ad ad

राजनीति


बोल्दै नबोली चुनाव जितेका बोहरा, संसद्‌मा पनि ज्ञानेन्द्र शाहीमार्फत उठाउँछन् मुद्दा

बोल्दै नबोली चुनाव जितेका बोहरा, संसद्‌मा पनि ज्ञानेन्द्र शाहीमार्फत उठाउँछन् मुद्दा

रुपक चौलागाईं
माघ २०, २०८० शनिबार १४:१९, काठमाडौँ

उमेरले ७ दशक पूरा गरिसके राप्रपा सांसद दीपक बोहराले। ०२४ सालदेखि राजनीतिमा सक्रिय उनी झट्ट हेर्दा अहिले पनि तन्दुरुस्त देखिन्छन्।

बोहरा यसअघि पटकपटक संसद् र सरकारमा पुगिसकेका छन्। पछिल्लो पटक रुपन्देही–३ बाट उनी प्रतिनिधि सभा सदस्य छन्।

कांग्रेस नेता बालकृष्ण खाँणलाई फराकिलो मतान्तरले हराएका बोहरा निर्वाचनको बेला निकै चर्चित थिए।

पञ्चायतकालीन नेतामध्येका एक बोहरासँग बहालवाला गृहमन्त्री खाँणको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। 

चर्चा त छँदै थियो, उनको चुनावी अभियान सञ्चालन शैलीले पनि रोचकता थपेको थियो।

दशकौँ लामो राजनीतिका क्रममा कयौँ भाषण गरेका बोहराले यो निर्वाचनमा एक शब्दै खर्चिएनन्। 

बोहराले मतदातालाई ‘नमस्कार’ मात्रै गरे।

कोभिड–१९ संक्रमणपछि उनको स्वरमा समस्या आएको थियो। अन्य नेताहरूले देशभर हजारौँ मान्छे उतारेर ठूला–ठूला भाषण गरिरहँदा बोहरा भने मौन चुनावी अभियानमा होमिए।

पञ्चायतकालीन मन्त्री तथा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले उनको चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए। 

भएको के हो?
उनको सचिवालयका अनुसार बोहरा झण्डै डेढ वर्षदेखि बोल्न नसक्ने भएका छन्। कोभिड–१९ संक्रमणपछि उनको स्वरनलीमा समस्या आएको हो।

चिकित्सकको सुझाव अनुसार बोहरा अहिले पनि ‘स्पिच थेरापी’ गरिरहेका छन्। जनतासँग गरिएका वाचा पूरा गर्न उनी कहिले काठमाडौँ त कहिले रुपन्देही आवातजावत गरिरहेका हुन्छन्। 

बोहराका स्वकीय सचिव तारामणि चन्दका अनुसार स्वास्थ्योपचार, पार्टी र संसदका काम लिँदै उनी रुपन्देही–काठमाडौँ गरिरहेका हुन्छन्। 

पार्टी र संसदका सबैजसो बैठकमा सहभागी हुने उनले संसदमा अहिलेसम्म बोलेका भने छैनन्।

न्युयोर्क र दिल्लीमा उपचार, नेपालमा थेरापी
सांसद बोहराले घाँटीको उपाचार दिल्ली र अमेरिकामा गराएका छन्। न्युयोर्कको माउन्ट सिनाइ अस्पताल र दिल्लीको एम्स अस्पतालमा बोहराले उपचार गराएका हुन्। 

अहिले लगातार उनको ‘स्पिच थेरापी’ भइरहेको छ। थेरापी भने चिकित्सकको सल्लाह अनुसार नेपालमा नै हुने गरेको चन्दले बताए। 

‘नेपालमा स्पिच थेरापी मात्रै हुन्छ। अहिले पनि भइरहेको छ,’ उनले भने, ‘अन्य औषधि छाडेर स्पिच थेरापीले नै आवाज फर्काउँछ भनेर अमेरिका र दिल्लीका अस्पतालहरूले भनेका छन्।’

संसदमा के गर्छन्?
देशबाहिर भएको अवस्थामा बाहेक उनले संसद्का बैठक ‘बंक’ नगरेको स्वकीय सचिव चन्दले बताए।

‘देशबाहिर हुनुभन्दा बाहेक अहिले पनि पार्टी र संसद् बैठक उहाँले छाड्नुभएको छैन,’ चन्दले नेपालखबरसँग भने।

त्यसोभए, संसद्मा आफ्ना कुरा कसरी राख्छन् त?

उनले उठाउनुपर्ने विषयहरू राप्रपाकै अन्य सांसदको सहयोगमा संसद् बैठकमा प्रस्तुत हुन्छ। विशेषगरीः जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले उनका विषयलाई संसद्मा पढेर सुनाउँछन्।

‘उहाँ अस्वस्थ भएदेखि रुपन्देही र राष्ट्रिय इस्युमा उहाँका भनाइहरू मैले नै संसद् बैठकमा प्रस्तुत गरिरहेको छु,’ सांसद शाहीले नेपालखबरसँग भने। 

रुपन्देहीमा आवश्यक कुराहरूको टिपोट लिएर राख्ने गरेको उनले बताए। ‘केही कुराहरूको सनुवाइ पनि भइरहेको छ,’ उनले भने।

सांसद बोहराकै छेउमा बस्ने सांसद् रोशन कार्कीले पनि लेखेर दिने गरेको बताइन्। 

‘संसद्मा भन्नपर्ने कुराहरू ज्ञानेन्द्रजी मार्फत् संसद्मा प्रस्तुत गर्नुहुन्छ,’ उनले भनिन्, ‘उहाँ जनमत भएको मान्छे हो। उहाँका कुराहरू संसदमा सजिलै सुनुवाइ भइरहेको छ।’

सांसद शाही र बोहरा संघीय संसद् अन्तर्गतको अर्थ समितिमा पनि राप्रपाका तर्फबाट सँगै प्रतिनिधित्व गरिरहेका छन्।

निर्वाचन क्षेत्रमा छुट्टै सचिवालय
बोहराले आफ्नो निर्वाचन क्षेत्रमा छुट्टै सचिवालय खडा गरेका छन्। निर्वाचन क्षेत्रका सर्वसाधारणको समस्या सुन्नका लागि छुट्टै सचिवालय बनाएर काम भइरहेको स्वकीय सचिव चन्द बताउँछन्। 

‘जिल्लामा द्रुत गतिमा त्यहाँका समस्या सुन्नका लागि त्यहाँ नै सचिवालय खडा गरेका छौँ,’ उनले भने, ‘जिल्लामा समाधान हुने कुराहरू त्यहाँको टिमले गर्छ।’

बजेट निर्माणको बेलामा पनि जिल्लाबाट आएका कुराहरूलाई सम्बोधन गर्न उक्त सचिवालय टिमबाट काम हुने गरेको उनले बताए।

‘जितिसकेपछि उहाँले गर्नुपर्ने दायित्वभित्र छिटो गर्नका लागि हामी काम गरिरहेका छौँ,’ चन्दले भने, ‘जिल्लामा हुने समस्या त्यहीँ, नहुने केन्द्रमा पुर्याएर निष्कर्ष निकाल्नेछौँ।’

सक्रिय राजनीतिमा आएको झण्डै १२ वर्षपछि सांसद बोहराले संसदीय यात्रा सुरु गरेका थिए। २०३६ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका उनी ०४२ सालमा पनि पञ्चायत सदस्य बने।

संसदीय यात्रा सुरु भएलगत्तै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका बोहरा पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटमा पनि मन्त्री बनेका थिए। 

पहिलो पटक २०३८ सालमा पर्यटन राज्यमन्त्री बनेका बोहरा त्यसयता पटकपटक मन्त्री बनिसकेका छन्। २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री बनेका थिए। 

२०६७ सालमा वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पनि उनले सम्हालेका थिए। 

बोहरा २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित भए। निर्वाचित भएलगत्तै उनी प्रायजसोः सबै मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्न सफल बने। 

२०७२ सालमा श्रम तथा रोजगार, २०७३ सालमा आपूर्ति र २०७४ सालमा स्वास्थ्य मन्त्रालयको नेतृत्व बोहराले सम्हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .