इमानसिंह गोलेले टाटा सुमो चलाउन थालेको ९ वर्ष बढी भयो। धेरैजसो उनी सिस्नेरीको बाटो हुँदै रौतहट–काठमाडौं रुटमा दैनिक सुमो हाँक्छन्।
अहिले उक्त सडक मर्मतको लागि बन्द छ। सोही कारण चित्लाङ–थानकोटको सडक प्रयोग गर्छन् उनी।
‘सिस्नेरी–फाखेलमा गाडी कुदाउँथेँ, अहिले चित्लाङ हुँदै आउँछु’, चालक गोलेले भन्छन्, ‘फाखेलको तुलनामा थानकोट–चित्लाङको बाटो खराब छ।’
सुख्खामा धूलो र वर्षातमा हिलोले उक्त खण्डमा गाडी चिप्लिने समस्या रहेको उनले सुनाए।
‘इतिहास बोकेको धेरै पुरानो बाटो हो। बाटो पिच भए त धेरै सजिलो हुन्थ्यो’, उनी सुनाउँछन्, ‘दिनमा एक पटक हिँड्छौं। कालोपत्रे हुँदा छिटो हुन्थ्यो।’
उक्त खण्डमा थानकोटबाट चढ्दा धेरै उकालो पर्छ भने झर्दा बढी ओरालो। यसले गाडी चलाउन अप्ठ्यारो हुने गरेको उनको भनाइ छ।
गोलेले दैनिक सुमो चलाउने सकडमा शनिबार ठूलो दुर्घटना भयो।
एकै परिवारका ५ जनाले ज्यान गुमाएको उक्त दुर्घटनामा चिकित्सक महेशकुमार गौतमसहित उनका छोरा र छोरीले ज्यान गुमाए। गौतमसँगै सासु र ससुरा पनि दुर्घटनामा परे। कारबाट ओर्लिएका कारण डा. सृष्टि तिवारीमात्रै बाँच्न सफल भइन्।
गाडी करिब ३०० मिटर बढी तल खस्दा गाडीभित्रका सबैले ज्यान गुमाए। एक त कच्ची र साँघुरो बाटो, अर्को छेउमा सुरक्षाको लागि ‘रेलिङ’ छैन। यसले गर्दा गाडी दुर्घटनामा पर्ने गरेको चालकहरु बताउँछन्।
जहाँबाट बोकेरै भित्रिन्थे काठमाडौंमा गाडी
यो त्यही बाटो हो जहाँबाट राणाकालमा काठमाडौंमा थुप्रै गाडी बोकेर ल्याइए। त्यसकारण भीमफेदी–चित्लाङ–थानकोट सडकको ऐतिहासिक विरासत छ।
शताब्दीअघि राणा शासकहरूको विलासिताका लागि यही नाकाबाट बोकेरै गाडी ल्याइएको थियो। तर सहजरूपमा गाडी गुडाउने अवस्था भने अझै बनेको छैन।
राणाकालमा कलकत्ता बन्दरगाहदेखि अमलेखगन्जसम्म रेलमा गाडी ल्याइन्थ्यो। त्यसपछि मकवानपुरको भीमफेदीसम्म गुडाएर ल्याइन्थ्यो।
भीमफेदीमा पांग्रा निकालेर चारैतिर काठमा बाँधेर भरियाले बोकेर ल्याउँथे। थानकोटको चुनिखेल आइपुगेपछि फेरि गुडाउन थालिन्थ्यो।
यसबीचमा धेरै शासक र व्यवस्था फेरिए। तर, यस ऐतिहासिक र पुरानो बाटाको दुर्दशा उस्तै छ भन्छन् यहाँका स्थानीयहरू।
अहिले त काठमाडौं भित्रिन आधा दर्जन सडक पुगिसकेका छन्। तर मकवानपुरसहित तराईका जिल्लामा पुग्न छोटो हुँदा निजीसँगै सार्वजनिक यातायात गुड्छन्।
चित्लाङ र इन्द्रसरोवर अहिले पर्यटकीय क्षेत्रमा विकास भएका छन्। काठमाडौंबाट आन्तरिक पर्यटकहरु समेत एक दिन÷रात बिताउन उक्त क्षेत्रमा पुग्ने गरेका छन्। अहिले डाँडाबाट चित्लाङसम्म प्याराग्लाइडिङ समेत हुनथालेको छ। तर सडकको अवस्था सुधार हुनसकेको छैन। गोरेटो सडकलाई फराकिलो बनाई गाडी कुदाउन थालिएको छ। तर बारम्बार गाडी दुर्घटना हुने गरेका छन्।
‘बाटो त सबै अफरोड रहेछ’
सोमबार पहिलोपटक थानकोट–चित्लाङ सडकमा स्कुटर कुदाएका सुवास श्रेष्ठले बाटोमा धूलोसँगै ढुंगा हुँदा कुदाउन अप्ठ्यारो भएको बताए।
‘दक्षिणकाली जाने बाटोजस्तो राम्रै होला सोचेको थिएँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘बाटो त सबै अफरोड रहेछ। सरकारले कालोपत्रे गरिदिए घुम्न आउनेलाई धेरै सहज हुन्थ्यो होला।’
चित्लाङ घर भएका आशिस थापाचाहिँ बाटो बनाएको जस लिन पार्टीहरुको हानथाप भए पनि राम्रो बनाउन कसैले प्रतिस्पर्धा नगरेको बताउँछन्।
‘बाटो बनाउन प्रतिस्पर्धा गरेको हुन्छ। एउटाले अर्काको खुट्टा तान्दा ठिक्क हुन्छ’, थापाले भने, ‘इतिहास बोकेको बाटो हो। अहिलेसम्म बनाउन सकेका छैनन्।’
उनले हजुरबुवा/हजुरआमाले गाडी बोकेर ल्याएको बाटो सुनाए पनि अहिलेसम्म बन्न नसकेकोमा दुःखेसो पोखे। केही महिनाअघि भ्यान समेत सोही ठाउँबाट झरेको थियो।
श्रेष्ठले काठमाडौंबाट चित्लाङ जानेलाई कम गतिमा हाँक्न सुझाव दिन्छन्। अफरोड बाटोको घुम्तीमा गाडी आएको नदेखिने र धूलो उड्ने भएकाले ख्याल गर्नुपर्ने उनको भनाइ छ।
सडक डिभिजन कार्यालय काठमाडौंले अर्थ मन्त्रालयले बजेट कम छुट्याउँदा सडक बन्न नसकेको बताएको छ। काठमाडौंतर्फको सडकको लागि २२ करोड बजेट माग गरेकोमा २ करोड मात्रै दिएको कार्यालयको गुनासो छ।
चित्लाङबाट थानकोट आउने देउरालीतर्फको सडक भने कालोपत्रे भइरहेको छ। तर देउरालीबाट थानकोटसम्मको सडक राम्रो ग्राभेल समेत छैन।
प्रतिक्रिया