ad ad

कारोबार


मिडियाबाट कस्मेटिक व्यवसायतिर मोडिएर जसले बनाइन् आफ्नै ब्रान्ड

युवा उद्यमीका कथा सुनाउँदा सुनाउँदै आफैँ उद्यमी बनेकी रिता
मिडियाबाट कस्मेटिक व्यवसायतिर मोडिएर जसले बनाइन् आफ्नै ब्रान्ड

रिता कट्टेलले स्थापना गरेको ‘रिट’ कस्मेटिक ब्रान्डको व्यवसाय काठमाडौं, भक्तपुर र विराटनगरमा विस्तार भइसकेको छ (तस्बिर : सरोज बैजु)


वसन्त अर्याल
माघ ६, २०८० शनिबार १५:३४, काठमाडौँ

स्कुले जीवनमा रमाइरहेकाहरुलाई प्रायशः सोध्ने चलन छ– ठूलो भएपछि के बन्ने? यही प्रश्न रिता कट्टेललाई पनि सोधियो।

‘मिडियाकर्मी र व्यवसायी बन्छु’, त्यतिबेलै उनले जवाफ दिएकी थिइन्। 

नभन्दै १६ वर्षमै रिता मिडियामा आबद्ध भइन्। रेडियोबाट काम थालेकी उनलाई दिदीले टिभीमा पनि काम गर्न सकिने बाटो देखाइदिइन्। त्यसपछि पूरा भयो टेलिभिजनमा काम गर्ने चाहना। 

भर्खर सुरु भएको मिडिया करिअर, टेलिभिजनको पर्दामा देखिने उस्तै रहर। रितालाई पनि लाग्थ्यो– टिभीमा देखिँदा एउटा प्रभाव जमाउन सकिन्छ। 

टिभीको कामले इटहरीको घरबाट विराटनगर आउजाउ नियमित हुनथाल्यो। 

उनी टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्थिन्। यसले उनको वाक् कला थप प्रस्फुटित भयो। कर्पोरेट होस्टका लागि अफर आउनथाले। टेलिभिजन विज्ञापन गर्ने अवसर पनि जुट्यो। 

मिडियाकर्म र व्यवसाय सँगसँगै
रिता बिजनेस म्यानेजमेन्ट पढ्थिन्। पढाइसँगै मिडियामा एक दशक बितिसकेको थियो। ढिलो चाँडो व्यवसाय सुरु गर्ने ‘मूड’ बन्दै थियो।  

सोच बन्दाबन्दै कोभिड महामारीले अलमल्यायो। यस्तो बेला व्यवसायमा कसरी हात हाल्नु! हच्किइन्। बरु अझै केही समय टेलिभिजन नै ठीक जस्तो लाग्यो। ‘द गेम चेन्जर’ नामक टेलिभिजन कार्यक्रम सुरु गरिन्, जहाँ उनी युवा उद्यमीका कथा सुनाउँथिन्।   

‘युवा उद्यमीका संघर्षका कथा सुन्दासुन्दै व्यवसाय छिटो सुरु गर्न आतुर भएँ’, रिता भन्छिन्, ‘तर उद्यमी बन्ने चाहना बच्चैदेखिको हो।’ 

अहिले टिभीमा युवा उद्यमीका कथा सुनाउने उनी आफैँ उद्यमी बनेकी छिन्। व्यवसायमा चासो र रुचि उत्तिकै बढिरहेको बताउँछिन् रिता। 

यसका बाबजुद मिडिया लत पनि छाडेकी छैनन्। उनको अनुभव छ, ‘मिडियामा एक पटक छिरेपछि निस्किन गाह्रो’ 

धेरै समय व्यवसायमा दिए पनि मिडियासँगको सम्बन्ध कायमै राख्ने सोचमा रहेको उनले सुनाइन्। 

उनी भन्छिन्, ‘म आफूलाई अहिले ८५ प्रतिशत व्यवसाय र १५ प्रतिशत मिडियामा रहेको ठान्छु।’ 

कस्मेटिक व्यवसाय, डेढ वर्षमै ३ आउटलेट्स
रिता कस्मेटिक व्यवसाय गर्छिन्। डेढ वर्षपहिले सुरु गरेको यो व्यवसाय क्रमशः विस्तार हुँदै गएको छ। 

उनको आफ्नै ‘रिट’ ब्रान्ड छ। जुन छोटो समयमै काठमाडौं, भक्तपुर र विराटनगरमा विस्तार भएको छ। 

काठमाडौंको बानेश्वरमा रहेको आईप्लेक्स मलमा रिट स्किन बुटिक सञ्चालनमा छ भने भक्तपुरको कौशलटारमा आउटलेट खुलिसकेको छ। उपत्यकाबाहिर विराटनगरको आउटलेट १ महिनाभित्रै सञ्चालनमा आउँदै छ। 

‘कस्टोमर रिटेन्सन एकदमै राम्रो छ’, रिता भन्छिन्, ‘एक पटक खरिद गरेको ग्राहक बारम्बार आउनु भनेको ठूलो उपलब्धि हो।’

त्यसो त व्यावसायिक क्षेत्रमा आफूले सोचेको गन्तव्य पुग्न अझै धेरै टाढा रहे पनि प्रयास निरन्तर गरिरहेको बताउँछिन् रिता। 

‘व्यवसाय अरुले गरेको देख्दा सहज लाग्छ। आफैँ भिडेपछि थाहा हुन्छ, कति अप्ठ्यारा आइपर्छन्’, अनुभव बाँड्दै उनी सुनाउँछिन्, ‘त्यसको लागि तयार हुनुपर्छ।’

तर अहिले पहिले लागेका अप्ठ्यारा पनि उनलाई सहज लाग्न थालिसकेको छ। व्यावहारिक अनुभव बढ्दै जाँदा आफ्नो लक्ष्य पूरा हुने विश्वास पनि बढ्दै गएको छ। 

मिडियाकर्मी हुँदै व्यवसायमा लागेकी उनी सामाजिक सञ्जालको भरपूर सदुपयोग गर्छिन्। व्यवसायबारे त्यहाँबाट राम्रै प्रतिक्रिया पाइरहेको उनको भनाइ छ। 

१ वर्षअघि नै ई–कमर्स साइट लञ्च गरिसकेकी रिता व्यवसायलाई प्रविधिमैत्री बनाउन पनि माहिर छिन्। छिट्टै अब एप लञ्चको तयारीमा रहेको उनले सुनाइन्। 

योसँगै उनको व्यवसाय फैलिँदो छ। अब त विभिन्न ठाउँमा ‘रिट’को ब्रान्च खोल्ने तयारीमा छिन्, फ्रेन्चाइज कसरी पाइन्छ भन्दै चासो राख्नेहरु बढ्न थालेका छन्। भविष्यमा अरु व्यवसायीलाई जोड्दै फ्रेन्चाइज शाखा विस्तार गर्ने योजना उनको पनि छ।  

रिटको प्लेटफर्म विकास भएसँगै आफ्नै ब्रान्डका प्रोडक्ट ल्याउने सोचमा रहेको उनी सुनाउँछिन्। 

डेढ वर्षअघि उनले जुन लागतमा व्यवसाय सुरु गरेकी थिइन्, अहिले त्यसको पाँच गुणाले पुँजी वृद्धि भइसकेको छ।

मिडिया र व्यवसायको काम गराइ फरक पाएको उनको अनुभव छ। 

‘रंगीन संसारमा एक दशक बिताउँदा भिजुअल बाहिर धेरैको सहयोग हुन्थ्यो’, उनी भन्छिन्, ‘तर व्यवसायमा ‘वान म्यान आर्मी’को रुपमा काम गर्नुपर्दो रहेछ।’

व्यवसायी बनेसँगै योजना, कर्मचारीको व्यवस्थापन, प्रोडक्ट छनोट तथा खरिद, मार्केटिङ सबैमा जानकार हुनुपर्ने उनी बताउँछिन्।  

‘आन्ट्रप्रेनरसिप एउटा साहसिक खेलजस्तै रहेछ’, उनी हाँस्छिन्, ‘काम गर्दै जाँदा मेरो लगाव छ, अझै धेरै गर्न सकिन्छ भन्ने महशुस हुनथालेको छ।’

प्रिमियम प्रोडक्ट, गुणस्तरीय सेवा
बजारमा कस्मेटिक आउटलेट्स थुप्रै छन्। रिटको ग्राहकलाई कस्मेटिक प्रोडक्ट बेच्नु मात्रै नभई सेवाले आकर्षित गराइरहेकी छिन् रिता। 

रिटको आउटलेट्समा पुग्दा प्रिमियम अनुभव पाउने उनको दाबी छ।

स्किन केयरमा जानकार नभएको कुनै ग्राहक रिटमा पुग्दा ‘ए टु जेट’ प्रोडक्टमा सचेत बनाउने गरेको उनले बताइन्। 

‘आउटलेट्समा पुग्ने जो कोहीलाई छालाको महत्त्व बुझाउँछु’, उनी भन्छिन्, ‘बजारमा पाइने जुनसुकै प्रोडक्ट प्रयोग गर्न सुझाउँदिन।’ 

उनले ग्राहकलाई छालाको किसिम पहिचान गरी सोहीअनुसार चाहिने प्रोडक्ट किन्न सिकाएकी छन्। 

उनी आफैँ पनि कस्मेटिक प्रोडक्टकी प्रयोगकर्ता हुन्। कुन प्रोडक्ट लगाउँदा के हुन्छ, कस्तो असर हुन्छ भन्नेबारे जानकार छिन्। त्यसैले ग्राहक पनि आफूजस्तै सचेत बनून् भन्ने चाहना राख्छिन्। 

उनको अर्को ध्यान कस्टुमर सर्भिस (ग्राहक सेवा) हो। किनभने कुनै ठूलो रिटेल स्टोर वा बैंकमा सर्भिस लिन जाँदा बेवास्ता भोगेको उनको अनुभव छ। पैसा तिरेर प्रोडक्ट किन्दा वा सर्भिस लिँदा आनन्द महशुस नभएको अनुभवले पनि उनी आफ्ना ग्राहकलाई भने त्यसो हुन नदिने प्रयास गर्छिन्। 

‘ग्राहक हाम्रा लागि भगवान् हुन्। उनीहरुलाई खुसी बनाउन सकिएन भने व्यावसायिक सार्थकता हुँदैन’, उनी भन्छिन्, ‘प्रोडक्टको बारेमा बुझाएपछि मात्रै बिक्री गर्छौँ।’

नेपालको ईकमर्समा पनि समस्या रहेको उनको भनाइ छ। ग्राहकले चासो राखेका विषयमा छिटो बुझाउने प्रयत्न कम छ। रिताले आफ्नो ब्रान्डलाई फरक अनुभूति दिने व्यवसाय बनाउन चाहेकी छिन्। 

त्यसकारण उनी अनलाइन डेलिभरी गर्दा कुनै कारण ढिला भए ग्राहकलाई जानकारी गराइहाल्छिन्। 

ग्राहकलाई सफलताको आधार मान्ने रिता उनीहरुलाई ध्यान दिएर विषयविज्ञबाट आफ्ना कर्मचारीलाई तालिम दिने गरेको सुनाउँछिन्।  

‘कस्मेटिक प्रोडक्ट बजारमा चाउचाउ वा बिस्कुट किनेजस्तो सहज छैन’, उनी भन्छिन्, ‘प्रोडक्टको विषयमा सबै जानकार हुनुपर्छ। ग्राहकका जिज्ञासा मेटाउनुपर्छ।’ 

पुरुषलाई पनि जरुरी छ ‘स्किन केयर चेत’
सौन्दर्य भन्नेबित्तिकै छोरी मान्छेको गहना भन्ने बुझाइ छ। रिता सौन्दर्यलाई कस्मेटिक, हेयर, स्किन, बडी केयरसँग जोड्छिन्। त्यसैले उनका लक्षित ग्राहक भनेका ‘मान्छे’ हुन्। 

आफ्नो छालाको सुरक्षा सबैले गर्नुपर्ने उनको बुझाइ छ। 

श्रीमानश्रीमती हुन् वा प्रेमीप्रेमिका, आफ्नो आउटलेटमा आउँदा महिला भित्र छिर्ने र पुरुष बाहिरै बसेको रिताले देखेकी छिन्।

त्यसैले पुरुषलाई पनि स्किन केयरको विषयमा जागरुक बनाउने योजना बनाएको उनी बताउँछिन्।

‘कोही पनि सानो उमेरमा बूढो देखिन चाहँदैन। त्यसको लागि छालाको हेरचाह आवश्यक हुन्छ’, उनी भन्छिन्, ‘जसले ख्याल गर्छ बढी उमेरसम्म उही तन्दुरुस्त देखिन्छ।’ 

उनी सामाजिक सञ्जालमा भिडिओमार्फत पुरुष ग्राहकलाई पनि सचेत बनाइरहेकी हुन्छिन्। 

नयाँ आउटलेट्समा पुरुषलाई ‘टार्गेट’ गरी डिजाइन गरिरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .