाबले उत्कृष्ट लोकेसन (स्थान)मा छ। ।

सुनिल भन्छन्, ‘यो कुश्माको मात्रै नभई धौलागिरिकै लक्जरियस रिसोर्ट हो। रिभरसाइडमा यत्तिको पर्फेक्ट लोकेसनमा रिसोर्ट नै छैनन्। यहाँ आउने धेरैले ‘वाउ’ भन्नुहुन्छ। एक दिन बस्ने मान्छे पनि हाम्रो एम्बियन्स (वरपरको दृश्य)ले लोभिएर तीन दिन बसेर जानुहुन्छ।’

६ महिनाअघि सफ्ट लन्च गरेको यो रिसोर्टमा हाल ४२ जनाले रोजगारी पाएका छन्। सेभबाहेक सबै स्टाफहरु स्थानीय युवायुवती हुन्। यसरी स्थानीय युवापुस्तालाई रोजगारी सिर्जना गर्न पाउँदा दंग छन् उनी।

यो रिसोर्ट विदेशीदेखि नेपाली पर्यटकलाई लक्षित गरेर बनाइएको हो। तर, धेरैजसो आन्तरिक पर्यटकहरु पुगिरहेको सुनिल बताउँछन्। 

यो रिसोर्ट खोल्न हालसम्म २५ करोड लगानी लागिसकेको उनको दाबी छ। अहिले प्रचारप्रसारमा लागिपरेका उनी व्यवसायमा लगानी फर्किन धैर्य चाहिने सुनाउँछन्। 

‘हामीले यसमा चरणबद्ध रुपमा लगानी गरेका थियौँ। यो क्षेत्रमा एकैपटक लगानी उठ्दैन। एकैपटक भाइरल भएर टिक्न सकिँदैन, धेर्यता चाहिन्छ। यसको रिटर्न लिने समय ७ वर्षको राखेका छौँ’, सुनिलले भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .