कारोबार


यातायातसम्बन्धी कानुन संशोधन गर्न मजदूर र व्यवसायीको माग

यातायातसम्बन्धी कानुन संशोधन गर्न मजदूर र व्यवसायीको माग

नेपालखबर
पुस २७, २०८० शुक्रबार २०:४३, काठमाडौँ

सरोकारवालहरूको सुझाव र छलफलपछि मात्रै यातायात क्षेत्रसम्बद्ध ऐन, कानुन तर्जुमा र संशोधन गर्न यस क्षेत्रका नेताहरूले सरकारलाई आग्रह गरेका छन्।
 

आज जनकपुरमा आयोजित प्रदेशस्तरीय कार्यशालामा व्यवसायी एवं नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका नेताहरूले यातायात मजदुर तथा व्यवसायीका सरोकारलाई सम्बोधन गर्नसकेमा मात्रै कानुन प्रभावकारी हुनेसमेत बताए।

सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनको अन्तिम तयारी रहे पनि सरकारले सरोकारवालासँग कुनै छलफल नगरेको र यातायात मजदुरलाई असर पर्ने प्रावधानसहितको सहरी यातायात ऐन, कार्यान्वयनमा ल्याउन लागिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

कानुन संशोधनका लागि सरकारलाई १६ सूत्रीय सुझाव प्रस्तुत गरेको बताउँदै अध्यक्ष राईले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) मा सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था, दफा १६४ सम्मका अन्य प्रावधानसमेत श्रमिक प्रतिकूल रहेकाले संशोधन र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्ने आफूहरूको माग रहेको बताए।  

त्यस्तै ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गर्दै मजदुर बीमा, तेस्रो पक्ष बीमा र यात्रु बीमा रकमलाई समयसापेक्ष वृद्धि गर्नुपर्ने, साना सवारीसाधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठूला सवारीसाधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुन संशोधन गरिनुपर्ने उनले बताए।

‘प्रत्यक्ष प्रभाव पर्ने यातायात व्यवसायी र मजदुरसँग सम्बन्धित कानुन बनाउँदा सरोकारवालासँग छलफल गर्नुपर्ने सामान्य सिद्धान्त हो। तर हामीले दिएका सुझावका विषयलाई समेत कसरी सम्बोधन गरिएको छ भन्ने विषयमा हामीलाई थाहा छैन। यदि ती सुझाव नसमेटेर कानुन पारित गरिए देशव्यापी आन्दोलनको विकल्प छैन। त्यसका लागि तयारी अवस्थामा छौँ’, अध्यक्ष राईले भने।
 
त्यसैगरी ऐनमा सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी प्रावधानमा ई–रिक्सा चालकका लागि विशेष व्यवस्था गर्दै ठूला तथा मझौला सवारी चालक अनुमतिपत्र सिधै पाउने व्यवस्था गर्नुपर्ने, सडक दुर्घटनामा घाइते तथा अङ्गभङ्ग भएका श्रमिक तथा यात्रुका लागि राहत कोषको व्यवस्था गर्नुपर्नेलगायत विषयमा सुझाव दिइए पनि सरोकारवालासँग सरकारले छलफल नगरेको सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साहले बताए।

कार्यशालाले मधेस प्रदेशको आठवटै जिल्लामा खबरदारी सभा गर्ने, सङ्गठनको सदस्यता विस्तारका लागि बसपार्कमा शिविर अभियान सञ्चालन गर्ने, देशव्यापी सञ्चालनमा रहेको कर्मथलो अभियानलाई थप प्रभावकारी बनाउने र मजदुरको कार्यथलोमा सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ।
 
प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राई,  केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज साह, जनकपुरका संस्थापक नेता असर्फी झा, सङ्गठनका पूर्वकेन्द्रीय उपाध्यक्ष रामनरेश सिंहलगायतले सहजीकरण गरेका प्रदेश सचिव मनोज झाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .