कारोबार


सवारी ऐनमा तीनै तहबीच एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला

सवारी ऐनमा तीनै तहबीच एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला

नेपालखबर
माघ ४, २०८० बिहिबार २१:१९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन्।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलयमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताए।

मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिए।

व्यवसायी र मजदुर सङ्गठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको बताउँदै उनले भने, ‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौँ।’

छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताए।

छलफलमा स्वरोजगार यातायात मजदुर सङ्गठन, एकीकृत यातायात मजदुर सङ्गठन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घका पदाधिकारी सहभागी थिए। छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीको पनि सहभागिता थियो।

छलफलमा व्यवसायी र मजदुर सङ्घ, सङ्गठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे। मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .