ad ad

कारोबार


अब चौबीसै घण्टा खुल्छ ठमेल : मदिरा किन्न परिचयपत्र, रातभर गाडी निषेध

अब चौबीसै घण्टा खुल्छ ठमेल : मदिरा किन्न परिचयपत्र, रातभर गाडी निषेध

वसन्त अर्याल
माघ १, २०८० सोमबार २०:२७, काठमाडौँ

पर्यटकीय नगरीका रुपमा चर्चित काठमाडौंको ठमेल चौबीसै घण्टा खुल्ने भएको छ।

रात्रिकालीन समयमा पनि व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाएर बजार खोल्न दिने तयारी भएको हो। 

ठमेल पर्यटन विकास परिषद्ले नै ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेलको अवधारण अनुरुम घरधनी, व्यवसायी तथा पर्यटकको शान्तिसुरक्षा व्यवस्थापन आचारसंहिता २०८०’को मस्यौदा बनाई जिल्ला सुरक्षा समितिमा बुझाएको छ।

ठमेल खुल्ला गरिँदा खासगरी दोहोरी साँझ, गजल बार, लाउञ्ज बार, डान्स रेष्टुराँ, डिस्को पप बार, लाइभ ब्यान्ड, रेष्टुराँ र व्यवसाय मध्यरातिसम्म सञ्चालन हुनेछन्। 

अहिले ठमेलभित्रका होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, गार्मेन्ट, क्यूरियोसप, हस्तकला सामग्री पसल, मनि चेञ्जर, स्पा, फास्टफुड, कफी तथा बेकरी सप, मार्ट, ग्रोसरी सप, फलफूल तथा तरकारी, ट्रेकिङ गियर सफ, पुस्तक पसल, आर्ट ग्यालेरी, सुवेनियर सप राति ९–१०  बजे नै बन्द हुने गरेको छ। 

विशेषतः ठमेलका रेष्टुरेन्ट १२ बजे, डान्सबार, दोहोरी २ बजे र क्लब बिहान ४ बजेसम्म चल्दै आएका छन्।

तर अब भने यी सबै व्यवसाय जतिबेला पनि चलाउन सकिने प्रस्ताव मस्यौदामा गरिएको छ। 

‘रात्रिकालीन व्यवसाय मात्र होइन ठमेलमा रहेका सबै पसल २४ सै घण्टा सञ्चालन गर्ने तयारी हो’, परिषद्का अध्यक्ष भवीश्वर शर्माले नेपालखबरसँग भने, ‘सबैले आचारसंहिता पालना गर्दै दिनरात व्यवसाय सञ्चालन गर्न सकिन्छ।’

उनका अनुसार मस्यौदामा करिब करिब सहमति भए पनि हेरफेर हुनसक्नेछ। 

‘स्टेक होल्डरसँग बसेर यसलाई पास गर्ने कुरा भएको छ’, उनले थपे, ‘आधारभूत कुरामा सहमति भएको छ, क्राइट एरिया पालना गर्नुपर्यो, व्यवसायीले घरधनीलाई डिस्टर्ब गर्नु भएन। हामीले दुवै पक्षसँग कुरा गरेका छौँ, जनप्रतिनिधिहरुलाई पनि छलफलमा राखेका छौँ।’ 

ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजनाअनुसार बजार खोल्न लागिएको उनको भनाइ छ। आचारसंहिता बनाउँदाखेरि नै नगर, पर्यटकीय, ट्राफिक र नेपाल प्रहरीलाई समेत सहभागी गराइएको पनि उनले बताए। 

अध्यक्ष शर्माका अनुसार ठमेल खुल्दा व्यवसायी, नेपाल प्रहरी, काठमाडौं महानगर, जनप्रतिनिधि, स्थानीय घरधनी रहने गरी अनुगमन समिति बनाएर अनुगमनको व्यवस्था मिलाइनेछ। 

परिषद्ले झण्डै ९० दिन लगाएर मस्यौदा तयार गरेको बताएको छ। 

‘करिब ३ महिना लगाएर व्यवसाय सञ्चालनको मस्यौदा तयार गरेका छौँ’, परिषद्का महासचिव राजिव पाण्डेले भने। 

वडा कार्यालय, घरधनी, प्रहरीसँग छलफल गरेरै मस्यौदा तयार भएको उनको भनाइ छ। 

एक महिना परीक्षण काल, सुरक्षा दिन प्रहरी तयार 
व्यवसायीका अनुसार काठमाडौं जिल्ला सुरक्षा समितिले सुरुमा १ महिना परीक्षणकालको रुपमा खोल्न दिने बताएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जितेन्द्र बस्नेतले व्यवसायीहरुबाट चौबीसै घण्टा चलाउन दिने गरी आएको प्रस्तावमा छलफल भइरहेको बताए। 

‘ठमेल पर्यटकीय गन्तव्य भएकाले चौबीसै घण्टा चलाउन दिनुपर्छ भन्ने प्रस्ताव आएको छ’, अध्यक्ष बस्नेतले भने, ‘सुरक्षाको हिसाबले सकिन्छ कि सकिँदैन विश्लेषण गरिरहेका छौँ।’

उनले व्यवसायी, स्थानीयहरुसँग छलफल गरिरहेकाले सबै विषयमा विश्लेषण गरेर मात्रै निर्णय गर्ने बताए। 

यता काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले पनि ठमेलको ट्राफिक व्यवस्थापनबारे २–३ पटक छलफल भएको जानकारी दिए। चौबीसै घण्टा सञ्चालन गर्ने विषयमा सबै तहमा छलफल आवश्यक रहेको उनको भनाइ छ। 

‘ठमेल क्षेत्रमा ३ वटा वडा पर्छन्। तिनका वडा अध्यक्ष, स्थानीयसँग छलफल आवश्यक छ,’ उनले भने। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जिल्ला सुरक्षा समितिले चौबीसै घण्टा ठमेल खुल्ला राख्ने निर्णय गरे प्रहरी सुरक्षाको लागि तयार रहेको जनाएको छ। 

के छ आचारसंहितामा? 

१० बजेपछि धूमपान र मद्यपान खरिद गर्नेले परिचयपत्र देखाउनुपर्ने 
आचारसंहिताको मस्यौदामा १० बजेपछि सञ्चालनमा रहने धूमपान तथा मद्यपानसहितको सेवा दिने व्यवसायभित्र प्रवेश गर्ने हरेक सेवाग्राहीको उमेर खुल्ने परिचयपत्र सेवाग्राहीसँग अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

डान्सबार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लीलता प्रदर्शन नहुने गरी नृत्य प्रदर्शन गर्नुपर्नेछ। व्यवसायीले कर्फ्यु, दैवी प्रकेपबाहेकका अवस्थामा स्थानीय निकायको समन्वयमा स्थानीय प्रशासनसँग अनुमति लिई २४ सै घण्टा सञ्चालन गर्न सक्नेछन्। 

‘रात्रिकालीन मनोरञ्जन तथा उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायीले सम्बन्धित निकायमा दर्ता गरी व्यवसाय सञ्चालनका लागि लिनुपर्ने अनुमति लिई व्यवसाय सञ्चालन गर्नुपर्दछ’, आचारसंहिताको मस्यौदामा छ, ‘व्यवसायको जानकारी स्थानीय प्रशासन, काठमाडौं महानगर र समितिलाई दिनुपर्छ।’

उद्योग, व्यवसायमा काम गर्ने कमदारलाई पदअनुसारको पोशाक, परिचयपत्र, रातिको खाना र राति घरसम्म पुग्ने यातायातको व्यवस्था गर्नुपर्नेछ।

सडकमा बसेर अपरिचित विदेशीहरुलाई अनावश्यक रुपमा व्यवसायको लागि दबाब दिने, आवागमनमा समस्या सिर्जना गर्ने, ग्राहकको इच्छाविपरीत सामान किन्न दबाब दिनेलाई कानुनबमोजिम कारबाही गर्ने प्रस्ताव गरिएको छ। 

व्यवसायीहरुले सडक बत्तीको अभावमा भएको असुरक्षा रहेको बताउँदै आएका छन्। ठमेल क्षेत्रभित्र सीसीटीभी जडान गर्न काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच सम्झौता भइसकेको छ। ठमेलको पूर्ण रुपमा सीसी क्यामेराको सर्भे भइसकेको छ। 

ठमेलमा मगन्तेलाई निषेध, बाहिर स्पिकर राख्न नपाइने
राति १० बजेपछि सञ्चालनमा रहने व्यवसायबाट निस्किने ध्वनि प्रदूषणको कडाइका साथ अनुगमन गर्ने, सांगीतिक मनोरञ्जनसहित स्पिकर वा लाइभ म्युजिकबाट मनोरञ्जन दिई सेवा प्रदान गर्ने व्यवसायीले ध्वनि नियन्त्रित कोठामा मात्र सञ्चालन गर्नुपर्ने मस्यौदामा उल्लेख छ। 

ध्वनि नियन्त्रण नगरी कुनै पनि संगीतिक मनोरञ्जनसहितको सेवा दिन प्रतिबन्ध गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै होटल, रेष्टुराँ, बार, लाउन्ज, क्लब, दोहोरी, डिस्कोलगायतका सांगीतिक तथा होहल्लाबाट छिमेकी वा वातावरणमा प्रभाव पारेको पाइएमा कारबाही हुनेछ। 

ठमेल क्षेत्रमा सडक मानव, मगन्ते र हकरलाई प्रवेश निषेध गर्ने योजना अघि सारिएको छ। 

त्यस्तै सडकमा हुने देहव्यापारसम्बन्धी गतिविधिलाई पूर्णतः निरुत्साहित गर्न सुरक्षा निकाय, स्थानीय घरधनी तथा व्यवसायीको सहकार्य र संलग्नतामा अवैध यौनधन्दा विभिन्न आवरणमा हुने देहव्यापार र यौनधन्दालाई बन्देज गर्ने आचारसंहिता बनाइँदै छ। 

तेस्रोलिंगी समुदायको सडकमा हुने गैरकानुनी क्रियाकलापले शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्ने, तेस्रो लिंगी समुदायका व्यक्तिहरुलाई सीपमूलक तालिम तथा व्यवसायमा प्रेरित गर्न सहयोग गरी सडकमा अवाञ्छित गतिविधिमा पूर्ण रोक लगाउने प्रस्ताव गरिएको छ। 

अत्यावश्यकबाहेकका सवारीसाधन एकतर्फी 
मस्यौदामा ठमेलका सबै सडकलाई एकतर्फी बनाउने प्रस्ताव गरिएको छ।

दमकल, एम्बुलेन्स, शववाहन छोडेर अरु सवारीसाधनलाई एकतर्फी गरी मुख्य रुपमा सञ्चयकोषबाट मात्र प्रवेश गराउने, जेपी स्कुलबाट पर्यटन मार्ग चोक र सातघुम्ती चोबाट सोह्रखुट्टे चोकसम्ममात्र दुईतर्फी प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ। 

यस्तै, सवारीसाधन बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म निषेध गर्ने व्यवस्था गरिँदै छ। ठमेलभित्रका घरधनी तथा व्यवसायीलाई सवारी पहिचान हुने पासको व्यवस्था गरी सञ्चालन गर्न दिने मस्यौदामा उल्लेख छ। 

ठमेलभित्र प्रवेश निषेध गर्ने तर विदेशी बोकेका र ओटीपी कोर्डका आधारमा मात्र केशरमहल सडकबाट ट्याक्सीलाई प्रवेश गराई व्यवस्थापन गर्ने तयारी गरिएको छ। 

ठमेलभित्रका सडकमा कुनै पनि सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे र चारपांग्रे कुनै पनि सवारी पार्किङ गर्न पाइनेछैन। 

ठमेल प्रवेश गर्ने सवारीलाई हर्न बजाउन प्रतिबन्ध र गाडीको स्पिड १० किमी प्रतिघण्टा हुनुपर्ने व्यवस्था गरिएको छ। रिक्साको व्यवसायीकरण र व्यवस्थित गरी सञ्चालन गर्न दिने तयारी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .